सुनीता बराल
द्रुत गतिमा फैलिएको इन्टरनेट, तीव्र विकास भइरहेको सूचना प्रविधि र परिष्कृत प्राविधिक अन्वेषण विश्वका नवीनतम उपलब्धि हुन् । पृथ्वीको उत्पत्ति र विकाससँगै कोरिएका सभ्यताहरू, मानव समाजले गरेको खोज र प्राप्त गरेका सफलता २१ औँ शताब्दीमा विज्ञानलाई जीवनसँग जोड्ने सवालमा भएका श्रेयस्कर कार्य हुन् । चेतनास्तर वृद्धि, वैज्ञानिक खोजमा नयाँ–नयाँ आयाम र विश्वव्यापीकरणले ल्याएको तरङ्ग नै अहिलेको विश्वलाई अत्याधुनिक बनाउन प्रेरित गरिरहेको छ । यिनै विषयको नेपाली समाजमा अनुकरण गरिँदैछ । यहाँ खोज, शोध र अनुसन्धानका अनेकन कार्य थालिएका छन् । ससानादेखि ठूला उपलब्धि प्राप्तिका लागि प्रयास भइरहेकै छन् । यस्तै ससाना प्रयासको सुरुवातबाट नै लुझेन्द्र ओझा मङ्गलग्रहमा पानीको सतह पत्ता लगाउने वैज्ञानिकको टिममा पर्न सफल हुनुभयो ।
२१ औं शताब्दी मोबाइल तथा अन्य विभिन्न ग्याजेटका लागि सबैभन्दा उर्बर समय भइरहेको छ । हुन त मानवको उत्पत्ति र विकाससँगै कुनै समय ‘जिओ सेन्ट्रिक’ र ‘हेलिओ सेन्ट्रिक’ भन्ने विवादमा अल्मलिएको थियो । तर एउटा टेलिस्कोपको विकासले त्यस्तो गहन विषयलाई समाधान गरिदियो । समयसँगै समाजमा असम्भव लाग्ने कार्यहरू क्रमशः किनारा लगाउँदै लगियो । कुनै समय मान्यता थियो कि, घामले पृथ्वीको चक्कर लगाउँछ । पृथ्वी नै ब्रह्माण्डको केन्द्र हो । तर सबै कुरा केवल मिथ्या सावित भयो । पृथ्वी त सौर्यमण्डलको एक अंश मात्रै रहेछ भन्ने पत्ता लाग्यो । कैयौँ सभ्यताको क्रमिक उद्विकासमार्फत नयाँ आविष्कार भए । भौतिक विज्ञानकाअनुसार अहिलेसम्म जीवको अस्तित्व भेटिएको एउटा मात्रै ग्रह पृथ्वीमा नै हो । मानवीय अन्वेषण र खोजबाट पृथ्वीको एउटा मात्रै प्राकृतिक उपग्रह चन्द्रमामा पनि पाइला टेक्ने सफलता मानवलाई मिल्यो । चार अर्ब ५७ करोड वर्ष पहिले उत्पति भएको पृथ्वीमा अहिले भइरहेको विकास र चमत्कारिक वैज्ञानिक सिर्जना नै इतिहासको सबैभन्दा उच्चतम बिन्दु हुन् ।
नेपालमा भौतिक विज्ञानलाई उच्चतम प्रयोग गरी मुलुकको समृद्धि र विकास गर्नुपर्छ भन्ने ध्येयका साथ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अघि बढिरहँदा हामीले भन्नैपर्छ– अब नेपाल पनि विश्वव्यापीकरणसँगै अत्याधुनिक समाज निर्माणको यात्रामा निस्किसक्यो । प्रधानमन्त्री ओलीले आफ्नो उपचारार्थ सिङ्गापुर बसाइका क्रममा गर्नुभएको क्याबिनेट ‘टेलिप्रिजेन्स’ पनि यसैको उपज हो ।
