logo
२०८१ मंसिर ९ आईतवार



बुद्ध र गीताको मिलनबिन्दु गान्धी

विचार/दृष्टिकोण |





सुनील मानन्धर/ शिरीषबल्लभ प्रधान

 

मोहनदास कर्मचन्द, महात्मा गान्धी, १९औँ शताब्दीका एक महान् नेता हुन्, जसको शान्तिप्रतिको अटल निष्ठा, विरोध जनाउने अहिंसात्मक शैली एवम् सादा जीवन, उच्च विचारको सिद्धान्त विश्वभरि तहल्का मच्चाउन सफल भएको छ । शान्ति र अहिंसारूपी उनको हतियारले एकताका विश्वमा कहिल्यै सूर्य नअस्ताउने महाशक्ति राष्ट्रमा गनिएको बेलायतका शासकहरूलाई दक्षिण एसियाको राजनीतिक क्षितिजबाट बिदा लिन बाध्य बनाइदियो । हिंसाभन्दा शान्ति शक्तिशाली हुन्छ, असत्यमाथि सधैँ सत्यको विजय हुन्छ, क्रोध र घृणालाई दया, प्रेम र क्षमाले जित्न सकिन्छ भन्ने उपदेशमात्र नदिई, स्वयम् उदाहरण बनेर विश्वलाई देखाइदिए गान्धीले । गान्धी र अरू नेताहरूमा आधारभूत भिन्नता के थियो भने अरू नेताहरू समाजलाई परिवर्तन गर्न खोज्थे भने गान्धी आफूबाटै परिर्वनको सुरुवात गर्थे ।
विश्वमा सर्वप्रथम १५औँ शताब्दीका महान् वैष्णवी सन्त श्रीचैतन्य महाप्रभुले भारतको पश्चिम बङ्गालमा तत्कालीन मुस्लिम शासकका विरुद्ध भद्र अवज्ञा आन्दोलन चलाएको देखिन्छ । त्यसबेला बङ्गालस्थित नवद्वीप नगरका मुस्लिम मेजिस्टे«ट चाँदकाजीले श्रीकृष्ण सङ्कीर्तनमाथि लगाएको प्रतिबन्ध तोड्न चैतन्य महाप्रभुले करिब एक लाख भक्तहरू जम्मा गरी चाँदकाजीको निवासमा घेराबन्दी गरेर सरकारी आज्ञाको अवज्ञा गरेका थिए, जसलाई विश्वइतिहासमा पहिलो भद्र अवज्ञा आन्दोलन मानिन्छ । त्यसपछि बीसौँ शताब्दीमा गान्धीले ब्रिटिस शासकका विरुद्ध भद्र अवज्ञा आन्दोलन गरे, जसले अन्ततोगत्वा भारतलाई साम्राज्यवादी शासकहरूको चङ्गुलबाट छुट्कारा दिलायो । चैतन्यको सत्याग्रहको उद्देश्य धार्मिक थियो भने गान्धीको अवज्ञा आन्दोलनको उद्देश्य राजनीतिक थियो । सायद गान्धीलाई भद्र अवज्ञा आन्दोलन गर्ने प्रेरणा चैतन्य महाप्रभुको उक्त धार्मिक आन्दोलनबाट मिलेको हुनपर्छ । उनी धार्मिक स्वभावका व्यक्ति थिए, जसले गीताको कर्मयोगलाई आत्मसात् गरी मानवताको सेवामा जीवन अर्पण गरे र अन्त्यमा मृत्युको समय श्रीरामको नाम लिए । साथै गान्धीलाई प्रिय लाग्ने विष्णुको भजन वैष्णव जन थियो, जसबाट उनी चैतन्यजस्तै वैष्णवी थिए भन्ने बुझिन्छ ।
