टङ्क कार्की
छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण दुई छिमेकी मुलुकबीच सम्बन्धका आधारमा बिल्कुल स्वाभाविक भ्रमण हो । यसप्रति अन्तर्राष्ट्रिय चासो रहेको भनेर जुन कोणबाट बुझ्न, बुझाउन कोसिस गरिँदै छ, त्यो जरुरी छैन । १४ सय किलोमिटर साँध–सीमा जोडिएका मुलुकबीच उच्चस्तरीय भ्रमण हुुनुलाई अस्वाभाविक मान्नुपर्ने कुनै खण्ड छ जस्तो लाग्दैन ।
नेपाल र चीनबीच जहिलेबाट हामीले कूटनीतिक सम्बन्ध स्थापना ग¥यौँ, त्यसयता नियमितजस्तो उच्चस्तरीय भ्रमणहरू भएका छन् । चिनियाँ प्रधानमन्त्री तहबाट १९५० को उत्तराद्र्धतिर नै चाउ एनलाईको नेपालमा दुईपटक भ्रमण भएको थियो । १९७८ मा वरिष्ठ नेता देङ सियाओ पिङले भ्रमण गर्नुभयो । ८० को दशकमा त चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीको निकै बाक्लो नेपाल भ्रमण भयो । १९९६ मा राष्ट्रपति जियाङ जमिनको भ्रमण भयो । त्यसयता चिनियाँ पक्षको उच्चस्तरीय भ्रमण भने २००१ मा प्रधानमन्त्री झु रुङ्जी र २०१२ मा वेन जिया बाओको भ्रमण भयो । राष्ट्रपतिको भ्रमणमा सन् १९९६ देखि आज २०१९ सम्म २३ वर्ष ‘ग्याप’ देखिन्छ । नेपालका सबैजसो राष्ट्रप्रमुख, प्रधानमन्त्रीको चीनमा अनवरत भ्रमण हुँदाहुँदै चिनियाँ राष्ट्रपतिको भ्रमण यति लामो समय किन भएन होला ? कारण हो– नेपालको अस्थिर अवस्था । पहिलो दस वर्ष माओवादी जनयुद्ध र पछिल्लो दस वर्ष संविधान निर्माणलगायतका सङ्क्रमणकालीन कामहरू पूरा गर्नुपर्ने एक किसिमको राजनीतिक अस्थिरता हो । अब भने नेपालमा संविधान निर्माण भइसकेको छ । एउटा स्थिर सरकार छ र नेपालले आफ्ना प्राथमिकताहरू पनि प्राथमिकीकरण गरेको छ । अबको नेपालको मूल प्राथमिकता आर्थिक, सामाजिक निर्माण हो भनेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सरकारले भावी कार्यदिशा परिभाषित गरेको छ । यस सन्दर्भमा दुई देशबीचका सहयोग र सम्बन्धका आधारहरूलाई कसरी फराकिलो गर्न सकिन्छ भनेर प्रत्यक्ष रूपमा अनुभूत गर्न पनि राष्ट्रपति सीको यो भ्रमण राम्रो अवसर हो ।
तिलस्मी विकास
चीनको विकास आजसम्म मानव इतिहासमा अभूतपूर्व र तिलस्मी विकास हो । पश्चिमी दुनियाँले औद्योगिक क्रान्तिपछि गरेको विकासलाई पनि ‘असाधारण विकास’ भन्ने गरिन्छ । तर, त्यो असाधारण विकासको जग खोतलेर हेर्दा औपनिवेशीकरणको जगमाथि त्यो विकास भएको देखिन्छ । चीनको विकास, खासगरेर १९८० पछिको ३० वर्ष लगातार दुई अङ्कको आर्थिक वृद्धि चिनियाँहरूले हासिल गरेका छन् । दुनियाँको कुनै पनि मुलुकले अहिलेसम्म यस्तो अनवरत दोहोरो अङ्कको आर्थिक वृद्धि हात पार्न सकेनन् । ‘कहिल्यै सूर्य नअस्ताउने’ भनिएको साम्राज्यकाल खण्डमा समेत यस्तो भएन । चीनले कुनै औपनिवेशिक आधारविनै यस्तो आर्थिक वृद्धि हासिल गरेको हो । यो दुनियाँलाई चिनियाँ विकास अध्ययन गर्नुपर्ने, बुझ्नुपर्ने आफैँमा एउटा खजना हो ।
