सन्दीप सापकोटा
मानव विकासको क्रममा मानिसहरू सभ्य र सचेत हुँदै आएपछि आफूहरू प्रकृतिबाट प्रभावित रहेको बोध भयो । प्रकृतिलाई बुझ्नका निमित्त समय हिसाबको आवश्यकतालाई बुझ्दै आए । यही हिसाबलाई तालिकाबद्ध गर्ने क्रममा घडी, पला, बार, नक्षत्र, दिन, महिना, वर्षको गणना हुँदै आए । यिनीहरूको एक चक्रलाई तालिकामा राखेर गणना गरिनेलाई संवत् (संवत्सर) भन्ने गरियो ।
पञ्चाङ्ग भन्नाले तिथि, बार, योग, नक्षत्र र करणको समष्टि रुप हो । वर्तमान परिप्रेक्ष्यमा नेपालमा समय गणना पद्धति मिलेको छैन । २४ दिन समय नमिलेको कुरा प्रत्यक्ष रुपमा नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट प्रकाशन भएका १३ वटा पञ्चाङ्गबाट नै थाहा पाउन सकिन्छ । विरोधाभाषी पञ्चाङ्ग प्रकाशन गरेर नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपाली जनता र नेपाल सरकारका ज्योतिष विषयमा जानकार नभएका उच्चपदस्थ अधिकारीहरूलाई नै अलमलमा राखेको छ ।
समय गणना चन्द्रमा र सूर्यको गतिलाई आधार मानेर गणना गरिन्छ । चन्द्रमाको गतिको आधारमा महिना गणना गरिनेलाई चान्द्रमास र सूर्यको आधारमा गणना हुनेलाई सौर्यमास भनिन्छ । नेपाली समाज विशेषतः सनातनीय धार्मिक समाज हो । मुसलमानहरूले मात्र चन्द्रमालाई मान्छन् र हिजारी संवत् मनाउँछन् । पाश्चात्यहरूले सूर्य मात्र मान्छन् र सौर्य इस्वी संवत् मान्छन् । तर हामी सनातनीय धर्मावलम्बीहरू सूर्य र चन्द्रमा दुवैलाई मान्छौँ । सूर्यका आधारमा सङ्क्रान्तिहरू मान्छौँ र चन्द्रका आधारमा तिथिका चाडपर्व मान्छौँ ।
गणित ज्योतिष अनुसार दिन गणनाको पृथ्वी आफ्नै मेरुदण्डमा घुम्ने गति हो । हप्ताको गणना चन्द्रमाको परिवर्तित रुपलाई लिएर राखिने हो । महिनाको गणना चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने समय हो भने वर्षको गणना पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गणना हो । दिनको गणना गर्दा २४ घण्टाको एक दिन गणना गर्न गरिन्छ । तर पृथ्वी र चन्द्रमाले ठीक २४ घण्टाभित्र आफ्नो परिक्रमा पूरा गर्दैन । चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न २९.५३०५९ दिन अर्थात २९ दिन १२ घण्टा ४४ मिनेट लिन्छ पृथ्वीले सूर्य परिक्रमा गर्दा ३६५.२४२१९९१ दिन अर्थात् ३६५ दिन पाँच घण्टा ४८ मिनेट ४६ सेकेण्ड लिन्छ । यसरी २४ घण्टाको एक दिनको गणना गर्दा सौर्यमासमा दिन गणना गर्नेहरूले चार वर्षमा एकपटक फेब्रुअरी महिनामा एकदिन बढी राखी २९ दिन गर्ने गर्छन् ।
त्यसरी नै चन्द्रमास अनुसार २४ घण्टाको एक दिन गणना गर्दा चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २९.५३ दिन लिने गर्छ । एक चन्द्रवर्षमा ३५४ दिनको हुन्छ । यसरी ११ दिनको कमी हुन जान्छ । यो दिनको कमीलाई समायोजन गर्नको निमित्त साढे दुई वर्षमा एकपटक अधिकमास राखी १३ महिनाको एक वर्ष हुन्छ । अधिकमास त्यस्तो चान्द्र महिना हो जहाँ सूर्यको सङ्क्रमण हुँदैन, त्यसैले धार्मिक कार्यहरू यो समयमा निषेध गरिएको छ ।
ज्योतिषशास्त्रमा दुई पद्धति प्रचलित छन्ः सायन र निरयण । सायन पद्धति भनेको अन्तरिक्षमा जे जुन अवस्थामा तारा नक्षत्र रहेका छन् त्यही अवस्थामा गणना गर्ने पद्धति हो । निरयण पद्धति भन्नाले चाडपर्वहरू मिलाउन अपनाइने गणना पद्धति हो । सायन र निरयणको अन्तर केवल एक पूर्णिमा क्षेत्र अर्थात् १५ दिनको अवधिसम्म मात्र मान्य हुने कुरा हाम्रा ज्योतिषका ग्रन्थहरूमा पनि उल्लेख छ ।
