logo
२०८१ मंसिर ९ आईतवार



भावना जित्न सकेको नेतृत्व

विचार/दृष्टिकोण |





केपी गौतम

नेपोलियन बोनापार्टको भनाइ थियो, विश्वमा मात्र दुई शक्ति छन् – तरबार र भावना । लामो समयसम्म तरबारलाई भावनाले जित्छ ।’
विगतका कथा प्रसङ्गहरू उद्धरण गर्दै आफ्नो विचारधारा बुझाउने गर्नुहुन्छ, जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनुभएका सी मानव भावना पनि जित्ने अभियानमा हुनुहुन्छ । असोज २५–२६ मा सम्पन्न नेपालको राजकीय भ्रमणका क्रममा सीले नेपाली मनोभावना जित्न सफल हुनुभयो ।
चिनियाँ साहित्य पढ्दा बुझिन्छ, राष्ट्रपति सी चाहे आफ्नो पार्टी कार्यकर्ता, राष्ट्रसेवक र जनत्का बीचमा बोल्दा होस्, चाहे अन्तर्राष्ट्रिय भेट बैठकहरूमा होस्, इतिहासका सन्दर्भ उद्धरण गर्दै भविष्यका निम्ति वर्तमानको व्याख्या गर्नुहुन्छ । आफ्नो इतिहास, संस्कृति, विगतका सन्दर्भ, पात्रबाट प्रेरणा लिएर दीर्घकालीन योजना बनाउनुहुन्छ । कार्यान्वयनमा लैजानुुहुन्छ । त्यसैले उहाँ विश्वमा अर्कोलाई पछारेर एक्लो दौडमा सर्वश्रेष्ठ भएको आत्मरति गर्ने विश्व परम्पराको सट्टा सँगै दौडेर श्रेष्ठता हासिल गर्ने अभियानका नायक बन्दै हुनुहुन्छ । हजारौँ वर्ष पुरानो रेशममार्गको भावनालाई ‘शान्ति र सहयोग, खुलापन र समावेशिता, पारस्परिक सिकाइ र पारस्परिक लाभ’ को साझा सरोकार, भाग्य र जिम्मेवारीको विश्व समुदाय निर्माण गर्ने उद्देश्यमा ‘एक क्षेत्र र एक मार्ग’ (ओबीआर)को रूपरेखा बनाई कार्यान्वयनमा बढाउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीलाई काठमाडौँमा स्वागत गर्दै नेपाल–चीन सम्बन्ध सागरजस्तै गहिरो, सगरमाथाझैँ उच्च छ भन्नुभयो । राष्ट्रपति सीले थप्नुभयो, ‘हामीबीच मित्रता मात्र छ ।’
यी दुई भनाइ नेपाल–चीनबीच ‘अभेद्य पहाडी शृङ्खला’ छन् भन्नेहरूका लागि जवाफ हुन् । अब त पहाडहरू अभेद्य छैनन् । हिउँचुलीहरू शिरफूलमा रूपान्तरित भएका छन् । आकाश मार्ग चालू छ, सडक सम्पर्क सहज बनाउने, विस्तार गर्ने, सुरुङ बनाउने, रेलमार्ग बनाउने योजना अगाडि बढेका छन् । यी योजनाको घोषणाले नेपालको भूपरिवेष्टिता तोडेर भूजडित अवस्थाको सुविधा उपभोगमा सहजता दिनेछन् ।
माथि उल्लेखित नेपोलियनको भनाइ राष्ट्रपति सीले सन् २०१४ मार्चमा युनेस्को मुख्यालयमा दिनुभएको मन्तव्यमा उद्धरण गर्नुभएको थियो, इसापूर्व दोस्रो शताब्दीमा चीनले पश्चिमी क्षेत्रतिर जाने रेशम मार्गमा काम गर्न सुरु गरेको प्रसङ्ग कोट्याउँदै । त्यसै क्रममा उहाँले भिक्टर ह्युगोको ‘समुद्रभन्दा विशाल सम्भावना छ, त्यो हो आकाश । आकाशभन्दा विशाल सम्भावना छ, त्यो मानव हृदय ।’ पनि उद्धरण गर्नुभएको थियो । हो, सीले विश्वलाई सन्देश दिने गर्नुभएको छ– हामीसँग आकाशभन्दा विशाल हृदय हुनुपर्छ । मानिस जातिले व्यहोरिरहेको चुनौतीको मिलेर सामना गर्नुपर्छ ।
