डा. टीकाराम पोखरेल
असल भ्रमण
नेपाल–चीनबीच मैत्रीपूर्ण मात्र होइन ऐतिहासिक सम्बन्ध छ । मञ्जुश्री, हु यान साङ, फासियान, बुद्धभद्र, भृकुटी र अरनिकोले गरेका ऐतिहासिक भ्रमणदेखि सबैभन्दा पछिल्ला चिनियाँ राष्ट्रपति सी चिनफिङसम्मका जति पनि नेपाल–चीनबीच राजनीतिक उच्चस्तरीय र जनस्तरमा भ्रमण भएका छन् ती सबै मैत्रीपूर्ण छन् । यसकारण नेपाल–चीनबीचको सम्बन्ध सामान्य र औपचारिकतामा मात्र सीमित हुँदैन, बरु भ्रमण सधैं सार्थक, सफल र असल बन्ने गरेको छ । जब असल मान्छेले असल मनसायका साथ भ्रमण गर्छ तब त्यो भ्रमण पनि सधैं असल नै हुने गर्छ ।
नेपाल भ्रमण गर्नु केही दिन अगाडि राष्ट्रपति सीले आफ्नो विशेष आलेखमार्फत चीन र नेपाल एक आपसमा सम्मान र विश्वास गर्ने असल मित्र हुन्, आपसी लाभ र हितका सहयोगका लागि असल साझेदार हुन्, एकअर्काबाट सिक्ने असल छिमेकी हुन् र एक अर्कालाई सहयोग गर्ने असल दाजुभाइ हुन् भनेबाट पनि राष्ट्रपति सी नेपालसँग असल सम्बन्ध चाहनुहुन्छ भन्ने कुरा प्रष्ट्याउँछ । नेपाल पनि सीले भनेजस्तै चीनसँग असल छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छ । असल–असल छिमेकी राष्ट्रबीच भएको भ्रमण आफैँमा असल हुन्छ र भयो ।
चीन र नेपाल भौगोलिक एवं आर्थिक दृष्टिले निकै ठूलो र सानो मुलुक भए पनि मित्रताको हिसाबले समान छन् । सीको यो भ्रमणबाट चीनले नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिएको सन्देश गएको छ । स्वदेशी तथा विदेशी मिडियाहरूले पनि यसलाई विवादरहित रूपमा प्रस्तुत गरेका छन् । राष्ट्रपति सीको नेपालमा सरकारी स्तरबाट मात्र नभएर जनस्तरमा समेत हार्दिकतापूर्ण स्वागत भयो । यो भ्रमणलाई सौहार्दपूर्ण र विवादरहित बनाउन सबै राजनीतिक दल एक ठाउँमा उभिए । भ्रमणताका भएका जे जति क्रियाकलाप छन्, ती सबै शिष्टता र भद्रताको कसीमा भएकाले आफैँमा भ्रमण असल र भद्र भ्रमण भएको छ ।
सफल भ्रमण
राष्ट्रपति सीको नेपाल भ्रमण जत्ति असल र भद्र भयो त्यत्तिकै उत्साहपूर्ण रह्यो । समकालीन चीनका सर्वोच्च नेताको भ्रमण नेपालमा हुनु नै नेपालका लागि आफैँमा महŒवपूर्ण छँदै थियो । त्यसमाथि राष्ट्रपति तहमा झण्डै २३ वर्षपछि भ्रमण हुनुले यो भ्रमणलाई नेपालले विशेष महŒव दिएको थियो । यसैगरी चीनले पनि यो भ्रमणलाई निकै महŒव दिएको पाइएको छ । नेपाल–चीनबीच उल्लेखनीय विषयहरूमा समझदारी हुनु यसको उदाहरण हो ।
नेपाल चीनबीचको ऐतिहासिक र मैत्री सम्बन्ध सीको भ्रमणले नयाँ चरणमा प्रवेश गरेको विश्लेषण राजनीतिक एवं बौद्धिक वृत्तमा गरिएको छ । नेपालको विकास र समृद्धिका लागि नेपाल चीनबीच नयाँ साझेदारीेको सम्बन्ध स्थापित हुन पुगको छ । चिनियाँ राष्ट्रपति सीले नेपालको विकासमा चीनको प्रतिबद्धता जाहेर गर्नुले चीनको नेपालको विकासप्रति विशेष चासो देखिएको छ । नेपाल र चीनबीचको साझा चासोकै कारण धेरैवटा ठोस योजनामा सम्झौता भएका छन् । आफूले प्रतिबद्धता गरेका योजना समयमै सम्पन्न गरेरै छाड्ने सीले भन्नुभएको छ । यसले गर्दा चिनियाँ सहयोगका परियोजनाहरू समयमै पूरा हुने अपेक्षा गरिएको छ ।
नेपालको वर्तमान सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अगाडि सारेको छ । नेपालको विकास र समृद्धिका लागि चीनले रणनीतिक साझेदारी गर्ने प्रतिबद्धता जनाएको छ । उत्तरी नाकाहरूको स्तरवृद्धि होस् वा सुरुङ मार्गको निर्माण किन नहोस् अथवा बहुचर्चित केरुङ–काठमाडौं रेलको डीपीआर तयार गर्ने विषय नै किन नहोस् नेपालको विकास र समृद्धिको यात्रामा चीनको महŒवपूर्ण सहयोग र समर्थन रहने प्रष्ट भएको छ । नेपालले लामो समयदेखि भूपरिवेष्टित भएका कारण आफूले विकासको फड्को मार्न नसकेको महसुस गर्दै आएको सन्दर्भमा नेपाल अब भूपरिवेष्टितबाट भूजडित हुने र त्यसमा चीनले सघाउने वचनबद्धता चीनबाट आएको छ । चिनियाँ समुद्रसम्म पहुँच विस्तार गरी नेपाललाई आफू भूपरिवेष्टित हुँ भन्ने धारणाबाट मुक्त हुन सीको सन्देश छ ।
