राजेन्द्र किराती
वस्तुतः नेपालको राष्ट्रिय विकास र समृद्धि वा आर्थिक क्रान्तिको नयाँ राजनीतिक ‘कोर्स’ प्रारम्भ भइसकेको छ । यस्तो वस्तुगत अर्थ–राजनीतिक धरातलमा विश्वको उदाउँदो महाशक्ति छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले निश्चय नै ठूलो महŒव राख्छ । त्यतिमात्र होइन, विगतमा युरोप र अमेरिकाकेन्द्रित विश्व आज एसियाकेन्द्रित बन्दै गइरहेको छ । तब विश्व अर्थ–राजनीतिले आफ्नो प्रभाव विस्तारको नयाँ–नयाँ रणनीतिहरू विन्यास गरिरहेको छ । यस्तोबेला शक्ति सन्तुलनको रणनीति पनि विश्व अर्थ–राजनीतिको मूलभूत भाष्य बन्छ । यसकारण छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रप्रमुखको नेपाल भ्रमणलाई औसत होइन, दूरगामी महŒवको भ्रमण मान्न सकिन्छ ।
सम्झौता :
दक्षिण र पश्चिमको हस्तक्षेपबाट आक्रान्त नेपालले आफ्नो स्वाभिमानसहितको विकास र समृिद्धको महाअभियानमा जनवादी गणतन्त्र चीन सरकारलाई सकारात्मक विकल्पका रूपमा ग्रहण गर्नु अनौठो होइन । अर्थात् नेपाली अर्थ–राजनीतिमा दक्षिणको विद्यमान एकाधिकारमा सन्तुलनको खाँचो अवश्य नै थियो । परिणामस्वरूप चौतर्फी विकल्पहरू खड्किरहेको आमनेपाली जनताले महसुस गरेकै विषय हो । यस्तो अवस्थामा भएको उच्चस्तरीय भ्रमणमार्फत निर्णायक सहयोगको आशा अपेक्षा राख्नु स्वाभाविक थियो । राष्ट्रपति सी भ्रमणको क्रममा द्विपक्षीय हित र स्वार्थलाई केन्द्रमा राख्दै २० बँुदे ऐतिहासिक सम्झौता÷सहमति भएको छ । यो ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने राष्ट्रिय साझा नारा कार्यान्वयनमा सहयोगी हुने देखिन्छ ।
राष्ट्रपति सी भ्रमणको सिलसिलामा नेपाल र चीन सरकारबीच दुवै मुलुकबीचको सीमा व्यवस्थापन प्रणालीलाई चुस्तदुरुस्त राख्ने सहमति भएको छ । यसैगरी, शासन क्षमता विकास गर्न सहकार्य र अनुभव आदान–प्रदान गर्ने पनि हस्ताक्षर गरिएको छ । आपराधिक विषयमा आपसी कानुनी सहायता र सगरमाथा संरक्षण गर्ने सहमति भएको छ । दुवै मुलुकको योजना आयोगहरूबीच उत्पादनशील क्षमता अभिवृद्धि गर्न मुख्य योजनाहरूमा लगानी बढाउने साथै चेङ्दुमा महावाणिज्यदूतावास खोल्ने विषयमा पनि हस्ताक्षर गरिएको छ । यसैगरी, चीन–नेपाल सीमापार रेल परियोजना सन्दर्भमा सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ । केरुङ–काठमाडौँ सडकअन्तर्गत दुई ठाउँमा सुरुङमार्ग निर्माण गर्ने अनि सीमा सुरक्षा र कार्यालय उपकरणसम्बन्धमा पनि सहमति गरिएको छ । चीन र नेपालबीच परम्परागत औषधोपचार पद्धति विकास गर्नुको साथै विपत् जोखिम न्यूनीकरण र आपतकालीन उद्धारसम्बन्धी सम्झौता