डा. अनिल पोख्रेल
देशमा उत्पादन भएका र आयातित तरकारी तथा फलफूलमा देखिएको विषादि अवशेषको मात्रा सामाजिक र राजनीतिक दुवै वृत्तमा ठूलो चासोको विषय बनेको छ । यसको विकल्पका रूपमा अर्गानिक कृषि प्रणाली हुनसक्ने देखिन्छ ।
साधारणतया रासायनिक मल तथा विषादिको प्रयोगबिना गरिने कृषि उत्पादन कार्यलाई अर्गानिक कृषि भनिन्छ । अर्गानिक कृषिका चारवटा मुख्य सिद्धान्त – स्वास्थ्य, वातावरण, निष्पक्षता र रैथानेको हेरचाहसम्बन्धी छन् जसले अर्गानिक कृषिलाई थप प्रष्ट पार्छन् । बाह्य सामग्रीमा आधारित कृषि पद्धतिलाई निरुत्साहित गरेर उत्पादन लागत घटाउन र कृषि उत्पादन बढाउन अर्गानिक कृषि पद्धतिले मद्दत गर्छ ।
अवसर
नेपाल जैविक विविधतामा विश्वमा धनी देशको (२५ औँ) रूपमा चिनिन्छ । यहाँ विभिन्न प्रजातिका बाली र जडीबुटी प्रशस्त रूपमा पाइन्छन् । यहाँको कृषि प्रणालीमा अर्गानिक र रासायनिक दुवै पद्धति अपनाएको देखिन्छ । हिमाली जिल्लामा रासायनिक मल र विषादिको प्रयोग प्रायः शून्य छ भने पहाडी क्षेत्रमा पनि यसको प्रयोग अत्यन्त कम छ । अधिकांश हिमाली र पहाडी क्षेत्रमा किसानले अपनाएको परम्परागत कृषि पद्धति अर्गानिक किसिमको छ । समग्रमा, अहिले नेपालका किसानले अवलम्बन गर्दै आइरहेको रासायनिक कृषि प्रणालीलाई सजिलैसँग अर्गानिक कृषिमा रूपान्तरण गर्न सकिने देखिन्छ ।
नेपालको कुल जनसङ्ख्याको ६६ प्रतिशत जनसङ्ख्या पूर्ण रूपले कृषि पेशामा संलग्न छन्, जसमा ५७ प्रतिशत जनसङ्ख्या काम गर्न सक्ने जनशक्ति (१५–५९ उमेर) छ । यस आधारमा अर्गानिक कृषि प्रवद्र्धनका लागि चाहिने जनशक्ति सुलभ रूपमा पाइने देखिन्छ । देशका ५० लाखभन्दा बढी युवा–युवती रोजगारीका लागि विदेशिएको अवस्थामा अर्गानिक कृषि प्रणालीले स्वरोजगारी सिर्जना गराउने छ ।
अर्गानिक कृषि उपजको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा माग बढ्दै गइराखेको छ । एसिया विश्वको तेस्रो ठूलो अर्गानिक बजार भएको छ । विश्वको ३७ प्रतिशत जनसङ्ख्या ओगटेको हाम्रा दुई ठूला छिमेकी राष्ट्र भारत र चीन नेपाली अर्गानिक उत्पादनको ठूलो बजार हुन सक्छन् ।
बर्सेनि नेपालले १६ अर्ब रुपियाँ बराबरको आयात गर्न परिरहेको छ । चाहिएको समयमा रासायनिक मलको अभाव छ । अर्गानिक कृषि प्रणालीका लागि आवश्यक पर्ने उत्पादन सामग्री किसानले सजिलै स्थानीयस्तरमा बनाउन सक्ने हुँदा बाह्य सामग्रीमा भर नपरी उत्पादन लागत घटाउन सकिन्छ । रासायनिक खेतीमा प्रयोग हुने रासायनिक सामग्रीको प्रयोगको मात्रा बर्सेनि बढाउँदै जानुपर्ने हुँदा उत्पादन लागत बढ्दै गई किसानले कृषि कर्मबाट लिने मुनाफा कम हुन थालेको छ । अर्गानिक कृषि प्रणालीमा उत्पादन लागत कम लाग्ने र उत्पादनले अतिरिक्त (प्रिमियम) बजारमूल्य पाउने हुँदा यसबाट किसानको आम्दानीमा वृद्धि हुनेछ । यसरी अर्गानिक कृषि प्रणालीले आर्थिक अवस्था अत्यन्तै कमजोर भएका अधिकांश साना किसानको जीवनस्तर सुधार्न मद्दत पु¥याउने देखिन्छ ।
