मीरा राजभण्डारी अमात्य
नेपालीको निर्वासित जीवन वा वैदेशिक रोजगारीबारे मिडियामा खासै खोतलिएको पाइँदैन । विगत हेर्दा देशमा आन्तरिक राजनीतिक कलहका कारण भारतको वनारस, पञ्जावलगायत विभिन्न स्थानमा नेपाली पलायन हुने गरेको इतिहासले देखाउँछ । तत्कालीन भारतको पञ्जाव लाहोरमा सेनामा भर्ती हुन नेपाली जाने गरेको इतिहास दुई सय वर्ष भइसकेको छ । उसो त भारतको काशी वनारस आमनेपालीको शिक्षा ग्रहण गर्ने पहिलो गन्तव्य पनि थियो । तत्कालीन नेपालको जनसङ्ख्याका हिसाबले खासै विदेश गएर कमाउनुपर्ने आवश्यकता त थिएन । तर, कूटनीतिक सम्बन्धलाई निरन्तरता दिन र सोबापत पाइने आर्थिक प्रलोभन नै आमनागरिक र राज्यको स्वार्थ रहने गरेको थियो ।
समय परिवर्तनसँगै अहिले आर्थिक बजार क्रमशः स्वतन्त्र बजारका रूपमा परिमार्जित हुंँदै गएको छ । नेपालीको विदेश पलायनमा अहिले फरक कारण जिम्मेवार छन् । विशेषगरी दस वर्षीय सशस्त्र द्वन्द्वले नेपालीलाई विदेश पलायन हुन विशेष परिस्थिति बनायो । यदि पत्रकारिताका आँखालाई नकारात्मक मान्ने हो भने अमेरिका जहाँ घरहरूमा पर्खाल लगाउने खासै चलन छैन । राख्न हुँदैन भन्ने मान्यतामा आधारित समाज छ, त्यहाँ ।
अमेरिकामा नेपालीको जनसङ्ख्या करिब तीन लाख छ । यससँग जोडिएका विभिन्न जातिगत पार्टीगत सङ्गठन आठ सयभन्दा बढी छन् । यी सङ्गठनको उद्देश्य आमनेपालीबीच सौहार्दता र सहयोग राख्नु हो । तर, हरेक सङ्गठनमा पार्टीगत छवि हाबी हुँदा भविष्यमा नेपालीको सम्बन्ध र प्रेम एकापसमा जोडिनेभन्दा टुक्रिने सम्भावना देखिन्छ । पत्रकारिताकै सन्दर्भमा पनि यहाँको पत्रकारिता नेपालको मुद्दामा भन्दा नेपालीको समस्या समाधानमा केन्द्रित हुनुपर्ने हो । तर, एक त भाषाको समस्याका कारण यहाँको स्थानीय विषयवस्तुमा केन्द्रित हुन नसकेको देखिन्छ । अर्कोतर्फ परदेशी भूमिमै रहे पनि यो मन त नेपाली हो भनेझैँ नेपालको माया पनि हो । थप वास्तविकता पत्रकारिता गरेरमात्र खान नपुग्ने अमेरिकन जीवन दैनिकी र व्यवहारका कारण कम्तीमा दस घन्टा काम पनि गर्नुपर्ने बाध्यता थप कारण हो ।
अमेरिकन समाज निकै स्वार्थी छ । नेपाली यहाँ आएपछि अमेरिकनभन्दा बढी स्वार्थी हुन्छन् । कारण अमेरिकी सरकारले यहाँका वृद्धहरूको सबै जिम्मा लिन्छ । त्यसैले छोराछोरीले हेरचाह गरे पनि, नगरे पनि केही फरक पर्दैन । नेपालीको सङ्गत त्यही जमातसँग हुन्छ । उनीहरू त्यही सिको गर्छन् । घरपरिवार घाँडो हुन्छ उनीहरूका लागि । अर्थात् अमेरिकन समाज र यहाँको राज्य व्यवस्थालाई सतही रूपमा बुझिदिँदा नेपाली समाज थेट नेपाली र अमेरिकन समाजभन्दा भिन्न समाज बन्न पुगेको छ । आफूमाथिको बाबुआमाका कर्तव्य र दायित्व नबुझ्दै अमेरिका छिरेका विद्यार्थी लाइब्रेरीलगायतमा सहजखालका काम गरिरहेका वृद्ध अमेरिकन देख्छन् । नेपालमा आफ्ना बाबुआमा बसीबसी खाएको र निक्रिय भएको सम्झन्छन् । अमेरिकी वृद्धवृद्धालाई खान–लाउन सरकारबाटै सुविधा प्राप्त हुन्छ । यसमा स्थानीय चर्चहरूसमेतले सहयोग गर्छन् । यसरी काम गर्ने वृद्धाको वास्तविकता भनेको वृद्धावस्थाको एकाङ्कीपन र आफू तन्दुरुस्ट रहन काम गर्छन् । त्यही कुरा नेपालका आमाबाबुलाई सुनाएर मनहरू दुखाउने गर्छन्, अमेरिकामा बस्ने नेपाली ।
अमेरिकी जीवनको वास्तविकता नबुझिदिँदा अभिभावक र नवअमेरिकी नेपाली विद्यार्थीबीचको दूरी पनि क्रमशः बढ्दो छ । अभिभावकहरू अन्य श्रमिक वर्गका नेपालीले धमाधम कमाएर नेपाल पैसा पठाउने गरेको देख्छन् । तर, पढ्छु र आफ्नो भविष्य राम्रो गर्छु भन्ने मनोबल बनाएर आमाले पकाएको तातो भात र बुवाको आलिशान घर छोडेर गुरुकुुल अमेरिका पुगेका आफ्ना नानीहरूले पढाइसँगै अनेक दुःख गरेको अनुमान गर्न छोड्छन् । पैसाकै विषयमा कचकच सुरु हुन्छ । अभिभावकले बुझ्नैपर्ने कुरा श्रमिक र विद्यार्थीबीचको हैसियत हो । कतिसम्म भने घन्टाको तीन डलरसम्म पाए पनि धन्य हुने गरेका छन्– विद्यार्थी । त्यो पनि नपाए टिप्समै काम गर्न बाध्य छन् । अमेरिकी कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई बीस घन्टासम्म मात्र काम गर्न कानुनी इजाजत दिन्छ । सोभन्दा बढी काम गर्नु र रेष्टुरेन्ट र वारजस्तामा काम गर्न गैरकानुनी मानिन्छ । भर्खरै एक भारतीय पत्रिकाले इजाजतबेगर काम गरेको भेट्टाएपछि तत्काल भारत फर्काइएका एक विद्यार्थीको समाचार छापिएको थियो । परदेशी भूमिमा अभिभावकविना शैक्षिक भविष्य राम्रो बनाउन सङ्घर्ष गरिरहेका आफ्ना नानीहरूबारे अभिभावक कति सचेत छन् ? यो विषयमा खासै चर्चा भएको पाइँदैन ।
अर्को, अभिभावकका आफ्ना समस्या पनि होलान् । ऋण गरेरै पढ्छु भन्ने नानीहरूका इच्छा पु¥याइरहेका अभिभावक पनि छन् । हरेक अभिभावकको चाहना हुन्छ– आफ्ना नानीहरू राम्रोसँग पढून् । समाजमा इज्जत होस्, पैसा, पद र प्रतिष्ठा हासिल गरून् । तर, समाज गधा बच्चा र बूढो मान्छेको कथाजस्तो छ । न यो गरे जस न त्यो गरे जस । सायद नेपाली समाज अलि फुर्सदिलो भएर पनि होला ।
