विनोद नेपाल
दशैँ नजिकिँदै जाँदा नेपाल राष्ट्र बैङ्क, जो मुलुकको मौद्रिक व्यवस्थापनको जिम्मेवारी लिएको निकाय तथा मौद्रिक अधिकारी हो, उसले दशैँ–तिहारलक्षित नयाँँ नोट वितरण योजना सार्वजनिक गर्ने गर्छ । त्यसो त अन्य समयमा पनि नयाँँ र सुकिला नोटहरू प्रचलनमा नल्याइने होइन तर नेपाल राष्ट्र बैङ्कले हरेक वर्ष दशैँ–तिहारका लागि भन्दै नयाँँ नोट वितरण गर्ने गरेको छ । केही वर्षयता त यसका लागि बैङ्क तथा वित्तीय संस्थाको नाम तोक्ने, फलानो मितिदेखि यति–यति दरका नोट प्रतिव्यक्ति यतिसम्म उपलब्ध गराइनेछ भन्ने सूचना सार्वजनिक गर्ने परम्परा नै चलेको छ । सोहीअनुरूप यस वर्षको दशैँका सन्दर्भमा पनि १३ अर्ब बढीको नयाँँ नोट बजारमा पठाइनेछ ।
नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागद्वारा प्रकाशित दशैँ–तिहार लक्षित नयाँँ तथा सुकिलो नोट सटहीसम्बन्धी सूचनाअनुसार बडादशैँ पर्वमा खासगरी साना दरका नयाँं तथा सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी २०७६ सालको बडादशैँको अवसरमा बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र उपत्यकाबाहिर रहेका आफ्ना शाखा कार्यालयहरूबाट असोज १० गतेदेखि प्रतिव्यक्ति ५ देखि १०० दर सम्मका नोट एक÷एक प्याकेट गरी अधिकतम १८ हजार पाँच सयसम्म सटही सुविधा उपलब्ध गराउने सूचना गरेको र सोअनुरूपको नयाँं नोट वितरण कार्य भइरहेको छ । सोभन्दा बढी आवश्यक पर्नेको हकमा सुकिलो नोट उपलब्ध गराउने पनि सूचनामा उल्लेख छ ।
यस अतिरिक्त नोट कोष रहेका राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड तथा नेपाल बैङ्क लिमिटेडका सबै शाखा कार्यालयबाट समेत सुकिलो तथा सीमित मात्रामा नयाँं नोटहरू सटही गर्न सकिनेगरी व्यवस्था मिलाइएको पनि सो सूचनामा उल्लेख छ । नेपाल राष्ट्र बैङ्क नोटको सुरक्षाप्रति सदैव चिन्तित छ । हामीमध्ये धेरैमा र हाम्रो समाजमा अझै पनि नोट सफा राख्नुपर्छ भन्ने चेतना छैन । यसबारे राष्ट्र बैङ्क जानकार छ । यसैले उसले सफा नोट नीति जारी
गरेको छ । विभिन्न माध्यमबाट नोटको सुरक्षा सचेतनासम्बन्धी सामग्रीहरू प्रचार–प्रसार गर्दै आएको छ । यसक्रममा नोटमा जथाभावी प्वाल पार्ने, स्टिचिङ गर्नेजस्ता पुराना प्रचलनको अन्त्य भइसकेको छ । हाम्रो कानुनले नै नोटमा जथाभावी केरमेट गर्न वा कुनै पनि किसिमबाट किगार्न रोक लगाएको छ ।
तर, नोटको सुरक्षाप्रति चिन्तित राष्ट्र बैङ्क दशैँमै धेरै नयाँं नोट किन वितरण गर्छ त ? जब कि दशैँमा नयाँं नोटको प्रयोजन के हो भन्ने जानकारीमै भएको कुरा हो । दशैँमा नोट प्रचलनमा ल्याउँदा वा नयाँं नोट वितरण गर्दा नोटहरू छिट्टै पुराना र मैला हुने गर्छन् अर्थात् नोटको आयु घट्छ । तर, चलिआएको परम्परा एकैपटक अन्त्य हुन सक्दैन । सम्भवतः यसैले राष्ट्र बैङ्कले अन्य समयमा पनि नयाँं नोट प्रचलनमा ल्याउने, पुराना खिच्दै जाने र बिस्तारै मात्रा कटौती गर्दै जाने नीति लिएको महसुस हुन्छ ।
तर, नोटको सुरक्षा र आयुका दृष्टिले पनि दशैँलाई लक्षित गरेर नोट वितरण गर्ने परम्पराको अन्त्य हुनुपर्छ । सफा नोट नीति जारी गर्नुका साथै नोटको सुरक्षा र हिफाजतपूर्वक प्रयोगका लागि विभिन्न माध्यमबाट जानकारी गराइए पनि त्यसको अपेक्षित र वाञ्छित प्रभावकारिता देखिन नसकेको सन्दर्भमा जानाजान आयु घट्ने गरी नोट प्रचलनमा ल्याउने परम्परालाई ढिलोचाँडो अन्त्य नै गर्नुपर्छ ।