गौतम बुद्धले करिब २५०० वर्षअघि विश्वमा फैलाएको सत्य, अहिंसा र शान्तिको सन्देश गान्धीले आधुनिक युगमा केवल नारामा मात्र सीमित नराखी आफ्नो जीवनमा उतारेर देखाइदिए । उनले त्यही शान्ति र अहिंसाको आदर्शलाई ताकतमा बदलेर भारतीय उपमहाद्वीपमा बलियोसँग जरा गाडेर बसेका साम्राज्यवादी शक्तिलाई विनाहतियार परास्त गरिदिए ।
गान्धीसँग अत्यन्त प्रभावित भएका विश्वप्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले एकपटक भनेका थिए, ‘भविष्यका पुस्ताको निम्ति यो विश्वास गर्न पनि गाह्र्रो हुनेछ कि गान्धीजस्ता मासु र रगत भएका (अर्थात् ज्युँदा) मानिस पनि यस धर्तीमा कहिल्यै हिँडेका थिए ।’ आइन्स्टाइनले गान्धीबारे यस्तो लेखेका छन्– मलाई विश्वास छ, गान्धीका विचारहरू हाम्रो समयका सबै राजनीतिज्ञहरूको भन्दा उच्चतम् छ । हामीले आफ्नो उद्देश्य हासिल गर्न हिंसाको प्रयोग नगरी र आफूलाई खराब लाग्ने सबै गतिविधिसँग टाढा रही गान्धीको भावनाअनुरूप चल्ने कोसिस गर्नुपर्छ ।
गान्धीले विद्यार्थीकालमा लन्डनमा रहँदा विशेषत दुईवटा पुस्तक पढ्ने मौका पाए– सर इड्विन एर्नोल्डरचित भागवद् गीताको अङ्ग्रेजी संस्करण (दी सङ सेलेस्टियल, १८८५) र गौतम बुद्धको जीवनमा आधारित लाइट अफ एसिया । यी दुई धार्मिक पुस्तकहरूको अध्ययनबाट गान्धीको धार्मिक आस्था, राजनीतिक सोच र रणनीति निर्धारित भएको बुझिन्छ । गान्धीले आफ्नो अटोबायोग्राफीमा लेखेका छन्– युवा विद्यार्थीका रूपमा मैले गीता, लाइट अफ एसिया र सर्मन्ट अन दी माउन्ट (जिसस क्राइस्टका उपदेश) लाई एकत्रित गर्न खोजेँ । ती पुस्तकहरूको अध्ययनपछि गान्धीले निष्कर्षमा लेखेका छन्, त्याग नै सबैभन्दा ठूलो धर्म रहेछ । यसरी गान्धीको व्यक्तित्वमा बुद्धको शान्ति र गीताको निष्काम कर्मको सम्मिश्रण पाइन्छ भन्दा अत्युक्ति नहोला ।
लन्डनमा कानुन अध्ययन सकेर भारत फर्केका गान्धी जागिरको खोजीमा दक्षिण अफ्रिका पुग्छन्, जहाँ उनको राजनीतिक जीवन सुरु हुन्छ । दक्षिण अफ्रिकामा गान्धीले त्यहाँका काला जाति र भारतीयहरूविरुद्ध गोरा जातिहरूको भेदभाव र अत्याचारको सामना गर्नुपर्छ, जसले उनको मानसपटलमा एकप्रकारको विद्रोह जन्मिन्छ र त्यहीँ उनले भारतीयहरूको एक सङ्गठन सिर्जना गरी जातीय विभेदविरुद्ध अहिंसात्मक आन्दोलन सुरु गर्छन् । त्यहाँ २१ वर्ष बिताउँदा उनले भद्र अवज्ञा आन्दोलनको परीक्षण गरिसकेका हुन्छन् र उनलाई शान्तिपूर्ण आन्दोलनको ताकतको आभास मिलिसकेको हुन्छ । गान्धी त्यसपछि नयाँ जोश, जाँगर र परिवर्तित व्यक्तित्व