सन्तोष पाठक
गरिब परिवारहरूको घरको भुइँ स्तरोन्नति गर्नका निम्ति मेक्सिकोमा सन् २००० देखि सोलिड फ्लोर (पक्की भुइँ) परियोजना लागू गरिएको थियो । परियोजना लागू गरेपछि प्रति घर ५० वर्ग मि मात्र सिमेन्ट प्रदान गरिदिँदा बच्चाहरूमा हुने परजीवी सङ्क्रमण ७८५ ले घट्यो । रोचक कुरा, क्याटनिओ तथा उनका सहकर्मीहरूले सन् २००९ दौरान अध्ययन गर्दा उक्त परियोजनामा सम्मिलित आमाहरूले पहिलाभन्दा आफूहरूले बढी खुसी रहेको जनाए । उनीहरूको तनावको स्तर पनि ४५५ ले घटेको रिपोर्ट सार्वजनिक भएपछि यो परियोजना मेक्सिको भरी लागू गरियो ।
यो खोजलाई यहाँ प्रस्तुत गर्नुको तात्पर्य हो– मानिसका खुसीहरू ससाना कुरामा लुकेको हुँदोरहेछ । सरकारले गरिबलाई पूरा घर नै दिनुपरेन । भुइँ मात्रको परिवर्तनले गृहिणीहरूमा खुसीको आभास दिलाइदियो । राष्ट्रका लागि आफ्ना नागरिकका यस्तै ससाना खुसीका पलहरू मूल्यवान् छन् । खुसी सूचकाङ्कमा मेक्सिको र नेपालले क्रमशः २४ औँ र १०० औँ स्थान ओगट्छन् । यसै सूचीमा पाकिस्तान (६७) हामीभन्दा धेरै माथि र विशाल अर्थतन्त्र भएर पनि भारत (१४०) हामीभन्दा धेरै तल छ । देश धनी भएर पूर्णतया खुसी अनि गरिब भएर पूर्णतया दुःखी हुने भन्ने होइन रहेछ । आयका अतिरिक्त स्वास्थ्य, शिक्षा स्वतन्त्रता, सुरक्षा, सुशासनलगायतका सूचकहरू पनि राष्ट्रको खुसी मापन गर्न ठूलो महŒवका साथ समाविष्ट गरिन्छ ।
खुसीको सूचकाङ्कलगायत अरू तथ्याङ्कले नेपालीहरू खुसी नभएको बारम्बार प्रस्तुत गरिरहेका छन् । सायद व्यक्ति र समाजका आशा र उपलब्धिबीच खाडल रहेका कारणले गर्दा हामी खुसी हुन सकिरहेका छैनौँ । प्रत्येक तह र तप्काका मानिससँग एक प्रकारको असन्तुष्टि छ । गरिब छँदा पनि एक प्रकारको खुसी नै रहन सकिने हुँदा पनि हामी किन बेचैन भइरहेका छौँ त ?
विगतको अवस्था
केही दशक अघिसम्म हाम्रो परिवेश पूरै ग्रामीण थियो । वि. सं. २००७ ताका देशको साक्षरता दर र सहरी बसोबास क्रमशः ५५ र २५ को हाराहारीमा रहेको इतिहास पाइन्छ । कृषिकर्ममा व्यस्त दिनचर्या, शिक्षाको कमी अनि बाहिरी विश्वसँग साक्षात्कार हुन नपाएको त्यो समय सन्दर्भ अनि त्यसमाथि आफ्नै बलबुताले कुनै नयाँ मार्गचित्र कोर्न अत्यन्तै सीमित स्रोतको मात्र पहुँच भएको त्यो परिस्थितिमा मानिसहरूका खुसीको परिभाषा अत्यन्त साँघुरो रहेको लख काट्न सकिन्छ । लक्ष्मीप्रसाद देवकोटाले कवितामा “उडी छुनु चन्द्र एक’ हरफ लेखेपछि अनि गाउँमा रेडियोको प्रवेशपछि न हो नेपालीहरूले आफ्नो गाउँभन्दा पर आफ्ना सपनाहरू कोर्न थालेका र दैनिक सरोकारका विषयमा सरोकार राख्न थालेका !
