logo
२०८१ मंसिर ९ आईतवार



कहालीलाग्दो अफगानिस्तानको द्वन्द्व

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

अफगानिस्तानमा महिला र बालबालिकासहित औसतमा दैनिक ७४ जना मानिस मारिने गरेका छन् । अमेरिकाले १८ वर्षको लडाइँपछि आफ्ना सेना फर्काउन वार्ता गरिरहेको बेला अफगानिस्तानमा अन्त्यहीनजस्तो देखिने हिंसाको प्रभावमा कमी आएन ।
बीबीसीले गएको अगस्तमा ६११ वटा घटनामा त्यहाँ दुई हजार ३०७ जनाले ज्यान गुमाएको पुष्टि गरेको छ । घटनामा एक हजार ९४८ जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेश नीतिको एउटा प्रमुख लक्ष्य पूरा गर्न अमेरिकी फौज फिर्ता गर्ने चाहना व्यक्त गर्दा अफगानिस्तानको नाजुक अवस्था देखाएको छ । अगस्त महिनाको पहिलो साता भएका हिंसापछि तालिवान र सरकारी फौजले इद उल अज्हाका लागि तीन दिने अघोषित युद्धविराम गरे । तर, हिंसा रोकिएन । अगस्त १० को साँझदेखि अगस्त १३ मा सूर्यास्त नहुञ्जेलसम्म ९० जनाले हिंसाका कारण ज्यान गुमाए । सबैभन्दा धेरै सङ्ख्यामा मारिने घटना अगस्त २७ मा भयो जसमा १६२ जनाले ज्यान गुमाए भने ४७ जना घाइते भए । त्यस्तै अगस्त १८ मा ११२ जनाले ज्यान गुमाए । अधिकांशको मृत्यु एउटै घटनामा भएको थियो । त्यो घटनामा आत्मघातीले काबुलको विवाह उत्सवमा विस्फोट गराएका थिए, जसमा ९२ जना मारिए भने १४२ जना घाइते भए । दर्जी मिरवाइसले आफ्नो बिहेको दिनका लागि सङ्घर्ष गरेर धेरै रकम बचत गरेका थिए । त्यो उनको सबैभन्दा खुसीको दिन बन्ने थियो । तर, उनले आफ्ना कैयौँ नजिकका साथीहरू गुमाए । उनकी दुलहीले आफ्ना कैयौँ नातेदार र दाजु गुमाइन् । मिरवाइस भन्छन्, “मेरो बिहेको लुगा र त्यसबेला खिचेका फोटोको एल्बम जलाइदिन मन लागेको छ । मेरा सबै आशा र खुसी एक क्षणमा समाप्त भए ।”
तालिवानहरूले शान्तिवार्ताको समयमा आक्रमण गरेको र त्यसको जवाफमा अमेरिकी फौजले गरेको हवाई आक्रमणका कारण धेरै तालिवान र गैरसैनिकले ज्यान गुमाए । हालकै वर्षमा तालिवानका कति लडाकुहरू मारिए भन्ने आधिकारिक जानकारी छैन । तर, हतियारसहितका लडाकुको सङ्ख्या करिब ३० हजार रहेको अनुमान छ ।
अफगान सुरक्षा फौजले बेहोरेको क्षतिलाई अति गोप्य राख्ने गरिएको छ । गत जनवरीमा राष्ट्रपति असरफ घानीले सन् २०१४ यता ४५ हजार सुरक्षा फौज मारिएको बताउनुभएको थियो । अफगानिस्तानस्थित राष्ट्रसङ्घीय मिसनका लागि मानवअधिकार प्रमुख फियोना फ्रेजर भन्नुहुन्छ, “राष्ट्रसङ्घको तथ्याङ्कले के स्पष्ट सङ्केत गर्छ भने सशस्त्र द्वन्द्वका कारण मारिने वा घाइते हुने गैरसैनिकको सङ्ख्या अफगानिस्तानमा संसारको अन्य कुनै ठाउँभन्दा बढी छ ।”
