रमाकान्त शर्मा
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेका पछिल्ला परीक्षणका नतिजाहरूले शिक्षाको गुणस्तर खस्कँदै गएको देखाएका छन् । माध्यमिक तहसम्मको शिक्षामा सार्वजनिक संस्थाहरूले दिने शिक्षाभन्दा निजी शिक्षण संस्थाले दिने शिक्षा तुलनात्मक रूपमा गुणस्तरीय देखिएको छ । निजी शिक्षण संस्थाले दिने शिक्षाको गुणस्तर पनि विगतको भन्दा खस्केको देखिएको छ ।
शैक्षिक गुणस्तर भन्ने कुरा नाप्न पनि कठिन छ । सामान्य तथा विद्यार्थीले विभिन्न परीक्षामा प्राप्त गर्ने सफलता तथा अङ्कलाई गुणस्तर भन्ने गरिन्छ । शिक्षाको गुणस्तरलाई परीक्षामा प्राप्त गरेको अङ्कमा सीमित गर्न सकिँदैन । परीक्षामा अङ्क कम ल्याए पनि शिक्षणसंस्थामा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्न सक्छ, व्यावहारिक जीवनमा सिर्जनशील बन्छ, जागिरका लागि दिने परीक्षा, माथिल्लो शिक्षाका लागि हुने प्रवेश परीक्षाहरूमा सफलता प्राप्त गर्न सक्छ, माथिल्लो तहको शिक्षा आर्जन गर्ने क्रममा तल्लो तहको शिक्षाले सहयोग गरेको महसुस गर्छ भने त्यस्तो शिक्षालाई गुणस्तरीय भन्न सकिन्छ ।
सार्वजनिक शिक्षा तथा सामुदायिक विद्यालयहरू, सरकारको अनुदान प्राप्त गर्ने क्याम्पस र कलेजहरूले दिने शिक्षा परीक्षामा प्राप्त गर्ने अङ्कको आधारमा मात्र होइन, अन्य विभिन्न आधारमा समेत कमसल खालको छ भन्ने कुरा विभिन्न अध्ययन र अनुभवले देखाएका छन् । सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि तथा सबलीकरण चुनौतीको रूपमा छ ।
निजी विद्यालयको फैलावटभन्दा पहिला सबै किसिमका अभिभावकका बालबालिकाले सामुदायिक विद्यालयमा पढ्थे । सबै किसिमका बालबालिकाले पढ्ने हुनाले विद्यालयहरूमा विविधता समेटिएका समावेशी खालका पनि थिए । २०४८ पछि निजी विद्यालयको सङ्ख्या वृद्धि भयो । सम्पन्न र विपन्नका बालबालिकाले पाउने शिक्षामा भिन्नताको सुरुवात भयो । शिक्षाले समाजमा समानता स्थापना गर्नुपर्नेमा शिक्षाले नै वर्ग विभाजन गरिदियो । सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको परिवारमा शिक्षित अभिभावकको कमी, पुस्तकलगायत आवश्यक शैक्षिक सामाग्रीको कमी, विद्यालय नियमिततामा कमी, पोषणको कमी जस्ता कारणले सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक उपलब्धि संस्थागत तथा निजी विद्यालयका विद्यार्थीको तुलनामा कमजोर सावित भयो । सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने तथा सबलीकरण गर्ने हो भने समस्याका जराहरू पत्ता लगाई सुधारको थालनी गर्नुपर्ने आवश्यकता छ ।