भएको छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयमा कन्फुसियस विश्वविद्यालय स्थापना गर्ने अनि लगानी सहकार्य कार्यगत समूह बनाउने निर्णय गरिएको छ । व्यापार विस्तारसम्बन्धमा संयुक्त कार्यगत समूह बनाउने अनि कागती र निम्बुलगायतका अमिलोजन्य फलफूल निर्यातलाई खुला गरिएको छ । भूकम्प निगरानी सञ्जाल परियोजना साथै काठमाडौँ उपत्यकाअन्तर्गतका नगरपालिकाहरूमा खानेपानी आपूर्तिसम्बन्धमा अध्ययन गर्ने सहमति भएको छ । अर्थात् समग्रमा यो भ्रमणक्रममा दुवै मुलुकबीच द्विपक्षीय हितमा धेरै महŒवपूर्ण सम्झौता भएको देखिन्छ । यद्यपि, कार्यान्वयनको सन्दर्भमा अन्तरनिहित भौगोलिकलगायतका जटिलता र प्रतिकूलता विद्यमान छ । त्यसकारण भावनात्मक तरङ्गमा धेरै बहकिनु सही मूल्याङ्कन हुँदैन ।
समृद्धि :
पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिमा विकास र समृद्धि साझा, सजिलो र लोकप्रिय नारा भएको छ । यो सुखद, सकारात्मक र भावनात्मक नारा हो । नारा असाध्यै राम्रो र मन छुनेखालको छ । सी भ्रमणको क्रममा भएको ऐतिहासिक सम्झौतालाई नियाल्दा विकास र समृद्धिको अभियानमा भ्रमण पक्कै पनि कोशेढुङ्गा साबित हुनेछ । यसमा कसैले आग्रह पूर्वाग्रह राख्नुको तुक देखिन्न । तर, कसैको अनुदान र लगानीबाट मात्र दीर्घकालिक समृद्धि सम्भव हुँदैन ।
समृद्धि भनेको कुनै पनि खास समाजअन्तर्गत सचेत, सङ्गठित, योजनागत, उद्देश्यगत र गन्तव्यगत आमपहल र प्रयत्नहरूको लामो पद्धतिबाट मात्र सम्भव हुन्छ । आमनागरिकहरूको साझा लक्ष्य, भूमिका, जिम्मेवारीमार्फतमात्र वास्तविक समृद्धि सम्भव हुन्छ । स्वतःस्फूर्त रूपमै नागरिक राजकीय दायित्व र जिम्मेवारी निर्वाह गर्न लालायित हुने गर्छन् । अधिकारसँगै समानान्तर रूपमा कर्तव्य पनि उभिएको हुन्छ भन्ने उन्नत चिन्तन, सोच र मनोविज्ञान विकास भइसकेको हुन्छ । सबै वर्ग, जाति, क्षेत्र र लिङ्गले न्याय, समानता र स्वाभिमानसहितको पहुँच सुनिश्चित गर्ने वातावरणको सपाट अभिव्यक्ति नै समृद्धि हो ।
नेपालमा काम गर्ने सँस्कृति र श्रमलाई सम्मान गर्ने राजकीय नीति छैन । मूलभूत रूपमा आर्थिक समृद्धिका लागि ‘जुन देशको जन त्यही देशको धन’ को नीति लागू गर्नुपर्छ । हरेक व्यक्ति श्रममा जोडिएकै हुनुपर्छ । आमरूपमा काम गर्ने सँस्कृतिलाई संस्थागत गर्नुपर्छ । समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सबै नागरिकलाई गोलबन्द गर्दै श्रममा प्रेरित र सङ्गठित गर्नुपर्छ । परिश्रम, पसिना, सिर्जना, खोज र अनुसन्धानलाई औसत जीवनपद्धति बनाउनुपर्छ । हाल हाम्रो समाजमा श्रमप्रति अभिव्यक्त नकारात्मक र हीन धारणालाई निस्तेज गर्नुपर्छ । श्रमलाई जीवन्त आर्थिक पद्धति, इज्जत र प्रतिष्ठासँग एकाकार गर्नुपर्दछ । तबमात्र असली समृद्धि सम्भव हुन्छ ।