उत्तरी सहर कुन्दुजमा भएको लडाइँ वा काबुलको विवाहमा भएको बम आक्रमणजस्ता ठूला घटनाहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा शीर्षक बन्छन् । तर, अफगानिस्तानको द्वन्द्व निरन्तर चलिरहेको छ र स–सानो घटनाहरूका लागि अफगान सुरक्षा फौज र तालिवानबीचको द्वन्द्व जिम्मेवार छ । सानातिना घटना समाचारका शीर्षक बन्न छाडेका छन् । अफगानिस्तानका ३४ प्रान्तमा नै द्वन्द्व छ । तालिवानको प्रभावका कारण गाज्नी अफगान सैनिक कारबाहीको एउटा मुख्य निशाना हो । गाज्नीमा गरिएका ६६ मध्ये एकतिहाइ आक्रमण सम्भावित तालिवान अखडालाई लक्षित गरिएका हवाई आक्रमण थिए । अफगानिस्तानका सर्वसाधारण बासिन्दा एकदमै अनिश्चियको वातावरणमा बाँच्नुपरिरहेको अनुभव सुनाउँछन् ।
अफगानिस्तानमा चार दशकदेखि द्वन्द्व जारी छ र त्यसका कारण वर्षौंसम्म त्यहाँ राजनीतिक गतिरोधको अवस्था छ । लडाइँसँग जोडिएका मृत्युका आधारमा विश्वकै सबैभन्दा घातक द्वन्द्वका रूपमा चित्रित छ । एसीएलईडीको तथ्याङ्कअनुसार अगस्तमा अफगानिस्तानमा भएका क्षति त्यही अवधिमा सिरिया वा यमनमा भएका क्षतिभन्दा तीन गुणा बढी हो । सन् २०१९ मा विश्व शान्तिको मापन गर्ने ग्लोबल पिस इन्डेक्सले अफगानिस्तानलाई विश्वकै सबैभन्दा कम शान्त स्थानका रूपमा प्रस्तुत गरेको छ ।
तालिवान विद्रोहीले अफगान सरकारसँग वार्ता नगरे पनि अमेरिकासँग नौ चरणसम्म वार्ता ग¥यो । अमेरिकाले पाँच हजार सेना फिर्ता गर्ने सहमति जनायो । तर, तालिवानले काबुलमा अमेरिकी सेना मारेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता स्थगित गर्नुभयो, जसले गर्दा समस्या समाधानतिर गएन ।
तालिवानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि तालिवान वार्तामा आउने अपेक्षा अफगान सरकारले गरेको थियो । तर, सो घटनापछि तालिवान झन् बिच्कियो । हिंसात्मक गतिविधि झन् बढ्यो । तत्कालीन अमेरिकी राष्ट्रपति बारक ओबामाको अख्तियारी लिएर अमेरिकी सेनाले गरेको ड्रोन आक्रमणमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा मन्सुर मारिएका थिए । अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन अलकायदाका प्रमुख ओसामा बिन लादेनपछि मारिने उनी दोस्रो ठूलो विद्रोही नेता थिए । ओबामाकै अख्तियारी लिएर अमेरिकी सेनाको विशेष कमान्डोले सन् २०११ म पाकिस्तानमा लुकी बसेका लादेनलाई मारेको थियो । अमेरिकाले सर्वाधिक खोजी गरेको र टाउकाको मूल्य तोकेका लादेन र मन्सुर मार्नुलाई ओबामाको दुई कार्यकालका दुई ठूला उपलब्धिका रूपमा हेरिएको थियो ।
