logo
२०८१ मंसिर ९ आईतवार



सभ्यताको पहिचान बनोस् दशैँ

विचार/दृष्टिकोण |




रमेश भट्टराई ‘सहृदयी’

हिन्दूहरूको महान् चाड दशैँको चहलपहलले ऋतु सम्बन्ध गाँस्छ प्रकृतिसँग । शारदीय पवनमा झुलेका धानका बालासँग रमेका बाल र यौवनाका चाञ्चल्यले व्यस्त समाजलाई एकछिन सामाजिक मर्यादा सिकाउँछ । एकताबोध गराउँछ । यान्त्रिक जीवनलाई जीवनजस्तो बनाउँछ । सम्बन्धलाई स्मरण गराउँछ । नयाँलाई आफ्नासँग मिलाउँछ । आहा ! हाम्रा पुर्खाको कत्रो वैज्ञानिक समाजवादी मान्यता !
चाडबाडको रौनकले के गाऊँ, के सहर मनोरम बन्दै गएको छ । प्रकृति लाली छर्दै मानव मनको हृदय चोर्ने ध्याउन्नमा मग्न छ । शारदीय गगनमा त्यसै धिपधिपाउने तारागणको कमजोरपनलाई चन्द्रमाले भर्न चाहन्छ । परदेशी अनि स्वदेशी पोका पुन्तुरा कस्दै गाउँको निर्मल पवनको सुगन्ध लिँदैछन् । कति सपना बुन्दैछन् । पारिवारिक मिलनको संयोगमा सहरभन्दा गाउँ रोमाञ्चक बनिरहेको छ । पहिला गाई, भैँसी र घरखेतका कुरा गर्ने मान्छे आजभोलिका भेटघाटमा जागिर, पढाइ, विकास र अन्य प्रगतिका चर्चा गर्छन् । हजुरबा हजुरआमाका चाउरिएका गालाले सधैँ फोनमा सुनेको आवाजलाई ‘भाग्यमानी भएस्, राम्रो गरेस्’ भन्दै खुसी र उमङ्ग भर्छन् । अलिकति कामको चटारो र हतारोबीचमा घर सिँगार्ने, बढार्ने, चोक चौतारो जमघटको बेला हुन्छ । शक्तिपीठमा भक्तको भीडलाग्दो छ ।
साँच्चै चाडबाड त सांस्कृतिक, सामाजिक, पारिवारिक मर्यादामा नैतिक अनुशासन सिकाउने पुर्खाका सौगात हुन् । फेसबुकका भित्ताभरि घर जाँदै गरेका सूचना टाँसिएका छन् । एकातिर रौनक, अर्कातिर परदेशी घर फर्कन नपाएका बिलौनामा छरपस्ट छरिन्छ । फेसबुक, म्यासेन्जर, टेलिभिजनदेखि एकछिन उम्केर गाउँका लिङ्गेपिङमा रम्नेको रौनक बेग्लै हुन्छ । दशैँको बहानामा आफन्तसँग भेटघाट छ । सदरमुकामतिर सामान किन्नेको चहलपहल छ । उत्साहको चाडभरि पिङमा झुत्ती खेल्ने बालबच्चा र जवानीको रङ्गीचङ्गी सौरभ छताछुल्ल छ । त्यहाँ हिन्दू धर्मको मात्र एक सुगठन देखिन्न । बरु सबै सामाजिक मर्यादामा एकजुट छन् । पूजापाठका मन्त्रध्वनिको गुञ्जायमान परिवेशमा यज्ञ होमादि सुन्दर मर्यादा बन्न पुग्छ । असमझदारी र मनमुटावको कुण्ठा स्वतः घट्दै मिलनको आधार बन्छ । अलिकति दुःखेसो छ, सरकारले बिदा घटायो । धेरै रमाउन नपाइने भइयो । अलिकति पीर छ, पोहोरको रकमले यसपटकको दशैँ मान्न नसकिने भयो ।
हैसियत र कुण्ठा
पहिलेको त्यो दशैँ जतिखेर बुबाले नयाँ कपडामा स्कुलको पोसाक सिलाइदिनुहुन्थ्यो ! त्यतिखेर दशैँमा बल्ल चामलको भात खान पाइन्थ्यो । गाईवस्तुलाई पुग्नेगरी घाँसको भारी गोठमा लडाएर उफ्रिँदै, लड्दै मामाघर जान पाइन्थ्यो । बाटामा पिङ हुन्थ्यो तर ठूलाको भीडमा हाम्रा लागि खासै अवसर नमिल्नाले हेरेरै चित्त बुझाउनुपथ्र्यो । मामाघरमा दिएको दक्षिणालाई जतन गरेर कापी, कलम किन्ने गरिन्थ्यो । त्यतिखेर गरिबका घरमा पनि मीठो मसिनो पाक्थ्यो । गाउँमा गरिबलाई सहयोग गर्ने कति राम्रो चलन थियो । यसपालिको दशैँमा पनि गरिबको चुलो बलोस् तर ओठको मुस्कानमा कुण्ठा नकोचियोस् । किनकि देशमा अभैm पनि खान नपाएर भोकै बस्ने परिवार छन् । चाडबाड विपन्नको घर आँगनमा पनि आउनुपर्छ । तिनले आँसुको वर्तनमा खाना बनाउनु पर्ने दुर्दशा नहोस् । गरिब बालबच्चा पनि नयाँ लुगा लगाएर नाचून् ।