दिगो आर्थिक विकास समृद्धिको आधारभूत सर्त हो । अर्थतन्त्रको स्थायी जीवनरेखा तय गर्नुपर्छ । यसका लागि उत्पादनमुखी अर्थतन्त्र विकासमा जोड गर्नुपर्छ । नेपालको सन्दर्भमा उत्पादनमुखी अर्थतन्त्र भन्नाले कृषिको आधुनिकीकरण र साना तथा मझौला उद्योग कलकारखानाको स्थापना, विकास–विस्तार र गुणस्तरयुक्त बनाउने भन्ने हो । उत्पादनमूलक आर्थिक उत्पादन सम्बन्ध प्रत्येक नागरिकसँग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएको हुन्छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने अर्थतन्त्र निर्माणमा जोड दिनुपर्छ । आफ्नै योजनाअन्तर्गतको स्रोत, साधन, श्रम, सीप र जाँगरको आमपरिचालन विधिबाट प्राप्त उन्नत भौतिक परिवेश नै समृद्धि हो ।
सिद्धान्ततः समृद्धि कसैको दयामाया गरेर बकस प्राप्त दुई÷चारवटा मेघा–परियोजनाबाटै समाधन भइहाल्ने सवाल होइन । यसका लागि आफैँले नीति, योजना, उद्देश्य र गन्तव्य किटान गर्नैपर्छ । वैदेशिक अनुदानकै भरमा विश्वमा कहीँ पनि पूर्ण आकारको विकास भएको छैन ।
वस्तुतः सी चिनपिङको बहुप्रतीक्षित दुईदिने नेपाल भ्रमण ऐतिहासिक रह्यो । यो नेपाली राष्ट्रिय राजनीति, क्षेत्रीय अर्थ–राजनीति र विश्वरणनीतिक स्वार्थ सन्तुलनमा कोशेढुङ्गा हुने निश्चित देखिन्छ । यसले हस्तक्षेप र एकाधिकारलाई रक्षात्मक बनाउने सम्भावना देखिन्छ । पहिलो, यो लामो अन्तरालपछिको भ्रमण हो । दोस्रो, यो आर्थिक विकास र समृद्धिको गुरुत्वकेन्द्र वरिपरिबाटै निर्धारित भएको छ । तेस्रो, यसले विश्व रणनीतिक स्वार्थलाई सन्तुलन गर्ने पुलको काम गर्नेछ । विशेषतः भ्रमण सार्थक र फलदायी बनाउन सम्झौताहरूको कार्यान्वयन गर्नुपर्छ ।
विकास र समृद्धिका लागि हाम्रो प्राकृतिक स्रोत–साधन, जनशक्ति, श्रम, पसिना, सिर्जना, प्रविधि औजार र उपकरणहरूको उपयोग प्राथमिक सर्त हुन्छ । त्यसैले द्विपक्षीय भेटवार्तामा भएको सम्झौताद्वारा मात्र समृद्धिको सपना देख्नु बनिबनाउ चाहना र मगन्ते मानसिकतामात्र हुन्छ । समृद्ध नेपाल बनाउने नै हो भने कमिसन कुरेर, गफ चुटेर, आहार–विहारमा रमेर अनि खेलेर बस्ने अल्छे–तिघ्रे, स्वादे–जिब्रे र मोटे–भुँडे जनशक्तिलाई अभियानका रूपमा निश्चित श्रममा परिचालन गर्नैपर्छ । कामको सँस्कृति बसाल्नैपर्छ । तबमात्र अरूको भरमा समृद्धिको आत्मरति लिने गलत परम्पराको अन्त्य हुनेछ । नेपाल साँच्चै समृद्ध बन्नेछ ।
(लेखक राजनीतिकर्मी हुनुहुन्छ ।)