उहाँको यस्तो भनाइ व्यवहारबाट पुष्टि हुन्छ । नेपाल भ्रमणमा सीले हालसम्म छिमेकीकै कारण नेपालीले पटकपटक व्यहोरिरहेको चुनौतीबाट सिर्जित मनोदशालाई ढाडस दिनुभएको छ, ‘अब नेपाल भूजडित देश बन्ने सपना पूरा गर्न हामी मद्दत गर्नेछौँ ।’ पारस्परिक साझेदारी लाभ, समृद्धिको रणनीतिबाटै आउँदो ३० वर्षभित्र पहिलो विश्व शक्तिमा स्थापित हुने लक्ष्य राखेको चीनका राष्ट्रपतिको ढाडसले नेपाली मनोदशामा सहयोग पु¥याएको छ । नेपोलियनको भनाइ उद्धृत गर्ने सीले नेपाली भावनालाई जित्नुभएको छ । नेपाली मनोबल उठाइदिनुभएको छ । नेपालका लागि सी भ्रमणको सबैभन्दा ठूलो उपलब्धि यही हो । उच्च मनोबलका जनता परिचालन गर्नसक्ने कौशल नेपाली नेतृत्वले देखाउन सक्नुपर्छ । यो वचनले अर्को छिमेकीलाई पनि प्रेरित गर्ला नै ।
नेपाल भूजडित बनाउने रूपरेखा पनि तय भइसकेको छ । प्रधानमन्त्री केपी ओलीले अर्को छिमेकीबाट घाँटी अँठ्याएका बेला असल मित्र चीनसँग गर्नुभएको पहलको निरन्तरता स्वरूप यतिखेर सम्पन्न रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन, सुरुङमार्ग निर्माणलगायतका सहमति समझदारीहरू भएका छन् । राष्ट्रपति भण्डारीबाट नेपाली आकाङ्क्षा अभिव्यक्त भइसकेको छ । अब भ्रमणमा भएका समझदारी सम्झौता र वचनअनुसारका कामहरू हुनेछन् । योजना पूरा हुनेछन् । सीले भन्नुभएको छ, हामीले बनाएका योजना पूरा गरेरै छोडौँ । हामीले चीनमा यस्तै गरेका छौँ ।
सीको यो सन्देश मननीय छ । नेपालमा आजसम्म प्रायः देखिन्छ– नेतृत्वले योजना बनाउँछ तर निरन्तरता दिँदैन । नेतृत्वले दुःख भोगेको छ तर त्यसको स्मरण गर्न र पाठ सिकेर दीर्घकालीन योजनाको रूपरेखा कार्यान्वयन गर्न जानेको छैन वा सकेको छैन । यो कमजोरीबाट मुक्त हुन चिनियाँ नेतृत्वको सिकाइ, व्यवहार र प्रतिबद्धता शिक्षाप्रद छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी पार्टीको साधारण कार्यकर्ता नै हुनुहुन्थ्यो । सन् १९६० को दशकमा १५ वर्षीय उहाँलाई साङ्सी प्रान्तको लियाङचियाख्ह गाउँमा कृषकका रूपमा काम गर्न पठाइयो । त्यो सानो गाउँमा माटोका गुफामा बस्नुपथ्र्यो । माटोकै खाटमै सुत्नुपथ्र्यो । अत्यन्त कठिन जीवन, महिनौँसम्म मासु खान नपाउने अवस्था थियो । त्यहाँ गाउँ पार्टीको सचिव भएर कृषिलगायत उत्पादनमूलक कामको नेतृत्व गर्नुभयो । मलका भारी बोक्नुभयो । खाना बनाउन सिक्नुभयो । उहाँको परिश्रम देखेर स्थानीयले कडा केटो भन्थे । सात वर्ष त्यही गाउँको परिश्रमी सिकाइ, जनताको सेवा, मिजासिलो व्यवहारबाट उत्पन्न आकाङ्क्षाले आजको चिनियाँ परिवर्तन प्रोत्साहित भएको छ । ‘जनता’ शब्द बुझाएका लियाङचियाख्हका जनताप्रति उहाँको अटुट भरोसा रह्यो । सन् २०१५ मा त्यो गाउँमा फर्कंदा उहाँले अधिकांश सडक कालोपत्रे, प्रत्येक गाउँलेको इन्टरनेटमा पहुँच, बालबालिकाको विद्यालयमा पहुँच, वृद्धवृद्धाको स्याहारसुसार अनि गाउँलेको उपचार बीमासँगै भोजनमा मासु तयारी अवस्थामा रहेको पाउनुभयो ।
सन् २०१५ मै वासिङ्टनमा आयोजित एक रात्रिभोजमा यही कथा सुनाउँदै सीले भन्नुभएको थियो– “त्यतिबेलै गाउँलेलाई मासु उपलब्धता सम्भव बनाउने र भोजन गर्ने इच्छा मेरो थियो तर त्यो चाहना पूरा गर्न अत्यन्त गाह्रो थियो । अहिलेको अवस्थाले चिनियाँ सपना अन्ततः चिनियाँ जनताको सपना हो भन्ने जानकारी दियो । हामीले जनताको उत्कण्ठासँग योजना जोड्न सके मात्र चिनियाँ सपना साकार पार्न सक्नेछौँ ।”
