डा. पदमराज कलौनी
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ असोज २५ गते (शनिबार) देखि नेपालको दुईदिवसीय राजकीय भ्रमणमा हुनुहुन्छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को १९औँ महाधिवेशनले राष्ट्रपति सीलाई थप शक्तिशाली बनाउँदै माओ त्से तुङसरहको हैसियत प्रदान ग¥यो । ‘सी विचारधारा’ संविधानमा सामेल गर्ने सीपीसीको निर्णयले सी विचारधारा पार्टीको निर्देशक सिद्धान्त बनेको छ । माओले गृहयुद्धबाट तहसनहस भएको चीनलाई एकढिक्का बनाउँदै चीनमा समृद्धिको जग बसाउनुभएको थियो । दोस्रो युगमा देङ सियाओ पिङले शासनलाई व्यवस्थित र अनुशासित बनाउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा बलियो उपस्थिति गराउँदै चीनलाई आर्थिक विकासको युगमा प्रवेश गराउनुभयो । सीको विचारधारा चिनियाँ विशेषतासहितको समाजवादको नयाँ परिवेशमा व्याख्या हुने आँकलन गरिँदै छ ।
सी चिनफिङ विचारधारा कम्युनिस्ट आदर्शको वैचारिक धारणा हो । यसमा १४ वटा प्रमुख सिद्धान्त छन् । माओले सन् १९२१ मा स्थापना गरेको चिनियाँ कम्युनिस्ट पार्टीले गाउँद्वारा सहर घेर्ने दीर्घकालीन जनयुद्धमार्फत चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेको थियो । जनवादी क्रान्ति सम्पन्नपश्चात् कम्युनिस्ट पार्टीभित्र देखिएका खराब प्रवृत्तिविरुद्ध सङ्घर्ष, साँस्कृतिक क्रान्ति गर्दै उहाँ अघि बढ्नुभएको थियो । चीनलाई विकसित गर्न उहाँले राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा विशिष्ट योगदान दिनुभयो । फलस्वरूप उहाँले लिएको सिद्धान्तलाई चीनले माओवादको नामकरण ग¥यो । माओको निधनपछि उहाँका उत्तराधिकारी देङ सियाओ पिङले चीनलाई आर्थिक समृद्धिको क्षेत्रमा गरेको प्रगतिले ‘देङ थ्यौरी’का रूपमा विश्वचर्चा पायो ।
अहिले सी विचारधाराले परिवर्तित सन्दर्भमा समाजवादको व्याख्या गरेको छ । यसले गहन सुधार र नयाँ विकासशील अवधारणा, मानिस र प्रकृतिबीच सामन्जस्यपूर्ण जीवन, जनमुक्ति सेनामाथि कम्युनिस्ट पार्टीको नियन्त्रण, एक राष्ट्र– दुई प्रणाली र मातृभूमिसँगको एकीकरणमा जोड दिएको छ । सी विचारधारामा बदलिँदो चिनियाँ सन्दर्भमा माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई अवलम्बन गर्दै देङ सियाओ पिङ थ्यौरीको वैज्ञानिक दृष्टिकोणलाई समयानुसार परिवर्तन गरिएको भान हुन्छ ।
सन् २०५० सम्ममा चीनलाई आधुनिक समाजवादी राष्ट्रका रूपमा उभ्याउन सी विचारधारा लागू गरिएको छ । आधुनिक चीनलाई समाजवादी राष्ट्र बनाउन दुई चरणको लक्ष्य निर्धारण गरिएको छ । पहिलो चरणमा सन् २०३५ सम्ममा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी आधुनिकीकरणमा जोड दिइनेछ । दोस्रो चरणमा १५ वर्षपछि समृद्ध, शक्तिशाली, साँस्कृतिक रूपले चीनलाई विकसित, सामन्जस्यपूर्ण र सुन्दर बनाउने लक्ष्य लिइएको छ । समयक्रमसँगै जनमुक्ति सेनाको सुदृढीकरण, नयाँ खोज अनुसन्धानलाई आत्मसात् गर्दै तीव्र आर्थिक विकास गरी जनताको जीवनशैलीमा सुधार गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ ।
देङ सियाओपिङले सन् १९७८ प्रारम्भ गरेको आर्थिक क्रान्ति सन् २०१८ मा पुग्दा ४० वर्ष बित्यो । जसलाई चीनमा दोस्रो क्रान्ति (पहिलो माओ त्से तुङ) को युग भनिन्छ । चीनलाई संसारको सबैभन्दा शक्तिशाली राष्ट्र बनाउने आर्थिक सुधार गर्ने श्रेय देङलाई जान्छ । अहिले चीनले संसारकै सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने राष्ट्र (३.१२ खर्ब डलर) का रूपमा छ । चीन संसारमा दोस्रो जीडीपी (११ खर्ब डलर) भएको राष्ट्र हो । विदेशी निवेश आकर्षित गर्ने राष्ट्रमा चीन तेस्रो देश हो । देङले आर्थिक सुधारका कार्यक्रम लागू गर्दा चीनको आर्थिक वृद्धि १.८ प्रतिशत थियो भने सन् २०१७ मा १८.२ प्रतिशतले वृद्धि भएको थियो । चीनलाई आर्थिक रूपले शक्तिशाली बनाउन माओ त्से तुङ, देङ सियाओपिङ र वर्तमान नेता सीको योगदान छ । देङपछि सीलाई बलियो सुझबुझ भएको नेताका रूपमा हेरिँदै छ ।
