लीला दाहाल
धर्मकै पुरानो मानिने हिन्दु धर्मले विविध, सामाजिक, सांस्कृतिक मान्यताको चाड पर्व मनाउँदै आएका छन् । तिनै चाड पर्वमध्येको असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाइने बडादशैँ पर्व आएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा तिथिसम्म १५ दिनसम्म मनाइने यस पर्वभित्र हाम्रा विविध सामाजिक, सांस्कृतिक र धार्मिक पक्ष समाहित छन् ।
खासगरी नारी महाशक्तिका रूपमा प्रख्यात विविध देवी स्वरूपाहरूको विशेष पूजा अर्चना र आराधनासहित मनाइने यस पर्वलाई शक्ति आराधनाको विशेष पर्वका रूपमा लिइन्छ । भगवती दुर्गाका विविध स्वरूप अन्तर्गत पर्ने शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी जम्मा नौवटी शक्तिस्वरुपिणी देवीहरूको विशेष व्रत, पूजा र उत्सव आदि गरी मनाउने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म जम्मा नौ दिन भगवती दुर्गाका विविध स्वरूपको आराधना गर्दै मनाइने यो पर्वलाई नवरात्रि पनि भनिन्छ । माथि वर्णित सबै देवीस्वरूपहरू भगवान् शिवकी अर्धाङ्गिनी देवी पार्वतीसँग सम्बन्धित छन् । देवी पार्वतीलाई शिवाशक्तिका रूपमा लिइन्छ । शिवा शक्ति भनेको कल्याणदायिनी शक्ति हो । आफ्नो वा आफूले प्राप्त गरेको शक्ति लोककल्याणको दिशामा परिचालित गर्न सकेमा नै स्वशक्तिको सही सदुपयोग हुनका साथै आफ्नोसमेत कल्याण हुन्छ । यस विपरीत आफूले प्राप्त गरेको स्वशक्ति अकल्याणकारी मार्गमा ल्याएमा त्यस्तो शक्ति क्रमशः निस्तेज हुँदै स्वयंमा आफूलाई नै निस्तेज तुल्याउँछ । त्यसैले हामीले कहिल्यै पनि स्वशक्तिको दुरूपयोग गर्नुहुँदैन । आफूलाई दुष्कर्मको दिशातर्फ धकेल्नुहुँदैन । यसबाट नै स्वच्छ र कल्याणकारी समाजको निर्णय हुन्छ ।
जसले ईश्वरीय शक्तिप्रति सधैँ आस्थावान् रहेर उपयुक्त तथ्यलाई मनन गर्छ त्यस्तो व्यक्तिबाट दुष्कर्म हुनै सक्दैन । ईश्वरीय शक्तिप्रतिको आस्थाबाट नै मानवको शरीर र मन दुवैको स्थिति सही दिशामा परिचालित हुन पुग्छ । यसकै माध्यमबाट मानवले आफैँमा आत्मसुधार र आफ्नो आत्मविकास पनि गर्न सक्छ । यसले नै मानवलाई विवेकशील र दूरदर्शी तुल्याउँछ । यसविपरीत दिशामा परिचालित भएर ईश्वरीय शक्तिप्रति अनास्था गर्ने, आफ्नो लाभलाई मात्र महŒव दिने, अरूका अर्ती उपदेशलाई मनन नगर्ने, आफ्नो शक्तिमा अहंकार गर्ने, लोभमा परी अनेक किसिमका अकर्म गर्न प्रवृत्त हुने, आफ्ना गल्तीहरू सुधार्न नचाहेर र एकपछि अर्को गल्ती गर्दै जाने र नास्तिक भावना भएको मानवको भविष्य अन्धकारमय हुन पुग्छ भन्ने तथ्यमा बडादशैँ पर्वले महŒवपूर्ण प्रकाश पार्दै आएको पाइन्छ ।
हामी शक्तिको मातले उन्मत्त हुन पुगेको अहंकारी व्यक्तिलाई असुर भन्छौँ । यस्ता असुरहरूमा हिंस्रक प्रवृत्ति पाइन्छ । हिंस्रक प्रवृत्तिको विकास मानवमा भयो भने मानवले जस्तोसुकै नीच कर्म पनि गर्न पछि पर्दैन । सुर शब्दले देवतालाई बुझाउँछ । शक्ति र बुद्धिको सही प्रयोग सुरमा रहेको मानवले नै गर्न सक्छ । यसरी मानवले आफ्नो कर्मका माध्यमबाट नै आफूलाई सुर वा असुरका रूपमा समाजमा परिभाषित गर्छ । उसको कर्मले नै उसलाई सुर वा असुरका रूपमा समाजमा परिभाषित गर्छ । हाम्रो समाजमा कसैलाई देवताजस्तो र कसैलाई राक्षसजस्तो मानवका रूपमा चर्चा गर्ने गरिएको पनि पाइन्छ । यस्तो चर्चामा उसको सत्कर्म अथवा दुष्कर्म नै जिम्मेवार रही आएको हुन्छ । जसले आफ्नो समेत कुनै पर्वाह नगरी आफूलाई लोककल्याणकारी दिशामा समर्पित गर्छ, त्यसलाई सज्जन अथवा देवता समान र जसले विभिन्न किमिसका विध्वंस मच्चाएर लोकको अहित गर्छ, त्यसलाई नै दुष्ट वा राक्षस समान मान्ने गरिन्छ ।
यही दशैँ मनाउने निहुँमा हामीले कैयौँ निर्दोष पशुपक्षीको हत्या गर्दछौँ । के यो बलि दिने प्रथा ठीक होला त ?