पछिल्ला दिनमा अफगानिस्तानमा शान्ति स्थापनाका लागि मन्सुर सबैभन्दा ठूलो बाधक बने । मन्सुरले पुनः अफगानिस्तानमाथि कब्जा जमाउने भन्दै ठुल्ठूला आक्रमण गराए । उनी समाजको प्रगतिको बाधक बने । विद्यालयका बालबालिकालाई शिक्षाबाट वञ्चित गराउने दुस्प्रयास गरे । सयौँ बालबालिकालाई विष खुवाउनेजस्ता जघन्य अपराध गरे । हिंसाको बाटोलाई नै लक्ष्य बनाएका उनी अन्त्यमा भने हिंसात्मक कारबाहीमै मारिए ।
अफगानिस्तानमा शान्ति स्थापना गर्न १४ वर्षसम्म अमेरिकी सेनाको नेतृत्वमा खटिएको बहुराष्ट्रिय सेना सन् २०१४ को अन्त्यसँगै फिर्ता भए । १४ हजार अमेरिकी सेना भने जगेडामा राखियो । सन् २०१५ को जुलाईमा तालिवानका प्रमुख नेता मुल्लाह मोहम्मद ओमारको मृत्यु भयो । ओमारको मृत्युपछि नयाँ नेता चुनिएका मन्सुरले हिंसाको बाटो रोजे । वार्ता गरी हिंसा अन्त्य गर्ने राष्ट्रपति असरफ घानीको प्रयास पनि सफल भएन । तालिवानले पुनः अफगानिस्तानमाथि कब्जा जमाउने खतरा बढ्यो । अफगानिस्तान र अमेरिका दुवैलाई खतरा मानिएका मन्सुर मारिएपछि भने अहिले केही राहतको अनुभव गरियो । तालिवानले मन्सुरको ठाउँमा गैरलडाकु धार्मिक नेता मलावी हैवतुल्लाह अखुन्जदालाई सर्वसम्मत नेता चयन ग¥यो । अखुन्जदाले पनि मन्सुरको बाटो समाए ।
बहुराष्ट्रिय सेना अफगानिस्तानमा तालिवान र अलकायदालाई पराजित गरी शान्ति स्थापना गरेर फिर्ता भएको अवस्था होइन । जसले गर्दा त्यहाँ विद्रोहहरूको मनोबल घटेको अवस्था छैन । विदेशी सेना फिर्ताबाट तालिवान र अलकायदा उत्साहित बनेको अवस्था छ ।
अफगानिस्तानमा लोकतन्त्रको जग असाध्यै कमजोर छ । कमजोर जगमा तालिवानको विद्रोहको समाधान नखोजी लोकतन्त्रको भविष्य सुरक्षित बनाउन गाह्रो छ । सन् २००४ यता अफगानिस्तानमा भएका राष्ट्रपति निर्वाचन निष्पक्ष बन्न सकेन । त्यहाँ राजनीतिक दलहरू कमजोर छन् । दलहरू आपसमा मिल्न सकेको छैनन् । नेताहरूमा विश्वासको कमी छ । लोकतान्त्रिक मूल्य र मान्यता कमजोर छ, जसले गर्दा चुनाव निष्पक्ष गराउन गाह्रो भएको हो । पूर्वराष्ट्रपति हमिद कारजायीको दुई कार्यकाल विवादमुक्त भएन । अहिले असरफ घानीको सत्ता पनि विवादमुक्त हुन सकेन । यसपटकको राष्ट्रपति निर्वाचनले पनि जनतामा उत्साह भर्न सकेन । तालिवान विद्रोहीले चुनाव बिथोल्ने घोषणासँगै अपेक्षित मतदान हुनै सकेन । यस्तो अवस्थामा सेनाको मनोबल बढेन र मुलुकको सुरक्षा दिन सकेन भने फेरि विदेशी सेना गुहार्नुपर्ने अवस्था आउन सक्छ । यसप्रति सेचत र सजग हुन आवश्यक छ । अफगानिस्तानको स्वतन्त्रताका लागि अब सेना र राजनीतिक दलहरूले निर्णायक भूमिका खेल्नुपर्ने अवस्था छ ।

(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?