सहरी फोहोरमा अर्गानिक (कुहिने वस्तु) को अर्गानिक मल बनाउन सकेमा ६० प्रतिशतभन्दा बढी सहरी फोहोरको व्यवस्थापन सजिलैसँग गरी सहरी कृषिलाई आवश्यक पर्ने मलको माग सजिलै पूरा हुन जान्छ । छाडा पशु–चौपाया निश्चित ठाउँमा एकीकृत गरेर राखी तिनीहरूबाट अर्गानिक वा जैविक मलको साथै बायोग्यास उत्पादन गर्न सकिने सम्भावना पनि प्रशस्त देखिन्छ ।
दशौँ पञ्चवर्षीय योजना (वि.सं. २०६०–२०६५) देखि नेपाल सरकारले अर्गानिक कृषिलाई प्राथमिकतामा राखेको छ भने कृषि विकास रणनीति (वि.सं. २०७२–२०९२) ले पनि यसलाई महìव दिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेशलाई पूर्ण रूपमा अर्गानिक प्रदेश बनाउने प्रयासमा लागेको छ । गण्डकी प्रदेश अर्गानिकोन्मुख प्रदेश बन्न गइराखेको छ । अर्गानिक कृषि पद्दतिमा किसानले प्रयोग गर्दै आइरहेका रैथाने तरिका प्रशस्त छन् भने तिनीहरूलाई सुधार गरी माटोको गुण सुधार्न (स्थानीय सुक्ष्म–जीवाणु, चारकोल, जैविक झोल मल), बिरुवालाई रोग कीराहरूबाट बचाउन (उड–भिनेगर, हर्बल–एक्सट्रयाक्ट, ट्राईकोडर्मा) र बिरुवालाई चाहिने खाद्य–तत्वहरू परिपूर्ति गर्ने (बोकाशी, भर्मिकम्पोस्ट, कम्पोस्ट, फलको रस, फिस–मिट अमाइनो एसिड) उद्देश्यले विकास गरिएका प्रभावकारी प्रविधि पनि उपलब्ध छन् ।
चुनौती
हाम्रो देशमा अर्गानिक कृषि प्रणाली अवलम्बन गर्न प्रशस्तै सम्भावना हुँदाहुँदै पनि यस्तो कृषि प्रणाली स्थापित गर्न केही चुनौतीह पनि देखिन्छन् । अर्गानिकका रूपमा कृषि उपज बेच्न मान्यता प्राप्त निकायबाट अर्गानिक प्रमाणीकरण गर्न अति आवश्यक हुन्छ । यो प्रक्रिया लामो, झन्झटिलो र खर्चिलो हुने हुँदा अर्गानिक उत्पादन गर्न‘भन्दा अर्गानिक प्रमाणीकरण गर्न गाह्रो र महँगो पर्ने किसानको अनुभव सुनिन्छ । ग्रामीण क्षेत्रका किसानको अर्गानिक प्रमाणीकरण गर्ने निकायसँग सहज पहुँच नहुनु र अर्गानिक उत्पादनको कबोल गर्न नसक्नु पनि अर्गानिक कृषि विस्तारका लागि महìवपूर्ण समस्याका रूपमा देखिएका छन् । स्थानीय बजारमा रासायनिकको तुलनामा अर्गानिक उत्पादनको मूल्य अलि बढी पर्ने भएकोले उपभोक्ताले किन्न हिच्किचाउने गर्छन् । यसरी अर्गानिक उत्पादनलाई रासायनिक सरह बेच्दा किसानले अर्गानिक खेतीबाट अतिरिक्त आम्दानी लिन सकिरहेका छैनन् भने सरकारी तथा गैरसरकारी स्तरबाट अर्गानिक बजार व्यवस्थापन र विस्तारतर्फ खासै काम गर्न सकेको देखिँदैन ।
रासायनिकको तुलनामा अर्गानिक मल तथा विषादिको प्रयोग गर्दा झ्वाट्टै बिरुवामा असर नदेखिनुको साथै अर्गानिक उत्पादन सामग्री आफैले तयार गर्न‘पर्दा यो कृषि प्रणाली अपनाउन किसानलाई सुरुमा झन्झटिलो लाग्न सक्छ । यसैगरी बिरुवामा खाद्य–तत्व र रोग कीरा व्यवस्थापन गर्नका लागि उपयुक्त अर्गानिक मल तथा विषादि सर्वसुलभ उपलब्ध नहुनुलाई पनि एउटा महìवपूर्ण समस्याका रूपमा लिने गरिन्छ ।
अहिलेसम्मको हाम्रो कृषि व्यवसाय बिनाव्यावसायिक योजना अँध्यारोमा ढुङ्गा हानेको जस्तो देखिन्छ । सरकारले कृषि क्षेत्रको व्यावसायीकरणका लागि भनेर बर्सेनि नौ अर्बभन्दा बढी अनुदान रकम बाँड्दै आइरहेको अवस्थामा कतिपय कृषि उद्योग तथा फार्म त कृषि अनुदान लिनका लागि मात्र दर्ता तथा सञ्चालन भएका पाइन्छन् । बिनाव्यावसायिक योजना किसानले अर्गानिक कृषि उत्पादन गर्ने भएकाले पनि अर्गानिक कृषि प्रवद्र्धन कार्यमा समस्या देखिएको छ ।
