logo
२०८१ मंसिर १० सोमवार



पर्यटनमा गुणस्तर

विचार/दृष्टिकोण |




निनाम कुलुङ ‘मङ्गले’

विश्वका प्रायः सबै मुलुकले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिइसकेको अवस्था छ । नेपालले भने अहिलेसम्म औपचारिक रूपमा यो विषयमा निर्णय गरिसकेको छैन । केही वर्षअघि सरकारले पर्यटनलाई प्राथमिकता प्राप्त उद्योग÷क्षेत्र भनी घोषणा गरिसकेको पनि हो । तर, हालसम्म नेपाल सरकारले सोअनुसार केही काम नगरेको भनी पर्यटन व्यवसायीहरूको दुःखेसो छ । पर्यटनसम्बन्धी नीति, नियम, ऐन, कानुन, नियमावली परिमार्जन गर्ने र नयाँ बनाउने तथा पर्यटन व्यवसायीहरूलाई आयकर, भन्सार, भ्याटलगायत अन्य करहरूमा छुट र सहुलियत दिने नीति लिएको देखिँदैन ।
विश्वका अधिकांश मुलुकका पर्यटन व्यवसायी र सरकारका लागि कम लगानी र लगभग शून्य जोखिममा राम्रो आम्दानी सकिने उद्योगका रूपमा लिने गरिन्छ, पर्यटन उद्योगलाई । विश्वमा औपचारिक रूपमा पर्यटन व्यवसाय सुरु भएको पनि लगभग एक सय ८० वर्ष भइसकेको छ । विश्वमा पर्यटन व्यवसाय औपचारिक रूपमा सुरु भएको सन् १८४१ मा हो । सो वर्ष बेलायती नागरिक थोमस कुक (उनको नाममा खुलेको ट्राभल कम्पनी हालै टाट पल्टेको घोषणा भएको छ) ले व्यवस्थित र सङ्गठित रूपका साथै निश्चित रकम लिएर आफ्नै देशका नागरिकलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । निश्चय नै त्यसअघि पनि विश्वका अनेक मान्छेले अनेकखालका भ्रमणहरू गर्थे । तर, ती मान्छेले गर्ने भ्रमणहरू फरक–फरक उद्देश्य लिएर हुने गथ्र्यो ।
बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै पहिलो पर्यटकीय टोली मानियो । किनभने उनले सुरुमा बेलायतका पर्यटकहरूलाई आफ्नै मुलुकको विभिन्न ठाउँको भ्रमण गराएर आन्तरिक पर्यटनका रूपमा भ्रमण व्यवसायको सुरुवात गरे । यसको (बिदा मनाउने उद्देश्यले घुमघाम गर्ने) पर्यटकीयबाहेक अरू कुनै उद्देश्य थिएन । यसरी कुनै नाफा वा व्यक्तिगत स्वार्थ नलिई गराएको भ्रमण भएकाले उक्त भ्रमण टोलीलाई ‘पर्यटकीय टोली’ मानियो । स्वदेशकै आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरे । सोही कारणले गर्दा थोमस कुकलाई पर्यटन क्षेत्रको पिता नै मान्ने गरिएको छ ।
दीर्घकालीन योजनाविना नै भ्रमण व्यवसाय सुरु गरेकाले कुकले नाफा होइन, घाटा खाए । यसरी घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ र ? अतः कुकले यसबाट पाठ सिकेर फेरि कमिसनका आधारमा ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसायको सुरुवात गरे । सुरुमा कुकले लागत खर्चबाहेक पाँच प्रतिशत (खुद नाफा) कमिसन खान्थे । यसरी कुकले सन् १८४५ मा फेरि कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेन ।
आन्तरिक रूपमा सुरु गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि कुकले सन् १८७२ मा दसजना बेलायती नागरिकलाई लिएर पर्यटकीय उद्देश्यसाथ विश्वका विभिन्न देशहरूमा भ्रमण गर्न निस्किए । त्यसयता विश्वका अधिकांश मुलुकका खर्बौं मानिसले विश्वका अधिकांश मुलुकमा पर्यटकीय उद्देश्यसाथ भ्रमण गरेका छन् ।