महँगीको मारमा ती बिचरा सामान्य नागरिक छन् । तिनले दशैँको बोनस भनेर कतैबाट पनि दोब्बर तलब पाएका हुँदैनन् । घरमा भएका पशुपन्छी बेचबिखन गर्दा यसो एक धरो कपडा फेरफार गर्ने अवस्था हुँदैन । छोराछोरीका नाङ्गा शरीरमा दशैँ पनि दशामात्र बनिदिन्छ । साहु काढेर मनाउनुपर्ने बाध्यतामा विपन्नको विवशता बोध नगरे सामाजिक मर्यादा बोझिलो बन्छ । कम्तीमा दैनिक र अनिवार्य प्रयोगका सरसामानमा जनताले मार खानु नपरे कति राम्रो हुन्थ्यो । मानिसले यस्तै जटिलतालाई थेग्न नसक्दा नैतिक आघातलाई बेहोरेपछि धर्म परिवर्तन गर्न विवश हुन्छ । सरलतातिर ढल्किन्छ । समाज मनोविज्ञानमा विपन्नका कुण्ठा कसरी सम्बोधित बन्लान् ? दशैँमा विपन्नका वेदना विडम्बनाका अश्रु नबनून् ।
संस्कृतिमा संस्कारका सामाजिक मर्यादा जीवन्त बन्नुपर्छ । आसुरी शक्तिमाथिको विजयोत्सवमा हामी नै आसुरी चरित्रमा लहसियौँ भने त्यहाँ दशैँको अवमूल्यन हुन्छ । घाँटी हेरी हाड निल्नुपर्ने दशैँमा अनावश्यक खर्चको प्रतिस्पर्धा गर्ने विकृतिले संस्कृति बोझिलो बन्छ । बरु त फजुल खर्च गर्नुभन्दा गरिबलाई सहयोग गरौँ । रुन्चे हाँसोमा विपन्नलाई चाडबाडले न खुसी दिन्छ न मर्यादा बोध गर्न सिकाउँछ । आयो दशैँ ढोल बजाई गयो दशैँ ऋण बोकाई भयो भने दशैँ दशा बन्छ । एउटा नाटकीय खुसीमा जिन्दगीको सम्पत्ति स्वाहा पार्ने असचेतता मानवीय गुण हुनै सक्दैन । समाज सुधारक बन्ने दर्बिलो माध्यम आधार चाडबाडको सुशासनलाई कायम गर्नु पनि हो । करोडौँका आवश्यकीय मौसमी सामग्री र बजारलाई स्थानीय उत्पादन र आधारका रूपमा व्यवस्थापन गर्नसके ठूलो अर्थतन्त्र कम्तीमा चाडबाडमा बाहिरिने थिएन । बढी चलायमान हुने पुँजी स्वदेशमै रहन्थ्यो ।
प्रहरी सेवा र सास्ती
सम्पन्नता र मनोरञ्जनका नाममा अतिरञ्जन, जुवातास, जथाभावी मदिरापान गर्ने कुसंस्कारले पर्वको मर्ममा आघात पुग्छ । रामले रावण मारे अनि देवीले महिसासुर । रक्तबीजको वध गरिन् जुन आसुरी शक्ति थिए । अनुशासनको दायरामा समाजका कलङ्क थिए तब न सुशासनको पाटो बलियो बन्यो । सत्य र न्यायको गाँठो बलियो बन्यो । मान्छेले मौकामा चौका हान्न दाउ छोप्ने यही समयमा चोरी, डकैती, लुटपाट, ठगीजन्य कुकृत्य गरिरहेका हुन्छन् । नियतमा खोट बोक्नेका अघि सतर्कता अपनाउनुको विकल्प हुन्न । यात्रामा महँगा सामान सकेसम्म नबोक्नु, पैसालाई बैङ्किङ प्रविधिमै प्रयोग गरेर आवश्यक तर सुरक्षित तबरले राख्नुमा बढी बुद्धिमानी हुन्छ ।
आखिर प्रहरीले सुरक्षाका लागि भन्दै कति समर्पित बन्नु परिरहेको होला– तिनलाई न दशैँ आउने भो न कुनै चाड । कम्तीमा मान्छेमा सचेतना भइदिएको भए कति राम्रो हुन्थ्यो । यसो भनिरहँदा भ्रष्ट प्रहरीको सङ्कटमा पिरोलिएका गाडीवालाको जटिलता पनि लुकाउने विषय होइन । अनावश्यक दुःख दिएर चिट काट्ने, पैसा दिन्छ कि भनेर कुर्ने अनेक धम्की दिने गरेका दृश्य प्रायः यात्रामा देखिन्छन् । अझ दुःखद कुरा– प्रहरी र गाडीवाला मिल्ने अनि ‘तँ रोएजस्तो गर म कुटेजस्तो गर्छु’ शैलीले विगतमा जनता ठगिएका हुन् । अतः उपत्यकाबाट बाहिरिने सवारी साधनका असुविधा र ठगीका पीडा विगतमा जसरी दोहोरिन नदिन सरकार र प्रहरी प्रशासन समर्पित र सजग बन्नैपर्छ । लामो दूरीका यातायातमा, टिकट काउन्टरमा हुने ठगी, दलाली लगायतका बेथितिको जरोमा नै प्रहरी प्रशासन पुग्नुपर्छ । महँगी ढाड सेक्दा दशैँ दशा बन्छ । बजार अनुगमनमा ‘मूल्य हेरिन्छ कि गुणस्तर’ भन्ने प्रश्नले घोच्छ । यसर्थ चाडबाडलाई बोझिलो होइन, सरल र मर्यादित बनाउने कर्ममा अबका सचेत नागरिक लागौँ । कुकृत्य र विकृतिका पाटालाई त्यागेर सुसंस्कृत सभ्यताको पहिचानमा यसपालिको दशैँ–तिहार, छठ आदि पर्व भव्य, सभ्य र रोमाञ्चक बनून् ।

(लेखक आदर्श बहुमुखी क्याम्पस, धादिङमा प्राध्यापनरत हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?