logo
२०८१ मंसिर ९ आईतवार



बाह्य उडानमा निजीक्षेत्र (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपालले हवाई सेवामा खुला आकाश नीति लिएपछि आन्तरिक साथै बाह्य उडानमा निजीक्षेत्रको सहभागिता बढ्दो छ । आन्तरिक उडानमा नेपाली हवाई कम्पनीहरूले प्राप्त गरेका सफलताबाट अन्तर्राष्ट्रिय उडानमा निजी कम्पनी उत्साही देखिएका छन् । नेपालमा दर्ता भएको हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले आगामी कात्तिकदेखि चीनको बेइजिङ् उडान गर्ने भएको छ । चीनमा हालै सञ्चालनमा आएको विश्वकै सबैभन्दा ठूलो विमानस्थल (स्टारफिस उपनाम दिइएको) मा उडानका लागि ‘स्लट’ प्राप्त गरेको कम्पनीले दैनिक एक उडान गर्न पाउनेछ । अहिले नेपालमा चीनका पाँच विमान कम्पनीका जहाजले उडान भरिरहेका भए पनि नेपाली वायुसेवा कम्पनीले त्यहाँ उडान गर्ने अवसर पाएका छैनन् । यसअघि नेपाल वायुसेवा निगमले चीनको राजधानी बेइजिङ र गोन्जाओको उडानका लागि चिनियाँ सरकारसँग अनुमति लिने गृहकार्यसँगै गोञ्जाओमा सम्पर्क कार्यालय स्थापना गरेको जनाएको थियो तर स्टलको अभावमा लामो समयदेखि नेपाल वायुसेवा निगमका जहाजले चीनमा उडान गर्न नपाए पनि हालै नयाँ विमानस्थल सञ्चालनमा आएपछि उडान सम्भव देखिएको छ । यसपछि व्यावसायिक सम्भावना र आवश्यकताका आधारमा नेपाली अन्य वायुसेवाले पनि चिनियाँ आकाशमा उड्ने अवसर पाउन सक्नेछन् । यसअघि सेयरको ठूलो हिस्सा लिएको चिनियाँ लगानीकर्ता तिब्बत एयरलाइन्सको फिर्तीसँग हिमालयन एयरलाइन्समा तिब्बत सिभिल एभिएसन डेभलपमेन्टको प्रवेशसँगै बेइजिङ उडानको टुङ्गो लागेकाले यसका लागि अब धेरै दिन कुर्नुपर्ने छैन ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमणवर्षका रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा विश्वमा तीव्र विकास गर्दै गरेको चीनको सिधा उडानले नेपालले पर्यटनमार्फत अर्थतन्त्रमा योगदान दिन सक्ने देखिन्छ । पछिल्लो समय चिनियाँ पर्यटक नेपाल आउने क्रम बढेसँगै त्यहाँको सिधा उडान नेपाली पर्यटन विकासका लागि कोसेढुङ्गो हुनसक्छ । तेस्रो मुलुकबाट आउने पर्यटकका लागि नेपालले विश्वका अन्य देशमा पनि यस प्रकारले उडान विस्तार गर्नुले उत्साहजनक परिणाम दिन सक्छ । यसका लागि नेपाल सरकार र वायुसेवा प्रदायक कम्पनीबीच निरन्तर सहकार्य आवश्यक छ । यसअघि नेपाली वायुसेवामा प्रतिष्ठा कमाएको बुद्ध एयरले भारतका वाराणसी र कलकत्तामा उडान गरेको थियो भने हिमालयले हाल अबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुरमा उडान गर्दै आएको छ । त्यस्ता उडानलाई निरन्तरता दिई थप क्षेत्रमा विस्तार गर्नुपर्ने चुनौतीमा नेपाली कम्पनीहरू छन् ।
नेपालका निजी हवाई सेवा प्रदायकले प्राप्त गरेका सफलताका पछाडि सरकारले लिएको उदार उडान नीति महŒवपूर्ण मानिएको छ । यस क्षेत्रमा रहेका समस्या तथा अन्योल हटाई सरकार तथा निजीक्षेत्रको सहकार्यमा यस्तो सेवा विश्वका अन्य देशमा पनि विस्तार गर्न सकिने निजीक्षेत्रको सफलताले पुष्टि गर्दै आएको छ । अन्य केही समस्या भए सरकार र सम्बद्ध पक्षको संवाद तथा सहमतिमा व्यवसायका थप सम्भावना खोज्न सकिनेछ । नेपाली हवाई सेवामा युरोपियन मापदण्डका सर्त तथा प्रावधान पूरा भइसकेको सम्बद्ध पक्षले जनाएको भए पनि युरोपको आकाशमा नेपाली जहाजले अझै प्रवेश पाउन सकेका छैनन् । ती देशबाट उल्लेख्य सङ्ख्यामा पर्यटक नेपाल आउने भएकाले यताको उडानलाई नेपालले विशेष महŒव दिनुपर्छ । युरोपियन युनियनले नेपालको उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेका बारे नेपालले गरेको पहलका कारण आगामी दिनमा यस्तो सूचीमा परिमार्जन हुनसक्ने देखिएको छ । एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको नेपालमा अढाई दर्जनजति अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान भर्दै आएकाले पर्यटकको आवागमनमा समस्या नदेखिए पनि सिधा उडान नभएकाले उडान महँगा भएका छन् । युरोपका देशबाट नेपाल आउने यात्रुले कम्तीमा पनि दुईवटा विमान फेर्नुपर्छ । सिधा उडानको अभावमा धेरै महँगो भाडा तिरेर नेपाल आउनुपर्दा नेपालको विकल्पमा पर्यटकले अन्य क्षेत्र रोज्न सक्ने अवस्थाको अन्त्य गर्न पनि नेपाल एयरलाइन्स तथा निजी कम्पनीले पर्यटक बाहुल्य मुलुक लक्षित उडान गर्न सक्दा नेपालको समग्र आर्थिक विकासमा योगदान दिन सकिनेछ । हिमालयन एयरलाइन्सले बेइजिङ्लगायत चाङ्सा, नाङ्चाङ्, गुइयाङ्, चोङकिङ्, अलि र सेन्जेङ्मा पनि उडान विस्तार गर्ने तयारी गरेकाले अन्य कम्पनीले भारत, युरोप तथा खाडी मुलुकमा सिधा उडानको सम्भाव्यता खोजी गर्नु आवश्यक छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?