निर्मलकुमार आचार्य
चिनियाँ राष्ट्रपति सी चिनफिङको बहुप्रतीक्षित आसन्न नेपाल भ्रमणले दुई देशबीच बहुआयामिक सम्बन्धमा कोशेढुङ्गा ठड्याउने विश्वास लिइएको छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण २३ वर्षको अन्तरालमा हुन लागेको हो । यसअघि तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ डिसेम्बर ४ मा नेपाल भ्रमण गर्नुभएको थियो । चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणबारे बेलाबखत चर्चा, परिचर्चा भए पनि सार्थकता पाउन सकेको थिएन । तीन वर्षअघि भारतको गोवामा आयोजित दुईदिने ‘ब्रिक्स’ सम्मेलनका बखत राष्ट्रपति सी चिनफिङद्वारा हुन सक्ने भनिएको नेपाल भ्रमण केवल सम्भावनामै टर्न पुगेको थियो । त्यतिखेर उहाँले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण गर्नुभयो । राष्ट्रपति सीको दोस्रो कार्यकालमा नेपाल भ्रमणको निश्चितताले नवीन आशा सञ्चार गराएको छ ।
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण नेपालका लागि दूरगामी महŒवको ठहरिनेमा शङ्का छैन ।
चीनकै लागि पनि यसले अर्थपूर्ण भूमिका ओगट्नेछ । नेपाल–चीनबीच बढ्दो सम्बन्धप्रति अप्रत्यक्षतः असन्तुष्ट रहँदै आएको भारत पनि यतिखेर बिच्किने अवस्था छैन । जहाँसम्म, चीनका विरुद्ध ‘इन्डिया कार्ड’ र भारतका विरुद्ध ‘चाइना कार्ड’ प्रयोग गर्ने कुरो छ, त्यसको म्याद खुस्किसकेको अनुभूति विभिन्न पक्षले प्रस्ट्याइसकेका छन् । भूमण्डलीकरणको आजको दुनियाँमा कोहीविरुद्ध कसैलाई कार्ड बनाउने नीतिभन्दा पनि सबैसित हातेमालो गरेर अघि लम्कने नीतिमात्र सर्वथा वाञ्छनीय बनेको छ ।‘दुई ढुङ्गाबीचको तरुल’को संवेदनशीलताबाट अनभिज्ञ कोही छैन । त्यसैले छिमेकी दुवै देशप्रति समदूरीको भावना राखिँदै आएको हो । पछिल्ला कालखण्डमा समदूरीको सट्टा समनिकटता बढाउनुपर्ने धारणा जुन किसिमले वृद्धि हुँदै गएको छ, त्यसको अपरिहार्यता बढ्दो छ । यस्ता अनेक कारण छन्, जसले चीनसित नजिकिँदै गएको नेपालका कारण भारतले झस्किनुपर्ने स्थिति छैन ।
इतिहासको कालखण्डमा त्यस्ता दिन पनि नआएका होइनन्, जतिखेर नेपालका नयाँ प्रधानमन्त्रीको छिमेक भ्रमणमा पहिलो भारत हुन्छ कि चीन ? भन्नेतिर समेत गहिरो चासो एवम् शङ्का रहने गथ्र्यो । चीनसितको व्यापार होस् पारवहनकै विषय किन नहोस्, भारतको कर्के नजर नपरेको हुँदैनथ्यो । नेपालको राजनीतिमा २०७२ सालको भूकम्पले दलबीच सहकार्य गराई संविधान ल्याउन भूमिका खेलेझैँ संविधान आएपछि भारतको क्षुब्धताले नेपाललाई चीनसित ह्वात्तै नजिक्याइदिएको यथार्थ पनि अकाट्य छ । व्यापार, पारवहनलगायतका विषयमा नेपाल–चीनबीच भएका पछिल्ला सम्झौताले पूर्णतः भारतमा निर्भर नेपाललाई नयाँ क्षितिज दिएको छ भने तेस्रो मुलुकसित व्यापार विस्तार गर्न जलमार्गसमेत उपलब्ध भएको छ । ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई)सँगको आबद्धता (२०१७ मे १२)ले नेपालका हकमा विभिन्न स्वर्णिम द्वार उघारेकामा दुईमत छैन तर यत्ति हुँदाहुँदै पनि चीनसितको सामिप्यको अर्थ कसैविरुद्ध लक्षित नरहेको वास्तविकता पनि उत्तिकै छर्लङ्गै छ ।
स्वयम् भारत आज चीनसित अटुट सम्बन्ध गाँस्दै अघि बढ्न खोजिरहेको वस्तुस्थिति छ । सीमालगायत कतिपय मुद्दा विद्यमान रहे पनि आर्थिक मामिलाको अन्तरनिर्भरताले चीन तथा भारतबीचको दूरी घटाउँदै लगेको छ । गुजरातको मुख्यमन्त्री हुँदादेखि नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ लगानी भिœयाउन र सम्बन्ध बढाउन गरेको भूमिका पछिल्ला समयमा झन् तीव्र बनेको छ । ‘डोक्लाम’ प्रकरणले चिस्याएको वातावरणलाई न्यानो पार्न पोहोरको ‘उहान वार्ता’ सार्थक बनेको थियो भने अहिलेको ‘मामल्लापुरम वार्ता’ फलदायी हुने अपेक्षा दुवैतिर छ । छिमेकीका नाताले दुवैको भलाइमा नेपालको भलाइ अन्तरनिहित रहेको सत्यबाट पनि विरलै अविदित होलान् !
