वामदेव क्षत्री
अहिले नेपालमा समाजवाद कस्तो र कसरी बनाउने भन्नेबारे बहस हुन थालेका छन् । समाजवादको कार्यनीति बनाउने जिज्ञाशा र प्रतिक्रिया हुनु स्वभाविक हो । पूर्वी युरोप सोभियत सङ्घ र चीन हुँदै उत्तर कोरियासम्म सबैतिर असफल भएको समाजवादी दर्शन फेरि किन र कसरी भन्ने प्रश्न उठ्नु स्वभाविक हो । समाजवादको एउटै र सर्वसम्मत अवधारणा संसारभर कहीँ पनि छैन । फरक फरक अवस्थामा यसको फरक फरक अर्थमा प्रयोग भएको पाइन्छ ।
समाजवादको इतिहासलाई हेर्ने हो भने यसअघिका सबै तीन समाजवाद फरक छन् । कुनै जमानामा समाजवाद विद्रोही शक्तिको प्रतीक थियो । आज हामी नयाँ संसारमा छौँ । कार्ल माक्र्सले कम्युनिस्ट घोषणापत्र लेखेको १७१ वर्ष पुगेको छ । यस बीचमा संसारमा थुप्रै परिवर्तन भएका छन् । उत्पादक शक्तिमा परिवर्तन आएर विज्ञान र प्रविधिको सर्वाधिक महŒवपूर्ण निर्णयले परिवर्तन ल्याएको छ । मानव समाजको आधारभूत संरचनामा परिवर्तन आएको छ । मानवको श्रमशक्ति उत्पादन क्षेत्रबाट विस्थापित हुँदैछ । समाजको वर्गीय संरचना बदलिँदै छ, सर्वहारा वर्ग र पुँजीपति वर्गको सङ्ख्या घटेर मध्यम वर्गमा रूपान्तरित हुँदैछ । पुँजीवादको स्वरूपमा पनि परिवर्तन भएको छ । संरक्षणवादी पुँजी जसलाई व्यापारी पुँजी पनि भनिन्छ, त्यो परिवर्तन भएको छ । प्रतिस्पर्धावादी, जसलाई औद्योगिक पुँजी भनिन्छ, त्यसको रूप पनि परिवर्तन भएको छ । त्यसपछि विकास भयो एकाधिकार पुँजी ।
अहिले तीन चरणबाट परिवर्तन भएर एकीकृत पुँजीवाद बनेको अवस्था हो । जुन अहिले भूमण्डलीकृत पुँजीवादको रूपमा विश्वमा व्याप्त छ । यसको आधार विज्ञान, प्रविधि हो । यो भूमण्डलीकृत पुँजीवादको अवस्थामा क्रान्तिकारी, विद्रोही छ कि छैन ? अब ल्याउने समाजवाद कसरी ल्याउने बहस यहीँनेर केन्द्रित छ । किनकि सङ्घर्ष र क्रान्तिका पुराना विधिहरू प्रवाहहीन भएका छन् । सशस्त्र सङ्घर्ष, जनआन्दोलन र निर्वाचन प्रणालीबाट केही आंशिक सफलता प्राप्त भए पनि मूल लक्ष्य समाजवादको नयाँ बाटो कसरी तय गर्ने भन्ने बहस नै छ ।
नेपालमा समाजवाद स्थापना गर्ने लक्ष्य स्वागतयोग्य हो तर अब समाजवाद हिंसात्मक क्रान्ति र क्रमिक विकासबाट मात्र हुन सक्दैन । यसको साटो आमूल रूपान्तरणको बाटो नै उपयोगी हुन्छ । यो रूपान्तरण भनेको नागरिकलाई स्वतन्त्र, धनी, खुसी, सुखी र सम्पन्न बनाउने उद्देश्य रहनुपर्छ । निरपेक्ष समानता निरपेक्ष राष्ट्रियकरण र निरपेक्ष सामूहीकरणमा नभएर समृद्धिकरणमा जोड दिनुपर्छ । समाजवाद पुरानो होइन, नयाँ हुनुपर्छ । विगतमा समाजवाद मानव श्रमशक्तिमा आधारित थियो । त्यसबेला मानव शक्ति नै प्रमुख उत्पादक शक्ति थियो । तर अब विज्ञान प्रविधिमा आधारित नयाँ समाजवाद हुनुपर्छ । तब मात्र भूमण्डलीकृत पुँजीवादलाई प्रश्रय दिन आवश्यक छ । पुरानो समाजवाद राज्यनियन्त्रित थियो र पुँजीपति वर्ग नियन्त्रित थियो । अबको समाजवाद समाज वा जनता नियन्त्रित हुनुपर्छ ।
नयाँ समाजवादमा समाज सामाजिक वा जनता नियन्त्रित हुनसक्छ । यो राजनीतिक संसदीय व्यवस्था हुँदैन, जुन जनप्रतिनिधिमूलक व्यवस्थाको आवश्यकता छ । त्यो प्रत्यक्ष जनसहभागितामूलक व्यवस्था हुन्छ । यसैगरी, विगतको समाजवाद राज्यको स्वामित्वमा आधारित थियो । नयाँ समाजवाद समाजको स्वामित्वमा आधारित हुनुपर्छ । समाजमा आवश्यकताको आधारमा समूह निर्माण गर्ने किसान समूह, मजदुर समूह, व्यापारी समूह, उद्योगी समूह आदि गठन गरी तिनै सामाजिक समूहको स्वामित्वका आधार बनाउनुपर्छ ।