प्रधानमन्त्री ओलीले सिङ्गापुरबाट टेलिप्रिजेन्समार्फत गर्नुभएको मन्त्रिपरिषद्को संवाद प्रविधि रूपान्तरणको एउटा अनुपम र पृथक् उदाहरण हो । प्रविधिमा प्रस्तुत अब्बल पक्षलाई कोही कसैले गलत प्रमाणित गर्न खोज्दैछ भने त्यो पूर्वाग्रहबाहेक केही होइन । प्रधानमन्त्री ओली सचेत, जिम्मेवार र कामप्रतिको निष्ठामा उत्तरदायित्वबोध गर्ने नेता हुनुुहुन्छ । मुलुकको सर्वाङ्गीण विकास र समृद्धिको लक्ष्य बोकेर हिँड्नुभएका ओलीलाई जनउत्तरदायित्वको बोध छ । आलोचना र विवादले पानीजहाज, रेल र अनेकन विकासका जनअपेक्षित कार्यलाई ओझेलमा पार्न सक्दैन । यात्राक्रममा यी सपना पूरा हुन्छन् । यस विषयका केही पक्षलाई केलाउने प्रयास गरौँ ।
ओबामा भिडियो कन्फ्रेन्स
पाकिस्तानको अब्बोतावादस्थित विलाल सहरमा अलकायदाका नेता ओसामा बिन लादेन बस्दै आएका थिए । लादेनको आलिशान बङ्गलालाई सन् २०११ मा अमेरिकी सेनाले नियन्त्रणमा लिँदा त्यसको प्रत्यक्ष प्रसारण तत्कालीन राष्ट्रपति बाराक ओबामाले हेरेका थिए । विषय चर्चामा रह्यो । उक्त विषयमा खासै ठूलो बहस र विवाद गरिएन । कारण थियो– अमेरिकी नागरिकमा रहेको सचेतना, प्रविधिप्रतिको ज्ञान र राष्ट्रभक्ति ।
विकास र समृद्धिको युग प्रारम्भ गर्दा विश्वका विभिन्न मुलुकको अवस्था कस्तो थियो भन्ने विषयमा अलिकति मनन गर्नुपर्छ । ली क्यान यूले सिङ्गापुर र महाथिर मोहम्मदले मलेसियाको समग्र विकास सम्भव तुल्याउँदै गर्दा यस्ता अनेक सम्भाव्यताको गोरेटो कोरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले त्यस्तै अभियान प्रारम्भ गरेको छ । तर यो व्यक्ति विशेषबाटभन्दा पनि सामूहिकरूपमा गरिएको अठोटको पर्याय हो । प्रधानमन्त्री ओली नेतृत्वमा जल्दाबल्दा तमाम समस्याको समाधानार्थ सक्रिय रहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सिङ्गो पार्टी यो अभियानमा संलग्न रहँदै आएको छ । मुलुक परिवर्तनको नेतृत्व गरेका कैयौँ नेता तथा सक्रिय कार्यकर्ताको उत्साहजनक सहभागिताले सङ्कट छिचोलिँदै गएका छन् । सिङ्गापुरबाट गरिएको भिडियो कन्फ्रेन्स सन्दर्भमा विभिन्न टिप्पणी भए । यतिसम्म कि मन्त्रिपरिषद्को गोपनीयताको विषयलाई लिएर अनेक बहस चलाइए । आफूले गर्दा त्यही काम सही र अरूले गर्दा गलत भन्ने प्रवृत्तिबाट ग्रस्त मनोविज्ञान बोकेका केही राजनीतिक पार्टीलाई यो विषयले केही समय ‘बिजिनेस’ मिल्यो । भविष्यमा त्यो प्रवृत्ति र सोच गलतसिद्ध हुने निश्चित छ ।
अमेरिकीपूर्वराष्ट्रपति बाराक ओबामाले टेलिप्रिजेन्समार्फत अलकायदा प्रमुख ओसामा बिन लादेनमाथिको कारबाही प्रत्यक्ष हेर्दा किन खतरा भएन ? विश्वका समग्र साइबर प्रणालीलाई ह्याक गर्नसक्ने आतङ्कवादी सङ्गठनबाट किन त्यो भिडियो कन्फ्रेन्स सुरक्षित रह्यो ? ओबामाले किन असुरक्षित होला भन्ने विषयमा सोच बनाएनन् ? विषय सोचनीय छ ।
