रामबाबु पौड्याल
काठमाडौँको माइतीघर–तीनकुने सडकखण्ड हाल मनमोहक बनेको छ । सडकको दायाँबायाँ, बीचभाग सौन्दर्यमूलक प्रजातिका वनस्पतिले ढाकिएका छन् । २०७१ सालसम्म हरियालीरहित बनेको सो सडकखण्ड ६ वर्षमै हराभरा बनेको छ । कुनै पनि देशको राजधानी सहर राष्ट्रिय पहिचानको प्रतीकमात्र नभई देशकै प्रगतिको सूचक मानिन्छ । देशको सङ्घीय राजधानीसमेत रहेको यस उपत्यकामा रुखबिरुवा रोपी सुन्दरता बढाउन विगतदेखि नै प्रयास नभएका होइनन् । १४ औँ शताब्दीमा जयस्थिति मल्लका पालामा बाटोका छेउका रुख काट्नेलाई ठूलो जरिवाना गरिन्थ्यो । वि.सं. १९१० को मुलुकी ऐनमा समेत त्यस्ता रुख काट्न प्रतिबन्ध थियो ।
राणाकालमा निर्मित दरबारका परिसर र कतिपय सडक छेउमा मंकीपजल, काँगियोफूल, कल्कीफूल, रुखकमल, मसला, कपूर लगायतका विदेशी प्रजातिका बिरुवा रोपिए । २०३० को दशकमा चक्रपथ दायाँबायाँ लहरेपीपल, काँगियोफूल, जाकाराण्डाजस्ता छिटो बढ्ने प्रजातिका बिरुवा रोपिए । अरनिको राजमार्गको माइतीघर–भक्तपुर खण्डमा काँगियोफूल र लहरेपीपल रोपिए । हालसम्म पनि उपत्यकाका विभिन्न सडकखण्ड र नदीका दायाँबायाँ बिरुवा रोप्ने काम जारी छ । सन् १९२० मा केशरमहलमा स्वप्न बगैँचा स्थापना भयो । विभिन्न निकायद्वारा ठाउँठाउँमा उद्यान स्थापना गरी सौन्दर्य बढाउने कार्य भइरहेको छ । कतिपय ट्राफिक आइल्याण्ड पनि बोटबिरुवायुक्त बनेका छन् । उपत्यकाका तीनै जिल्लाका वन क्षेत्रका खाली जग्गा, सार्वजनिक जग्गा र निजी जग्गामा व्यापक वृक्षरोपण गर्न २०१५ सालमा थानकोटको चुनीखेल, मच्छेगाउँ, चाल्नाखेल र थिमीमा नर्सरी स्थापना गरिए । हालसम्म तीनै जिल्लाका विभिन्न स्थानका नर्सरीबाट बर्सेनि लाखौँका सङ्ख्यामा बिरुवा वितरण भइरहेका छन् ।
रानीवारी, स्वयम्भू, पशुपतिनाथ, गोकर्ण, चाँगुनारायण, म्हैपी लगायतका स्थानका प्राकृतिक वनसमेत विभिन्न निकाय तथा समुदायद्वारा पहिलादेखि नै संरक्षण र व्यवस्थापन भई उपत्यकाको हरियाली बढाएका छन् । मूलतः सामुदायिक वनका कारण वरिपरिका डाँडा हरियालीयुक्त भएका छन् । तर विगतदेखिकै विविध प्रयासका बावजुद वृक्षरोपण, संरक्षण र व्यवस्थापन पक्षमा उल्लेखनीय सफलता प्राप्त हुन सकेको छैन । उपत्यकाको हरियालीको अवस्था सन्तोषजनक भने अझै छैन । उपत्यकाका रुख बिरुवा नासिँदै गएपछि विभिन्न चरा पनि वरिपरिका डाँडाकाँडामा बसाइँ सरेका छन् । सडक सञ्जालको विस्तार एवं मौजुदा सडकको स्तरोन्नति, भवन निर्माण, जग्गा प्लटिङ, विद्युतीकरण जस्ता भौतिक संरचनाको निर्माणले रुख बिरुवा विनाश भइरहेका छन् । साँघुरा फुटपाथ तथा सडकबीचमा ठूला साइजका हुने प्रजातिका बिरुवा पनि रोपिएका छन् । त्यसैगरी रोपणपछिको संरक्षण र व्यवस्थापनको पक्ष भने सन्तोषजनक छैन ।
