डा. सुरेश आचार्य
दशैँ सुरु भएको छ । दशैँले आमहिन्दुमा ल्याउने खुसी र मनोरञ्जनको कुनै मापन नै हुन सक्दैन । स्कुल कलेज बन्द भएसँगै सहरबाट गाउँ फर्कने र दशैँमा आफन्तसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने अभिलाषा लिएर जानेहरूका कारण सहर बिस्तारै सुनसान हुन थाल्छ । यतिबेला दशैँको प्रारम्भिक दिन सुरु भएका छन् । नेपालीलाई छपक्कै दशैँले छोप्न सुरु गरिसकेको छ ।
यो दशैँको रौनक आमनागरिकमा भन्दा पहिला व्यापार व्यवसाय गर्नेहरूमा लाग्छ । यो स्वाभाविक पनि हो । दशैँमा चाहिने मालसामानको बजार तयार गर्नु उनीहरूको धर्म र दायित्व पनि हो । यस अर्थमा दशैँको प्रारम्भ एक महिना अगाडिबाटै सुरु भइसकेको हुन्छ । कतिपय पेसा व्यवसायका मानिस अर्को छ महिनामा नहुने व्यापार गर्ने ध्याउन्नमा रहन्छन् । उनीहरूले दशैँका बजार रणनीति तयार गर्नेदेखि व्यवसायबाट अधिकतम फाइदा लिने अनेक काइदा अपनाएका हुन्छन् । यस अर्थमा भने दशैँ बजार व्यवस्थापनको रणनीति पनि हो । नेपाली व्यवसायीको व्यावसायिक कलाकौशलको प्रदर्शनको पनि अवसर हो ।
अहिले पनि गाउँ र सहरको दशैँमा भिन्नता छ । सहर, जहाँ हरेक हरेक समय वस्तुको अभावको अनुभूति हुदैँन, त्यहाँ के दशैँ, के अरू दिन ? तर शून्य भएको गाउँघरमा दशैँले गुल्जार गरिदिन्छ । आफ्ना गच्छेअनुसारको तयारी सुरु हुन्छ । आफ्ना लागि र आउने आफन्तका लागिसमेत विचार गरेर तयारी गरिन्छ । सहरको मनोरञ्जनले सामाजिक संस्कार दिँदैन । घरभित्रै रक्सीको मादकतामा दशैँ हराएको हुन्छ । तासका चाङमा दशैँ लुटिएको हुन्छ तर गाउँघरका दशैँ अझै पनि रोटेपिङ र लिङ्गेपिङमा रमाएको हुन्छ ।
दशैँका दुई चरण हुन्छन् । पहिलो चरणमा बजारले महŒव पाएको हुन्छ । किनमेलको रहरले बजारमा पाइलो टेक्ने ठाउँ हुँदैन । खासगरी लाउने र खानेकुराको बजार नै दशैँको महŒवपूर्ण पक्ष हो । यतिबेला हरेक मानिस वर्षमा एकजोर नयाँ लुगा हाल्ने होस् वा वर्षमा १० जोर फेर्ने होस्, सबैको प्राथमिकता नयाँ कपडामा हुन्छ । यसैबेला विभिन्न उत्पादनका भिन्नभिन्न अफरहरू आउँछन् र हुनेलाई मात्र हुने नहुनेलाई पनि तिनले आकर्षित गरिरहेका हुन्छन् । बढ्दो उपभोक्तावादी संस्कारका कारण अब लत्ताकपडाका साथमा ‘लक्जरी’का सामान पनि दशैँ बजारको आकर्षण बन्ने गरेका छन् ।
बजारकै अर्को पक्ष दशैँमा खानेकुराको व्यवस्था पनि हो । वर्षको लामो बिदामा रमाउने, हाँस्ने र खुसीसाथ बाँच्ने दशैँमा खानेकुराले बढी नै महŒव पाउने गर्छ । व्यापार गर्नेले एक दिनमा एक महिना बराबरको व्यापार गरेर फाइदा लिन सक्छ तर खानपिनमा यो सिद्धान्त लागू हुँदैन । एक महिनाका लागि एक दिन वा एक वर्षका लागि एक साता खाएर हुँदैन, पुग्दैन र पनि घरपरिवार र आफन्तसँग रमाउँदै गर्दा थोरै खाएर सन्तुष्टि पनि मिल्दैन । त्यसैले एउटा राँगो ढाल्नु, एउटा खसी पोल्नु वा १०÷२० कुखुरा छिमल्नुमा दशैँको सामथ्र्य देखिन्छ ।