चीनको यस्तो विकासमा शङ्कै छैन, उनीहरूको राजनीतिक आर्थिक प्रणाली, साँस्कृतिक विरासत र इतिहास जिम्मेवार छ । यी कुराको संयोजनका कारण नै यस्तो विकास हासिल गरेको हो । गएको ३० वर्षको अवधिभित्र चीनले झन्डै ७० देखि ८० करोड मानिसलाई निरपेक्ष गरिबीको रेखाभन्दा माथि ल्याएको छ । समाजवाद के हो ? भनेर कसैले सोध्छ भने त्यो समाजवाद अरू कोणबाट होइन कि, त्यत्रो जनसङ्ख्यालाई यति छोटो अवधिमा यति माथि उकास्ने कुनै प्रणाली हो भने त्यो समाजवादी प्रणाली, समाजवादी दर्शन, सोच हो ।
तथ्याङ्कका आधारमा हेर्दा चिनियाँ विकासलाई दुई कोणबाट हेरौँ । एउटा, सन् १९५० को कालखण्डमा चिनियाँ अर्थतन्त्र भारतीय अर्थतन्त्रको आधीमात्र थियो । करिब १९८० मा पुग्दा भारत र चीनको अर्थतन्त्र बराबरी भयो । प्रतिव्यक्ति आय १९८० मा पनि भारतको अलिकति माथि छ तर कुल गार्हस्थ उत्पादन (जीडीपी) आकार चीनको माथि छ । दुवै मिलाएर भन्दा सालाखाला उस्तै देखिन्छ । १९९० अमेरिकी अर्थतन्त्र र चिनियाँ अर्थतन्त्र फासला (भेद) हेर्दा अमेरिकी अर्थतन्त्रभन्दा चिनियाँ अर्थतन्त्र पाँच गुणा सानो छ । अहिले भारतीय अर्थतन्त्रभन्दा चिनियाँ अर्थतन्त्र एक दशमलव पाँचभन्दा ठूलो छैन होला । अहिलेकै वृद्धि कायम गर्ने हो भने यो अन्तर पुरिनलाई धेरै वर्ष लाग्ने छैन । अहिले अमेरिकी वृद्धि तीन प्रतिशतभन्दा तल छ । चिनियाँहरूको सालाखाला छ दशमलव तीन प्रतिशत वृद्धि छ । अहिले समाजशास्त्री, चिन्तकहरू भन्दै छन्– आगामी पाँच÷दस वर्षभित्र चीनले अमेरिकी अर्थतन्त्रलाई उछिन्दै छ ।
पश्चिमा अर्थतन्त्र पुँजीवादी अर्थतन्त्र हो, जो आफैँ सङ्कटमा जेलिन थालेको छ । त्यो जञ्जालबाट निस्केर आफूलाई गति दिन सक्ने अवस्थामा छैन । किनभने विकासशील मुलुकहरूको स्वयम्मा उदय भइरहेको छ, तिनीहरूमा ज्ञान र प्रविधिको विकास भइराखेको छ, अर्थतन्त्रले गति लिइराखेको छ । त्यसले गर्दा धेरै पश्चिमाहरूको भर गरिराख्ने र पश्चिमाहरूको वर्चश्व रहने अवस्था पनि सायद नरहला । उनीहरू आफैँ सङ्कटमा परिराखेका छन् । चिनियाँहरूको उदय बेरोकटोक भइराखेको छ ।
पाठ
हाम्रा साँस्कृतिक सीमाहरू होलान्, इतिहासमा भिन्नता होला । हाम्रो विकासस्तर एउटै छैन तर सिक्न सकिने कतिपय त्यस्ता साझा सान्दर्भिक कुरा छन् । जस्तो, अस्ति भर्खर काठमाडौँमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा एउटा रमाइलो अनुभव सुनाउँथे– अहिले गरिबी निवारणका सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रत्येक सदस्यले तीनजना निरपेक्ष गरिबीको रेखामुनिका मानिसलाई माथि ल्याउनुपर्ने दायित्व तोकिएको छ । यो व्यक्तिगत प्रयासबाट समेत हो । मानौँ, नेपालमा नेकपाका करिब दस लाख सदस्य छन्, काँग्रेसका सात लाख होलान् अर्को पार्टीमा दुई÷तीन लाख होलान् । यदि यी सबै पार्टी कार्यकर्ताहरूलाई सामाजिक कार्यभार, जिम्मेवारी तोकेर पठाउने हो भने हामीले पनि त्यसबाट लाभ लिन सक्छौँ ।