कुनै पनि सरकारको सारा निर्णय लुकाइने विषय होइन । आज या भोलि सरकारका प्रवक्ताले ती विषय सार्वजनिक गर्नु नै पर्छ । यो विषयलाई गलत ढङ्गले व्याख्या गर्नु जायज थिएन । नेपालले प्रविधिमा गरेको नवीनतम प्रयोगलाई अनावश्यक बहसको विषय बनाइनु बिल्कुलै उचित थिएन । त्यसैले सरकारका राम्रा कामबाट तर्सिएका सीमित झुण्डले गलत प्रचार गर्दैमा सरकार गलत सिद्ध हुँदैन । मुलुकमा परिवर्तनको नेतृत्व गरेका शक्तिलाई कमजोर बनाएर खेल्न खोज्ने र मुलुक अस्थिर बनाउन खोज्नेहरू नै सरकारी कामको दुष्प्रचारमा छन् । तर दृष्टिदोषबाट प्रक्षेपित कर्तुत सफल हुँदैन ।
नेपालमा २०५१ मा पहिलो पटक वामपन्थी सरकार बन्यो । उक्त सरकारले वृद्धभत्ता दिने निर्णय ग¥यो । मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको त्यो ऐतिहासिक निर्णयको विरोध भएकै थियो । ‘राज्यको ढुकुटी सकिने भयो’ भनेर कुप्रचार गरियो तर त्यो निर्णय जनपक्षीय थियो भन्ने प्रमाणित भएको छ । अहिले पनि सरकारले राम्रो काम गरिरहेको छ । प्रचारमुखी हुनुभन्दा परिणाममुखी हुनुपर्ने ध्येयका साथ सरकार अघि बढिरहँदा आलोचना हुनु स्वाभाविक हो । सरकारले जनताका अपेक्षा पूरा गर्न ऐतिहासिक निर्णय लिइरहँदा अत्तालिएका पक्षलाई दीर्घकालीन प्रभाव पार्ने जनपक्षीय कार्य अप्रिय लागेकै होला । जनताको अधिकार प्राप्तिको असीम चाहनालाई पूरा गरिरहेको वर्तमान सरकारका राम्रा काम ढाकछोप गर्न गिरोह नै सक्रिय भएको छ ।
सरकारको राम्रो काममा साथ दिनु सचेत नागरिकको दायित्व हो । केही सुधार्नुपर्ने विषयमा सरकारलाई सुझाव दिन सकिन्छ । तर सरकारले कामै गरेको छैन भनेर गोयबल्स शैलीमा मिथ्या प्रचार गर्नु भनेको कमजोर मानसिकताबाट पे्ररित कृत्य हो । सकारात्मक होइन, नकारात्मक सोच, व्यवहारबाट खुट्टा तान्ने प्रवृत्ति हो । देश निर्माणमा जुटेका सशक्त युवापङ्क्ति यस्ता प्रवृत्ति रोक्न तयार हुनुपर्छ । सरकारको राम्रो काममा साथ दिनु र नराम्रो भएमा खबरदारी गर्नु उचित हुन्छ ।
सरकारले २१ औँ शताब्दीको उपज, नयाँ पुस्ताको आवश्यकता बनेको प्रविधि आत्मसात्, विकास र विस्तारमा जनतालाई परिचित र अभ्यस्त बनाउन खोजेको छ । यो सकारात्मक पाटोलाई ओझेलमा पार्न पुरानै मानसिकताका तर्क गर्नेहरूले कुनै नयाँ चिन्तन, प्रविधि विकास गर्न सक्दैनन् । युवा त्यस्ताका प्रचारमा लहसिनु आफ्नै सिर्जनात्मक, विश्लेषणात्मक क्षमताको बेवास्ता हो । मुलुकको विकास रूपान्तरण र परिवर्तन संस्थागत गर्न युवाले त युगीन अभियानको अगुवाइ गर्नुपर्छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को एजेण्डालाई सार्थक पार्न आधुनिक प्रविधिलाई आत्मसात् गरी नयाँ अभ्यास, प्रयोग र विकासमा लाग्नुपर्छ ।
(लेखक नेकपाका युवा तथा विद्यार्थी विशेष जिल्ला कमिटी सचिव हुनुहुन्छ ।)