डा. अतीन्द्र दाहाल
चिनियाँ राष्ट्रपति सी चिनफिङबाट नेपालको राजकीय भ्रमण भएको छ । सन् १९५५ बाट राज्यस्तरीय सम्बन्धसँगै १९६० मा आपसी दूतावास स्थापनाअगावै नेपाल–चीनबीच सामाजिक, साँस्कृतिक, धार्मिक अनि व्यापारिक रूपमा घनिष्ठ सम्बन्ध थियो । उपहारको आदन–प्रदान र भ्रमणसमेत हुन्थे । चीनबाट हामीलाई आर्थिक, सामाजिक, व्यपारिकलगायतका क्षेत्रमा उल्लेखनीय सहयोग छ । पछिल्लो दोस्रो लगानी सम्मेलनमा १२ अर्ब डलरको प्रतिबद्धता प्राप्त भयो । यस्तो हितकर मित्रदेशबाट भ्रमण स्वाभाविक हो र निरन्तर रहनुपर्छ । यद्यपि, यो बहुप्रतीक्षित भ्रमण बहुरूपमा समेत बहुआयामिक बन्नुपर्छ ।
यो केवल छिमेकी मित्रराष्ट्रका राष्ट्रपतिको भ्रमणमात्र होइन । विख्यात पत्रिका फोब्र्सको सर्वेक्षणअनुसार अहिले ‘सी’ विश्वको पहिलो शक्तिशाली व्यक्ति हुनुहुन्छ । विगतमा उक्त हैसियत सामान्यतया अमेरिका वा रूसका राष्ट्रपतिमा हुन्थ्यो । चीनको पछिल्लो अद्वितीय अद्भुत अर्थ–राजनीतिक प्रगतिबाट ‘सी’ उक्त आभूषणले विभूषित बन्नुभयो । अहिले चीन संसारको उच्च व्यापार नाफा कायम गरेको, अधिक प्रतिव्यक्ति क्रयक्षमताको आम्दानी भएको, अग्ला भवन, फराकिला सडक, सुविधासम्पन्न सहरहरूको देश हो । फरिद जकारियाको ‘पोस्ट–अमेरिकन वल्र्ड’मा वर्णित अद्भुत चीन निर्माणमा वर्तमान राष्ट्रपति ‘सी’ले प्रयोग गर्नुभएको जोसेफ एस नाईबाट विकसित अवधारणा ‘सफ्ट पावर’को ठूलो भूमिका छ । विलियम ओभरहल्टको पुस्तक ‘द राइज अफ चाइना’ लगायत थुपै्र पश्चिमा लेखकले चीनको प्रगतिलाई शान्तिपूर्ण उदय (पिसफुल राइज अफ चाइना) भने पनि चीन स्वयम्का विद्वान्हरू भने चीन इतिहासमा पनि आर्थिक विकास र सभ्यताको केन्द्र भएकाले यो उदय नभई पुनरागमन (पिसफुल रिटर्न अफ चाइना) भएको बताउँछन् । आजकाल पश्चिमा बजारमा प्रकाशित सम्पूर्ण पुस्तकको ४० प्रतिशत त चीनका बारेमा लेखिएका सर्वेक्षणहरू देखिन्छन् ।
बेलायती प्रसिद्ध पत्रिका ‘द टेलेग्राफ’मा २ अक्टोबर २०११ मा ज्यु जिनरनकृत लेखमा तत्कालीन विश्वसम्राट नेपोलियनको चीनमाथिको टिप्पणीलाई साभार गरिएको छ । नेपोलियनको भनाइ थियो– चीन सुतिरहेको सिंह हो, उसलाई सुत्न देऊ, जब ऊ उठ्छ, तब विश्वलाई कम्पन दिनेछ । अहिले उक्त भनाइ चरितार्थ हँुदै छ । विश्व आकर्षण तथा विचार÷विर्मशको केन्द्र बन्दै चीनले लामो समयको एकधुव्रीय संसारलाई विनिर्माण गर्दै छ ।