नेपाल–चीनबीचको मित्रता समस्यारहित मित्रता हो । सीको सौहार्दपूर्ण यो भ्रमणले नेपाल चीनबीच कुनै पनि समस्या छैनन् मात्र हार्दिकता छ भन्ने कुराको पुनर्पुष्टि भएको छ । नेपालको एक चीन नीतिमा नेपालको पुनः प्रतिबद्धताबाट चीन पनि नेपालप्रति थप आश्वस्त भएको छ । नेपालको सुरक्षा व्यवस्थाप्रति पनि चीन विश्वस्त भएको छ ।
प्रतिफलदायी भ्रमण
नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्रको सूचीमा पुग्ने उद्देश्य राखेको छ । राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा जति पनि सम्झौता भए त्यसले नेपालका लागि यो भ्रमण फलदायी भएको देखिएको छ । चीनका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीको उपस्थितिमा सीमा व्यवस्थापन प्रणालीमा सम्झौता, सुशासन क्षमता विकासमा आदानप्रदान तथा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर, सगरमाथा संरक्षण सहकार्यसम्बन्धी समझदारी, नेपालको योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच उत्पादन क्षमतामा लगानी र सहकार्यमा मुख्य परियोजनाहरूको प्रवद्र्धनसम्बन्धी समझदारी, छेङ्दुमा नेपालको महावाणिज्य दूतावासको स्थापना गर्न ‘नोट’ आदानप्रदान, चीन–नेपाल सीमापारी रेलवे परियोजनासम्बन्धी समझदारीहरू भएका छन् ।
यसैगरी परम्परागत औषधीमा सहयोगसम्बन्धी समझदारी, विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन सहयोगसम्बन्धी समझदारी, नेपालको महान्यायाधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटरबीच सहकार्यको समझदारी भएका छन् । त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्झौता, अमिलो फलफूलको गुणस्तर मापनसम्बन्धी फाइटोसेनेटरी प्रोटोकल, व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारी, चीनको सहयोगमा नेपालमा भइरहेको भूकम्पपछिको पुनर्निर्माण परियोजनाको निरीक्षणको डेलिभरी एन्ड एक्सेप्टेन्स प्रमाणपत्र, लगानी सहकार्य कार्यदल गठनको समझदारी भएका छन् । सुरुङमार्ग निर्माण सहकार्यको समझदारी, सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरणसम्बन्धी पत्र आदानप्रदान, महानगरीय खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनजस्ता जे जति समझदारी भएका छन् ती नेपालका लागि अति महŒवका र प्रतिफलयुक्त भएका छन् । चिनियाँ सहयोग नेपालको विकासमा महŒवपूर्ण हिस्सा रहने देखिएको छ ।
राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको महसुस गरिएको छ । सीको भ्रमणसँगै दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको र भ्रमण ऐतिहासिक भएको छ । विगतमा पनि आपसी सम्बन्धमा समस्या नपरेका दुई देशबीचको मित्रतालाई परिवर्तित सन्दर्भमा भ्रमणबाट निरन्तरता दिने काम भएको राजनीतिक विश्लेषकहरूको धारणा छ ।
भ्रमणका अवसरमा राष्ट्रपति सीद्वारा व्यक्त सद्भाव, आत्मीयता र नेपालको विकासमा व्यक्त निरन्तर सहयोगको प्रतिबद्धताका कारण पनि नेपालका लागि यो भ्रमण असाधारण महŒवको भएको छ । समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सहयोग पु¥याउने भनी सीले प्रतिबद्धता जाहेर गर्नुले पनि नेपालको हरेक क्रियाकलापलाई चीनले एकदमै नजिकबाट नियालिरहेको पुष्टि हुन्छ । सी भ्रमणले नेपालको विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ । नेपाली जनताको विकासको चाहना पूरा गर्न चीन ठूलो सहयोगीका रूपमा अगाडि आएको छ । बहुपक्षीय समझदारी र सहयोगमा हस्ताक्षर भएबाट दुई छिमेकी मुलुक एकअर्काका असल मित्र भएको पुनर्पुष्टि हुन्छ । भ्रमणपश्चात् नेपालका नेताहरूले मात्र होइन सीले “म नेपालको आतिथ्यबाट आल्हादित भएँ” भनेबाट यो भ्रमणले नेपालको परम्परागत ‘अतिथिदेवो भव’ को संस्कारको व्यवहारमा पुष्टि भएको छ । समग्रमा यो भ्रमणले नेपाल लाभान्वित मात्र भएको छैन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको प्रतिष्ठा बढाएको छ ।
(लेखक राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक हुनुहुन्छ ।)