झण्डै दुईतिहाई जनसङ्ख्या सक्रिय रूपमा कृषि पेशामा संलग्न हुँदाहुँदै पनि देश अझै पनि आफूलाई चाहिने कृषिजन्य वस्तुमा परनिर्भर हुनुपर्ने अवस्थामा छ । नेपालले गत वर्ष मात्र सवा दुई खर्ब रुपियाँभन्दा बढीको कृषिजन्य वस्तु आयात गरेको देखिन्छ जुन देशको कुल आयातको १६ प्रतिशतभन्दा बढी हिस्सा हो । देशमा २१ प्रतिशतभन्दा बढी जनसङ्ख्या खाद्य असुरक्षित तथा कुपोषित अवस्थामा रहेका छन् भने देशका ७७ वटा जिल्लामध्ये २३ वटा अझैसम्म पनि अन्नबालीको उत्पादनमा आत्मनिर्भर छैनन् । नेपालको ग्लोबल हङ्गर इन्डेक्स मान (२१.२) लाई हेर्दा नेपालमा भोकमरि गम्भीर अवस्थामा रहेको बुझिन्छ ।
कृषि उपजको बजारीकरणमा बिचौलियाको जालो र चलखेल बढी भएको हुँदा किसानले भन्दा बिचौलियाले बढी फाइदा लिइराखेको देखिन्छ ।
अगाडिको बाटो
बढ्दो उत्पादन लागत, रासायनिक मल तथा विषादिको प्रयोगले जीव–जनावर तथा वातावरणमा पार्दै गइराखेको नकारात्मक प्रभाव, उत्पादन सामग्रीको अभाव, भौगोलिक विकटताले रासायनिक उत्पादन सामग्रीको वितरणमा अप्ठ्यारो र कृषि कर्मबाट किसानको खस्कँदो आम्दानी जस्ता कारणले देशमा रासायनिक कृषि प्रणालीको विकल्प खोज्नुपर्ने बेला आएको छ । अर्गानिक कृषि प्रणाली नेपाली किसानको जीवनस्तर सुधार्न र समग्र कृषिको दिगो विकासका लागि महìवपूर्ण सावित हुनसक्छ । यसका लागि उत्पादनकर्ताका साथै सरकारी तथा गैरसरकारीस्तरबाट केही महìवपूर्ण कुरामा ध्यान दिनुपर्ने देखिन्छ ः
पहिलो, बहुबाली प्रणाली र स्थानीय बालीको उत्पादनमा जोड दिई उत्पादन सामग्रीका लागि स्थानीयस्तरमै अर्गानिक मल तथा विषादिको उत्पादन गर्ने कार्यलाई प्रोत्साहन गर्न‘पर्छ । दोस्रो, सामूहिक खेतीलाई प्रोत्साहित गरी सहभागितामूलक प्रत्याभूति प्रणालीबाट उत्पादित अर्गानिक कृषि उपजलाई सङ्केतपत्र लगाई सामूहिक बजारीकरणलाई महìव दिनुपर्छ ।
तेस्रो, सहरका मुख्य–मुख्य ठाउँमा साप्ताहिक रिले अर्गानिक बजार सञ्चालन गर्न‘पर्छ भने बिक्री हुन नसकेका उपजलाई प्रशोधन गरेर बिक्री गर्नतर्फ किसान समूह वा सहकारीले जोड दिनुपर्छ ।
चौथो, सरकारले अर्गानिक कृषि उपजको निर्यात कार्यका लागि वैदेशिक बजार खोज्ने तथा अर्गानिक प्रमाणीकरण र ढुवानीका लागि कृषि समूह वा सहकारीलाई विशेष सुविधा उपलब्ध गराउनुपर्छ । पाँचौँ, रैथाने अर्गानिक उत्पादन तरिकालाई सुधार गरी अर्गानिक उत्पादन सम्बन्धित बहुआयामिक अनुसन्धानमा लगानी गर्न‘पर्छ ।
देशलाई अहिले नै पूर्ण रूपले अर्गानिक वा रासायनिकतिर लैजानुपर्ने अवस्था त देखिँदैन तर पनि रासायनिक मल र विषादी कम प्रयोग भइरहेका हिमाली र पहाडी जिल्लालाई विस्तारै अर्गानिक कृषितर्फ उन्मुख गराउन सकिन्छ । आन्तरिक र विश्व बजारमा बढ्दैगएको अर्गानिक कृषि उपजको मागको फाइदा नेपाली किसानले लिन सक्नुपर्छ । हाम्रा दुई छिमेकी मित्रराष्ट्रमा अर्गानिक तरकारी, फलफूल, चिया–कफी, मसलाजन्य वस्तु र जडीबुटीको उत्पादन गरी निर्यात बढाएर देशको व्यापार घाटा कम गर्न सक्नुपर्छ । देशलाई अर्गानिक उत्पादनतर्फ लानु अति आवश्यक छ ।
(लेखक नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक हुनुहुन्छ ।)