अमेरिकामा पढ्ने अन्य देशका विद्यार्थीभन्दा नेपाली विद्यार्थीले आफूले तिरेको करबापतको रकम फिर्ता पाउँदा अत्यन्त कम प्रतिशतमात्र फिर्ता पाउने गरेका छन् । एक भारतीय विद्यार्थीको भनाइमा सहमत हुने हो भने भारत सरकार र अमेरिकी सरकारबीच केही सहमति छ । भारतीय विद्यार्थीलाई न्यूनतम सहुलियत दिने । तर, त्यो सहमति कस्तो हो आमभारतीय विद्यार्थी पनि अनभिज्ञ छन् । यस्तो सहमति नेपालले पनि अमेरिकी सरकारसँग गर्न सक्छ । तर, यस विषयमा एक नेपालीको बुझाइ फरक छ । भारत सरकारको अमेरिकामा लगानी ठूलो छ । भारतीय लगानीमा चलेका कतिपय रेष्टुरेन्ट तथा कार्यालयमा केही अमेरिकनले रोजगारी पाइरहेका छन् । त्यस्तै, करिब एक अरब ३६ करोड जनसङ्ख्या रहेको भारत अमेरिकन सफ्टवेयरलगायतको राम्रो ग्राहक हो । तसर्थ, अमेरिकी सरकारले भारतीय विद्यार्थीका लागि त्यति सहुलियत दिनु खासै ठूलो कुरा होइन ।
एक नेपालीको भनाइ यहाँ तर्कसङ्गत होला । नेपालबाट हरेक वर्ष थुप्रै नेता अमेरिका आउँछन् । तर, उनीहरूको भाषणका खाका र एजेन्डा खालि नेपालको राजनीति र सामाजिक समस्यामा केन्द्रित हुने गरेका छन् । तीन लाख नेपाली रहेको अमेरिकामा नेपालीका समस्या के–के हुन् ? ती सम्बोधन गर्न उनीहरूसँग के–के एजेन्डा छन् ? त्यस्ता विषयवस्तुको प्रतिशत शून्य हुने गरेको छ । त्यसैले कतिपय नेताहरूले कार्यक्रमकै बीचमा गाली र उपहास बेहोर्नुपरेको उदाहरण पनि छन् ।
विद्यार्थी जीवनका रूपमा गुरुकुल अमेरिका छिरेका नेपाली नै अहिले अधिकांश व्यापारी वर्गमा परिणत भएका पनि छन् । सुरुवाती दिनमा चार घन्टा काम गर्न पाँच घन्टा समुद्रीकिनार र रेल स्टेसनमा कुरेर समय बिताउनेहरू नामी व्यापारीमा परिणत भएका छन् । अहिले अमेरिकी ग्रीनकार्डसमेत प्राप्त गरेकी कमला श्रेष्ठबारे कम नेपालीलाई थाहा होला । नर्सिङ पढ्न अमेरिका छिरेकी कमला अहिले सयौँ नेपालीलाई रोजगारी दिन सफल भएकी छन् ।
धैर्य गर्नुपर्छ, अमेरिकामा सङ्घर्षका पर्खाल नाघ्न । पर्खाल नभएका देशका लुकेर रहेका सङ्घर्षका अनेक पर्खाल नाघेपछि सुनौलो भविष्य बन्छ । मात्र विद्यार्थी तथा अभिभावकले अमेरिकी जीवनशैलीमा सोचेर हैन, नेपाली शैलीको जीवनलाई अमेरिकी व्यवहारमा उतार्नुपर्छ । म नेपाली हुँ र मैले नेपाल र मेरा आफन्तसँग अमेरिकी डलरसँग होइन, अमेरिकी इमानदारी, कर्तव्य र दायित्वसँगै नेपाल र आफन्तलाई सँगसँगै लानुपर्छ भन्ने सोच्नुपर्छ ।
(लेखक पत्रकार हाल अमेरिकामा बसोवास गर्नुहुन्छ ।)