दीर्घराज प्रसाई
अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसियाली मनाएको विश्वासमा शुभदिनका रूपमा हिमवत्खण्ड तथा भारतखण्डमा दशैँ मानिँदै आएको हो । असत्यमाथि सत्यको विजयको प्रतीकको चाड दशैँ नेपालीको राष्ट्रिय सांस्कृतिक पर्व हो । घटस्थापनादेखि दशमीका दिनसम्म भ्याएसम्म सबै शक्तिपीठमा सबै जातका नेपाली आराधनाका लागि पुग्छन् ।
हिमवतखण्ड नेपाल– देवी, देवता, मन्दिर, धाम, अनेकौँ चाडपर्व र सांस्कृतिक परम्पराबाट अभिपे्ररित देवभूमि हो । वशिष्ठ ऋषिले हिमवत्खण्ड बारेमा भनेका थिए– ‘भारतखण्डे उत्तरायणे, स्वर्णभूमि, स्वर्गभूमि ।’ ऋषिमुनिहरूले यसक्षेत्रमा वेद, उपनिषद्, महाभारत, रामायण तथा नीतिशास्त्रको रचना गरेर यो स्वर्णभूमिलाई अग्रगण्य गराउन सकेका थिए । यसक्षेत्रका ऋषिमुनिहरूको महान् योगदान, देवी, देवता, मन्दिर, धाम, चाडपर्व र यहाँका नीतिशास्त्रको बारेमा चर्चा गर्नु सानोतिनो खोज अनुसन्धानबाट सम्भव छैन । कुनै एक विषयको बारेमा लेख्न थालियो भने विभिन्न ग्रन्थ तयार हुन्छन् ।
नेपाल प्राकृतिक र सांस्कृतिक हिसाबमा विश्वको नै धनी राष्ट्र मानिन्छ । हामी नेपालीहरूका चाडपर्वहरू मौलिक छन्, कतैबाट नक्कल गरिएका होइनन् । हाम्रा सांस्कृतिक मान्यताहरूमध्ये दशैँ र तिहार त्यत्तिकै मौलिक चाड हुन् ।
विक्रम संवत् १८०० भन्दा अगाडि हिमवत्खण्डका धेरै हिन्दुराज्य दक्षिणमा अङ्ग्रेज साम्राज्यबाट त्रसित थिए । गोर्खाका राजा पृथ्ीनारायण शाहले यसक्षेत्रका अनेकौँ राज्यका जनता, विभिन्न जात–जातिको सहयोगमा एकीकरण गरेर एकीकृत विशाल नेपालको निर्माण अभियान चलाए । पृथ्वीनारायण शाहबाट एकीकरण अभियानमा काठमाडौँ उपत्यका विजयपछि इन्द्रजात्राको शुभदिनमा कुमारीको हातबाट टीका ग्रहण गरी हनुमानढोका सिंहासनमा आरोहण गरेका थिए । काठमाडौँ उपत्यका विजयपछि पृथ्वीनारायण शाहबाट दशैँमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट मगर जातिको पुजारीबाट दशंँको सप्तमीका दिन बढाइँका साथ काठमाडौँ ल्याउने परम्परा बसाए । त्यो परम्परालाई अद्यावधि मनाइन्छ ।
बडादशैँमा नेपाल अधिराज्यका अनेकौँ शक्तिपीठमा नेपालीहरूको घुइँचो हुन्छ । गोर्खाकी गोरखकाली, मनकामना, पाल्पाकी तानसेन भगवती, पूर्वको पाथिभरा, १३ थुमको सिंहवाहिनी, धरानकी दन्तकाली, विराटनरगरकी माइस्थान, राजविराजकी सखडादेवी, धनुषाकी राजदेवी, वीरञ्जकी माईस्थान, बारामा गढीमाई, मकवानपुरकी चुरियादेवी, भुटनदेवी, काभ्रेकी चण्डेश्वरी तथा पलाञ्चोक भगवती, दोलखाकी कालिन्चोक भगवती, काठमाडौँ उपत्यकाकी गुह्येश्वरी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, मैतीदेवी, शोभा भगवती, सङ्कटा, रक्तकाली, काठमाडौँ र भक्तपुरकी इन्द्रायणी, भक्तपुरकी नवदुर्गा, पाटनकी बगलामुखी, हनुमानढोका–तजेलु भवानी, साँखुकी वज्रयोगिनी, पाटनकी वज्रवाराही, डोल्पाकी त्रिपुरासुन्दरी, वाग्लुङकी माईस्थान (कालिका), स्याङ्जाकी चण्डीकालिका, नेपालगञ्जकी बागेश्वरी, कास्कीकी विन्ध्यवासिनी, डोटीकी शैलेश्वरी, डडेलधुराकी उग्रतारा, कालिकोटकी बडीमालिकादेवी लगायत नेपालभरका अनेकौँ शक्तिपीठमा भक्तजनको ठूलो उपस्थिति हुन्छ ।
