logo
२०८१ मंसिर ९ आईतवार



पत्रकारितामा समाधान अवधारणा

विचार/दृष्टिकोण |




यमबहादुर दुरा

पत्रकारिता समाजका लागि अक्सिजनजस्तै बन्दै आएको छ । पत्रकारिताको उपस्थितिविना आधुनिक समाजको कल्पना गर्नसम्म पनि गाह्रो छ । सहरका बासिन्दाको सेयर कारोबारदेखि गाउँका किसानको नगदेबालीको बजारसम्मका गतिविधिमा पत्रकारिताको निर्णायक भूमिका रहँदै आएको छ । सहरमा भर्खरै भित्रिएका ‘ब्लकबस्टर’ चलचित्रदेखि सङ्गीतको नवीनतम् टे«न्डसम्मका यावत् समसामयिक जानकारी वा सूचना पत्रकारिताले नै पस्किरहेको छ ।
पत्रकारिता समाजोपयोगी कर्ममा सरिक हुँदाहुँदै पनि अन्य पेसा–व्यवसायझैँ यो पनि आलोचनामुक्त भने छैन । पत्रकारिता आलोचनाको निशाना बन्नुका विविध कारण छन् । पत्रकारिताले एउटा आरोप निरन्तर खेपिरहेको छ– यसले समाजका घटनाक्रम वा समस्याबारे निख्लो सूचनामात्र सम्प्रेषण गर्छ । कहिलेकाहीँ त यतिसम्म गर्छ, निराश शैलीमा समाचार पस्किएर समाजलाई नै उदास तुल्याइदिन्छ । यसले समाजले भोगिरहेको साझा समस्याबाट कसरी मुक्ति पाउने भन्नेबारे उतिसाह्रो वास्ता गर्दैन ।
यो विशुद्ध आरोपमात्र हो वा वास्तविकता पनि हो ? तर्क–वितर्क गर्न सकिने धेरै ठाउँ छ । यद्यपि, यसप्रकारको आरोपबाट छुट्कारा पाउनका लागि पत्रकारिता वृत्त चिन्तित नभएको होइन । पत्रकारितालाई समाजको पहरेदारमात्र नभई अनन्य मित्र बनाउने असल प्रयत्नहरू पनि नभएका होइनन् । खोजी पत्रकारिता, विकास पत्रकारिता, सिभिक पत्रकारिता, रचनात्मक पत्रकारिता, नागरिक पत्रकारिताजस्ता पत्रकारिताका अनेकन् विधा यिनै प्रयत्नका प्रतिफल हुन् ।
पत्रकारिताले नागरिकका समस्याबारे निख्लो र शुष्क रिपोर्टिङमात्र गरिरहेकको छ भन्न मिल्दैन । पत्रकारिता क्षेत्रले नागरिकले भोगिरहेका समस्या समाधानका उपायसहितका असल प्रयत्न गरेको छ । यसका थुप्रै दृष्टान्त छन् । यसको एउटा दृष्टान्तका रूपमा समाधान पत्रकारिता (सोल्युसन्स जर्नालिज्म) लाई लिन सकिन्छ । सन् १९९८ तिर अस्तित्वमा आएको समाधान पत्रकारिताले कुनै निश्चित समस्याबारे समाचारमात्र दिँदैन, समाधानका उपायहरू पनि बताउँछ । अर्को शब्दमा भन्दा यसले समस्याको उठानमात्र गर्दैन, सम्बन्धित समस्याको बैठान गर्ने दिशामा पर्याप्त काम गर्छ ।
समस्या उजागर गरेर समस्यामाथि समस्याको थुप्रो बढाउने तर समाधानको उपाय नखोज्ने प्रवृत्तिबाट सबैजना वाक्क भएपछि समाधान पत्रकारिताको अवधारणा मौलाएको देखिन्छ । अमेरिकाको वासिङ्टन स्टेटमा शिक्षा क्षेत्रमा देखापरेका समस्याबारे एकोहोरो रिपोर्टिङ भइरहेको बेलामा ‘द सियाटल टाइम्स’ ले समाधानका उपायसहित रिपोर्टिङ गरेपछि समाधान पत्रकारिता अस्तित्वमा आएको पाइन्छ । यद्यपि, यसबारे मतमतान्तर छ ।
