सत्यमोहन जोशी
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले पुरानो इतिहासलाई पुनः उजागर गर्ने देखिन्छ । स्वयम्भूपुराणका अनुसार चीनसँग प्राग्ऐतिहासिककालदेखि नेपालको साँस्कृतिक सम्बन्ध कायम छ । चीनबाट मञ्जुश्री तीर्थयात्रामा नेपालमा आउनुभएको थियो । त्यो सन्दर्भ पनि सम्झिँदा उपयुक्त हुन्छ । मञ्जुश्रीको योगदानले काठमाडौँ उपत्यकामा बस्ती बसेको मानिन्छ । त्यस्तै बौद्ध धर्मकै सन्दर्भ जोडिएको कुरा पनि आउँछ । प्रथम र दोस्रो शताब्दीतिर बौद्ध धर्म चीनमा पुगिसकेको थियो । बौद्ध धर्मको प्रचारले त्यसबेला चीनमा निकै प्रभाव पारेको थियो । चौथो शताब्दीको अन्त्यतिर र पाँचौँ शताब्दीको पूर्वाद्र्धतिर चिनियाँ यात्री फाहियान नेपाल आउनुभएको थियो । उहाँले बौद्ध धर्मको ग्रन्थलाई चिनियाँ भाषामा उतार्नुभयो । तर, फाहियान काठमाडौँ उपत्यकामा आएको लिखत भने पाइँदैन । बुद्धको जन्मभूमि लुम्बिनी र कपिलवस्तुको अध्ययन गरेको उहाँको यात्राविवरणमा उल्लेख गरेको पाइन्छ । त्यहीबेला कपिलवस्तुको तर्फबाट बुद्धभद्रले चीनको भ्रमण गर्नुभएको थियो । उहाँ बुद्ध धर्मको प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो । बुद्ध धर्मको साँस्कृतिक ग्रन्थहरूलाई चिनियाँ भाषामा उहाँले उल्था गरेर धर्मको प्रचार–प्रसार गर्नुभयो । फाहियान र बुद्धभद्रको योगदानले दुई देशबीचको सम्बन्धलाई फराकिलो बनाएको थियो ।
सातौँ शताब्दीमा चीनका बौद्ध विद्वान् हुयान चाँई लुम्बिनी आउनुभयो । बुद्धका बारेमा ग्रन्थको सङ्कलन गरेर चीनमा प्रचार गर्नुभयो । नेपाल र चीनको सम्बन्धलाई थप निकट बनाउने काममा उहाँको पनि योगदान रह्यो । यी ऐतिहासिक सन्दर्भ हुन् ।
सातौँ शताब्दीमै तिब्बतका त्यसबेलाका राजा स्रङचङ गम्पोले नेपालका राजकुमारी भृकुटीसँग विवाह गर्नुभयो । त्यसले झन् दुई देशको सम्बन्धलाई गाढा बनायो । आवत–जावत गर्न नेपाल–तिब्बत बाटो जोडियो । दुई देशका नागरिकको सघन आवत–जावत सुरु भयो । त्यहीबेला चिनियाँ यात्रीहरूले नेपालको उन्नतिमा अंशुवर्मा र शिवदेवको पालामा कैलाशकुट भवन निर्माण गराए । कैलाशकुट भवनको निकै चर्चा भयो । बडो कला कृति र मूर्तिसाथ भवन निर्माण गरिएको थियो । भाषा, वैवाहिक सम्बन्ध, बौद्ध धर्म अनुवाद साहित्यले गर्दा दुई देशको सम्बन्धको जग बसायो ।
१३औँ शताब्दीमा आएर नेपाली कलाकार अरनिकोले झन् दुई देशबीचको सम्बन्धमा मलजल भर्नुभयो । नेपाली कला स्कुलको जुन परम्परा थियो, त्यसलाई उहाँले चीनमा प्रचार गर्नुभयो । उहाँ बहुमुखी प्रतिभाका धनी व्यक्ति हुनुहुन्थ्यो । तिब्बतमा धातुको स्वर्ण चैत्य बनाएर अरनिको प्रख्यात हुनुभयो । नेपाली कलाकारको कला देखेर तिब्बतीहरू मन्त्रमुग्ध भए । त्यसले पनि सम्बन्ध विस्तारमा सहयोग ग¥यो ।
त्यतिबेला कुब्ला खाँ राजा थिए । अरनिकोको कला र कौशल देखेर उनले अरनिकोलाई चीनमै बस्न आग्रह गरे । मित्रताको प्रतीकका रूपमा शान्ति स्तुपा बनाउन लगाए । अरनिकोले आठ वर्ष लगाएर सेतो चैत्य निर्माण गरिदिए । पुनः आठ वर्ष लगाएर बौद्ध विहार बनाइदिए । उनको कला देखेर त्यहाँका राजा, महाराजा र धर्मगुरु निकै मोहित भए । त्यतिबेला अरनिको जम्मा २२ वर्षका मात्र थिए । कलिलो उमेरमा अद्भुत कलाको क्षमता प्रदर्शन गरे । उनी वास्तुविद् थिए । कलाको माध्यमबाट, संस्कृतिको माध्यमबाट चीन र नेपालको मित्रता झन् गाढा बनाउने काम अरनिकोले गरे । पछि हामीले पनि अरनिको बारेमा अध्ययन ग¥यौँ । उहाँको कामको योगदान देखेर तत्कालीन सरकारले उनकै नाममा अरनिको राजमार्ग बनायो । नेपाल–चीनको सम्बन्धलाई विस्तार गर्नमा प्रसंशनीय काम अरनिकोले गरेका थिए ।