यस्तो महाशक्ति देशबाट भएको यस भ्रमणले हामीलाई विराट व्यापार परियोजना बीआरआईमार्फत आफूलाई लाभान्वित गर्ने अवसर पस्किँदै छ । व्यापार सञ्जाल विस्तारसाथ समन्वय बढाउन भन्दै छ । हामी अन्तर्राष्ट्रिय समाचार बनेका छौँ, सुरक्षा सबलता प्रमाणित भएको छ ।
चीनमा अविलम्बित समाजवादबाट हाम्रो समाजवादी भविष्यको लक्ष्यलाई दिशानिर्देश गर्ने सेतु भेटिन सक्छ । सम्पन्न भ्रमणलगत्तै यसबाट नयाँ भविष्य निर्माणार्थ तत्कालीन भलाइका केही र राज्यसंयन्त्र तथा सुशासनमा दीर्घकालीन संरचानात्मक परिवर्तन ल्याउने विशेष कामहरू गर्न सरकार सफल हुनुपर्छ ।
तत्कालीन हितका सम्भावना
चीन हाम्रो विकास निर्माणमा सहयोगी मित्रराष्ट्र हो । उसैको सहयोगमा अनेकौँ कलकारखाना सञ्चालनमा थिए । काठमाडौँको चक्रपथसँगै बानेश्वरको अन्तर्राष्ट्रिय सभाभवन जीवित उदाहरण हुन् । भूकम्पको समयमा उद्धार, राहत तथा पुनःस्थापनमा सहृदयी सहयोग पाइयोे । अहिले पनि ग्यासको भण्डारण गृह, तेलको पाइपलाइन निर्माण, सोलार ऊर्जा तथा विद्युत् उत्पादनमा सघाउने इच्छा बाहिरिएका सुनिन्छ, यसलाई हामीले सदुपयोग गर्नुपर्छ ।
हामी जहिल्यै भारतमा निर्भर भएकाले कतिपय परिस्थितिमा भारतका भित्री मनसायलाई मान्न बाध्य हुन्छौँ । भारतीय लेखक एसडी मुनीका थुप्रै पुस्तकहरूमा नेपालको ‘इन्डिया ब्राकेटेड सेन्टिमेन्ट’
(भारतवेष्ठित मनोविज्ञान) को चर्चा छ । अहिले वैदेशिक व्यापारको ७८ र सम्पूर्ण आयातको ९० प्रतिशत हिस्सा भारतबाट हुन्छ । तेस्रो मुलुकसँगको व्यापारमा पारवहन भारत भएरै गर्नुपर्छ । तसर्थ, नरम एकाधिकारबाट बेलाबेला असहजता झेल्नुपर्छ ।
यही बेला चीनका व्यापारीसमेत नेपालमा लगानी गर्न चाहन्छन् । चाइना बिजिनेस रिभ्युका अनुसार सन् २००० ताका एक खर्ब डलर नजिक रहेको चीनको वैदेशिक लगानी आज सात सय गुणा बढी छ । चीनको अगुवाइ रहेको ‘एसियाली भौतिक संरचना निर्माण बैङ्क’ को प्रमुख ध्येय नै अन्तरदेशीय व्यापारमा लगानी हो । हामीले यी अवस्थाबाट लाभान्वित चीनसँग सघन व्यापारको प्रयास गर्नुपर्छ । वास्तवमा हामी ‘ल्यान्ड लक्ड’ (भूपरिवेष्ठित) नभई ‘ल्यान्ड लिङ्क्ड’ (भूजडित) राष्ट्र हौँ । संसारकै अधिक जनसङ्ख्या भएको महाशक्तिसँग स्थलगत जोडिएका छौँ । नेपालको अहिलेको जनसङ्ख्या बराबर त चीनमा प्रतिवर्ष औसत जनसङ्ख्या वृद्धि हुने भएकाले हामीलाई वृहत् बजार उपलब्ध छ । हाम्रा उत्पादन त्यहाँ पठाउन सके उच्च खपत हुन्छ । सकेसम्म धेरै कलकारखाना सञ्चालन गर्दै त्यहाँ उच्च माग भएका सामानहरूको व्यापक निर्यात गर्ने अभिप्राय राख्नुपर्छ ।