जनता र देशको आकाङ्क्षा–सपना एकाकार गर्ने र लक्ष्यबाट विचलित नहुने दृढताका सन्दर्भमा अर्को प्रसङ्ग पनि छ । लालसेनाको लङ मार्च (लामो यात्रा) विजयको ८०औँ वार्षिकोत्सव सम्मेलन (२०१६ अक्टोर २१) मा सीले अर्धसिरकको कथा सुनाउनुभयो । “लङ मार्चमा सहभागी तीन जना महिला सैनिक षुनानको शाचोउ गाउँमा पुग्दा एक अत्यन्त गरिब वृद्ध महिलाको परिवारमा आश्रय मागे । त्यहाँबाट हिँड्दा आफूसँग भएको जम्मा एउटा सिरक दुई भागमा बाँडेर त्यो परिवारलाई एउटा दिँदै भने– हाम्रो क्रान्तिको विजयपछि तपाईंलाई नयाँ सिरक दिनेछौँ । लङ मार्चको यो सहयोगी भावना अगाडि बढाउन र वर्तमान लङ मार्चलाई सफल पार्न हामीले जनतालाई हृदयको केन्द्रमा राख्नुपर्छ ।” जनसेवामा प्रतिबद्ध रहन र सम्पूर्ण पार्टीलाई चेताउन सीले यो घटना बयान गर्नुभएको हो ।
राष्ट्रपति सीले चीनमा अग्रजहरूको शिक्षा लिँदै परिवर्तन र विकासका दीर्घकालीन रूपरेखा प्रस्तुत गर्नुभएको छ । कम्युनिस्ट पार्टी र सरकारलाई जनताको आकाङ्क्षासँग जोड्नुभएको छ । यो शैलीले जनताको भावना जितेर परिचालन गर्नुभएको छ । लियाङच्याख्हका गाउँलेको त्यो परिश्रमी ‘कडो केटो’ अहिले चिनियाँ सपनाको महानिर्देशक बन्नुभएको छ ।
सी आर्थिक निर्माणमा दीर्घकालीन योजनाको गम्भीर त्रुटिका कारण बन्ने र सधैँका लागि पछुतो लाग्ने हुनेछ भन्दै क्षणिक सफलताको चाहना कहिल्यै नराख्नू भनी प्रशिक्षण दिनुहुन्छ । यही दीर्घकालीन सोचबाट परिलक्ष्यित एक क्षेत्र मार्ग पहलकदमीका परियोजनामा नेपाल साझेदार भएको छ । तिलस्मी विकासका नायकसँग नेपालले जनाएको ‘रणनीतिक साझेदारी’ को प्रतिबद्धता पक्कै पनि देखावटी होइन । यो भ्रमणमा गरिएका २० वटा हस्ताक्षर दीर्घकालीन महìवका छन् । अब ती दस्तावेज दराजमा यता र उता सार्दै विस्मृतिमा पु¥याउने विगतको हेलचेक्र्याइँ नेपाली तर्फबाट दोहो¥याइनु हुँदैन । यसपटक गरिएका हस्ताक्षरमा कुनै आन्तरिक राजनीतिक विमति नदेखिएका कारण पनि तत्सम्बन्धी कार्य तयारीमा कुनै अलमल आवश्यक छैन । “आफ्ना छिमेकीसँग सौहार्दपूर्ण वातावरणमा बस्ने र साझा विकासमा केन्द्रित हुने वास्तविक चाहना” प्रतिविम्बित गरिरहेको चीनसँगको साझेदारीमा राष्ट्रिय विकास अभियान चलाउँदा कसले के भन्छ भन्ने सुन्नु पनि आवश्यक छैन ।
पार्टी गाउँ कमिटीको सचिवदेखि राष्ट्रपतिसम्म सी चिनफिङ आर्थिक अपराधविरुद्ध कडा रूपमा प्रस्तुत हुनुभएको देखिन्छ । नेपालमा सत्तारुढ कम्युनिस्ट पार्टीका नेताहरूसँगको भेटवार्तामा समेत उहाँले निजी सम्पत्तिको लोभ र विलासी जीवन कम्युनिस्टको चरित्रअनुरूप नहुने अनि जनतासँगको सम्बन्धकै कारणले आफूहरूले प्रगति हासिल गरेको सुनाउनु मननीय छ ।
चीनले विश्वशक्ति बन्ने सपना साकार पार्दैछ । हामी समृद्धि हात पार्ने सपना देखिरहेका छौँ । हाम्रो सपनाका लागि सहज यात्राको बाटो खोलिदिन सी भ्रमणले आधार तयार गरेको छ । सपना पूरा गर्ने हामीले नै हो, साथ दिने छिमेकी वचन पाइएको छ । यो अवसरलाई सदुपयोग गर्न नेपाली
सक्षम हुनुपर्छ ।

(लेखक गोरखापत्रका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?