लिएर स्वदेश फर्कन्छन् । दक्षिण अफ्रिकामा टाइसुट लगाएर कानुन व्यवसायी पेसामा लागेका गान्धी भारतमा आएर खद्दरको धोती लगाउन थाल्छन्, सामान्य भारतीयको वेशभूषा अँगाल्दै । किनभने उनलाई थाहा थियो– भारतीय जनतामा भिज्न, उनीहरूको समर्थन र माया पाउन सामान्य भारतीयले लगाउने पोसाक लगाउँदा त्यसको बेग्लै प्रभाव पर्छ भन्ने कुरा । सन् १९१५ ताका भारत फर्केका गान्धी भारतमा स्वतन्त्रता सङ्ग्रामका निम्ति सङ्गठन विस्तार गरिरहेको भारतीय नेसनल कंग्रेसको सदस्य लिन्छन् र त्यसको १० वर्षभित्रै उनले सो सङ्गठनको नेतृत्व गरी स्वतन्त्रता
सङ्ग्रामलाई नयाँ मोड दिन्छन् । भारतमा करिब २०० वर्ष ब्रिटिसहरूले शासन गरे । सुरुमा उनीहरू इस्ट इन्डिया कम्पनीको नाउँमा व्यापार गर्न भनी आए तर बिस्तारै उनीहरूले भारतको राजनीतिक नेतृत्वमा कब्जा जमाए ।
बेलायती राजको समय भारतको कुल जनसङ्ख्या करिब ३५ करोड थियो भने भारतमा बेलायती सेनाको उपस्थिति करिब ४५ हजारमात्र थियो । यसरी ४५ हजार बेलायतीले कसरी ३५ करोड भारतीयमाथि राज गरे भन्ने कौतूहल युवा गान्धीको मनमा उब्जन्छ । भारतीयहरूकै सहयोगविना बेलायतीहरू भारतमा टिक्न सक्दैनथे भन्ने निष्कर्षमा उनी पुग्छन् । त्यसपछि गान्धी भारतमा असहयोग आन्दोलन चलाउँछन् । यदि भारतीयहरूले अङ्ग्रेजहरूलाई असहयोग गर्ने हो भने उनीहरू भारत छोड्न बाध्य हुने निष्कर्ष निकाली गान्धीले नुन त्याग्ने, बेलायती कपडा बहिष्कार गर्ने र कर नतिर्नेजस्ता अहिंसात्मक आन्दोलन चलाए । भारतीयहरूमा चेतनाका कमीकै कारण अङ्ग्रेजहरू टिक्न सकेका हुन् भन्ने बुझी गान्धीले सर्वसाधारण भारतीयमा राजनीतिक तथा सामाजिक चेतना जगाउन चर्खा आन्दोलन, असहयोग आन्दोलनजस्ता गतिविधिहरू तीव्र रूपमा अगाडि बढाए, जसले अन्ततोगत्वा अङ्ग्रेजहरूलाई भारतबाट लखेटेरै छोड्यो ।
गान्धीले गीतामा उल्लिखित कर्म गर तर फलको आस नराख भन्ने निष्काम कर्मको सिद्धान्तलाई यथार्थ जीवनमा उतारेर एक सफल कर्मयोगीको उदाहरण बनेर देखाइदिए । उनले गीतामा भनिएजस्तै आफ्ना निम्ति नभई, लोकहितका निम्ति कर्म गरे । आफ्नो कुनै कर्तव्य र उद्देश्य नहुँदा, नहुँदै पनि आफूलाई प्राप्त गर्नुपर्ने केही कुरा नहुँदा पनि उनले मानवताका निम्ति र राष्ट्रको हितका निम्ति कर्म गरे ।