देशमा साक्षरता दर बढ्दै जाँदाको समयमा घरघरमा टेलिभिजनले ठाउँ ओगट्न थालेपछि भने चेतनाको स्तर ह्वात्तै बढ्यो । त्यससँगै हुर्केका हुन् नागरिकका रङ्गीचङ्गी सपनाहरू ! २०६२–६३ को जनआन्दोलन र त्यसपछि गणतन्त्र स्थापनापश्चात् नागरिकहरूमाझ आशाको बाढी नै आयो । उप्रान्त जनताको शासन जनताले नै गर्छन्, अवसरका ढोका सबैलाई समान रूपमा खुल्छन्, विकासले गति लिन्छ भन्ने ह्विम गणतान्त्रिक नेपालको कुना–कन्दरासम्म छाइदियो ।
वर्तमान अवस्था
गणतन्त्र स्थापनापछिका सबै चुनावलाई समृद्धिको प्रस्थानबिन्दुको रूपमा राजनीतिक पार्टीहरूले प्रचार गरे । यो प्रचारबाजी, क्रान्ति गरेर आएको पार्टीको विजय र नयाँ व्यवस्थाप्रतिको अगाध विश्वासले गर्दा आम जनताले समृद्धि अब टाढा नरहेको अड्कलबाजी गरे । सामान्य जनताको सन्तान सिंहासनमा बसेको देखिसकेपछि अब बाँकी सपना चरितार्थ हुने कुरामा शङ्का गर्ने कुरै भएन । यही विश्वासले नै आम नेपाली जनताको खुसी विचलित भयो, दुःखको कारण बन्न पुग्यो । जनताले नमस्कार गर्नुपर्ने मान्छेको हुल अप्रत्याशित रूपमा वृद्धि भयो तर जनसरोकार र दैनिक जीवनयापनलाई सहज बनाइदिन भूमिका खेल्ने सहजै भेटिएनन् । सात दशकभन्दा कम समयमा देशमा तीनपटक व्यवस्था परिवर्तन भयो । यत्रा परिवर्तन आत्मसात् गरिसकेपछि पनि जीवनस्तर नउकासिँदा जनताले अब व्यवस्था त एउटा मानक मात्र पो रहेछ, विकास र समृद्धिका लागि महŒवपूर्ण त परिवर्तनको भोक र सबल नेतृत्व पो महŒवपूर्ण रहेछ भन्ने भान पाएका छन् ।
पछिल्लो दशकमा कृषिको विकासमा सरकारले झण्डै दुई खर्ब खर्च गरेको विवरण सार्वजनिक गर्दा आव २०७५–७६ मा मात्र दुई खर्बको हाराहारीमा कृषिजन्य वस्तु आयात भएको तथ्याङ्क सुन्दा कृषिप्रधान भनिने देशको कुन चाहिँ कृषक परिवार खुसी हुन सक्ला ?
पछिल्लो दशकमै एउटा सामान्य परिवारको विद्यार्थीलाई चिकित्साशास्त्र र इञ्जिनियरिङ जस्ता विषय पहुँच बाहिर पुगेका छन् । आफ्नो आर्थिक अवस्थामात्रको कारणले गर्दा छोराछोरीको भविष्य दाउमा जोखिममा पर्ने भएपछि कुन चाहिँ अभिभावक दुःखी नहोला ? शैक्षिक उन्नयनको केन्द्र हुनुपर्ने विश्वविद्यालयहरूको अवस्था दिनानुदिन खस्कँदो छ । देशभित्रका शैक्षिक संस्थानमा सामयिक र प्रतिस्पर्धी विषयहरू नहुँदा लाखौँ पैसा खर्च गरेर विदेश हाँकिन बाध्य जमात पनि खुसी छैन । त्यसमाथि अन्तर्राष्ट्रियस्तरको सिकाइसहित अब आफ्नै माटोमा केही गर्छु भनेर फर्केकाको सीपलाई कुनै महŒव नदिएर राजनीतिक गोलचक्करमा फसाइँदा कोही खुसी हुने कुरै भएन ।
शिक्षा र कर्मचारी भर्नाको क्षेत्रमा आन्दोलनले स्थापित गरेको आरक्षण व्यवस्था क्रान्तिकारी कदमको रूपमा देशमा संस्थागत भए तापनि जनै लगाउनेहरूलाई सदैव बहिष्कार गरिरहने परिपाटी चल्यो । स्रोतसाधन कमजोर भए पनि टुप्पी कसेर पढ्नेहरूलाई यो व्यवस्थाले अन्याय गरेपछि अधिकांश विद्यार्थी खुसी हुने कुनै ठाउँ नै पाउन सकेनन् । पढेर अगाडि गएकाहरू पनि खरिदारको फारम भर्दा लाइनको लम्बाइ किलोमिटरमा देखेपछि पढाइ मात्र महŒवपूर्ण होइन रहेछ, आफ्नो लब्धाङ्कपत्र बिक्ने वातावरण पनि महŒवपूर्ण रहेछ भनेर दुःखी नै हुने रहेछन् ।
सबै नागरिकको समान पहुँच हुनुपर्ने सरकारी अड्डाअदालतमा विद्यमान असमान कार्यशैली आजको मात्र टाउको दुःखाइ होइन । नारामा ‘नतिजामुखी प्रशासन’ भने पनि कर्मचारीतन्त्रका एकसय एक भलादमीहरूले समस्त व्यवस्थालाई नै आफ्नो पकडमा पारेका छन् । अधिकांश कार्यालयमा सेवाग्राहीलाई यसरी कर्मचारीले अङ्कुश लगाउँछन् कि पैसा नदिउँ काम बन्दैन, दिउँ मनले मान्दैन । आफ्नो आदर्श र व्यवहारको यस्तो द्वन्द्वात्मकतामा मान्छे कसरी खुसी हुन सक्छ ?
