नेपाली कला र संस्कृति विश्वमै उत्कृष्ट छन् । परम्परागत र आधुनिक कलाकारिताले नेपाललाई विश्वमा प्रख्यात बनाएका छन् । यस्तै नेपाली संस्कृति विश्वका लागि उदाहरणीय बनेको छ । नेपाली समाजमा रहेको बहुलतालाई प्रतिनिधित्व गर्नेगरी यहाँका बासिन्दाले सिकेका जातीय ज्ञान, भाषा, कला, विश्वास, मूल्य, मान्यता, लोकपरम्पराको समुच्च स्वरूप नै नेपाली संस्कृति भएकाले यहाँका कलाले समग्र नेपाली संस्कृतिको प्रतिनिधित्व गरेका छन् । विश्व चर्चित अरनिकोका कलाकृतिमात्र होइन, कलाका दृष्टिले लिच्छविकाललाई नेपालको स्वर्ण युग भनिनुका पछाडि यहाँ विकसित उत्कृष्ट संस्कृति तथा कला सम्पदा नै प्रमुख कारण थिए । आज पनि तिनै काष्ठ, धातु मौलिक चित्रकला तथा आधुनिक कलाले नेपाललाई सम्पन्न बनाएको छ । जातीय तथा समुदायमा प्रचलित यिनै सम्पदा समग्रमा नेपाली संस्कृति बनेकामा हामीले गर्व गर्नुपर्छ । अरनिकोले प्रख्यात बनाएका प्यागोडाशैलीको काष्ठकला वा लिच्छवि र मल्लकालीन प्रस्तरकला, नेवारी संस्कृतिमा प्रचलित पौभा वा बौद्ध समुदायको थान्का र मिथिला संस्कृतिको प्रतिनिधित्व गर्ने मिथिला कला यी नेपालका पहिचान र गर्व हुन् । सम्पदा र संस्कृति हुन् । यी र यस्ता राष्ट्रिय सम्पत्ति केवल हेर्न र पढ्नमा मात्र सीमित नभएर यिनले बाह्य मुलुकसँग नेपालको कूटनीतिक र जनस्तरको सम्बन्ध स्थापना तथा विस्तारमा उल्लेख्य योगदान दिएका छन् । प्राकृतिक विज्ञानले सम्पन्न हुन नसके पनि पुर्खाले छाडेर गएका सफ्ट साइन्स (कोमल विज्ञान) का यिनै सम्पदामार्फत हामी नेपाली विश्वमा शिर ठाडो पारेर हिँड्न सक्ने भएका छौँ ।
नेपालले यिनै साँस्कृतिक सम्पदामार्फत पर्यटनको विकास र विस्तारमा अपेक्षित सफलता प्राप्त गर्न सक्ने भएकाले यस क्षेत्रको संरक्षण, सम्बद्र्धन र समयानुकूल विकासमा विशेष ध्यान दिनुपर्ने बेला आएको छ । साहित्य वा कला, संस्कृतिलाई अनुत्पादक क्षेत्रका रूपमा बुझिने सीमित ज्ञानमा परिमार्जन गर्दै यी क्षेत्रलाई पनि राष्ट्रिय अर्थतन्त्रको उत्पादकत्वसँग जोड्नु नितान्त आवश्यक छ । हुन त यस क्षेत्रमा सरकारी तथा निजी तवरबाट केही–केही प्रयास भएका पनि छन् तर दशैँअघि माल्दिभ्समा आयोजित सार्क आर्ट क्याम्पमा नेपालका केही चित्रकार आफ्नै खर्चमा सहभागी हुनुप¥यो । आफ्नै लगानीमा जानुपर्ने भएकाले धेरै नेपाली कलाकार त्यहाँ जान नसक्नु स्वाभाविक थियोे । यो त उदाहरणमात्र भयो । खर्चकै कारण कतिपय मुलुकमा नेपाली कलाकारको सहभागिता हुन नसकेको अनुभव सम्बन्धित क्षेत्रसँग रहेको छ । नेपाल र नेपाली कला सँस्कृतिलाई विश्वमा चिनाउन सक्ने अवैतनिक दूतका रूपमा प्रवद्र्धन गरिनुपर्ने कलाकार र कलाकारिता क्षेत्र यस्ता घटनाबाट निरुत्साही हुन सक्छन् भन्नेमा सरोकारी निकाय संवेदनशील हुनुपर्ने हुन्छ ।
हुन त नेपालले भाषासाहित्यको विकास गर्न नेपाल प्रज्ञाप्रतिष्ठान, कला तथा कलाकारिताको प्रवद्र्धनार्थ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गीत–सङ्गीत सम्बद्र्धनको उद्देश्यले सङ्गीत नाट्यजस्ता विधागत प्रतिष्ठान स्थापना गरेको छ । साथै, साँस्कृतिक संस्थान लामो समयदेखि कला र संस्कृतिको उत्थानमा क्रियाशील छ । यी प्रतिष्ठानमार्फत नेपालको समग्र संस्कृतिको प्रवद्र्धनमा टेवा पुगेको छ र पुग्नेछ । जहाँसम्म अपेक्षित काम हुन सकेन भन्ने छ, यो यसकारण स्वाभाविक छ कि मानव जातिले उन्नति र अपेक्षाका कुनै पनि चरणमा सन्तोष लिएर बसेका भए आजको विकसित विश्व हाम्रासामु हुने थिएन । यसैगरी, निजी क्षेत्र तथा व्यक्तिगत रूपमा नेपाली कलाकारले नेपालको कलाकारिताको विकासमा अनुपम योगदान दिएका छन् । यस्ता प्रयासलाई ऐक्यबद्ध गर्दै सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा आगामी दिनमा थप सफलता हासिल गर्न सकिन्छ ।
हाम्रा प्रचलित संस्कृति र उपलब्ध कला निष्प्रयोजन राखिनुहुँदैन । व्यवसायीकरणमार्फत यिनलाई आम्दानीको स्रोत बनाउन सकिनेतिर ध्यान दिनु आवश्यक छ । जुन आम्दानीले कलाकारमात्र सम्पन्न हुने छैनन्, कलाक्षेत्र पनि समृद्ध हुनेछ । नेपाली दूतावासले केही मुलुकमा विविध कार्यक्रम गरेर नेपाली संस्कृति तथा कलाको प्रवद्र्धनमा सहयोग गर्दै आएकाले ती देशमा नेपाल चिनाउन सहयोग मिलेको छ । यस्ता प्रयासलाई कला र संस्कृतिको व्यवसायीकरणको प्राथमिक प्रयास मान्न सकिन्छ तर यस्ता कार्यक्रम निरन्तर र प्रभावकारी हुनुपर्ने खाँचो पनि अनुभव गरिएको छ ।