हामीले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाकालदेखि अहिलेसम्म समाजवादको वकालत गरेका छौँ । विश्वमा दुई सय वर्ष वरपरबाट बहसमा चलेको समाजवाद भनेजस्तो किन बनेन, माक्र्सवादका आधारमा बनेका समाजवाद किन ढले ? बनेका मात्र होइन, बन्दै गरेका समाजवाद पनि किन ढले ? हामी फेरि पनि समाजवाद बनाउनेबारे छलफलमा छौँ । माक्र्सवाद अनुसार मानिस वर्गीय हुन्छ । मानिसमा आफ्नै खालका जातीय अन्तरविरोध पनि छन् र मानिसका मनमा आफैँ पनि अन्तरविरोध छ । हामीले वर्गीय अन्तरविरोध मात्र हल ग¥यौँ भने मानिसका अन्तरविरोधहरू कसरी हल हुन्छन् ? त्यसैले मानिसलाई वर्गमा मात्र विभाजन गरेर समाजवाद बनाउँछौँ भन्ने विषयमा नयाँ ढङ्गले सोच्न आवश्यक छ । हामीले समाजवादका कुरा त ग¥यौँ तर मानिसको निजत्वको कुरा गरेनौँ । त्यसैले अब बनाउने समाजवाद राज्य नियन्त्रित होइन, समाज नियन्त्रित, जनता नियन्त्रित बनाउनुपर्छ । त्यहाँ उच्चतम लोकतान्त्रिक पद्धतिबाट मात्र समाजवाद निर्माण गर्न सकिन्छ । त्यो समाजवाद वर्गीय हुँदैन, मानवतामुखी हुन्छ । त्यसैले फरक किसिमको छलफलको आवश्यकता छ ।
हामीले समाजवादको बहस एक्काइसौँ शताब्दीका विशेषतामा टेकेर गर्नुपर्छ । यसको पहिलो विशेषता भनेको नयाँ वैचारिक सङ्कट र सङ्क्रमणको अवस्था हो । बीसौँ शताब्दीको नवउदारवाद र केन्द्रीकृत समाजवादलाई दुई विचारधाराले विभाजन गरेको छ । नवउदारवादको सङ्कटले समाजमा मानिसलाई धनी र गरिब बनायो र बेरोजगारीको अवस्था बन्यो । सीमित व्यक्ति र कर्पोरेट संस्थाहरूसँग अतिसय सम्पत्ति संकेन्द्रण भयो । अर्कोतिर उदारवाद, नवउदारवाद वा पुँजीवादको विकल्पमा आएको समाजवादले नोकरशाही र अधिनायकवादी रूप धारण ग¥यो र त्यसले लोकतन्त्र, नागरिकका आधारभूत स्वतन्त्रताहरूको रक्षा गर्न सकेन, अर्थतन्त्रलाई गतिशील बनाउन सकेन र समाजलाई गरिबीको स्थितिमा पु¥याउने काम भयो । अब बनाउने समाजवादमा यिनी दुवै विचारको निरपेक्ष अनुयायी भएर अगाडि बढ्न सकिँदैन । अब द्वन्द्ववादी प्रणालीबाट व्यक्ति र समुदाय, निजत्व र सामूहिकता, सार्वजनिक स्वामित्व र निजी स्वामित्व, राष्ट्रियकरण र निजीकरण, राज्यतन्त्र र बजारयन्त्र, सेवा र मुनाफा दुवै पक्षलाई सन्तुलित उपयोग गर्ने जनता नियन्त्रित समाजवादको कल्पना गरेर बहसलाई अगाडि बढाउनुपर्छ ।
समाजवादको पहिलो चिन्तनधारा ‘युरोपियन समाजवाद’ भन्ने गरेको इतिहास छ । आधुनिक युरोपमा देखापरेको ‘फेबियन समाजवाद’ का कैयौँ विशेषता युरोपियन समाजवादी धारासित मिल्दाजुल्दा छन् । यो आध्यात्मिक कम्युन प्रणाली जसमा मीठा कल्पना, नैतिक उपदेश, भद्रता, आध्यात्मिकता, आदर्श, सादा जीवनको कल्पना थियो । त्यसलाई समाजवादी चिन्तन भन्ने गरिन्थ्यो तर त्यो सफल हुन सकेन ।
अर्को राज्यनियन्त्रित समाजवादको कल्पना माक्र्सवादी विचारबाट जन्म भयो । त्यसको अभ्यास रुस, पूर्वी युरोपमा गरियो । त्यसमा लोकतन्त्रको प्रस्ट ढाँचा देखिएन । लोकतन्त्रका नाममा उनीहरूले जो राजनीतिक प्रणालीको अभ्यास गरे त्यो ढाँचा लोकतन्त्र नै हो कि होइन भन्ने प्रश्न उठ्यो । दक्षिण एसियामा आचार्य नरेन्द्रदेव, डा. राममनोहर लोहिया, जयप्रकाश नारायण र बीपी कोइरालाको विचारको स्रोत यही थियो र प्रजातान्त्रिक समाजवादको वकालत गरे । तर उनीहरूको कैयौँ व्यवहारवादी र रुढीवादी विचलन थियो । संसारभरका प्रजातान्त्रिक समाजवादीहरूले संवैधानिक राजतन्त्रलाई मान्दथे । भारतमा नेहरू, नेपालका कोइराला जस्ता अनेक राजनीतिक वंशवादको जन्म प्रजातान्त्रिक समाजवादकै आवरणमा थियो । अब यी सबैको अनुभवबाट हामीले हाम्रो देशको वस्तु परिस्थिति अनुसार नेपाललाई सुहाउने र नेपालीलाई समानता, समुन्नत, सुखी र समृद्ध बनाउने नयाँ मोडलको समाजवादको बारेमा बहस चलाएर निष्कर्षमा पु¥याउन आवश्यक छ ।
(लेखक नेकपा, उद्योग तथा वाणिज्य विभागका उपप्रमुख हुनुहुन्छ ।)