गणतन्त्रकै स्थापनापछिको उपलब्धिको कुरा गर्दा हामी विप्रेषण भित्र्याउनेमा कीर्तिमान कायम गर्न सफल भएका छौँ । तर विप्रेषसँगै देशमा मौलाएको विकृति, छिन्नभिन्नता र पारिवारिक तनावको आर्थिक मूल्याङ्कन गर्दा पैसाभन्दा विकृतिकै पल्ला भारी हुँदो हो । न हुर्कंदो बच्चाले बाबा देख्न, भन्न पाएको न कुनै श्रीमतीले उल्लासका उत्सवहरू सँगै मनाउन नै । खाडीमा ५० डिग्रीको घाममा काम गर्न गएका लक्का जवानहरू दिनदिनै बाकसमा प्याक भएर आउँदा बग्ने असह्य पीडाको आँसुको मोल कति होला ? यस्ता यक्षप्रश्न टन्नै छन् अनि विवेचना पनि ।
जनताको आशा
हाम्रो संस्कारले नै हामीलाई ससाना कुरामा खुसी हुन सिकाएको छ । त्यसैले धेरै नेपालीको ठूलो लक्ष्य छैन । सजिलै हुने काम गर्न वडा कार्यालय जाँदा बेफ्वाँकको ज्यू हजुर गर्न नपरोस् । स्वच्छ खानेपानीको नजिकै प्रबन्ध होस् । सरकारी विद्यालयमा भर्ना हुने बालबालिकाले उत्तिकै गुणस्तरीय शिक्षा प्राप्त गरुन् । अभिभावकसँग स्रोतसाधनको कमीले बच्चाका सपनामा पूर्ण लगाम नलागोस् । खुला प्रतिस्पर्धा साँच्चै खुला र पारदर्शी होस्, योग्यको छनोटमा दुईपैसेहरूले चलखेल नगरुन् । गाउँका महिला प्रसूति बेदनाले नमरुन् । सडकमा अस्ति गरेको कालोपत्रे आज उप्किंदा जवाफ दिने संयन्त्र भेटियोस् । छोरीचेलीले मध्यरातमा निस्फिक्री घर फर्किन सकून् । मैले जिताएको नेताले मलाई केही गर्नुपर्दैन ! यत्ति मात्र कि पदमा पुगेर कर्तव्यविमुख नहोस् । नवीन काम गर्न अनुदान चाहिएन, सहुलियत ऋणको उपलब्धता होस् । एयरपोर्टमा लासका बाकस देख्नु नपरोस् । बिरामी हुँदा समयमै अस्पतालसम्म पुग्न पाउँ । जीवनभरि काम गरेर ढाड कुप्रिएका बुढाबुढीलाई साह्रो पर्दा अस्पतालको ढोका निःशुल्क खुलोस् । खेतमा उब्जनी गर्नेको दुर्गति अनि बेच्नेको चाहिँ सदा उन्नति हुने अवस्थाको अन्त्य होस् । विश्वविद्यालयहरू स्वच्छ र नवीनतम प्रवर्तनका बाहक बनुन् । यत्ति भए हिँड्ने बाटो सफा भए र समयमा गाडी पाइए बरु रेल अलिक पछि चढौँला तर पनि हामी खुसी नै हुनेछौँ । हाम्रा साना खुसीको मूल्य राज्यले कहिले हृदयङ्गम गरिदेला ? सायद हामी खुसी हुन नसकेको यति नभएर हो कि ?
(लेखक विद्यावारिधि अध्ययनरत हुनुहुन्छ ।)