महेन्द्रबहादुर पाण्डे
नेपाल–चीन छिमेकी मित्रराष्ट्र मात्र होइनन्, घनिष्ट र विश्वासिला मित्र पनि हुन् । चीनको राष्ट्रियता र सम्मानका लागि नेपालको महìव ठूलो छ । नेपालको विकास र गतिविधिमा चीनको महìवपूर्ण योगदान रहँदै आएको छ । यो अहिलेको होइन, इतिहासदेखिको हो । चीनका विद्वतवर्गहरू, धार्मिक यात्रीहरू नेपाल आएको र नेपालबाट चीन गएको उदाहरण धेरै छन् । इतिहासको पाना हेर्दा चीनसँग सधै घनिष्टता मात्र भएको छैन, बेलाबेला लडाइँ र घम्साघम्सी पनि भएका छन् । रसुवा र नुवाकोटको दोसाँध बेत्रावतीमा सन्धि भएको इतिहास छ । भोट नेपालमा थियो पहिले । पछि लडाइँ हुँदा चीनमा गयो भन्ने भनाइ पनि छ । जे भए पनि यी सबै घटनालाई व्यवस्थापन गर्दै दुई मुलुकबीच अहिले घनिष्ट सम्बन्ध कायम छ । यो सम्बन्ध अझ प्रगाढ हुँदैगएको छ ।
चीन पुरानो सभ्यता विकास भएको ठाउँ हो । नेपाल पनि पुरानो सभ्यता भएको ठाउँ हो । हाम्रा अध्येताहरूले लेखेका ग्रन्थमा त्यो देखिन्छ । चीनको सभ्यता संसारभरि प्रचारमा छ । मानव विकास क्रममा चीनको योगदान देखिन्छ । सभ्यता, कला कौशलता, राजनीतिक सम्बन्ध, व्यापार व्यवसायका हिसाबमा दुई मुलुकबीच धेरै अगाडिदेखि सम्बन्ध देखिन्छ । यो बीचमा नेपालमा पनि राजनीतिक रूपले धेरै सत्ता र प्रणाली परिवर्तन भए । लिच्छवी, मल्ल, शाहकालीन, राणाकालीन, पञ्चायती युग, राजतन्त्रसहितको बहुदलीय प्रणाली पनि आयो । हामी अहिले सङ्घीय लोकतान्त्रिक प्रणालीमा आइपुगेका छौँ । त्यस्तै, चीनमा पनि विभिन्न प्रणाली परिवर्तन भएर अहिलेको अवस्थामा आइपुगेको छ । च्याङकाइ सीको पालादेखि अहिलेसम्म धेरै परिघटना देखिन्छ । विदेशीले दुःख दिएको, जापानीसँग लडाइँ भएको देखिन्छ । राष्ट्रियता जोगाउन कम्युनिस्ट शक्ति चाहिँदो रहेछ भन्ने सोचेर चिनियाँ नागरिक अहिले त्यो अभ्यासमा छन् । समाजवादी प्रणालीबाट अर्थतन्त्रको विकासमा चीन लाग्यो । देङ सा पिङ फ्रान्समा अध्ययन गरेको मान्छे हुनुहुन्थ्यो । १९७८ मा उहाँले जनतालाई स्वतन्त्रता दिनुपर्छ भन्ने मूल नारासाथ काम गरेर चीनलाई समृद्ध बनाउने काम गर्नुभयो । चीनमा देङ सा पिङको युग, माओत्सेतुङ, सी जिनपिङको युगका रूपमा अहिले हेर्छन् । चीनमा पनि फरकफरक राज्यसत्ता भयो । हाम्रो यहाँ पनि फरकफरक सत्ता प्रणाली रहे ।
हाम्रो हिमालयन रेन्जमा रहेको समाज र चिनियाँ समाजको संस्कृति मिल्छ । जसरी दक्षिण सिमानामा नेपाल र भारतीय जनताको भाषा, संस्कृति र विवाहबारी मिल्छ । त्यसैगरी उत्तरतर्फको सिमानामा पनि त्यस्तै खालको सम्बन्ध छ । केही समयअघिसम्म नेपालको खाद्यान्न चीनमा निर्यात हुन्थ्यो । चीनबाट नुनलगायतका सामग्री आयात हुन्थे । नेपालको औद्योगिकीकरणमा पनि चीनको योगदान छ । छाला, कपडा, कागज आदि उद्योगमा चीनको लगानी रह्यो । कनेक्टिभिटीमा पनि उहाँहरूको ठूलो योगदान छ । कृषिलाई वैज्ञानिकीकरण गर्न, व्यापार प्रवद्र्धनमा हामीले चीनको सहयोग लिन सक्छौँ । नेपाल–चीनको सम्बन्ध विकास गर्ने क्रममा दुइटा पाटामा हेर्नुपर्छ । चीनको प्राविधिक शिक्षालाई हाम्रो