समाधान पत्रकारिताले के–के गर्छ ? यहाँनेर, पत्रकारिता क्षेत्रमा काम गरेर ख्याति कमाएको अमेरिकी संस्था ‘पोइन्टर इन्स्टिच्युट’ का तत्कालीन निर्देशक भिकी क्रुगरको भनाइ उद्धरण गर्नु सान्दर्भिक हुन आउँछ । क्रुगरको दृष्टिमा समाधान पत्रकारिताले पत्रकारिताको उच्चतम् मर्यादा र आदर्शलाई आत्मसात् गर्दै समाजमा असल प्रभाव छाड्ने किसिमको रिपोर्टिङ गर्छ । उहाँका अनुसार यसले समाजमा रचनात्मक बहस पैदा गर्छ । नागरिकलाई सबल बनाउँछ, गलत सोचाइलाई चिर्छ र समाजलाई उदासीन हुनबाट जोगाउँछ । समाधान पत्रकारिताले समस्याको मूलभूत कारण पत्ता लगाई समस्या निराकरणको उपाय खोज्छ ।
समाधान पत्रकारिताले समाजलाई फुटपरस्त नभई एकताबद्ध बनाउँछ । यसले सही र उपयोगी सूचना प्रवाह गरेर नागरिकलाई आफैँ सच्चिने उपाय प्रदान गर्छ । समाजलाई उपयोगी अन्तरदृष्टि दिन्छ । यसले समाजलाई गाँजिरहेको सामाजिक रोगको निदान र उपचारमा सहयोग गर्छ । समस्या समाधानका लागि उपयोगी मोडल प्रस्तुत गर्छ । समस्यालाई रचनात्मक किसिले समाधान गर्न नयाँ ‘लेन्स’ प्रदान गर्छ । यस किसिमको पत्रकारिता स्थानीय परिवेशमा बढी प्रभावकारी मानिन्छ ।
कतिपयको दृष्टिमा समाधान पत्रकारिता कुनै नयाँ विषय वा विधा होइन । यो भइरहेकै पत्रकारिताको अभ्यासलाई अझ बढी शुद्धीकरण र स्तरीकरण गर्ने कार्यमात्र हो । अर्को शब्दमा भन्दा विद्यमान पत्रकारिताको अभ्यासलाई अझ बढी जनमुखी र समाधानमुखी बनाउने प्रयत्न हो । यसका लागि पत्रकार रचनात्मक, परिश्रमी र अध्ययनशील हुनुपर्छ । अनि मात्र समाधान पत्रकारिताको ढोका खुल्छ । यसका लागि पत्रकारमा सकारात्मक सोच र असल मनोवृत्ति पनि नभई नहुने पक्ष हुन् ।
प्रश्न उठ्छ, समाधान पत्रकारितालाई नेपालको सन्दर्भमा कसरी ढाल्न सकिएला ? हामीकहाँ अनेकन् गम्भीर मामिलाहरू देखापरेका छन्, जसको तत्क्षण समाधान आवश्यक छ । जस्तै ः आत्महत्याको बढ्दो ग्राफ, युवामा लागूऔषधको दुरुपयोग आदि । नेपालमा हुने आत्महत्यालाई एउटा दृष्टान्तका रूपमा लिऔँ । नेपालमा आत्महत्या मृत्युको मुख्य कारणमध्ये एक मानिएको छ । यहाँ हरेक वर्ष लगभग चार हजार व्यक्तिले आत्महत्या गर्ने गरेको अभिलेख पाइन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले आत्महत्या हुने देशहरूको सूचीमा नेपाललाई एक सय २६औँ स्थानमा राखेको छ । नेपालमा हुने आत्महत्यालाई न्यूनीकरण गर्न समाधान पत्रकारिताको लेन्सबाट हेर्दा पत्रकारले कस्तो भूमिका खेल्नुपर्ला ? यहाँनेर, आत्महत्याको विकराल अवस्थाबारे निख्लो रिपोर्टिङमात्र गरेर पुग्दैन । यसको मूलकारण पत्ता लगाउँदै यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे सरल र सहज भाषामा उपयोगी उपाय सुझाउनुपर्छ । आत्महत्या नियन्त्रणमा भएका असल अभ्यास तथा मोडल प्रस्तुत गर्नुपर्छ ।