हामी भ्रमण वर्ष २०२० को सम्मुखमा छौँ । आर्थिक महाशक्ति भएपछि चीनका नागरिकले घुमफिर तथा मनोरञ्जनसँगै भ्रमणमा निकै समय दिन थालेका छन् । ‘इन्भेस्टिङ अन वुद्धिस्ट सर्किट’ नामक प्रतिवेदनको ताजा तथ्याङ्कअनुसार अहिले संसारभर प्रतिवर्ष लगभग ३० करोड पर्यटकमा २५ प्रतिशत बौद्ध धर्मावलम्बी छन् । चीनमा संसारकै २० प्रतिशत (लगभग साडे एक अर्ब) जनसङ्ख्यामा झन्डै ६५ प्रतिशत मानिस बुद्ध धर्म मान्छन् । मुख्य धर्मग्रन्थ त्रिपिटकले समेत बौद्ध अनुयायीलाई एकपटक लुम्बिनी पुग्नैपर्ने भन्छ । धर्मावलम्बीमा समेत लुम्बिनी पुग्ने उत्कट अभिलाषा देखिन्छ । उक्त स्थान हामीसँग हुनु भ्रमण वर्ष सार्थक बनाउने प्रमुख माध्यम हुन सक्छ । आतिथ्यतामा कहलिएका हामीसँग अन्य साँस्कृतिक र प्राकृतिक सम्पदासमेत प्रशस्त छन् । संसारका सबै बौद्ध अनुयायीलाई कम्तीमा जीवनको एकपटक र यो वर्ष अधिक सङ्ख्यामा चिनियाँ नागरिकलाई लुम्बिनी भ्रमण गराउन सहजीकरण गर्दा हाम्रो लक्ष्यले ठुलै उचाइ पाउनेछ ।
अहिलेको प्रधान ऊर्जा पेट्रोलियम केही दशकपछि समाप्त हुने कारण चीनलगायत सबै देशलाई वैकल्पिक ऊर्जा व्यवस्थापनको ठूलो चिन्ता छ । उक्त समयको एउटै भरपर्दो ऊर्जा विद्युत् हो । हामीसँग अथाह विद्युत् उत्पादन सम्भावना छ । अबको ५० वर्षपछि संसारमा आउने ऊर्जा सङ्कटलाई टार्ने सोचसहित अहिल्यैदेखि विद्युत् उत्पादन कार्यनीति बनाउँदा आज मध्यपूर्वका देशले तेल बेचेर कमाएको हैसियत हामीले विद्युत् बेचेर कमाउन सक्छौँ । चीन हाम्रो मुख्य बजार हुनेछ ।
भूराजनीतिको दृष्टिकोणबाट हामी भारत तथा चीन दुवैको सुरक्षा कवच हौँ र दुवैसँग देशको हितमा प्रशस्त सौदाबाजी गर्न सक्छौँ । चीन यस विषयमा सधैँ सकारात्मक छ, प्रयास हामीले गर्नुपर्छ । यी तत्कालीन हितसँगै समाजवादको गन्तव्यमा चीनबाट सिक्नुपर्ने कुरा धेरै छन् ।
समाजवादी गन्तव्यको अनुकरण