नेपालको पर्यटन विदेशीहरूबाटै सुरु भएको स्वीकार्नुपर्ने हुन्छ । पहिले कानुनी रूपमै विदेशीहरूलाई नेपाल आउन÷घुम्न बन्देज लगाइएको थियो । तीसवर्षे पञ्चायतीकालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनुपर्ने हो, त्यति भएन । सन् १९८९÷९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकले पनि बल्ल लाखको सङ्ख्या नाघ्न थाल्यो । यसरी सन् १९८९÷९० मा नेपालमा आएको प्रजातन्त्रसँगै पर्यटनले पनि केही बढी महŒव पाएको मान्न सकिन्छ । यसबीचमा प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटनका लागि सरकारी तवरबाट खासै गर्व गर्न लायक काम गरेन, सिवाय हिमाल आरोहीबाट सक्दो सलामी दस्तुर लिने, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (¥याफ्टिङ) मा जाने पर्यटकहरूलाई अनुमति दिएबापत उनीहरूबाट मनग्गे शुल्क असुल्ने, निषेधित क्षेत्रबाट त झनै महँगो शुल्क लिने गरेको छ । त्योबाहेक सरकारले केही गरेको छैन त ? स्वाभाविक प्रश्न उठ्छ । हो, पर्यटन क्षेत्रमा सरकारले गरेको काम गर्वसाथ भन्न सक्ने र बाहिरबाटै देखिने ‘पर्यटन बोर्ड’को गठनलाई लिन सकिन्छ ।
२०६२÷०६३ को तेस्रो जनआन्दोलनपछि नेपाल आउने विदेशी पर्यटक लगातार बढिरहेको भए पनि ती पर्यटकहरूले नेपालमा गर्ने दैनिक खर्च र बसाइ बढ्नुको सट्टा घट्दै गएको देखिन्छ । त्यसैले पर्यटकहरूको सङ्ख्या मात्रै होइन, उनीहरूले प्रतिव्यक्ति गर्ने दैनिक खर्च र प्रतिव्यक्ति दैनिक नेपाल बसाइमा पनि कसरी बढोत्तरी ल्याउने ? यसतर्फ पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । हालसम्मको अवस्था हेर्दा नेपाल आउने विदेशी पर्यटकहरूको औसत दैनिक बसाइ हेर्दा १२.७ दिन (लगभग १३ दिन) मात्रै रहेको देखिन्छ । सन् २०१५ मा आएको प्राकृतिक विपत्ति (भूकम्प) र भारतको अघोषित नाकाबन्दीले गर्दा सो वर्ष सन् २०१४ को तुलनामा ३२ प्रतिशतले कमी भयो । २०१४ मा सात लाख ९० हजार एक सय १८ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१५ मा पाँच लाख ३८ हजार नौ सय ७० जना विदेशीले मात्रै नेपाल भ्रमण गरेका थिए ।
तर, सन् २०१५ को भूकम्प र भारतीय नाकाबन्दीपछिको वर्षहरूमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको सङ्ख्या लगातार बढिरहेको छ । जस्तै सन् २०१६ मा सात लाख ५३ हजार दुईजना, सन् २०१७ मा नौ लाख ४० हजार दुई सय १८ जना, सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरे । यहीक्रममा नेपाल आउने विदेशी पर्यटकहरूको सङ्ख्या बढेमा सन् २०१९ मा १२ लाख ५०÷६० हजारदेखि १२ लाख ८०÷९० हजार पुग्ने अनुमान गर्न सकिन्छ । किनभने हालै नेपाल पर्यटन बोर्डले प्रकाशित गरेको एक तथ्याङ्कअनुसार सन् २०१८ को आठ महिनाको तुलनामा सन् २०१९ को आठ महिनामा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या झिनो अङ्कले मात्रै बढेको छ ।
सर्सर्ती हेर्दा पर्यटकहरूको सङ्ख्या लगातार बढ्दोक्रममै देखिन्छ । तर, उनीहरूले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने हालसम्म पनि खासै बढेको देखिँदैन । एक तथ्याङ्कअनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूले गर्ने (प्रतिदिन, प्रतिव्यक्ति) दैनिक खर्च सन् २०१७ को तुलनामा सन् २०१८ लगभग १८ प्रतिशतले घटेको थियो । स्मरणीय छ, सन् २०१७ मा नेपाल आएका विदेशी पर्यटकले औसत (प्रतिदिन, प्रतिपर्यटक) मा नेपाल बसाइक्रममा ५५ अमेरिकी डलर खर्च गरेका थिए भने सन् २०१८ मा एकजना विदेशी पर्यटक (प्रतिदिन, प्रतिव्यक्ति) ले औसतमा दैनिक ४४ अमेरिकी डलरमात्रै खर्च गरेको देखिन्छ । त्यसैले हामीले ४०औँ विश्व पर्यटन दिवसको अवसरमा तय गरिएको नारा ‘टुरिज्म एन्ड जब्स ः अ बेटर फ्युचर फर अल’– पर्यटन र रोजगार ः सबैका लागि अझै राम्रो भविष्य) का साथै ‘क्वालिटी टुरिज्म, क्वालिटी सर्भिस’ (गुणस्तरीय पर्यटन ः गुणस्तरीय सेवा) भन्ने नारा पनि सँगसँगै ल्याएर व्यवहारमा लागू गर्ने प्रयास गनुपर्ने देखिन्छ ।

(लेखक पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?