डा. साधना दाहाल
क्लिनिकल फार्मेसी अस्पतालमा प्रदान गरिने एक महŒवपूर्ण सेवा हो । यसले बिरामीलाई दिने उचित औषधिको प्रभावकारी तरिकाले प्रयोग कसरी गर्ने, धेरै औषधिसँगै दिँदा त्यसबाट हुन सक्ने अनपेक्षित प्रभावबाट कसरी बच्नेलगायत धेरै औषधिको मिश्रणबाट बिरामीलाई पर्न सक्ने असरका बारेमा पूर्वअन्वेषण तथा अनुसन्धान गर्छ । त्यसैगरी शरीरका महŒवपूर्ण भागहरूजस्ता कलेजो, मिर्गौला, विभिन्न अङ्गहरूको कमजोरीमा र बच्चा, वृद्ध, गर्भावस्थाजस्ता विशेष अवस्थामा औषधिको मात्रालाई समुचित ढङ्गले समायोजन गर्ने तथा बिरामीको आवश्यकताअनुरूप बनाउनेजस्ता कार्यहरू क्लिनिकल फार्मेसिस्टको जिम्मेवारीभित्र पर्छन् ।
क्लिनिकल फार्मेसीको अभ्यास विगत २० वर्षदेखि समृद्ध एवम् विकसित मुलुकहरूमा हुँदै आइरहेको छ । यो अभ्यासद्वारा औषधि प्रयोग गर्दा हुने त्रुटिमा कमी आएको छ भने अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्यामा पनि निकै कमी आएको छ भन्ने विज्ञहरूको विश्लेषण छ । यसो हुनुका कारणमा क्लिनिकल फार्मेसिस्टलाई औषधि उत्पादनको सबै तहका प्रक्रिया एवम् गुणस्तरको नियन्त्रणसम्बन्धी उच्च ज्ञान हुने भएकाले यिनले बिरामीलाई औषधिका बारेमा उचित जानकारी गराउन सक्छन् ।
अमेरिका, युरोप, जापानजस्ता विकसित मुलुकहरूमा क्लिनिकल फार्मेसिस्टहरू चिकित्सकसँगै अनुगमन (राउन्ड) मा सरिक हुन्छन्, बिरामीहरूको औषधि विवरण हेर्छन् र उनीहरू लामो समय लिएर बिरामीसँग अन्तरक्रिया गर्छन् । बिरामीले प्रयोग गरिरहेका औषधि र त्यसको प्रभावबारे क्लिनिकल फार्मेसिस्टले सूक्ष्म ढङ्गले मूल्याङ्कन गर्छन् । अनि बिरामीको अवस्था र आवश्यकता अनुसार औषधिको परिमाण थपघट गर्नुपरेमा वा औषधिको प्रतिस्थापन गर्नुपरेमा चिकित्सकसँग परामर्श गर्छन् ।
हाम्रो देशको सन्दर्भमा क्लिनिकल फार्मेसी विषयको अध्ययन गर्न विगत केही वर्षदेखि शिक्षा मन्त्रालयअन्तर्गत छात्रवृत्ति कोटामा नेपाली विद्यार्थी विभिन्न मुलुकमा जाने गरेका छन् । यस विषयको अध्ययनका निम्ति रोजाइका मुलुकमध्ये मूलतः पाकिस्तान र भारत छन् । यो विषयको अध्ययनका लागि विज्ञान विषय लिएर १२ कक्षा उत्तीर्ण गरेकालाई पाँच वर्षको अवधि लगाएर पाकिस्तानले अध्यापन गराउँछ र यो डिग्रीलाई भने फार्म डी. डक्टर इन फार्मेसी भनिन्छ । यही विषयलाई एक वर्ष थप इन्टर्नसिपका साथ भारतले अध्यापन गराउँछ । नेपालमा पनि काठमाडौँ विश्वविद्यालयले एउटा ‘ब्याच’ उत्पादन गरेको थियो । हाल यो विषय यहाँ सञ्चालनमा छैन ।
नेपालमा अझै पनि क्लिनिकल फार्मेसिस्ट भनेका को हुन् ? यिनीहरूको कार्यक्षेत्र के हो भन्ने विषयमा जनसमुदायसहित धेरै स्वास्थ्यकर्मीसमेत अनभिज्ञ छन् । विदेशबाट छात्रवृत्तिमार्फत उच्च शिक्षा आर्जन गरेर मुलुक फर्किएकालाई समेत यहाँ रोजगारीको सुविधा छैन । यहाँ राम्रो कामको अवसर नपाएर क्लिनिकल फार्मेसिस्टहरू अधिकतर विकसित मुलुक खासगरी अमेरिका पलायन भएका छन् । विकसित मुलुकमा लिइने लाइसेन्स परीक्षा उत्तीर्ण गरेर स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गरिरहेका छन् ।
नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा व्याख्या गरेको छ । त्यसैगरी, नेपाल अस्पताल फार्मेसी सेवा निर्देशिका–२०७२ ले अस्पताल शøयाका आधारमा एक सय शøयाभन्दा माथि एवम् ५१ देखि एक सय शøयासम्मका अस्पतालमा एउटा क्लिनिकल फार्मेसिस्ट तोकेको छ, जुन अत्यन्त न्यून छ । र, यही पनि कार्यान्वयनमा छैन । राखिएका क्लिनिकल फार्मेसिस्टलाई पनि उनीहरूको कार्यक्षेत्रका कुनै जिम्मेवारी दिइएको पाइँदैन ।
हामीकहाँ समुचित ढङ्गले औषधिको प्रयोग नहँुदा औषधिको अनपेक्षित असर देखिने गरेका छन् । यी समस्याहरू विकराल छन् । तर, यस्ता समस्याहरूको अहिलेसम्म पहिचान भएको छैन । गलत र धेरै औषधि प्रयोगबाट हुने चरम लापरबाहीले कैयौँ व्यक्तिको जीवन समाप्त भएको वा खतरामा रहेको छ भन्नेबारेमा आधिकारिक तथ्याङ्कसमेत छैन । विकसित मुलुकहरूमा झैँ हामी औषधिको प्रयोगबाट हुने त्रुटिमा कमी ल्याउन सक्छौँ र बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्छौँ । यसका लागि सम्बन्धित निकायले देशमा रहेका योग्य क्लिनिकल फार्मेसिस्टलाई सही ढङ्गबाट परिचालन गरेर प्रभावकारी स्वास्थ्य सेवा गर्नेतर्फ अविलम्ब पाइला सार्नुपर्ने देखिन्छ । सही औषधिको उचित प्रयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा त बिरामीले पाउँछन् नै, यसबाट अनावश्यक आर्थिक व्ययभारमा पनि कमी ल्याउन सकिन्छ ।
(लेखक प्राध्यापन सेवामा हुनुहुन्छ ।)