नेपाल टेलिकमले मुलुकका विभिन्न ३६ जिल्लाका ६० भन्दा बढी सहरमा बुधबार एकैपटक चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) सेवा सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो सेवाको सुरुवात गर्दै विकासका काममा प्रविधिको प्रयोगलाई सरकारले ध्यान दिएको बताउनुभएको छ । यसअघि गत वैशाख ४ गते नेपालले अन्तरिक्षमा आफ्नै भूउपग्रहको सफल प्रक्षेपण गरेर सूचना प्रविधिको विकासमा नयाँ फड्को मारेको थियो । नेपाल टेलिकमले काठमाडौँ र पोखरामा २०७३ पुस १६ गते फोरजी सुरु गरेको थियो भने बुधबारबाट यो सेवा मुलुकका ५९ सहरमा विस्तार भएको छ । सूचना प्रविधिको विकाससँगै नेपालमा यसको साक्षरता बढ्दै गएको पाइएको छ । निरक्षर पुस्ताले पनि मोबाइल नम्बर डायल गर्नसक्ने, सामाजिक सञ्जालमार्फत संवाद गर्न जान्ने र मनोरञ्जन लिन सक्ने भएका पाइएको छ ।
सन् १९९० को दशकबाट विश्वमा विकसित मोबाइल प्रविधि नेपालमा छोटै समयमा प्रवेश गरी जनस्तरमा लोकप्रिय बन्न सकेको छ । सन् २००९ मा व्यावसायिक रूपमा नर्वे र स्विडेनबाट सुरु भएको फोरजी सेवा नेपालमा पनि सफलताका साथ विस्तार हुँदैछ । ध्वनि, इन्टरनेट र मल्टीमिडियाका सामग्री उच्च गतिमा पठाउन र प्राप्त गर्न सकिने यो प्रणालीमा अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनले निर्धारण गरेअनुसारका सुविधा उपलब्ध हुन्छन् । हालको भन्दा परिमार्जित मोबाइल वेभको पहुँच, उच्च गुणस्तर र गतिको मोबाइल टेलिभिजन, गेमिङ सेवा, भिडियो कन्भरेन्सिङ तथा थ्रिडी टेलिभिजनका सेवा उपलब्ध हुनेछ जसबाट यो पद्धति विकासका गतिविधिमा जोडिन पुग्छ र इ–गभर्नेन्सलाई सघाउने छ ।
राजनीतिक स्थायित्वपछि वर्तमान सरकारको मुख्य ध्यान सुशासन र विकासमा केन्द्रित रहेकोले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न फोरजीमा मात्र नभएर पूर्वाधारका धेरै काममा सफलता हासिल भइरहेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अबका दिन नेपालभर फोरजी सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फोरजी विस्तारले एकतिर उपभोक्ताले आधुनिक सञ्चार सेवा प्राप्त गर्ने छन् भने टेलिकमको बजार विस्तार र आर्थिक सभ्भावना बढ्ने छ । वर्तमान सरकारको नीति तथा कार्यक्रममा ‘डिजिटल नेपाल’ अभियानलाई उच्च प्राथमिकता दिइएकाले फोरजी विस्तारले आगामी नेपालको सामाजिक जीवन र प्रशासनिक कार्य क्रमशः डिजिटलाइज्ड (प्रविधियुक्त) हुँदै जानेछ । अबका दिनमा लाइनमा उभिएर तिर्नुपर्ने सेवा शुल्क क्रमशः प्रविधिमार्फत घरैमा बसेर तिर्न सकिने छ ।
सूचना र सञ्चार प्रविधिको विकास तथा विस्तारसँगै सामाजिक सञ्जालमा जनस्तरको व्यापक आकर्षण र सहभागिता बढेको छ र अर्कोतिर यसको गलत उपयोग पनि गरिने गरिएको छ । कुनै पनि प्रविधि वा प्रणाली आफैमा हानिकारक नहुने बरु त्यसको उपयोगबाट नै सदुपयोग र दुरुपयोग हुने गर्छ । फोरजी सेवाबाट अथाह शिक्षा र ज्ञान प्राप्त गर्न सकिने छ भने त्यति नै दुर्गुण पनि । यो उपभोक्तामा भर पर्ने सन्दर्भ हो । विद्युतीय प्रशासन, पुस्तकालय, अस्पताल, विश्वविद्यालय के पाइँदैन इन्टरनेटमा ? यस्तो सेवाले मानव ज्ञान भण्डार विस्तार गर्नेछ । विश्वमा प्रयोगमा आएका यस्ता प्रणाली वा प्रविधिमा हाम्रा वर्तमान पुस्ता अभ्यस्त हुनुले उनीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा सहजै प्राथमिकतामा पर्न सक्नेछन् । नेपालले डिजिटल लिटरेसी (प्रविधि शिक्षा)को सहजता र विस्तारमा ध्यान दिनु उत्तिकै आवश्यक छ भने विस्तारित सेवालाई सहज बनाउनु पनि त्यतिकै खाँचो छ । फोरजी सेवाका लागि युनिर्भसल सीमकार्ड (युसीम) आवश्यक पर्न सक्ने अवस्थामा नयाँ सीमकार्ड लिनुपर्ने वा पुरानै सीमलाई युसीममैत्री बनाउनु पर्ने हुन्छ । उपभोक्ताले सहजताका साथ यो सेवा लिन पाउने वातावरण निर्माण गर्दै विगतमा ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेटका गुणस्तरमा देखिएका कमी कमजोरी हटाउन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने देखिएको छ । सेवा विस्तारभन्दा पनि उपलब्ध सेवा कति गुणस्तर छ भनेर पनि सेवा तथा सेवा प्रदायकको मूल्याङ्कन हुने भएकाले नेपाल टेलकमका साथै निजी क्षेत्रबाट प्रदान गरिएका फोरजी, इन्टरनेट, मोबाइल र ल्यान्डलाइन फोनको गुणस्तर सुधार र विश्वसनीय बनाउने चुनौतीलाई अवमूल्यन गर्न सकिँदैन ।