विद्यालयमा बालबालिकाले प्राप्त गर्ने उपलब्धि विद्यालयको पठनपाठनमा मात्र भर पर्दैन । बालबालिका विद्यालयमा आउनुभन्दा पहिला सिकाइका लागि कति तयार भएका छन् त्यसले समेत प्रभाव पार्दछ । बालबालिकाको शिक्षाको तयारी सुनौलो हजार दिनदेखि सुरुवात हुन्छ । विद्यालय पूर्वको तयारीका लागि गर्भवती अवस्थामा आमालाई प्राप्त पोषणयुक्त खाना, स्वास्थ्य उपचार, सुत्केरी गराउने उपयुक्त तरिका, सुत्केरी आमाको स्याहारसुसार, शिशु जन्मेपछिको रेखदेखसमेतले विद्यालयको शिक्षामा प्रभाव पार्ने कुरा अध्ययनले देखाएका छन् । विद्यालयले पूर्व बालशिक्षा, बालविकास केन्द्रलाई व्यवस्थित बनाउन सक्छ । पूर्व बालशिक्षा तथा बालविकास केन्द्रहरूका लागि उपयुक्त कक्षाकोठा, उपयुक्त बाहिरी वातावरण, कक्षाकोठामा साना बालबालिकालाई पर्याप्त खेल्ने सामग्रीको व्यवस्था, तालिमप्राप्त शिक्षक, पोषणतत्वयुक्त दिवा खाजाको व्यवस्था हुनसकेमा गुणस्तरीय सिकाइका लागि जग तयार हुन्छ ।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू प्रायः पिछडिएको समाजको, निरक्षर र आधारभूत तहको समेत शिक्षा नपाएका अभिभावकका बालबालिका हुने गरेको कुरा पनि अध्ययनले देखाएका छन् । अभिभावकले बालबालिकालाई उपयुक्त पोषणको व्यवस्था गर्न र घरमा सिक्नका लागि उपयुक्त वातावरण मिलाउन नसकेमा विद्यालयमा बालबालिकाले राम्रो गर्ने सम्भावना हँुदैन । बालबालिकालाई शिक्षाप्रति सचेत पार्न अभिभावक शिक्षा सञ्चालन गर्न सकेमा त्यस्ता अभिभावकले समेत घरमा सहयोग गर्न सक्छन् । विगतमा अभिभावक शिक्षा भनेर केही प्रयास गरिएको पनि हो तर नाममात्रका अभिभावक शिक्षा प्रभावकारी हुन सकेका छैनन् । घरको वातावरण सिकाइलाई सहयोगी बनाउन अभिभावक शिक्षाबाहेक अन्य कुनै उपयुक्त तरिका हुन सक्दैन । अभिभावक शिक्षा व्यापक र प्रभावकारी पार्न सकेमा पनि सार्वजनिक शिक्षाको गुणस्तर सुधारको थालनी हुनसक्छ ।
सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावक प्रायः आर्थिक अवस्था कमजोर भएका, श्रमिक र काममा व्यस्त हुनुपर्ने बाध्यता भएका छन् । प्रायः विद्यार्थीका अभिभावक घरमा खाना र खाजा समयमा पाउँदैनन् । बालबालिका बिहानको खानासमेत नखाई विद्यालयमा आउने गरेको समेत देखिन्छ । खाजा र खानामा पोषणको मात्रा पनि कमी छ । सरकारको लगानीमा विद्यालय प्रवेशदेखि आधारभूत तह तथा कक्षा ८ सम्म विद्यालयमा पोषणयुक्त खाजाको व्यवस्था गर्न सकेमा विद्यार्थीको नियमितता पनि बढ्ने, बालबालिकको स्वास्थ्यमा पनि सुधार हुने सम्भावना रहन्छ । भोकै पढ्नुपर्ने अवस्थाको अन्त्य हुन्छ, विद्यालयमा नियमितता दर पनि बढ्छ, स्वास्थ्य पनि राम्रो हुन्छ । यी कुराले बालबालिकाको सिकाइमा राम्रो प्रभाव पार्न सहयोग गर्छ । नियमित पोषणयुक्त, सफा र ताजा खाजाले पनि सार्वजनिक शिक्षाको अवस्थामा सुधार ल्याउन कोशेढुङ्गाको काम गर्न सक्छ ।