केन्द्रीय बैङ्कले ढुकुटीमा रहेका नोट बैङ्कहरूलाई समय–समयमा दिने गरेमा बैङ्कहरूले पनि त्यो नोट वितरण गर्छन् । नयाँँं नोट चलनचल्तीमा गइरहन्छ । यसो गर्दा मानिसले आफूलाई दशैँजस्ता चाड र दानदक्षिणाका लागि आवश्यक पर्ने नोट सञ्चित गरेर राख्छन् । यसबाट उनीहरूलाई दशैँमै तनाव हुँदैन ।
दशैँमा नोट बढी नै प्रचलनमा ल्याउनुपर्ने भए पनि नयाँं नोट वितरणको हल्ला गर्नुपर्ने वा त्यसैका लागि तनाव लिनुपर्ने जरुरत पर्दैन । यसैगरी पुराना, केरमेट गरिएका वा च्यातिएका नोटहरू सहजै सटही नहुनेगरी कडाइ गर्न सकेमा र त्यो काम बैङ्क वित्तीय संस्थाभन्दा नेपाल राष्ट्र बैङ्कले मात्र गर्नेगरी व्यवस्था गर्न सकिएमा सटहीका लागि झमेला हुने भएकाले पनि नोट प्रयोगकर्ताहरू सजग हुने र नोट सफा रहन सक्ने सम्भावना रहन्छ ।
नेपाल राष्ट्रबैङ्कले बेलाबखत नोटको सुरक्षाका लागि आग्रह गर्ने गरेको छ । नोटको सुरक्षा कसरी गर्न सकिन्छ भनेर सुझाएको हुन्छ । तर, प्रयोगकर्ताहरूले त्यसको ख्याल गरेको देखिँदैन । विदेशी नोटहरूलाई सुरक्षित साथ राख्ने गरिए पनि नेपाली नोटहरू जथभावी राख्ने गरिएकाले पनि नोटको आयु घटेको हो ।
छपाइ खर्चिलो हुने र छिटो नोट पुरानो भई विस्थापित गर्नुपर्दा लाग्ने खर्च बढ्न जाने भएकाले राज्यको ढुकुटीको सुरक्षाका लागि पनि नोटको हिफाजत गर्नु आवश्यक छ । नोट हाम्रो सम्पत्ति हो भन्ने नबुझे, नसोचेसम्म र नोटको सट्टा भर्ना र सटहीमा कडाइ नगरेसम्म नोट सुकिला रहने र आयु बढ्ने सम्भावना भने कमै छ ।
स्मरणीय छ, नेपाली नोट झुत्रा हुनेक्रम बढ्दै गएको र हरेक वर्ष त्यस्ता नोट प्रचलनबाट हटाई नष्ट गर्ने मात्रासमेत बढ्दै गएको तथ्याङ्कले देखाएको छ भने नयाँं नोट छपाइका लागि निरन्तर वृद्धि हुँंदै गएकोबारे पनि राष्ट्र बैङ्कका अधिकारीहरूले जानकारी गराएका सन्दर्भमा पनि नोटको प्रयोग र वितरणमा होसियारी आवश्यक छ ।
हामीकहाँ पनि नगद नै नचाहिने र विद्युतीय माध्यमबाट पनि कारोबार हुने अवस्था भइसकेको तथा हामीले डिजिटल कारोबार गर्न थालिसकेका छौँ । यस सन्दर्भमा दशैँ र नोटको सन्दर्भमा पनि नयाँं ढङ्गबाट सोच्नु जरुरी छ । यस अतिरिक्त नोट सुकिलो राख्नुपर्छ भन्ने सन्देश फैलाउने, प्रचार–प्रसार गर्ने तथा नोट सुकिलो राख्दा दशैँमा नयाँं नोटका लागि तनाव लिनु नपर्ने भएकाले दशैँमा नयाँं नोट वितरण गर्ने परम्पराको अन्त्य गरी समय–समयमा नयाँं नोट बजारमा पठाउने गर्नु आवश्यक छ ।
नयाँं र पुरानो नोटको मूल्य र क्रयशक्ति एउटै हुने भएकाले मूल्यका दृष्टिले नयाँं र पुरानो नोटबीच कुनै अन्तर हु“दैन । खल्तीबाट पुरानो नोट निकाल्नुभन्दा नयाँं र सुकिला नोट निकाल्दा सभ्यतासमेत झल्कने भएकाले पनि यस्ता विषयमा सोहीअनुरूप जानकारी गराउनु उचित हुन्छ । यसो गर्न सकिएमा नोटको हिफाजत गर्ने बानीको विकास हुनुका साथै केन्द्रीय बैङ्क समयसँगै परिवर्तनको बाटोमा हिँडेको पनि महसुस हुनेछ ।
(लेखक पूर्वबैङ्क कर्मचारी हुनुहुन्छ ।)