हरेक क्षेत्रका शक्तिपीठको आ–आफ्नै महिमा छ । वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपासक हुन्छन् । ॐ कार जगत् नै वैदिक हिन्दु पञ्चदेवका उपासक हुन् । पाञ्चायन देवी–देवता शक्तिपूञ्ज हुन् । पाञ्चायन देवतामा गणेश, देवी, सूर्य, शिव, विष्णुको पूजा अपरिहार्य हुन्छ । पाञ्चायन देवी–देवताको आराधनाको आ–आफ्नै समय हुन्छ । घटस्थापनादेखि नौ दिनसम्म शक्तिकी प्रतीक भगवतीको आरधाना गर्ने समय हो । हामी सबै हिन्दु तथा बौद्धहरू नेपालमा कुनै न कुनै प्रकारले पाञ्चायन देवी देवताको आराधना गर्छौं । दशमीको दिन विजयादशमी भनेर दही, अक्षता मिसाएर शुभघडी हेरेर बाजे, बराजु, आमा बाबु अथवा आफूभन्दा बुढापाका गुरुहरू, मान्यजनबाट टीका लगाउने परम्परा छ ।
दशैँमा पशुबलिको विषयमा धेरैको मतभिन्नता छ । कृष्ण प्रणाली, वैष्णव, जैन धर्मावलम्बी पशुबलिलाई अमानवीय विकृति ठान्छन् । डा. गोविन्द टण्डन भन्नुहुन्छ – ‘विजया दशमीको धार्मिक, सांस्कृति एवं दार्शनिक महŒव अति नै छ । नवरात्रभरि शक्तिरूपा देवी दुर्गाको विविध स्वरूपको आरधना गरी काम क्रोध, मोह, मद जस्ता दुर्गुणलाई त्याग्न साधना स्वरूप पशुवलि गर्नु मुख्य पर्व जस्तो बन्न गएकोले खसीबोका पर्वको रूपमा विकसित हुँदै जानु ज्यादै दुःख छ । धर्मको महत्व, गौरव र शालीनतालाई नैं पशुवलि परम्पराले यस्तो मोडमा धकेलेको छ ।’
यसै विषयमा डा. रामचन्द्र गौतम लेख्नुहुन्छ – ‘हाम्रा धर्मशास्त्रहरूले राजश, तामस या सात्विक पूजाविधि चयन गर्न अधिकार दिएको छ । बलि नदिई पनि पुजा गर्न सकिन्छ तर बडादशैंमा आराधना गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती स्वरुपिणी दुर्गाभवानीको लागि वलि आवश्यक छ । देवीहरूको वलिबाट शक्ति आर्जन गर्छन् भन्ने भक्तजनहरूले पनि वलि चढाएर शक्ति आर्जन गर्छन् । राज्य शक्तिको लागि पनि वलि अनिवार्य छ । राज्य शक्ति अथवा प्रभुसत्ता या सरकारका लागि वलि अनिवार्य भएकाले राज्यका तर्फबाट प्राचीनकमलदेखि नैं पशुपक्षीहरको वलि दिने व्यवस्था रहँदै आएको छ ।’ यसरी मतभिन्नता पनि प्रारम्भदेखि नै हुँदै आए तापनि दशैलाई पशुपक्षीको वलि चढाएर मनाउने र वलि नदिएर फूलपाती चढाएर पनि मनाउने गर्ने गरिएको छ । महादशैंमा बलीको सन्दर्भमा पञ्चरत्न पांधुश्रेष्ठ लेख्नुहुन्छ – ‘बलिप्रथा नगर्ने हो भने कुलाचारीको बदला दुराचारीमा परिणत हुन जानेछ । शक्ति साधना मरुल पर्व मानिएको बडादशैंको पूजा विधि हाम्रो मौलिक परम्परा हो । प्रारम्भिक बालदेखि नै सनातन धर्मको नाममा वेद र तन्त्रको संयुक्त विधिविधान हो यो ।
पुराणले भनेको छ – मोहले वा अहंकारले दशैं पर्वमा बलि पूजा नगरेमा भगवती रिसाउनु हुन्छ र उसको सर्वनाश हुन्छ ।’ यसरी नेपाली समाजलाई बलि प्रथाले प्रभाव पारेको छ । तर कतिपय व्यक्तिहरू यसक्षेत्रको सांस्कृतिक अध्ययन नैं नगरी भन्छन्– पृथ्वीनारायण शाहले जवरजस्ती लाधेको होे भन्दै दशैं बारेमा भ्रम खडागर्न खोजेका छन् । पार्टीगत रंगले पनि दशैंलाई दुषित पार्न हुँदैन । दशैं बारेमा स्वामी प्रपन्नाचार्यले व्यक्त गर्नुभएको थियो – ‘दुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देबीको नाम हो । इष्टदेव महादेव, पार्बतीलाई पारुहाङ तथा सम्निमाको रूपमा मान्ने गरिएकोछ । लिम्बुहरू धावासाम, युमासाम भनेर महादेव र पार्वतीलाई इष्ट देवदेवीको रूपमा मान्दछन् । नवदुर्गाको पुजा नवरात्रमा गर्ने अति प्राचीन परम्परा हो । दशमीको दिन विजयदशमी भनेर दही अक्षता मिसाएर शुभघडी हेरेर बाजे, बराजु, आमा बाबु अथवा आफूभन्दा बुढापाका गुरुहरूबाट टिका लाउने प्राचीन संस्कृति हो । दशैं धर्म होइन, यो एउटा परम्परागत सांस्कृतिक मान्यता हो ।’ विश्वभरमा बौद्ध र हिन्दु तथा बौद्धहरू यसलाई आफ्नो मोलिक चाड ठान्छन् । त्यस्तै भूटानका तल्कालीन राजा जिग्मे वाङचुकले दशैंबारे भनेका थिए – ‘म सक्रियताकासाथ दशैंपर्वमा भाग लिन्छु । हाम्रो इष्टदेवता महालक्ष्मी हुन् र हामी शिव र बिष्णुको पनि पूजा गर्छाैं ।’ उक्त कुरा सन् १९९३ जनवरी ७ मा ‘द टाइम्स अफ इण्डिया’ को एक अन्तर्वार्तामा प्रकाशित भएको थियो ।
राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दशंै नेपालीहरूको महान चाडको रूपमा परिचित भइसकेको हुँदा यसको महत्वलाई सही ढंगले उजागर गर्न सक्नु पर्दछ । पृथ्वीनारायण शाहभन्दा शताब्दियौं अगाडिदेखि नै दशैं र तिहार यसक्षेत्रकै हिन्दु तथा बौद्ध तथा सबै जातिको साझा संस्कृति बन्दै आएको छ । निधारभरी दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन जनजातिहरूबाटै प्रारम्भ भएको हो । काठमाडौं उपत्यकामा राता अक्षताको टीका लगाउने परम्परा भए तापनि लिम्बु, राई, मगर, गुरुङ, तामाङ जातिहरूले विजय दशमीका दिन दहीमा सेता अक्षता घोलेर निधारभरि टीका लगाउने चलन छ ।
दशैंझै तिहारलाई पनि दार्जिलिङ्ग, सिक्किम, डुअर्स, आसाम, देहरादूनमा त दशैं र तिहारलाई गोर्खाहरूको एकताको आधार मान्छन् । भारत, बर्मा, श्रीलंका, इण्डोनेशियालगायत विश्वका अनेकौं देशहरूका हिन्दुहरूले आआफ्नै प्रकारले दशैं मनाउँछन् । भारतमा नेपालीभाषी नेपाली जाति बाहेक भारतीय हिन्दुहरू टीका नलगाएर पनि दशैको उत्सव मनाउँछन् । नेपाल र नेपाल बाहिरका हिन्दु–बौद्धले विजय दशमीको शुभसाहितमा मूलढोकाको पूजा गरी मान्यजनबाट परिवारको मर्यादाक्रम अनुसार टिका प्रारम्भ हुन्छ ।
हिन्दु र बौद्धवीचको सामञ्जस्यताको कारण हो– पशुपतिनाथ र स्वयम्भूनाथ वीचको पारस्पारिकता । पशुपतिनाथमा बुद्धपूर्णिमाका दिन बुद्धको मुकुट पहिराएर पूजा गर्ने गरिन्छ । बौद्धहरू पनि पशुपतिनाथको पूजाआजा गर्दछन् । काठमाडौं उपत्यकामा बौद्धहरू आठवटा शिवलिङ्गलाई अष्टवैतरागको रूपमा पूजा गर्दछन् । स्वयम्भूनाथमा पनि हरेक हिन्दुहरू मञ्जुश्रीलाई सरस्वती मानेर पूजा गर्छन् । गुहेश्वरीको कुण्डलाई सृष्टिको प्रतीक मानेर शैव र बौद्धले पुज्ने गरेका छन् । मुक्तिनाथको मन्दिरमा लामा र बैष्णव दुबै पद्धतिबाट पूजा गरिन्छ । मुक्तिनाथमा हिन्दुहरू नारायणको रूपमा र बौद्धहरू भगवान बुद्धको रूपमा मान्छन् । साँखु बज्रयोगिनीलाई हिन्दु तथा बौद्ध समाजले पूजा गर्छन् । चाँगुनारायणस्थित गरुडलाई बौद्धहरू हरिहरवाहन लोकेश्वर मान्छन् । बुढानीलकण्ठलाई बौद्धहरू १०८ लोकेश्वरको रूपमा आराधना गर्छन् । बौद्ध बिहारहरूका मूलढोकामा दाँया र बाँया गणेश र महांकालको प्रतिमा खडा गरी पूजा गर्ने गरिन्छ ।
दशैं यस्तो धार्मिक सम्मिश्रण भएको चाड हो कि यसले हामी नेपालीहरूले विश्वभर सांस्कृतिक सामञ्जस्यताको अनुपम उदाहरण प्रस्तुत गर्न सकेको छ ।
(लेखक धर्म संस्कृतिका अध्येता हुनुहुन्छ ।)