“अहिंसा परमो धर्म” भन्ने मूल मन्त्रको आडमा हिन्दू धर्म रहिआएको छ । यहाँ हिंसा गर्नुलाई धर्म मान्न सकिँदैन ।
“धर्मस्य तत्वं निहितं गुहायां महाजनो येन गतः स पन्था”
धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाइ गर्नु भन्ने बुझिन्छ । धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ । धर्म शब्द कुनै हिंसाको द्योतक होइन । मन, वचन र कर्मले कसैको हिंसा, हत्या नगर्नु प्राणी मात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षण हुन् ।
बाबुबाजेले जे नियम बसाए, छोरा नातिले पनि यही सिके । फलतः दशैँको बेलामा प्रत्येक घरमा बलि दिनु नै पर्छ भन्ने सबैमा भाव पर्न गयो र त्यहीँबाट नै बलि दिन थालियो । बलि दिनु राम्रो होइन । यो प्रथा गलत हो । बलि प्रथा बन्द गर्नुपर्छ भनेर अहिले आवाज उठ्न थालेको छ । यसलाई सकारात्मक सोचको विकास भएको मान्नुपर्छ । नयाँ सोच, नयाँ विचार, नयाँ भावनाको विकास हुँदै जानु समयको माग, परिवर्तन एवं विकासक्रमको नियम पनि हो र शास्त्रसम्मत निर्णय पनि यही हो ।
खुनको बलि होइन, नरिवल, कुभिन्डो आदिको बलि दिएर पनि यज्ञलाई पूर्ण गर्न सकिन्छ । देवतालाई प्रसन्न गर्न सकिन्छ । देवताहरू सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव हुँदैनन् । शास्त्रमा पनि नरिवल एवं कुभिन्डोको बलिको नै विधान छ । दशैँको बेलामा पशुहरूको बलि दिने प्रथालाई पनि अब सुधार गर्दै जानुपर्छ ।
देवीका नाममा पशुपक्षी काटेर धर्म हुन्छ
त ? देवीलाई हामी सृष्टिकर्ता पालनकर्ता मान्छौँ । देवीलाई सबै प्राणीका माता मान्छौँ । यो संसारका सबै प्राणी देवीका सन्तान हौँ भने आफ्नै देवी माताले आफ्नै सन्तानको रगत पिउन सक्छिन् ? आफ्नै अगाडि ती अबोध निर्दोष सन्तानको आफ्नै पूजा गर्नाका लागि बलि चढाउँदा देवी माता खुशी होलिन् ? हामी संस्कार र परम्पराकै आडमा बलि दिइरहन्छौँ भने सती प्रथा पनि त अहिलेसम्म रहिरहने थियो बलि प्रथाहरू जस्तै । जसरी संस्कार भए पनि नराम्रा कुरीतिहरूलाई निर्मूलीकरण गर्दै सती प्रथा हट्यो त्यसरी नै बलि प्रथा पनि हट्न जरुरी छ । आफ्नै निजी इच्छा पूरा गर्नका लागि अन्य कुनै पनि कुराको अनैतिक प्रयोगलाई धर्मले निषेध नै गर्छ, जुन प्राणीको आत्मा हामीले मुक्त गर्न सक्दैनौँ, त्यो प्राणीको बलि बलि नभएर हत्या हो । हत्याको जघन्य अपराधको पाप लाग्छ, जसको कारण आज यो विश्व दुनियाँ स्रोत, साधन, विश्वविद्यालय सबै बनाएर पनि दुःखी छन् ।
धर्मकै कुरा गर्दा कुनै पनि बौद्धिक धर्ममा मांसाहार खानाको मनाही गरिएको छ । वेद शास्त्र र धर्मशास्त्रमा पनि मनाही गरेको छ । फेरि प्राणीलाई हिंसा नगरिकन मासु प्राप्त हुँदैन । यसरी कुनै पनि पशुपक्षी मारेर मनुष्यको अन्तरमन सुखकारक हुन सक्दैन । वेदमा त पशुपक्षीलाई पाल्ने तथा उनीहरूको रक्षा गर्ने अनेक आदेश दिइएको छ । वेदमा खाने कुराहरूमा गहुँ, जौ, चामल आदि अनाज तथा फल, सब्जीहरू, दूध घ्यू आदि कुराको वर्णन मात्र गरिएको छ । केही कतै मांसाहारको वर्णन छैन । मानव जस्तो सर्वश्रेष्ठ प्राणी भएर जबर्जस्ती परम्परा धान्ने नाममा पशु हिंसा गर्नु पाप हो ।
त्यसैले बलि दिएर पुण्य हुन्छ र मनोकामना सिद्ध हुन्छ भने जुन नकारात्मक मानसिकता बसेको छ त्यो हिंस्रक प्रकृति भएका मानिसको मनोरोगको उपज हो । ती अबोध, निर्दोष पशुको हत्या गरेर बलिदिने होइन, आफूभित्र रहेको पाशविक अहंकार, रिस, राग बलि चढाउनु नै वास्तविक बलि हो । देवी, देवता सदासर्वदा सम्पूर्ण प्राणीको कल्याण चाहन्छन् । त्यसैले अब हरेक नागरिकले हिंसाको संस्कृतिलाई सदाका लागि बन्द गर्न हातेमालो गर्दै हिंसा अन्त्य अभियान सुरु गर्न जरुरी छ ।
(लेखक साहित्यकार हुनुहुन्छ )