माटोमा कसरी सदुपयोग गर्ने ? त्यहाँको कृषि प्रविधि हाम्रो माटोमा कतिको सुहाउँछ, त्यसको अध्ययन गरेर अघि बढ्ने । चीनले अध्ययन, अनुसन्धान गरेका विषय हामीले यहाँ प्रयोग गर्न सक्छौँ । चीनको शिक्षा अहिले वल्र्ड क्लास छ, हामीले पनि त्यसलाई नेपालमा ल्याउन सक्नुपर्छ । विज्ञान प्रविधिको क्षेत्रमा चीनले गरेको उपलब्धिलाई हामीले यहाँ उपयोग गर्न सक्छौँ । सोलार बत्ती प्रविधिलाई हामीले सदुपयोग गर्न सक्छौँ । यो क्लिन इनर्जी हो । हाम्रो बस्ती छरिएर रहेको छ । त्यस्तो ठाउँमा बत्ती लग्न गाह्रो हुन्छ । सोलार इनर्जीलाई त्यस्तो ठाउँमा लग्न सकिन्छ । हाइड्रोमा पनि हामीले चीनबाट सिक्न सक्ने धेरै ठाउँ छ ।
बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)को अहिले खुब चर्चा छ । पहिले सिल्करोडको चर्चा थियो । अहिले बीआरआईलाई आजको सन्दर्भलाई सम्बोधन गर्ने गरी ल्याइएको छ । यसबारे नेपाल स्पष्ट हुनुपर्छ पहिले । हामी शान्तिपूर्ण र निशस्त्रीकरणको पक्षमा रहेका मुलुक हौँ । बुद्ध जन्मेको देश भएकाले शान्ति नै हाम्रो मुख्य ध्येय हो । संसारका सैनिक गठबन्धनमा हामी संलग्न हुँदैनौँ । संयुक्त राष्ट्रसङ्घमा हामी सदस्यता लिइसकेपछि चीनले धेरैपछि लियो । नेपालकै पहलमा चीन सदस्य राष्ट्र बनेको हो । चिनियाँको अहिले एउटा मुलुक दुईवटा व्यवस्था छ । हङ्कङ, मकाउको व्यवस्था त्यही हो । फार्मोसामा पनि त्यही गर्ने तयारी देखिन्छ । हामी एक चीन नीतिमा स्पष्ट छौँ । त्यसैले चीनले हामीलाई विश्वास गरेको छ । यो विश्वास हामी मर्न दिँदैनौँ । हामीले चीनलाई राम्रो सहयोग गरेका छौँ तर लिनुपर्ने सहयोग अझै लिन नसकेको हो कि भन्ने छ ।
कुनै पनि मुलुकले काम गर्दा आफ्नो मुलुकलाई अहित हुनेगरी कुनै काम गर्दैन । बीआरआईमा हामीले त्यही गर्ने हो । अरु मुलुकसँगको मित्रता, सन्धि, सम्झौता र कुटनीतिक सम्बन्ध पनि राष्ट्र हितमै आधारित हुन्छ । विश्व बजारमा हाम्रो उत्पादन लैजाने र बाटो पनि चाहिएको छ । त्यसैले बीआरआईलाई हामीले समर्थन गरेका छौँ । सार्क सम्मेलनताका सी जिनपिङले माल्दिभ्स, भुटान र भारतको भ्रमण गर्नुभएको थियो । त्यहीबेला नेपालको भ्रमण गराउने योजना हाम्रो पनि थियो तर सकेनौँ । अहिले नेपालको भ्रमणमा आउने करिब करिब टुङ्गो लागेको छ । यसलाई हामीले बढीभन्दा बढी सदुपयोग गर्नुपर्ने छ । उसो त चीन र भारतबीच विभिन्न असन्तुष्टि छन् तर व्यापारमा एक ठाउँमा छन् । चीन र अमेरिकाबीचको सम्बन्ध पनि त्यस्तै हो । भारत र पाकिस्तानबीच राजनीतिक लडाइँ देखिए पनि व्यापारमा ठीक ठाउँमा छ । त्यसबाट पाठ सिक्नुपर्छ । संयुक्त राष्ट्रसङ्घलाई समयानुकूल अपडेट (रिफर्म) गर्नुपर्छ भन्नेमा चीन र नेपाल एकमत छौँ ।
