logo
२०८१ मंसिर ९ आईतवार



नेपालका रैथाने बाली

विचार/दृष्टिकोण |




तोयानाथ जोशी

विश्वमा करिब तीन हजारभन्दा बढी बाली बिरुवाका प्रजातिहरू मानव उपभोगका लागि योग्य मानिन्छन् । जसमध्ये दस जातका अन्न, दलहन र तेलका बीउमात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जङ्गली अवस्थामा वा रैथाने र परम्परागत बालीका रूपमा छन् । रैथाने बाली भन्नाले बालीका त्यस्ता प्रजाति हुन्– जुन पञ्जीकरण वा व्यवसायीकरण नगरिएको भन्ने बुझिन्छ । सामान्यतया रैथाने प्रजातिहरू अन्य फसल प्रजातिजस्तै हुन् । तर, यिनको कृषि आनुवांशिक स्रोतहरू बाली प्रजनन अनुसन्धान र विकासका लागि मूल्यवान् ठानिन्छन् ।
रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन्, जुन मानव भोजन र पशुबस्तुको चारा तथा आहाराका साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छन् । खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि रैथाने बाली महŒवपूर्ण मानिन्छन् । रैथाने बाली विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसमजस्तै– सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका हुन्छन्, जुन गुणहरू बाली प्रजनन तथा सुधारका लागि महŒवपूर्ण मानिन्छन् । यसका साथै, देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित छन् ।
रैथाने बाली कुनै ठाउँविशेषको स्थानीय हावापानीमा पाइन्छ । नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमी, मिठे र तितेफापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सीधान, पोखरेली जेठो बुढो, घैयाधान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरिया, फुला उठ्ने साना दाना भएको मकै पर्छन् । नेपालको उच्च तथा मध्यभेगीय जिल्लाहरू मुगु, कालीकोट, हुम्ला, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, डोटी, पर्वत, गोरखा, रामेछाप, काभ्रे तथा दोलखालगायतका जिल्लामा रैथाने बाली छन् । यी जिल्लामा मुख्य गरी कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टेजस्ता रैथाने बाली पाइन्छन् ।
धान जातिका रैथाने बालीहरू देशको तराई भेगदेखि उच्च हिमाली क्षेत्रमा पाइन्छन् । कृषि विकास मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा करिब तीन लाख ५० हजार हेक्टर क्षेत्रफलमा कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टेलगायतका रैथाने बालीको खेती गरिएको पाइन्छ । नेपालको उच्च तथा मध्यपहाडी भेगमा किसानले परम्परागत रूपमा रैथाने बालीको खेती गर्छन् । उक्त क्षेत्रका किसानका खाद्य तथा पोषण सुरक्षामा महŒवपूर्ण भूमिका छ ।
नेपालमा पछिल्लो समय विभिन्न बालीहरूको नयाँ जातको विकास र विस्तार तथा रैथाने बालीको व्यवसायीकरणभन्दा आयातीत बालीको खेतीमा बढी जोड दिएसँगै देशमै रहेका रैथाने बालीहरू भने लोपोन्मुख अवस्थामा छन् । केही समयअघि भारतलगायत अन्य मुलुकबाट खाद्यान्नलगायतका वस्तुहरू आयात नहुने भएकाले पनि किसानहरू यो बालीको उब्जानीलाई विशेष प्राथमिकतामा राखी उत्पादन गर्ने गर्दथे । तर, हाल खाद्यान्नको सहज आयातले कृषकहरू रैथाने बाली लगाउनुभन्दा आयात गरिएको खाद्यान्नले आवश्यक दैनिक खाद्य परिपूर्ति गरिरहेका छन् ।