नयाँ विश्वका लागि अगुवाइ
हामी विशुद्ध नयाँ युगमा प्रवेश गरेका छौँ । हिजोको युगको मूल्यबाट अबको दुनियाँ चल्नेवाला छैन । अर्थशास्त्रमा ‘जिरो सम गेम’ भन्ने छ, केही माथि उठ्ने, केही तल झर्ने । माथि यसकारणले उठ्ने कि अरू तल झरेपछि मात्र आफू माथि उठ्ने । हिजोको यस्तोखालको आर्थिक सामाजिक मोडलले सकारात्मक काम गरिराखेको छैन । त्यसले उत्तर र दक्षिणबीचको भेद फराकिलो बनायो । मुलुकपिच्छे धनी र गरिबबीचको भेद बढायो । अबको दुनियाँ भनेको सबैको प्रगति हुने, सबैले लाभ लिन सक्ने हो । विकासका प्रतिफलमा एउटा पक्षले मात्र लाभ लिने अर्कोले घाटा बेहोर्ने मोडेलले दुनियाँको मार्गदर्शन गर्न सक्दैन । अब विकासका प्रतिफलमा साझा अंशियार हुने कोर्समा जानुपर्छ भन्ने महसुस विश्वव्यापी रूपमा बढिरहेको छ । सी चिनफिङको नेतृत्वमा चिनियाँहरू ठ्याक्कै यही भनिरहेका छन्– सेयर्ड बेनिफिट (साझा लाभ, साझा विकास, साझा प्रगति) । उनीहरू ‘विन–विन फिलोसफी’ को कुरा गर्छन् । ‘कम्युनिटी अफ सेयर्ड फ्युचर’ को कुरा गरिराखेका छन् । समस्त मानव जातिका निम्ति साझा भविष्य भएको समुदायको विकासको कुरा गरिरहेका देखिन्छन् । यस्ता आधारहरू तयार भए भने हामीजस्ता हिजोका ‘जिरो सम गेम’ को विश्व व्यवस्थाको प्रभावमा परेकाहरू त्यसबाट मुक्त भएर साझा विश्वको साझा लाभ लिन सक्ने हैसियतमा पुगौँला । हामी त भारत–चीन, दुई विकासशील मुलुकबीच रहेका छौँ । यदि त्यस्ता आधार तयार भए भने चीन, भारत र पश्चिमा विकासबाट पनि लाभ लिन सक्नेछौँ ।
अपेक्षा
नेपालको परिवर्तित सन्दर्भमा २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण आफैँमा महŒवपूर्ण छ । सुमधुर असल छिमेकी भएको, नेपालको भरपर्दो र ठूला विकास साझेदार मुलुक चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका अवसरमा नेपालले विकास पूर्वाधारमा आर्थिक सहयोग र यहाँ चिनियाँ लगानी (एफडीआई) अभिवृद्धिका लागि अपिल गर्नुपर्छ । नेपालले यी विषयमा कुरा उठाउने तर प्राथमिकतासहित निरन्तरता नदिने विगत दोहो¥याउनुहुँदैन । भर्खरै चीनका विदेशमन्त्री वाङ यी नेपाल आउँदा नेपालले छानेको, प्राथमिकता दिएको परियोजनामा सहयोग गर्न तत्पर रहेको बताइसक्नुभएको छ । अब नेपालले कुन क्षेत्रको कुन पूर्वाधार विकासमा प्राथमिकता दिने ? भन्नुप¥यो । चीनले अगाडि बढाएर नेपालले हस्ताक्षर गरिसकेको ‘बेल्ट एन्ड रोड परियोजनाा (बीआरआई) मा नेपालले नौवटा योजना प्रस्ताव गरेको छ । यसमा प्राथमिकता किटान गरेर सहयोग ठोस रूपमा अगाडि बढाउन चीनसँग अपिल गर्नु उपयुक्त हुनेछ ।
(चीनका लागि नेपालका पूर्वराजदूत कार्कीसँग गोरखापत्रका नायव कार्यकारी सम्पादक केपी गौतमले गर्नुभएको कुराकानीमा आधारित ।)