चीन अर्थतन्त्रका हिसाबले विश्वको दोस्रो देश भए पनि त्यहाँ करिब पाँच करोड चिनियाँ नागरिक गरिबीको रेखामुनि छन् । एक वर्षभित्र चीनले गरिबीको रेखामुनिबाट बाहिर लग्ने तयारी गरेको छ । हाम्रो यहाँ १८ प्रतिशत अझै गरिबीको रेखामुनि छन् । हामीले पनि त्यसलाई घटाउँदै लग्ने तयारीमा छौँ । चीन र नेपालको मुद्दा करिब मिलेको छ तर हामी प्राविधिक रूपले, आर्थिक रूपले कमजोर छौँ । चीनले छिटो गरिबीको अन्त्य गर्नसक्छ । हामीलाई केही समय लाग्नसक्छ । हामी हातेमालो गर्न सक्छौँ । सबैलाई शिक्षित बनाउने, स्वतन्त्र नागरिक बनाउने, मानव अधिकारको सबै प्रावधानको सम्मान गर्ने, कसैले कसैको शोषण, अत्याचार नगर्ने संरचनाको विकास गर्नेमा हाम्रो मुद्दा सामान छ ।
चीनमा अहिले सी जिनपिङ युग चलिरहेको छ । उहाँको विचार सिद्धान्त लिएर चीनले समृद्धि हासिल गरिरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीमा जिम्मेवारी दिएर क्रमशः अपग्रेड गर्दै सक्षम कार्यकर्ता बनाउँछन् । पार्टीको सदस्यता दिँदा धेरै चरणमा उत्तीर्ण गर्दै जानुपर्ने व्यवस्था छन् । तल्लो निकायबाट माथिल्लो निकायसम्म पुग्दा हरेक नागरिक सक्षम र परिपक्व भइसकेको हुन्छ । समाजप्रति उसको हेर्ने दृष्टिकोण, मुलुकको ऐन कानुनको कार्यान्वयन, विज्ञान प्रविधिको बुझाइ यावत विषयमा प्रशिक्षित बनाएर काम गर्छ । तर, हामीले त्यस्तो गर्न सकेका छैनौँ । सङ्गठन संरचना निर्माण र ज्ञानमा हामीले चीनबाट सिक्न सक्छौँ । बीआरआईमा सैनिकको संलग्नता छैन । शान्तिपूर्ण अभियान हो । त्यसैले हामीले यसमा समर्थन गरेका हौँ । समुद्र र जमिनमा पनि सडक सञ्जाल, कनेक्टिभिटी पु¥याउने यसको लक्ष्य छ । अरूलाई नबिझाउने, आफूलाई पनि सहज ढङ्गले अघि बढाउने बाटोमा हामी जानुपर्छ । यसो गर्दा हाम्रो परस्पर हित पनि हुन्छ ।
भ्रमणको महत्त्वपूर्ण
चीनका राष्ट्रपतिले नेपाल भ्रमण नगरेको लामो समय भएको छ । ठूलो देशका कार्यकारी राष्ट्रपति नेपालको भ्रमण गर्नु आफँैमा ओजपूर्ण हुन्छ । विगतमा माल्दिभ्स, भुटान र भारतमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुँदा त्यहाँ ह्वात्तै चिनियाँ पर्यटक बढे । चिनियाँ राष्ट्रपतिको भ्रमण हुँदा हाम्रो यहाँ पनि चिनियाँ पर्यटक बढ्ने निश्चित छ । चिनियाँहरूले वार्षिक बाह्र÷पन्ध्र लाख पर्यटक पठाउने बताइरहेका छन् । हामीले हाम्रो पूर्वाधार विकास गर्नुपर्छ । पर्यटक धान्नसक्ने पूर्वाधार अझै हामीसँग छैन । त्यसमा सुधार गर्नुपर्छ । पर्यटक बढेसँगै हाम्रो अर्थतन्त्रमा ठूलो योगदान पुग्ने छ । आठ÷दसवटा प्रोजेक्ट पाइपलाइनमा छन् । सी जिनपिङ भ्रमणमा आउँदा हस्ताक्षर गर्ने तयारी छ । आजको विश्व वैचारिक रूपले फरक भए पनि प्रतिस्पर्धामा मित्रता छ । चीन र अमेरिकाबीच ट्रेडवार छ तर दुवै मुलुकबीच व्यापारमा मित्रता छ । अरू मित्रराष्ट्रले पनि सी जिनपिङको नेपाल भ्रमणलाई महìवका साथ हेरेका छन् । शक्तिशाली राष्ट्रका राष्ट्रपति भएकाले विश्वमा जहाँ सी जिनपिङ पुग्नुभएको छ, त्यहाँ विश्वको ध्यान जाने गरेको छ । त्यसैले उहाँको नेपाल भ्रमणले बहुआयामिक प्रभाव पर्ने छ । अमेरिका, जापान, चीन, भारतका सरकार प्रमुख आउँदा पनि त्यस्तै प्रभाव पर्ने हो । हामीले समदूरीमा हैन, समनिकटतामा काम गर्नुपर्ने छ ।
(पूर्व परराष्ट्रमन्त्री पाण्डेसँग गोरखापत्रका पत्रकार लक्की चौधरीले गर्नुभएको कुराकानीमा आधारित ।)