देशको समृद्धि वातावरणीय पक्षसँग पनि गाँसिएको हुन्छ । वातावरण संरक्षणमा वनस्पतिको अमूल्य योगदान रहन्छ । घना आवादी भएको सहरी क्षेत्रमा त यसको अझै भूमिका रहन्छ । वनस्पतिले वायु र ध्वनि प्रदूषण नियन्त्रण, कार्बन सञ्चिति, अक्सिजन उत्पादन तथा हरितगृह प्रभाव न्यूनीकरण, वायुको तापक्रम नियन्त्रण, जल सञ्चय तथा भू–संरक्षण, भू–दृश्य सौन्दर्यीकरण, मानव स्वास्थ्यमा सकारात्मक प्रभाव, मनोरञ्जन, अध्ययन अनुसन्धान, जैविक विविधता संरक्षण, वन पैदावार आपूर्ति, पर्यटन प्रवद्र्धनलगायत अन्य सामाजिक, वातावरणीय तथा आर्थिक पक्षमा योगदान पु¥याउँछन् । रुख बिरुवाले हावा स्वच्छ पार्ने हुँदा यिनलाई फोक्सोसँग पनि दाँज्न सकिन्छ । उपत्यकालाई हरियालीयुक्त, सुन्दर र अझै बस्नयोग्य बनाउन निम्नलिखित उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।
नीतिगत संस्थागत व्यवस्था
हरियाली विकास तथा व्यवस्थापन गर्न छुट्टै नीति बनाइनुपर्दछ । भौतिक संरचना निर्माण गर्दा हरियाली प्रवद्र्धनको व्यवस्था गरिनुपर्दछ । कुनै एक निकायको नेतृत्वमा समिति गठन गरी काम, कर्तव्य र अधिकार तोकिनुपर्दछ ।
हरियाली विकास योजना
सरोकारवालाको सहभागितामा एकीकृत हरियाली विकास योजना बनाई त्यसमा उपत्यकाका मौजुदा र सम्भाव्य हरियाली विकासको क्षेत्रको लगत तयार गरी उपयुक्त स्थानमा सही प्रजातिका रुख, झाडी र अन्य वनस्पति सिफारिस गरी वृक्षरोपणको मापदण्ड तयार गर्नुपर्छ ।
बिरुवा उत्पादन
उपत्यकाका तीनवटै डिभिजन वन कार्यालय मातहतका नर्सरीको स्तरोन्नति गरी वर्षैभरि सञ्चालनको व्यवस्था मिलाई फलफूल तथा सौन्दर्यमूलक प्रजातिका बहुवर्षीय तथा गुणस्तरीय बिरुवा उत्पादन गरिनुपर्दछ । साथै निजी नर्सरीलाई गुणस्तरीय बिरुवा उत्पादन गर्न प्रोत्साहित गर्नुपर्दछ ।
वृक्षरोपण
प्रमुख तथा शाखा सडकका बीच तथा दायाँबायाँ, ट्राफिक आइल्याण्ड, नदी किनार, सार्वजनिक जग्गा, विद्यालय, सरकारी गैरसरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका परिसरलगायतका स्थान खाली ठाउँ र भवनका कौसीमा उपयुक्त प्रजातिका बिरुवा अभियानकै रुपमा रोपिनुपर्दछ । बिरुवा रोप्दा त्यसको प्रजातीय गुण र रोपिने ठाउँको प्रकृति मिल्दो हुनुपर्छ । जस्तै–रुख बिरुवाको जराका लागि तल र काण्ड तथा हाँगाका लागि दायाँबायाँ एवं माथितिर उपलब्ध हुने ठाउँ र प्रजातीय गुणको ख्याल गर्नुपर्छ । सडक छेउमा रोपिने प्रजाति रोज्दा गहिरा जरा, लामो आयु, मझौला उचाइ, मजबुत काण्ड हाँगा हुने तथा यथासम्भव सदाबहार तर पतझड भएमा लामो समयसम्म आकर्षक फूल फुलिरहने हुनुपर्छ । रुख प्रजातिको हकमा कम्तीमा ५ फिट अग्ला बिरुवामात्र सहरी क्षेत्रमा रोपिनुपर्दछ । अग्लो बिरुवाको संरक्षण गर्न र हुर्काउन सहज हुन्छ ।