यही रौनकतामा रमाएका नेपालीले बजारको सिद्धान्तमाथि हुँदै आएको प्रहारमा मौनता साँध्ने गरेका छन् । एक साताअघि धनगढी पुग्दा साथीहरूले त्यहाँको बजार भाउ बुझेछन् । खसीको मासुको भाउ सुनेपछि उनीहरूलाई दशैँ उतै मनाउन पाए हुन्थ्योजस्तो लागेछ । सङ्घीय राजधानीमा एक हजार ४०० प्रतिकिलो खसीको मासु किनेका उनीहरूलाई सुदूरपश्चिम प्रदेशको राजधानीमा ८०० मात्र पर्दो रहेछ भन्ने कुराले जीवन त यहाँ पो सहज रहेछ भन्ने लाग्यो । प्रश्न धनगढीको मात्र होइन, दशैँका नाममा ब्रह्मलुटको बजार सुरु भएको छ । कुन वस्तुको भाउ कति हो र किन त्यति भयो भन्ने जानकारी पाउने अधिकार उपभोक्तासँग छैन । यद्यपि यो सूचनाको हकसम्बन्धी कानून भएको मुलुक हो । कुनै वस्तुको मूल्य किन बढ्यो भनेर ग्राहकले व्यापारीसँग प्रश्न ग¥यो भने दशैँ भन्ने थाहा छैन भन्ने ठाडो र निर्मम जवाफ हरेक उपभोक्ताले बेहोर्दै आएका छन् । कहिले वस्तुको अभावका नाममा उपभोक्ता ठगिन्छन् त कहिले चाडपर्वका नाममा ठगिनु चाहिँ उपभोक्ताको अधिकार भएको छ । कुनै वस्तुको मूल्य कुनै पसलमा समान छैन । तिर्नुपर्ने मूल्य र गरिने मूल्यको बीचको अन्तर कति हो पहिल्याउन सक्ने अवस्था नै छैन ।
बजारमा राज्यको कुनै नियन्त्रण छैन । व्यवसायी र व्यापारीको सिन्डिकेट चलेको छ । अरू धेरै उदाहरण नै आवश्यक छैन । भदौको दोस्रो साता सरकारले दूधको मूल्य लिटरमा छ रुपियाँ बढायो । निजी क्षेत्रका डेरीले यसलाई अवसरका रूपमा प्रयोग गरे र उपभोक्तालाई १० रुपियाँ बढाइदिए । लिटरको ७० रुपियाँ दूधको मूल्य हुँदा दहीको भाउ ९० देखि १०० रुपियाँ थियो । आज दूधको भाउ छ रुपियाँ बढ्दा दहीको भाउ २० रुपियाँ बढेको छ । यसका लागि दूध व्यापारीलाई कुनै दशैँ कुर्न परेन । सरकारले डीडीसीका दूध वा दहीमा भनेजति नै लिएको छ तर के उसको व्यापारले १० प्रतिशत माग पूरा गरेको छ ? अन्य ९० प्रतिशतको नागरिकको हित हेर्ने दायित्व कसको हो ? दशैँमा शाकाहारीले धेरै खाने दूध दही र मांसाहारीले धेरै खाने मासुको मूल्यको कुरा गरिसकेपछि अरू उदाहरणतिर किन गइराख्नु प¥यो र ?
दशैँको दोस्रो चरण निकै उत्साहजनक हुने गर्छ । दशैँमा मान्यजनबाट आशिष लिने र भोलिका दिनमा प्रगतिको आकाङ्क्षा राख्ने चलन रहिआएको छ । जो जतिसुकै भौतिकवादी वा नास्तिक भए पनि यो परम्परागत विश्वास कमजोर भएको छैन । यसको सांस्कृतिक महŒव अर्कै छ । वैदिक मन्त्रोच्चारण, घटस्थापना, जमरा उमार्ने र त्यहीँ न्यासध्यान, तपका साथै पूजाआजा र बलि दिनेहरूका आआफ्नै मान्यता छन् । देशभित्र रहनेका लागि मात्र होइन, देशबाहिर रहनेका लागिसमेत यी संस्कार र संस्कृतिले मुक्त हुन दिएका छैनन् । यसको अर्को महŒवपूर्ण पक्ष वर्षौंदेखि भेटघाट नभएका आफन्तसँगको भेटघाट हो । आफू फर्केका ठाउँमा हुने भेटघाटले पुराना स्मृतिका पानालाई मात्र पल्टाउँदैन, नयाँ योजना पनि बुन्ने गर्छ । समृद्धिको नारा घोकेका नेपालीले भलै आफ्ना गाउँघरका विकासमा आआफ्ना क्षेत्रबाट योगदान गर्न सके भने पनि विकासमा एक इँटा, एक ढुङ्गा थपिन सक्छ ।
(लेखक नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुनुहुन्छ ।)