सी चिनफिङले पुरानो अर्थव्यवस्थामा भएका बाधा, अप्ठेरालाई फुकाउँदै आर्थिक सुधारका कदम उठाउनुभएको छ । चीनको आर्थिक सफलताको मोडल कम्युनिस्ट राजनीतिक व्यवस्थाअनुसार अवलम्बन गरिएको देखिन्छ । देश र जनताको विकासका बाधक, बाधा–अड्चनबाट सवक सिक्दै समाधानका उपाय अवलम्बन गरिएको छ । चीनले अहिले आर्थिक विकासमा विशेष योगदान गर्ने सरकारी योजना, निजी उद्यमी, स्वतन्त्र बजार प्रणालीलाई विशेष प्रोत्साहन दिएको छ । सीको अगुवाइ र राजनीतिक नियन्त्रणमा चीन राजनीतिक शक्तिका रूपमा विश्वसामु आर्थिक विकासमा उदाहरणीय बनेको छ ।
गतवर्ष भएको नेसनल पिपल्स काँग्रेसले राष्ट्रपतिको कार्यकालको सीमा समाप्त गरेको छ । चिनियाँ समाजवादमा सी विचारधाराको प्रारम्भ गरिएको छ । अब चीन नयाँ युगमा प्रवेश गरेको झझल्को दिइरहेको छ । सीले कम्युनिस्ट पार्टीको नियन्त्रणबाट पनि सरकारी कम्पनी हटाउनुभएको छ । कम्पनी तथा उद्योगको नियन्त्रण व्यवस्थापकलाई दिइएको छ । एनजीओमाथि कडा प्रतिबन्ध लगाइएको छ । मानवाधिकारको व्याख्या, विश्लेषण र मूल्याङ्कन चीनले आफ्नै सन्दर्भअनुसार तय गरेको छ ।
चीनको आर्थिक वृद्धि दोस्रो विश्वयुद्धपश्चात् प्रारम्भ भएको हो । चीनले नियन्त्रित अर्थव्यवस्थाबाट मुक्त भएर बजार अर्थव्यवस्थालाई अवलम्बन गरेको थियो । उसले घरेलु अर्थव्यवस्थामा क्रमिक सुधार गर्दै आएको इतिहास छ । विशेष आर्थिक क्षेत्रको निर्धारण गरी पुँजी निवेश गरेको थियो । विशेष आर्थिक क्षेत्रका रूपमा दक्षिण तटीय प्रान्तलाई प्राथमिकता प्रदान गरेको थियो । देङ सियाओपिङले कम्युनिस्ट समाजवादी राजनीतिक व्यवस्थालाई परिवर्तन गर्ने साहस र आँट गर्नुभयो । सबैभन्दा पहिले उहाँले सोभियत आर्थिक मोडललाई आधुनिकीकरण गरी चीनको आवश्यकता र मागअनुसार समाजवादलाई स्थापित गर्नुभयो । उहाँले गरेको सुधारपश्चात् चीनमा सामाजिक आर्थिक सुधारका लक्षण देखिए । सीसीपीको सामूहिक नेतृत्वका कारण देङले चीनमा सामाजिक आर्थिक परिवर्तन गर्न सफल हुनुभयो । यी विविध कारणले चीनमा आर्थिक कायापलटमात्र भएन कि आर्थिक सम्पन्नतासँगै सत्तामा चिनियाँ कम्युनिस्ट पार्टीको बलियो पकड बन्यो । देङको आर्थिक उदारीकरणले चिनियाँ संस्करणको वैचारिक पक्षमा निखार आएको छ भन्ने अड्कल काटिएको छ ।
चीनमा स्थानीय सरकार, निजी कम्पनी र विदेशी निवेशकबीच सामन्जस्य कायम गरिएको छ । विदेशी निवेशकलाई स्वायत्तता दिइएको छ । सीले पब्लिक–प्राइभेट–पार्टनरसिपमाथि जोड दिनुभएको छ । सन् २०१४ पछि चीनमा निजी निवेश बढ्दै गएको छ । सीले व्यापारको दायरा फराकिलो गर्दै लग्नुभएको छ । वान बेल्ट वान रोड परियोजनाको माध्यमले इन्फ्रास्ट्रक्चर (भौतिक पूर्वाधार) र ट्रेड नेटवर्कलाई एसिया, युरोप, अफ्रिकासँग जोड्ने दीर्घकालीन लक्ष्य छ । जसबाट ६६ मुलुकलाई सडक मार्ग, रेलमार्ग, ग्यास पाइप लाइन र बन्दरगाहसँग सजिलै जोडिनेछ ।
नेपालको परराष्ट्र नीति सदीयौँदेखि टालटुले रहेको कतिपयको विश्लेषण देखिन्छ । नेपालका राजनीतिक दललाई स्वीकार्य हुनेगरी साझा विदेश नीति निर्माण भएको देखिँदैन । नेतापिच्छे गरिने व्याख्या, विश्लेषणले वैदेशिक सम्बन्ध चलिरहेको छ । परराष्ट्र मामिलाका संवाद र लेखनमा बुद्धिजीवी पनि विभाजित हुन्छन् । यो अवस्थाले नेपालको विदेश नीति कमजोर देखाउँछ । राष्ट्रिय हितभन्दा पार्टीगत हितलाई प्राथमिकता दिने मनोप्रवृत्तिले परराष्ट्र नीति कमजोर बन्छ । छिमेकी चीनको यस्तो प्रभावशाली नेतृत्व र विकास गतिका सन्दर्भबाट नेपालले लाभ लिन सक्ने प्रशस्त अवसर छ ।
(लेखक पशु सेवा विभाग ललितपुरमा कार्यरत हुनुहुन्छ )