सामुदायिक विद्यालयमा शिक्षक योग्यता र क्षमताको कमीले भन्दा पनि मेहनत गर्न, थप समय काममा खट्न उत्प्रेरणाको कमीले शिक्षण सिकाइमा सक्रिय नभएको देखिन्छ । शिक्षक नियुक्ति गर्दा योग्य र सक्षम छनोट गर्नु त छँदैछ त्योभन्दा पनि महŒवपूर्ण कुरा शिक्षकलाई कसरी उत्प्रेरित गर्ने भन्ने हो । हाम्रो अहिलेसम्मको पुरस्कार प्रणाली मिहिनेती, इमानदार भएर निरन्तर आफ्नो काममा लाग्नेलाई उत्प्रेरित गर्न सक्ने खालको छैन । काममा मरिमेटेर लाग्ने शिक्षकले पनि केही पाउँदैन, कामचोर, ठग, विद्यालयमा अनुपस्थित भएको दिनको पनि हाजिरी गर्ने शिक्षक पनि दण्डित हुनुपर्दैन ! सार्वजनिक शिक्षालाई सबल पार्न राम्रो काम गर्ने, थप समय, बिना सहुलियत काममा खट्ने, इमानदार शिक्षकलाई छानी छानी पुरस्कृत गर्नुपर्छ । आफ्नो कामलाई महŒव नदिने, विद्यार्थीको भविष्यप्रति खेलवाड गर्ने शिक्षकलाई कारबाही गरिनुपर्छ । अध्ययनहरूले बढी उमेर भएका शिक्षकले पढाएका भन्दा कम उमेर तथा युवा शिक्षकले पढाएका विद्यार्थीले राम्रो उपलब्धि प्राप्त गरेको देखाएका छन् । हाम्रा विद्यालयमा उमेर ढाँटेर वास्तविक उमेर ६० वर्षभन्दा बढी भएका शिक्षकहरू पनि धेरै छन् । उत्साह सकिएका, उमेर पुगेका शिक्षकलाई अवकाशका लागि मौका दिने वा एकपटकलाई अवकाशको उमेर ५८ वर्ष कायम गर्न सकेमा शिक्षकमा नयाँ पुस्ताले मौका पाउनेछन् र शिक्षाको गुणस्तरमा पनि सुधार हुन सहयोग पुग्नेछ ।
सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुनुको महŒवपूर्ण कारण विद्यालयमा पढाइ हुने दिन, समय र घण्टा कम हुनु हो । सामुदायिक विद्यालयहरू मात्र होइन सार्वजनिक कलेजहरू पनि विभिन्न बहानामा धेरै दिन बन्द हुन्छन् । स्थानीय बिदा स्थान विशेषका विशेष चाडबाड परिस्थितिमा गर्नैपर्ने बाध्यता हुन्छ । सामुदायिक विद्यालय र कलेहरूमा स्थानीय बिदा धेरै भएको पाइन्छ । शिक्षकको व्यक्तिगत फाइदाको र कामका लागि पनि विद्यालय बन्द र बिदा हुने गरेका पनि छन् । सार्वजनिक बिदाका दिनमा र स्थानीय सरकारले गरेका बिदामा बाहेक विद्यालयहरू निर्बाध रूपमा सञ्चालन हुने बन्द तथा बिदा गर्न नपाइने सुनिश्चित गरिनुपर्छ ।
विद्यालयको भौतिक पूर्वाधार, शौचालय, पिउने पानीको व्यवस्था, पुस्तकालयको व्यवस्था, प्रयोगशाला जस्ता कुराहरू पनि शिक्षण सिकाइ सुधारका लागि महŒवपूर्ण हुन्छन् । २१ औँ शताब्दीका बालबालिकालाई सूचना प्रविधिको पहुँच पु¥याउन, शिक्षकलाई स्वाध्ययन गर्ने मौका सिर्जना गर्न, शिक्षण सिकाइलाई प्रभावकारी पार्न विद्यालयमा इन्टरनेटको व्यवस्था गरी शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग बढाइनु पनि अपरिहार्य छ । विद्यालय सुशासनलाई प्रभावकारी पार्ने र सार्वजनिक शिक्षाका लागि छुट्याएको बजेट सदुपयोग भएको सुनिश्चित गर्नु पनि त्यत्तिकै आवश्यक छ । यस्तै सानातिना कुरामा ध्यान दिन सकेमा सार्वजनिक शिक्षाको स्तर सुधार हुनसक्छ । अन्यथा सार्वजनिक शिक्षाको सबलीकरण भन्ने कुरा नारामा मात्र सीमित हुन्छ ।
(लेखक शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख हुनुहुन्छ ।)