सन् १९६६ तिर चीनमा साँस्कृतिक विद्रोह भयो । चिनियाँ लालसेनाहरूले पुरानो संस्कृति काम लाग्दैन भनेर धमाधम मूर्ति, गुम्बाहरू ध्वस्त गर्न थाले । नयाँ कला संस्कृतिको विकास गर्नुपर्छ भन्ने लालसेनाको अभियान देखिन्थ्यो । धेरै कला संस्कृति ध्वस्त पनि गरे । त्यो बेलाका चिनियाँ प्रधानमन्त्रीले लालसेनालाई सम्झाए । नेपाली कलाकार अरनिकोले निर्माण गरिदिएको यो मूर्ति, दुई देशबीचको साँस्कृतिक तथा धार्मिक सम्बन्ध कायम गरेको छ, यसलाई नभत्काइदिनुहोस् भनेर आग्रह गरेपछि लालसेनाले अरनिकोले निर्माण गरेको मूर्ति, कला तथा स्तुपाहरू भत्काएनन् । त्यसको संरक्षण गरे । नेपाली कलाकारको कलाको सम्मान गरे । मूर्त र अमूर्त संस्कृतिले दुई देशको सम्बन्धलाई निकै गाढा बनाएकाले चिनियाँहरूले अरनिको कलालाई जोगाएर राखे । त्यसले पनि चीनको हेराइ नेपालप्रति कस्तो थियो भन्ने पुष्टि गर्छ ।
अहिलेका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । स्वागतको तयारी नेपाल सरकारले गरिसकेको छ । हामी नेपालीको गौरवको विषय पनि हो यो । प्राग्ऐतिहासिककालदेखिको दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन यो भ्रमणले मद्दत गर्ने मैले बुझेको छु । ३५ वर्ष अगाडि तत्कालीन चिनियाँ राष्ट्रपति १९८४ मा ली सियान नेपाल भ्रमणमा आउनुभएको थियो । त्यतिबेला नेपालमा वीरेन्द्र राजा हुनुहुन्थ्यो । ली सन् १९८३ देखि १९८८ सम्म चीनको राष्ट्रपति हुनुभएको थियो । उहाँले सद्धर्म पुण्डरीको सूत्र ग्रन्थ लिएर नेपाल आउनुभएको थियो । ग्रन्थ नेपालकै थियो तर उपहारका रूपमा लीले राजा वीरेन्द्रलाई सोही ग्रन्थ दिनुभयो । राजा वीरेन्द्रले ग्रन्थलाई तत्काल राष्ट्रिय अभिलेखालयमा राख्न लगाउनुभयो । भ्रमणमा आउने जोसुकैलाई अनिवार्य ग्रन्थ देखाउन निर्देशन पनि दिनुभयो । त्यो ग्रन्थ अहिले पनि राष्ट्रिय अभिलेखालयमा पढ्न पाइन्छ । लीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ बनाएको थियो ।
चीनसँग हाम्रो राजनीतिक, धार्मिक, साँस्कृतिकसहित बहुआयामिक सम्बन्ध छ । चीनले सम्पन्न देशका रूपमा आफ्नो पहिचान बनाइसकेको छ । हामी अझै पछाडि छौँ । तथापि, हामी नेपालीले चीनलाई साँस्कृतिक रूपमा धेरै गुन लगाएका छौँ । हाम्रा कलाकार अरनिकोले निर्माण गरेको स्तुपा चैत्यहरू चीनको ठूलो सम्पत्तिका रूपमा स्थापित छन् । यसले दुई देशबीचको सम्बन्धलाई मनैदेखि जोडिदिएको छ ।
मनदेखिको सम्बन्ध कहिल्यै नटुट्ने सम्बन्ध हो । हाम्रा पुर्खाले जुन सम्बन्ध कायम गरे, त्यसलाई कायम राख्नुपर्ने जिम्मेवारी अहिलेको नेपाली नेतृत्व र जनताको काँधमा छ । यो सम्बन्ध थप गाढा हुँदै जानुपर्छ । चीन आर्थिक रूपले धेरै सम्पन्न भए पनि हामीबीचको धार्मिक र साँस्कृतिक सम्बन्ध त्योभन्दा धनी (सम्पन्न) छ । यसलाई बचाएर राख्नु नै हाम्रो सम्पन्नता कायम राख्नु हो ।
(शताब्दीपुरुष जोशीसँग गोरखापत्रका उपसम्पादक लक्की चौधरीले गर्नुभएको कुराकानीमा आधारित ।)