जन्मेपछि उमेर वृद्धि हुँदै जाने सत्यको एउटा पाटो हो ज्येष्ठता तर यो उमेरको अङ्कगणित मात्र नभएर अनुभवको ज्यामिति पनि हो । मानिस प्राणीका रूपमा जन्मन्छ र मर्दा मानिस हुन्छ । उसले यसक्रममा सामाजिकीकरणका विविध यात्रा तय गरेको हुन्छ । ज्येष्ठ नागरिक त्यसैले अनुभवका खानी हुन् । श्रुति, नीति वा उखान र किम्वदन्ती अग्रजबाट अनुज पुस्तामा हस्तान्तरण हुने भएकाले ज्येष्ठ नागरिक समाजका शिक्षक पनि हुन् । इतिहास निर्माणमा ज्येष्ठ नागरिकको योगदान रहन्छ । समयले बालकलाई वृद्ध बनाउँछ । समय अनुभवको शृङ्खला भएकाले ज्येष्ठ नागरिकका अनुभवलाई विकासको मार्गदर्शक बनाउन सकिन्छ । नेपाली समाज बाल, वृद्ध, अशक्तलाई सेवा गर्नुपर्छ भन्ने गहिरो सन्देशबाट निर्देशित रहँदै आएको भए पनि पछिल्ला दशकमा नेपाली समाज र संस्कृतिमा व्यापक परिवर्तन आएकाले ज्येष्ठ नागरिकको भूमिका तथा हैसियतमा परिवर्तन आएका छन् । मूलतः कृषिप्रधान नेपालको उत्पादनका विशेषता र तरिकामा क्रमशः भिन्नता आउन थालेपछि संयुक्त र विस्तृत परिवारको विघटनसँगै ज्येष्ठ नागरिकको भूमिका कमजोर हुने गरेको सामाजिक अनुभव छ ।
ऐन कानुन बनाएर ज्येष्ठ नागरिकलाई सुरक्षित गरिनुपूर्व पनि अपवादका घटनाबाहेक धार्मिक मत, सामाजिक मूल्यमान्यता, पारिवारिक दायित्व, लोकापवादका कारण ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै आएको छ । ज्येष्ठलाई सम्मान गर्ने हाम्रो परम्परालाई अक्षुण्ण राख्न नेपालले राज्यस्तरबाट कानुनी तथा प्रेरणात्मक पहल गर्दै आएको छ । ज्येष्ठ नागरिकलाई सम्मान गर्ने सिलसिलामा नेपालले सन् २००७ देखि ज्येष्ठ नागरिक दिवस मनाउन थालेको छ । नेपालको संविधानले जेष्ठ नागरिकलाई विशेष संरक्षण तथा सामाजिक हक प्रदान गरेको छ । साथै ज्येष्ठ नागरिक ऐन, २०६३ ले उहाँहरूलाई विभिन्न प्रकारका सामाजिक सुरक्षा र सार्वजनिक सम्मान तथा सुविधा प्रदान गरेको छ । नेपालको सन्दर्भमा ६० वर्ष नाघेकालाई ज्येष्ठ नागरिक भनिने गरिएको छ । राष्ट्रिय जनगणना, २०६८ अनुसार ६० वर्ष नाघेका नागरिकको सङ्ख्या २१ लाख ५४ हजार ४१० छ जुन कुल जनसङ्ख्याको ८.१३ प्रतिशत हो । २०५८ सालको जनगणनामा यो सङ्ख्या १४ लाख ७७ हजार ३७९ थियो । यो त्यतिबेलाको कुल जनसङ्ख्याको ६.५ प्रतिशत हो । दुई जनगणनाको तुलनात्मक अध्ययन गर्ने हो भने उपलब्ध स्वास्थ्य सेवालगायतका कारण नेपालमा विश्वकै अनुभवलाई पछ्याउँदै ज्येष्ठहरूको सङ्ख्या बढ्दो छ । यसबाट उहाँहरूप्रति गरिने सेवा तथा आर्थिक पक्षमा सरकारको दायित्व बढ्दो छ ।
नेपालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले २०५१ सालबाट सुरु गरेको वृद्धभत्ता नेपालले थालनी गरेको उदाहरणीय सामाजिक सुरक्षा थियो । मासिक एक सय रुपियाँबाट सुरु गरिएको यो भत्ता क्रमशः वृद्धि गरिदै वर्तमान सरकारले २०७६ साउनदेखि तीनहजार रुपियाँ पु¥याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै सामाजिक सुरक्षाभत्ता आफ्नो कार्यकालमै मासिक पाँचहजार रुपियाँ पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताउनुभएको छ । साथै उहाँले सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना भएको बताउनुभएको छ जसलाई ज्येष्ठ नागरिकको सक्रिय र सम्मानित जीवनका लागि व्यक्त थप प्रतिबद्धताका रूपमा बुझ्न सकिन्छ । यसैगरी सरकारले हवाई र सडक यातायात भाडामा ज्येष्ठलाई विशेष आकर्षक छुट दिने जनाएको छ । यसअघि सञ्चालन गरिएको ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्यबीमाको कार्यक्रम देशभर लागू गरिने भएको छ । ज्येष्ठ नागरिकका लागि सरकारी स्तरबाट जे जति काम भएका छन् ती प्रशंसनीय छन् भविष्यमा यस्ता सेवा सुविधा बढ्दै जानेछन् तर सरकारले मात्र चाहेर ज्येष्ठ नागरिकको जीवन सुखमय र सम्मानित हुन सक्दैन । परिवारका प्रत्येक सदस्यले म पनि भोलि ज्येष्ठ नागरिक हुनेछु भन्ने सत्यबोध गरी ज्येष्ठको सम्मान गर्ने परम्परालाई पुनःस्थापित गर्नसके नेपालले विश्वमा उदाहरण दिन सक्नेछ ।