मौलिक संस्कृति र परम्परामा नेपाली समाज विशिष्ट छ । यहाँका चाडबाड, धर्म, रीतिरिवाज र लोकपरम्परा नै समग्र नेपाली संस्कृतिका पहिचान हुन् । शारदीय महिनामा नेपालीका विशेष र ठूला चाड शृङ्खला पर्छन् । यीमध्ये बडा दशैँ नेपालीको प्रमुख चाड हो । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म अधिकांश नेपालीका घरघरमा शक्तिको आराधना गरी पूजा गरिन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदातृलाई नवदुर्गाका रूपमा पूजा गरिन्छ । दशौँ दिन अर्थात् दशमीका दिन मान्यजनका हातबाट टीका तथा प्रसाद ग्रहण गरिन्छ । पूर्णिमासम्म यो क्रम चल्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन दशैँ मानिने भए पनि सुरुका नौ दिनलाई नवरात्रि र दसौँ दिनलाई विजयादशमीका रूपमा मानिन्छ । दशैंलाई स्थान र परिवेशअनुसार बडादशैँ, विजयादशमी, दशहरा, आयुध पूजाका नामबाट पनि मनाइन्छ । चैत्तशुक्ल प्रतिपदामा मनाइने अर्को दशैँको पनि नेपाली समाजमा विशेष महŒव र गरिमा छ । बडादशैँका अवसरमा गरिने नवदुर्गाको पूजालाई परम्पराको निरन्तरताभन्दा पनि यसले दिएको सन्देशलाई बोध गर्नुपर्ने आदर्श दशैँले व्यक्त गरेको छ । नारीशक्तिको आराधना र सम्मान गर्नुपर्ने मत नेपाली समाजमा परापूर्वकालदेखि स्थापित रहेकाले वर्तमान विश्वले महिला अधिकार, सम्मान, समान अवसर र सहभागिताका नारा लगाइरहँदा नेपाली संस्कृतिले त्योभन्दा माथि उठेर नारीशक्तिको आराधना र आत्मबोध गरेको पाइन्छ । यस सन्दर्भमा नेपाली संस्कृति कैयौँ कदम अगाडि र फराकिलो छ । दशैँमात्र होइन कुनै पनि पर्वले विशेष सन्देश दिएका हुन्छन् । घोषितरूपमा राम्रो लाइने, मीठो खाइने, मनोरञ्जन गरिने दशैँले अप्रत्यक्षतः पारिवारिक र राष्ट्रिय एकतालाई सुदृढ पार्दै आएको छ । सद्भाव, क्षमा, स्नेह, प्रेम, मेलमिलाप, सहिष्णुता र सत्यको विजयजस्ता सन्देश मानवकल्याणका अटुट स्रोत हुन् जो दशैँको मुख्य सन्देश हो ।
राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिबाट दशैँका अवसरमा शुभकामना व्यक्त गर्दै अग्रगामी नेपालका लागि आह्वान गर्नुभएको छ । यो पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेर साझा उद्देश्य प्राप्तार्थ सहकार्यका लागि प्रेरणा दिनेछ । तडकभडक र उच्छृङ्खलतालाई दशैँले कुनै स्थान दिँदैन । आफ्नो गच्छेअनुसार दशैँ मान्न सकिन्छ तर सामाजिक मूल्यमान्यता, लोकपरम्परा, विश्वासमा आएका परिवर्तनसँग दशंँैलगायत कुनै पनि चाड मनाउने तरिकामा भिन्नता आउनु स्वाभाविक हुन्छ । शास्त्रले भनेबमोजिमका विधि विधानअनुसार चाडबाड मनाउन सम्भव नभए पनि यसको सन्देश पक्षलाई महŒव दिई चाडको गरिमा वृद्धि गर्न सकिन्छ । दशैँलगायत चाडबाडका विशिष्ट अर्थशास्त्र हुन्छन् । नेपाली मात्रको महान् चाड दशंँैका अवसरमा ग्रामीणदेखि राष्ट्रिय अर्थतन्त्र चलायमान हुन्छ । के स्वदेश, के परदेश शरीर वा मुटु घर पुगेको हुन्छ । कृषिप्रधान नेपालमा किसानले आफ्ना उत्पादन बिक्री गरी आवश्यकताअनुसार खरिद गर्ने मात्र होइन, अन्नबाली थन्क्याएर सुखानुभूति गर्ने समय पनि हो यसबेला । नेपाली समाजले इतिहासदेखि अवलम्बन गरेको बहुलवादका कारण आज दशैँ तिहार, छठ वा लोसार नेपालीका साझा चाड भएका छन् । विश्वका विभिन्न कुनामा पुगेका नेपालीसँगै दशैँजस्ता चाड ती ठाउँमा पुगेका छन् । एकले अर्काको संस्कृतिलाई सम्मान गर्ने हाम्रो स्थापित परम्परा नै नेपाली विशेषताको सहिष्णुता पनि हो । दशैँले नयाँ पुस्तालाई यही सन्देश दिँदै आएको छ । वर्तमान सरकारले अघि सारेको समृद्धिको राष्ट्रिय सङ्कल्प पूरा गर्दै सबै नेपालीको अनुहारमा खुशी ल्याउन नेपालीको एकतालाई अझ सुदृढ बनाउन सक्दा दशैँ मान्नुको सार्थकता हुनेछ ।
वि.सं.२०७६ को दशैँको टीका असोज २१ गते र तिहारको भाइटीका तथा गोवर्धन पूजा कात्तिक १२ गते एकै दिन परेका छन् । साथै नेपाल संवत्, छठ तथा लोसारजस्ता पर्व शृङ्खलाले जो जहाँ रहे, बसेका भए पनि सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरित गर्नेछन् । विविध राजनीतिक, सांस्कृतिक आस्थाको सम्मान गर्दै मुलुकको बृहत्तर विकासमा सबै नेपाली अटाउन सक्ने वातावरणमार्फत नेपालको रूपान्तरण यात्रामा सम्पूर्ण नेपालीको योगदान सुनिश्चित गर्नु वर्तमान पुस्ताको दायित्व ठहर्नेछ । मूलतः सङ्घीयता र नेपालको संविधानले निर्दिष्ट गरेका कार्यभार सम्पन्न गर्दै नेपाललाई उदाउँदो सम्पन्न र समृद्ध मुलुक बनाउन सबै नेपालीलाई एक ठाउँमा ल्याउन दशैँले पे्ररित गर्नुपर्छ ।