गएको मङ्गलबार जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सव भव्यतासाथ मनाइएपछि आजदेखि हुन लागेको चिनियाँ राष्ट्रपतिको पहिलो दक्षिण एसियाली मुलुकको यात्रालाई बाँकी दुनियाँले पनि अभिरुचिसाथ हेरिरहेको छ । यस भ्रमणबाट दुईपक्षीय तथा क्षेत्रीय सम्बन्ध सुदृढताका साथै अन्तरसम्पर्क सञ्जाल विस्तार एवम् वैश्विक एवम् क्षेत्रकै शान्ति तथा स्थिरतामा गहिरो प्रभाव पर्ने विश्वास लिइएको छ । चीन तथा भारतबीचको सुमधुर सन्निकटताको सुप्रभाव दुवैको अभिन्न छिमेकी नेपालमाथि पर्नु स्वाभाविक हो । यस अर्थमा पनि चिनियाँ राष्ट्रपति सीको औपचारिक नेपाल भ्रमण न केवल ऐतिहासिक अपितु उच्च मूल्याङ्कनको पक्ष बनेको छ ।
चिनियाँ राष्ट्रपति सीको महŒवाकाङ्क्षी अभियान बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) ले विकास, निर्माण र लाभमा साझेदारीको भावनासाथ ‘कनेक्टिभिटी’ (सम्पर्क सञ्जाल विस्तार) मा जोड दिएको छ । १५० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्था आबद्ध भइसकेको ‘बीआरआई’मा दक्षिण एसियाली देशमध्ये भारत र भुटानमात्रै अछुतो छन् । यही अभियानअन्तर्गत नेपालमा विविध पूर्वाधार निर्माणको सपना सँगालिएको छ । खासगरी सिगात्से हुँदै केरुङ पुग्ने रेलमार्ग काठमाडौँ–पोखरा–लुम्बिनीसम्म जोडिन सके नेपालको कायापलट हुनेमा दुईमत छैन । दुई देशमाझ जलस्रोतको विकास, विद्युत् प्रसारण लाइन, सडक आदि निर्माणका पक्ष पनि छन् ।
बढ्दो चीन–भारत सम्बन्धले भारत पनि ‘बीआरआई’ सम्बद्ध राष्ट्र हुने लक्षण देखाएको छ । ‘चीन पाकिस्तान आर्थिक करिडोर’प्रति मात्र भारत असन्तुष्ट रहेको सन्दर्भमा अड्को मेट्ने वैकल्पिक उपायको खोजी ढिलो–चाँडो अवश्य हुनेछ । यसो भएमा नेपाल, चीन तथा भारत त्रिदेशीय सम्पर्क सञ्जालमा त जोडिनेछन् नै नेपालले दुई ठूला मुलुकबाट अधिक लाभ हासिल गर्न पाउनेछ ।
चीनका निम्ति भारत ठूलो बजार हो भने भारतका लागि पनि चीनको आर्थिक महŒव कम छैन । इतिहास पल्टाउँदा चिनियाँ (तिब्बती) राजा स्रङचङ गम्पोका पालामा नेपालसित सम्झौता भई भारतको वनारस, पट्नादेखि जनकपुर, सिन्धुली, रामेछाप र दोलखा हुँदै लामाबगरबाट पेकिङसम्म र बेगुम्पा, नुवाकोट हुँदै केरुङबाट युरोपसम्म पुग्ने सिल्करोडबाट व्यापार प्रारम्भ भएको थियो । उही सिल्क रोडको नयाँ अवतारका रूपमा ल्याइएको ‘बीआरआई’मा भारत संलग्न भएका खण्डमा स्वतः नै यसले दूरगामी यात्रा तय गर्नेछ ।