कसैले गीताको गलत अर्थ लगाउँदै त्यसले त युद्ध गर्न र द्वन्द्वमा लाग्न उत्प्रेरित गर्छ भन्छ भने त्यो अपरिपक्व बुझाइमात्र हुन सक्ला । गान्धीका अनुसार विनास्वार्थ कसैले हिंसा गर्दैन । आफ्नो स्वार्थको वशमा परेर नै मानिस हिंसातर्फ प्रवृत्त हुन्छ भनी गान्धी आफ्नो ४० वर्ष लामो अहिंसात्मक प्रयोगको अनुभवका आधारमा भन्छन् । किनभने गीताले त निष्काम कर्म र सेवाको सन्देश दिन्छ, फलको आस नगरी कर्तव्यमा निरन्तर लाग्न मानिसलाई उत्प्रेरित गर्छ । त्यसैले त्यसमा हिंसाको भाव कतै देखिन्न । श्रीकृष्णले मोह र अज्ञानको वशमा परेर आफ्नो कर्तव्यबाट च्युत भएका अर्जुनलाई आफ्नो कर्तव्यमात्र सम्झाएको हो, हिंसा गर्न उक्साएको हैन । गीताकोे भाष्यमा आदि शङ्कराचार्य लेख्छन्– कृष्णले अर्जुनलाई हिंसा गर्न अभिप्रेरित गरेको नभई, स्वधर्मको पालना निम्ति युद्ध पनि गर्नुपर्ने हुन्छ भनी त्यसको अनुमतिसम्म दिएका हुन् ।
गान्धीले बुद्धको जन्मभूमि नेपालमा पाइला नटेके पनि नेपालको राजनीतिक, सामाजिक धरातलमा गान्धीको प्रभाव भने निकै परेको देखिन्छ । उनका शिष्य तुलसीमेहेर श्रेष्ठले नेपालमा राणाकालमै गान्धीले चलाएको चर्खा आन्दोलन विस्तार गरी सामाजिक जागरण ल्याउनमा अहम् भूमिका खेले । त्यस्तै नेपालमा भएका शान्तिपूर्ण आन्दोलनहरूमा गान्धीकै अहिंसात्मक आन्दोलनले प्रेरणादायी भूमिका खेलेको देखिन्छ । विक्रम संवत् २०१४ र २०४२ मा नेपाली काँग्रेसले गरेका सत्याग्रह होस् वा २०४५–०४६ र २०६२–६३ को आन्दोलन गान्धीकै प्रेरणास्वरूप शान्तिपूर्ण रूपमा आफ्नो लक्ष्य हासिल गर्न सफल भए । प्रजातान्त्रिक आन्दोलन अहिंसात्मक रहेमा त्यो दिगो र प्रभावकारी हुनुका साथै त्यसले विश्वव्यापी समर्थन पाउने गर्छ । त्यस्तो आन्दोलनको उपलब्धि पनि दिगो हुन्छ । अहिंसात्मक आन्दोलनले व्यापक जनसमर्थन पाउनुका साथै त्यसले कम धनजनको क्षति गराउँछ । नेपालका सात प्रमुख दलहरूद्वारा सञ्चालित २०६२÷०६३ को शान्तिपूर्ण आन्दोलनलाई माओवादीहरूले पनि हतियार त्यागेर सहयोग र समर्थन दिएका कारण छिट्टै उपलब्धि हासिल भयो ।
गान्धीको अहिंसात्मक आन्दोलनको विचारले २०औँ शताब्दीमा विश्वव्यापी रूपमा राजनीतिक हलचल नै ल्याइदियो । अमेरिकाका मार्टिन लुथर किङ, दक्षिण अफ्रिकाका नेल्सन मन्डेला, म्यानमारकी नेतृ आङ साङ सुकी आदि थुप्रै प्रजातान्त्रिक योद्धाहरू गान्धीको प्रेरणाले अहिंसात्मक आन्दोलनको नेतृत्व गरी चर्चामा आएका हुन् ।

(लेखक मानन्धर पूर्वमन्त्री एवम् प्रधान पत्रकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?