सडक दायाँबायाँ तथा नदी किनाराका निश्चित खण्डमा रुख, झाडी तथा अन्य वनस्पतिका एउटै प्रजातिका बिरुवामात्र रोप्न उचित हुन्छ । किनभने एउटै प्रजातिको वृद्धिदर, पात झर्ने पालुवा आउने, फुल्ने फल्ने समय एउटै हुनेहुँदा आकर्षक देखिनुका साथै व्यवस्थापन गर्न पनि सहज हुन्छ । तर उद्यान क्षेत्र तथा भूक्षयको दृष्टिले संवेदनशील क्षेत्रमा धेरै प्रजातिको सम्मिश्रण ठीक हुन्छ ।
संरक्षण र व्यवस्थापन
वृक्षरोपणपछि त्यसको संरक्षण र व्यवस्थापन पक्ष अत्यन्त महŒवपूर्ण हुन्छ । त्यसमा पनि धेरै जनसङ्ख्या भएको सहरी क्षेत्रमा त विशेष ध्यान पु¥याउनुपर्दछ । बिरुवाको सुरक्षाका लागि तारबार लगाउनु आवश्यक हुन्छ तर सडक दायाँबायाँ वृक्षरोपण गर्दा बिरुवाको सुरक्षार्थ काठ वा फलामको ट्रि–गार्डको व्यवस्था गरी लगत राखी सिलसिलेवार नम्बर राखिनुपर्छ । तारबार तथा गार्ड वा बिरुवाको हानि नोक्सानी भएमा तत्काल मर्मत वा फेर्ने व्यवस्था समेत मिलाउनुपर्छ ।
आवश्यकतानुसार सिँचाइ र गोडमेलको व्यवस्था मिलाई बिरुवाको संरक्षण तथा व्यवस्थापनको जिम्मा अवस्थाअनुसार नजिकको जग्गा घरधनी, स्थानीय तह, स्थानीय क्लब, टोलसुधार समिति, नागरिक समाज, बैङ्क एवं वित्तीय संस्थालगायतलाई दिनु उपयुक्त हुन्छ । उपत्यकाभित्र रहेका रुख बिरुवाको नियमित काँटछाँटका साथै मरेका, मर्न लागेका तथा जनधनको सुरक्षाका दृष्टिले खतरायुक्त रुख तुरुन्त हटाउनुपर्छ । त्यसका लागि ट्रि–एम्बुलेन्ससहितका टोली गठन गरिनुपर्दछ । गृह मन्त्रालय अन्तर्गतका समरजंग कम्पनीलाई सक्रिय बनाउनुका साथै वन तथा वातावरण मन्त्रालय तथा महानगरपालिका, नगरपालिका मातहत टोलीहरू बनाउनुपर्छ ।
प्रचारप्रसार
उपत्यकामा सहरी वन संरक्षण, विकास र व्यवस्थापनको महŒव र नागरिकको भूमिका सम्बन्धमा व्यापक प्रचारप्रसार गरिनुपर्दछ ।
मनोरम हावापानी र उर्वर जमिन भएको उपत्यकाको मौजुदा हरियालीलाई कायमै राखी राम्ररी व्यवस्थापन गरी खाली स्थानमा उपयुक्त प्रजातिको बिरुवा रोपी संरक्षण र व्यवस्थापन गरेमा तथा सबैले आफ्नो क्षेत्रवाट सक्दो सहयोग पु¥याई सार्वजनिक सम्पत्तिलाई निजीजस्तै माया गर्ने बानीको थप विकास ग¥यौँ भने केही वर्षमै हाम्रो काठमाडौँ उपत्यका, हरियालीयुक्त भई देशको समृद्धिमा टेवा पु¥याउनेछ ।
(लेखक काठमाडौँ जिल्लाका डिभिजनल वन अधिकृत हुनुहुन्छ ।)