वैदिक धार्मिक वर्ष सूर्य मकररेखामा पुगेपछि वर्षारम्भ हुन्छ । सूर्यको कर्कटरेखा (उत्तरायण) बाट मकररेखासम्म जाने बेलालाई दक्षिणायन भनिन्छ । यतिखेर रात बढ्दै जान्छ र दिन घट्दै जान्छ । सूर्य डिसेम्बर २२ तारिखमा मकररेखामा हुन्छ । विगतका केही वर्षदेखि पुस ७ गते उक्त दिन पर्छ । यस दिनलाई नेपाल पञ्चाङ्ग निर्णयक समितिबाट प्रकाशन हुने पञ्चाङ्गमा मकरे दृश्यसूर्य भनेर सायन सङ्क्रान्ति उल्लेख छ । यही बेलामा सूर्यले मकर राशिमा सङ्क्रमण ग¥यो अर्थात् पुस ७ गते नै माघ १ गते भइसक्यो । तर पञ्चाङ्गमा माघ १ गते मकर संक्रान्ति जनाउने गरिएकोे छ । यसर्थ २४ दिनको फरक परिसकेको छ । पञ्चाङ्गमा पुस ७ गते (२२ डिसेम्बर मा) सूर्य मकररेखामा पुग्ने वैज्ञानिक कुरालाई नमानी माघ १ गते (जनवरी १५) मात्र सूर्य मकररेखामा पुग्ने कुरा मानी माघ १ गते मात्र उत्तरायण लाग्ने कुरा मानिने गरेको देखिएको छ जुन न त विज्ञानसम्मत छ न त शास्त्रसम्मत नै छ । त्यसले प्रचलित पञ्चाङ्ग पत्र प्राकृतिक वस्तुस्थितिसित नमिल्ने र अवैज्ञानिक हुन पुगेको छ ।
एक पूर्णिमा क्षेत्र अर्थात् १५ दिनमा मात्र सीमित हुनुपर्ने अन्तर अहिले नाघेर २४ दिनमा सरिसक्दा पनि सम्बन्धित निकायको ध्यान नजानु लज्जास्पद कुरा हो । समय–शुद्धिका लागि अब अधिकमास पर्ने वर्षमा एक महिना वर नजिकको पूर्णिमा क्षेत्रसँग मिलान गर्नु आजको आवश्यकता हो ।
वैज्ञानिक एवं शास्त्रीय मान्यता अनुसार अयन चलनले हाल एक दिनमा ३.३३ सेकेण्ड, वर्षमा २० मिनेट, ७२ वर्षमा एक दिन र दुई हजार १५० वर्षमा एक महिना ऋतु सर्ने सायन पद्धतिले ऋतुलाई २४ दिन अगाडि सारिसकेको छ भने अर्कोतिर एक सिङ्गो चान्द्र महिना नै सरिसकेको छ । जसले गर्दा सौर्य, चान्द्र आर्तव मितिहरूको समन्वयमा नराम्ररी असन्तुलन ल्याइसकेको छ । काठमाडौँ उपत्यकामा नेवार समुदायहरूले आजभन्दा चार सय वर्षभन्दा अघि योमरी पुन्हि (मङ्सिर पूर्णिमा) र ज्याः पुन्हि (असार पूर्णिमा) लाई समायोजन गरेर एक महिना वर नै सारिसकेको इतिहास छ । पूर्ववैदिककालमा पनि ऋषिमुनिहरूले नववर्षलाई कृत्तिका नक्षत्रबाट अश्विनीमा चाक्षुषबाट वैवस्वत मन्वन्तर (महिना)मा सारेका थिए । अब हामीले वैवस्वतको कृत्तिकालाई सुधार गरेर पूर्वभाद्रपदमा सारेर सावर्णी मन्वन्तरमा सारेपछि मात्र समय सुधार हुन्छ ।
नेपाल सरकारबाट भएका प्रयास
नेपालले २०६३ सालमा तत्कालीन संस्कृति सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरी ज्योतिष विज्ञहरूको एक कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले २०६४ सालमा नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गरी एक महिना वर तानेर सुधार गर्नुपर्ने निष्कर्ष प्रमाणित गरेको थियो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिमण्डलले २०६५ पुस १६ गते वि.सं. २०६६ को सौर चैत्र महिनालाई हटाएर सोको सट्टा २०६७ वैशाख कायम गर्ने र वि.सं. २०६७ मा वैशाखमा पर्ने अधिकमासलाई साधारण महिना मानेर एक महिना वर तान्ने निर्णय गरेको थियो । तत्कालीन अवस्थामा संविधान लेखन भइनसकेकाले तत्कार्यलाई थाती राखी संविधान लेखनपछि कार्यान्वयन गर्ने काम भयो । तर आजसम्म यो प्रक्रिया जस्ताको तस्तै छ । यसमा नेपाल सरकारको पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिले भने सशक्त भूमिका निर्वाह गरिरहेको छ । यसर्थ शुद्ध समयमा चाडपर्व मनाउन एक महिना वर तानेर वैज्ञानिक प्राकृतिक विधि अपनाउनु अपरिहार्य छ ।
(लेखक पर्वसमय सुधार अभियन्ता हुनुहुन्छ ।)