तर, यस्तो काम सहज छैन । यसका लागि पत्रकारले धेरै परिश्रम गर्नुपर्ने हुन्छ । ऊ धेरै रचनात्मक र अध्ययनशील बन्नुपर्छ । अनिमात्र समस्याको जरोमा पुगेर समस्याको हल गर्नका लागि सुझाव दिन सक्ने हैसियतमा पुग्छ । यसक्रममा पत्रकारले खोजी रिपोर्टिङदेखि गहन रिपोर्टिङसम्मका पत्रकारिताका सबै सीप र शोध विधिलाई आवश्यकताअनुसार उपयोगमा ल्याउनुपर्छ । समस्याको सूक्ष्मतम् विश्लेषण गरी परिस्थितिको गाम्भीर्य पत्ता लगाउनुपर्छ ।
समाधान पत्रकारिताले विषयवस्तुलाई मात्र हेर्दैन । यसले हाम्रो सन्देश बोकेर अडियन्स (श्रोता, दर्शक र पाठक) कहाँ पुग्ने भाषालाई पनि ख्याल गर्छ । समाधान पत्रकारिताको सम्यक भाषालाई मान्यता दिन्छ । हामी कतिपय सञ्चारमाध्यममा अत्यन्त विषाक्त अभिव्यक्ति देख्छौँ । गालीगलौज र आरोप–प्रत्यारोपका निकृष्टतम् भाषा प्रयोग भएको पाउँछौँ । यस्ता अभिव्यक्तिहरूले प्रतिशोधपूर्ण समाज निर्माणमा सघाउ गर्छन् । जसबाट सम्यक समाजको जग भत्किन पुग्छ । समाधान पत्रकारिताले यस्ता भाषालाई त्याज्य विषय ठान्छ ।
पत्रकारिता क्षेत्रमा विद्यमान अशुद्धिलाई हटाउँदै समाधानमूलक पत्रकारितालाई प्रश्रय दिने अभिप्रायले अमेरिकामा ‘सोल्युसन्स् जर्नलिज्म नेटवर्क’ नामक संस्था स्थापना भएको छ । सन् २०१३ मा अमेरिकी पत्रकार तथा लेखक डेभिड बन्र्सटिन, नारावादी लेखिका कट्नी मार्टिन र अर्का पत्रकार तथा लेखिका टिना रोजेन्वर्गले यो संस्था स्थापना गर्नुभएको हो । ‘सोल्युसन्स् जर्नालिज्म नेटवर्क’ ले पत्रकारितालाई शुद्धीकरण गर्ने दिशामा धेरै रचनात्मक काम गर्दै आएको छ । यो संस्थाले पत्रकारलाई समाधान पत्रकारिताबारे प्रशिक्षण दिने तथा मार्गनिर्देश गर्ने काम गरिरहेको छ ।
‘सोल्युसन्स् जर्नलिज्म नेटवर्क’ ले अमेरिकाको ‘टेम्पल युनिभर्सिटी स्कुल अफ मिडिया एन्ड कम्युनिकेसन’ तथा ‘पोइन्टर इन्स्टिच्युट’ सँग मिलेर समाधान पत्रकारिताबारे पाठ्यक्रम पनि तयार पारेर प्रशिक्षण कार्यक्रम अगाडि बढाइसकेको छ । यसले अमेरिकाको ‘द सियाटल टाइम्स’, ‘द क्रिस्चियन साइन्स मोनिटर’, ‘द बोस्टन ग्लोब’, ‘द वल्र्ड’ र ‘सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ’ जस्ता सञ्चार गृहसँग मिलेर समाधान पत्रकारिताको अवधारणालाई मूर्त रूप दिने कार्यमा अघि बढिरहेको छ ।
नेपाली समाज बहुआयमिक समस्यासँग जुधिरहेको बेला पनि यस किसिमको असल प्रयत्न नेपालमा पनि हुन आवश्यक छ । समाजमा विद्यमान समस्याको शुष्क रिपोर्टिङमात्र नगरी समस्या समाधानको रचनात्मक उपायहरू खोजेर प्रस्तुत गर्दा समाजलाई योगदान त पुग्छ नै, खोजबिन गर्ने र समस्याको गहिराइमा पुग्ने पत्रकारको क्षमता पनि अभिवृद्धि हुन्छ । यसबाट समाज र पत्रकार दुवैलाई लाभ हुन्छ । समाजको वृहत्तर हितमा नेपाली पत्रकारिता वृत्तले पनि समाधान पत्रकारितालाई अपनाउनुपर्ने समय आएको छ ।

(लेखक पत्रकारिता अध्यापन गर्नुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?