नेपालका हकमा चीनले सदैव विश्वासिलो, भरोसालाग्दो र सहयोगी राष्ट्रको भूमिका खेल्दै आएको छ भने नेपालले पनि मित्रतामा दाग लाग्न दिएको छैन । नेपाल–चीन सम्बन्धलाई चिनियाँ राष्ट्रपति सीले ‘ओठ र दाँत’को संज्ञा दिनुका पछाडि यही कारण हुन सक्छ । पहाड र खोलानालाले मात्रै होइन, तन र मनले पनि दुवै देश जोडिएका छन् । झापामा चीनको सहयोगमा निर्माणाधीन दक्षिण एसियाकै सबभन्दा ठूलो आधुनिक औद्योगिक पार्कले २१औँ शताब्दीको मैत्रीयात्राको सुदूर स्वरूप झल्काएको छ ।
सम्बन्धको इतिहास खोतल्दै जाँदा पौराणिककालसम्मै पुगिन्छ । भगवान् पशुपतिनाथको निवासस्थल मानिने कैलाश (खाङ रिम्पोन्छे), मानसरोवर तथा कैलाश पर्वतबाट निःसृत सिन्धु, सतलज, ब्रह्मपुत्र (यार्लुङ ज्याङ्बो) र कर्णाली नदीको पावन अवस्थितिले पवित्र पाशुपत राष्ट्रलाई पौराणिककालदेखि चीनसित नजिक्याएको देखिन्छ भने बुद्धजन्मस्थल लुम्बिनीको अतुलनीय महिमाले नेपालप्रतिको चिनियाँ मनोभाव अद्वितीय बनाएको छ । यही पृष्ठभूमिमा मञ्जुश्री, चिनियाँयात्री ह्वेन साङ, फाइहान, नेपाली धर्मप्रचारक बुद्धभद्र, राजा स्रङचङ गम्पो, भृकुटी (हरित तारा÷गोचा), राष्ट्रिय विभूति बलबाहु (अरनिको) लगायत अनेक नेपाली तथा चिनियाँ नागरिकले सम्बन्ध विस्तारमा स्तुत्य भूमिका खेलेका छन् ।
आधुनिक इतिहासको पन्नामा पनि प्रस्तावना बिन्दुदेखि नै द्विदेशीय साइनो उत्तरोत्तर प्रगतिपथमा छ । सन् १९४९ अक्टोबर १ तारिखमा जनवादी गणतन्त्र चीन स्थापना भएपछि सन् १९५५ अगस्त एकमा दौत्यसम्बन्ध कायम भएको हो भने सन् १९५६ अक्टोबरमा द्विदेशीय सम्झौता भएपछि चीन नेपालको मुख्य विकास साझेदार, सहयोगी राष्ट्रका रूपमा रहेको छ । चिनियाँ नेता माओ त्से तुङले बढाउनुभएको मित्रताका हातलाई नेता देङ सियाओ पिङ हुँदै पछिल्ला कालखण्डमा उच्च सम्मान हुँदै आएको छ । दुई देशबीच कायम सन्धि, सम्झौताले आपसी विश्वास दह्रो बनाएको छ । झन्डै छ दशकअघि सन् १९६० मा पहिलोपटक कोदारी राजमार्गबाट जोडिएका दुई देश आज अनेक नाका उघार्नेक्रममा छन् । हवाई, रेल र सडक सञ्जाल विस्तारका लागि यत्न बढेका छन् । नेपालमा जुनसुकै राजनीतिक प्रणाली होस् वा जोकोहीको सरकार होस्, आन्तरिक मामिलापट्टि ध्यान नदिएर केवल छिमेकी सहयोगी राष्ट्रका रूपमा चीन रहेको छ । नेपालको शान्ति क्षेत्रको प्रस्तावमा तुरुन्तै समर्थन गर्ने राष्ट्र चीन हुनु घनिष्ठताको परिचायक हो । विकास, निर्माण, शान्ति र स्थिरताका दिशामा सहयोगी चीनले प्राकृतिक विपत्तिका घडीमा मलम लगाउँदै आएको छ ।
राष्ट्रपति सीको नेपाल भ्रमणले बहुआयाम समेटेको छ । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुनुमात्रै पनि आफैँमा एउटा वृहत् सफलताको द्योतक हो । यसले नेपाल र चीनबीच रहँदै आएको परम्परागत सम्बन्धलाई झन् बलियो बनाउनुका साथै समुज्वल भविष्यका लागि अपूर्व किरणसमेत छर्ने विश्वास लिइएको छ ।
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)