रेथाने बालीहरू कृषि विकास तथा व्यवसायीकरणको प्राथमिकतामा नपर्दा नेपालको आनुवांशिक स्रोत नै हराएर जाने तथा देशका विकट क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा झन् जटिल बन्ने खतरा पैदा भएको छ । नेपालमा पहिलोपटक सन् १९६० को दशकमा उन्नत जातको बीउ भित्रिएको पाइन्छ । वर्णशङ्कर (हाइब्रिड) बीउ १९९० तिर भित्रिएको विश्वास गरिन्छ । एक अध्ययनअनुसार नेपालमा पछिल्लो समय उन्नत जातको बीउ र वर्णशङ्कर (हाइब्रिड) बीउ विकास र विस्तारसँगै रैथाने बालीहरू लोप हुँदै गइरहेको छ । हाल अधिकांश रैथाने बालीहरू लोपोन्मुख अवस्थामा पुगिसकेका छन् भने आधाभन्दा बढी रैथाने बीउ मासिसकेको नेपाल कृषि अनुसन्धान परिषद्को अध्ययनले देखाएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालको धानमा १० प्रतिशत, गहुँमा ५ प्रतिशत, मकैमा १५ प्रतिशत, तरकारी बालीमा १५ प्रतिशतजति मात्रै रैथाने बीउमार्फत खेती भइरहेको छ । केही वर्ष अगाडि नेपालको विभिन्न भू–भागमा ५० प्रजातिका धानबाली पाइने गरेका थिए । हाल चार–पाँचवटा मात्र रैथाने धानबालीका जातहरू रहेको राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जिन ब्याङ्क) ले जनाएको छ । हाइब्रिडको बीउले धानमात्रै होइन, मकै, गहुँजस्ता अन्नबाली, तरकारी, फलफूल एवम् दलहन र तेलहन बालीका रैथाने बालीसमेत मासिँदै गइरहेका छन् । यद्यपि, कोदो, फापर, चिनो, कागुनो, उवा, जौजस्ता अनाजमा भने धेरैजसो स्थानीय बीउ नै प्रयोग भइरहेको अवस्था छ । जुन रैथाने बाली संरक्षणमा सकारात्मक पाटो मान्न सकिन्छ ।
विश्व खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले गएको २०औँ शताब्दीमा मात्र विश्वको बाली विविधतामा पूर्ति गर्नै नसकिनेगरी करिब ७५ प्रतिशत बाली नाश भइसकेको उल्लेख छ । नेपालमै पनि ५० प्रतिशतभन्दा बढी रैथाने जातका बाली नाश भइसकेको हुन सक्ने नेपाल कृषि अनुसन्धान परिषद्को आँकलन छ । यद्यपि, विभिन्न बालीका केही रैथाने जात अझै नेपाली माटोमा बाँकी रहेको पाइन्छन् ।
स्थानीय हावापानी अनुकूलका, रोग, कीरा सहने बाली मासिँदै जानु खाद्य सुरक्षाका लागि मात्र होइन, जैविक विविधताकै दृष्टिले चिन्ताजनक मानिन्छ । नेपालमा कृषि विकासको चौधौँ योजनादेखि रैथाने बालीहरूको प्रवद्र्धन गरी तत्स्थानमा खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने लक्ष्य लिएको छ । सोहीबमोजिमका कार्यक्रम कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सञ्चालन गर्दै आइरहेको छ । तर, यी बाली व्यवसायीकरणका लागि ठोस कार्यक्रम नहुँदा रैथाने बाली संरक्षणमा आशातीत प्रगति हुन सकिरहेको छैन ।
देशका उच्च तथा मध्यपहाडी जिल्लामा खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याइरहेका रैथाने बालीको संरक्षण र सम्बद्र्धनमात्र होइन, विकास तथा व्यवसायीकरण गरिनुपर्छ । यसका लागि रैथाने बालीमा पाइने पौष्टिक तŒव तथा औषधिजन्य महŒवबारे उपभोक्तामा जागरूकता ल्याइनु आवश्यक छ । साथै उक्त बालीको विकास तथा व्यवसायीकरणका लागि क्षेत्रसुहाउँदो बाली लगाउने मोडेलको विकास गरी कृषकमाझ ल्याइनुपर्छ ।
कृषकले रैथाने बालीको व्यवसायीकरणमा झेल्नुपेरको प्रमुख समस्या भनेको उक्त बालीको बीउ सहज उपलब्ध नहुनु हो । कृषकलाई रैथाने बालीको बीउ सहज उपलब्ध गराउन सरकारले कृषक समूह र सहकारीमातहतका फार्म केन्द्रहरू तथा अनुसन्धान केन्द्रहरूमार्फत यी बालीहरूको बीउ उत्पादनमा जोड दिनुपर्छ । रैथाने बालीको व्यवसायीकरण गर्दा वातावरण, मानव स्वास्थ तथा माटोमा पर्न सक्ने नकारात्मक प्रभावको पूर्वमूल्याङ्कन गरी सोहीबमोजिम दिगो र सन्तुलित व्यवसायीकरण गर्नुपर्छ ।

(लेखक नेदरल्यान्डस्थित वाखेनयखेन युनिभर्सिटी एन्ड रिसर्चमा प्राङ्गारिक कृषि विषयमा अध्ययनरत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?