समाजवाद शब्दको विश्वव्यापी चर्चामा महाशक्ति चीनले वर्तमान राष्ट्रपति ‘सी’ को नेतृत्वमा गरेको अद्भुत विकास अनि समृद्धिको मुख्य भूमिका छ । चीनमाथि भएका पछिल्ला सबै अध्ययनले चिनियाँ प्रगति उच्च गति र आयातनको भएको स्वीकार्छन् । पछिल्लो १० वर्षमा ६६० मिलियन मानिस गरिबीको रेखाबाट उक्सिएको देखिन्छ । ‘सी’ को समाजवादकै मार्गबाट चीन संसारको पहिलो अर्थतन्त्र बन्दै छ । २०२० सम्ममा ३०० मिलियन थप मानिस गाउँबाट सहरमा स्तरोन्नति हँुदै छन् । रेल र रोडको सञ्जाल झन्डै दोब्बर हँुदै छ । ५० वर्षका लागि ल्याइएको पछिल्लो योजनामा ३० वर्षभित्र चीनलाई संसारमा सबै कुरामा पहिलो बनाउने योजना समेटिएको सुनिन्छ । तसर्थ, चीनले आयातीत वस्तुदेखि विचार, प्रविधि, सञ्जालमा समेत आक्रामक अङ्कुश लगाई तिनलाई आफ्नै मौलिक विकास अभ्यासले प्रतिस्थापन गर्दै छ ।
समाजवादी अर्थतन्त्रको अभ्यासबाट चीनले पाएको सफल नतिजा समृद्धिका लागि प्रयासरत हामीलार्ई अनुकरणीय सभ्यता हो । विकासमा आर्थिकसँगै सामाजिक, भौतिक, साँस्कृतिकलगायतका अन्य पक्षसमेत जोडिन्छ । जसलाई चिनियाँ समाजवादले राम्ररी अनुसरण
गर्दै छ ।
चिनियाँबीच नागरिक एकता उच्चतम छ । देशसँगै सरकारप्रति आमचिनियाँको गहिरो सम्मान छ । भौतिक सम्पन्नतासाथै, मानवीय सभ्यता अनि आफूलगायत अरूकोे विकासमा चीन अग्रसर हुँदै छ । पछिल्लो १० वर्षमा चीनले उच्च औद्योगिक वृद्धि ग¥यो । त्यससँगै आएका अत्यधिक भ्रष्टाचार, सम्पत्तिमा असमान वितरण अनि प्रदूषणका समस्यामा पनि ऐतिहासिक र अकल्पनीय सुधारहरू ल्यायो । दिगो विकास र सामाजिक स्थिरताका लक्षणहरू प्रशस्त देखिए ।
चिनियाँ समाजका पेसाकर्मी, व्यवसायी, उद्यमी, विद्यार्थी, सरकारी कर्मचारीलगायत सबैमा देशप्रति बढ्दो निष्ठा र समर्पण छ । कसरी आफ्नो काम सम्पादनमार्पmत सफल राष्ट्रनिर्माणमा सघाउने भन्ने व्यग्र तृष्णा र सोही तहको सङ्कल्प देखिन्छ । समृद्ध र सभ्य देश निर्माणमा चिनियाँ नेतृत्व र नागरिक सबैले सकेको योगदान गर्दै छन् । न्याय, समानता, मानवीय स्वतन्त्रतामा समेत आशातीत सफलता र स्तरोन्नति हुँदै छ । हामीले यी गुणहरूलाई यथाशक्य अनुशरण गर्नुपर्छ ।
यी बहुआयामिक सम्भावनालाई उजागर र सम्भव बनाउँदा हाम्रो समृद्धिको सोचलाई सहयोग पुग्नेछ । भ्रमण सफलतापछि अबको सयम सुनौला सम्भावना खोज्न र काम गर्न खर्चनुपर्छ । चीन सम्बन्ध भविष्य निर्माण तथा सकारात्मक विकासको हाम्रो खोजीमा प्रमुख सारथि हुन सक्छ ।
(लेखक काठमाडौँ स्कुल अफ लमा प्राध्यापन गर्नुहुन्छ )