logo
२०८१ मंसिर १० सोमवार



अध्ययनहीनताले जन्माएको भद्रगोल

विचार/दृष्टिकोण |




प्रदीप नेपाल

दशैँ सकियो । तिहार आउन लाग्यो ।
हाम्रा धेरै अन्धविश्वासहरूमध्ये दशैँ पनि एउटा हो । यसलाई नेपाली संस्कृति पनि भनिन्छ । तर अन्धविश्वास संस्कृति हुन सक्दैन । संस्कृति जोगाउने भनेको अन्धविश्वासको शिकार होइन, संस्कृतिको सार खिचेर मनाइने पर्व हो । पछिल्ला धेरै अध्ययनले पुष्टि गरिसकेका छन्– राम–रावण युुद्ध दक्षिण एसियामा भएको होइन । राम र रावणबीचको युद्ध आर्य र अनार्यबीचको युद्ध पनि होइन, किनभने रावण अनार्य होइनन् । उनी पनि आर्य नै हुन् । यो कुरो त रामायणमै छ । मर्ने बेलामा रावणले भनेका छन् – हे राम, म ब्राह्मण, तिमी क्षत्रीय तर पनि तिमीले मलाई पराजित ग¥यौ ।’ अर्थात् रावण चाहिँ महाफटाहा होइन भन्ने कुरा रामायण आफैँले भनेको छ । रावणलाई ध्यानी तपस्वी थिए भन्ने त रामायणमै वर्णित छ । त्यसबाहेक यो युद्ध भारतमा हुँदै नभएको भनेर स्वयं भारतीय विद्वानहरूले भनेका छन् । यो युद्ध भूमध्यसागरको तटमा कतै भएको थियो । तर पनि हामी हाम्रो दशैँलाई राम–रावण युद्धसँग जोड्छौँ र नारा लगाउँछौं– अन्यायमाथि न्यायको जित ! तर रामायण मात्रै पढ्दा कतै पनि रावणले कसैमाथि कुनै अन्याय गरेको देखिँदैन । बरु रामले पतिव्रता सीतामाथि पटक पटक हिंसा गरेका थिए ।
अहिले भारतका विद्वानहरूमा एउटा बहस चलेको छ – बुद्ध कुन धर्मका थिए ? अर्थात् दक्षिण एसियामा बुद्धभन्दा अगाडि कुनै धर्म
थिएन ? त्यसैले बुद्ध धर्म नै दक्षिण एसियाको सबैभन्दा पुरानो धर्म हो । उनीहरूले ठूलठूला हिन्दु मन्दिरको उत्खनन गर्ने क्रममा सबै मन्दिरको जगमा बौद्ध अवशेष भेटेका छन् । कतिपय ठाउँमा हिन्दु मन्दिरलाई मुस्लिम मस्जिदले जग बनाएका छन् । उनीहरूको निष्कर्ष यस्तो निस्किएको छ– धर्मको उदय भएपछि, सारा भारतवर्षमा बुद्ध धर्म पैmलिएको थियो, त्यसलाई हिन्दु धर्मले थिचेर सिध्याउने कोशिस ग¥यो तर हिन्दु धर्मलाई पनि पछि मुस्लिम धर्मले थिच्यो । पछिल्लो चरणमा पश्चिमबाट आएको इसाई धर्मले प्राचीन भारतको धर्म र संस्कृतिलाई स्वाहा बनायो ।
यो कुनै विशेषज्ञको निष्कर्ष हो भन्ने मेरो भनाइ होइन । तर बहस त शुरु भयो नि ! यति मात्र होइन, भारतमा अयोध्या नै थिएन । जसलाई अहिले अयोध्या भनिन्छ, यथार्थमा त्यो साकेत हो । यो पनि भारतकै पछिल्ला विद्वानहरूको भनाइ हो ।
‘आर्य भनेका हिन्दु हुन् । हिन्दु बाहिरबाट आएका हुन् । त्यसैले दशैँ नेपालीको होइन, जनजातिको होइन, दशैँ खसआर्यको हो । जनजातिले दशैँ बहिष्कार गर्नुपर्छ ।’ पछिल्लो समयमा यो हल्ला खुबै चल्यो । मात्रा घटे पनि अहिलेसम्म यो हल्लाले बजार पाएकै छ । यो हल्लालाई मैले अज्ञान भनेको छु । यो अज्ञानताका तीन पत्र छन् । पहिलो हो– जनजाति । को जनजाति हो ? हावामा भाषण गरेर प्राज्ञिक निष्कर्ष निस्कँदैन । त्यसका लागि गम्भीर अध्ययन, अनुसन्धान चाहिन्छ । जनजाति भनेको समकालीन समाजभन्दा कमजोर राजनीतिक, सामाजिक, आर्थिक, अवस्था भएको समुदाय हुन्छ । जनजातिभित्र वर्णाश्रम व्यवस्था हुँदैन । वर्णाश्रम व्यवस्था नेपालका बाहुन, क्षेत्रीहरूमा छ । परम्परागत रूपमा तिनलाई तागाधारी जात भनिँदै आएको छ । तर वर्णाश्रम व्यवस्था त नेवार समुदायमा पनि छ । नेवार बाहुन छन्, नेवार दलित पनि छन् । नेवारको काँधमा पनि जनै देखिएको छ । वर्ण व्यवस्था दलित समुदायमा पनि छ । विश्वकर्मा उच्च मानिन्छ भने विश्वकर्मा बाहेकका दलितहरू विश्वकर्माभन्दा तल्लो तहका मानिन्छन् । त्यसैले भूमिगतकालमा काठमाडौँमा काम गर्दा हामी आश्रयदाता साथीहरूलाई काठमाडौँ नगरपञ्चायतको १९ नं. को दलित बस्तीमा डेरा लिन लगाउँथ्यौँ । मेरो त बिहे नै त्यहीँ भएको थियो । उतिबेला जातिभेदले जर्जर बनाएको त्यो दलित बस्तीमा काठमाडौँका सवर्णहरूको उति साह्रो भिंडैचो हुँदैनथ्यो ।
तथ्य यही हो । यस्तो तथ्यलाई अस्वीकार गरेर सिङ्गो नेवार समुदायलाई कसरी जनजातिको श्रेणीमा राख्न सकिन्छ ? हो नेवार समुदायमा आदिवासी चाहिँ छन् । कृषिकर्ममा लागेका ज्यापूहरू चाहिँ आदिवासी नै हुन् ।
अर्को भ्रम हो– खस आर्यको । इतिहासले यसलाई प्रमाणित गर्दैन । किनभने खसहरूको नेपाल आगमन साढे पाँच हजार वर्ष अघि भएको हो । ककेसिया क्षेत्रबाट आएका कसहरू नै नेपालमा आइपुग्दा खस भएका हुन् । उनीहरू बर्बर सामाजिक अवस्थामा यतातिर आएका हुन् । उनीहरूका कुनै भगवान् भगवती थिएनन् । उनीहरूको कुनै धर्म थिएन । आर्यहरू भने अहिलेको इरान, इराकबाट सिन्धु नाका पार गरेर मैदानतिर झरेका हुन् । तिनीहरू ‘स’ लाई ‘ह’ बोल्थे । तिनै आर्यहरूले सिन्धु नदीवारिको भूभागलाई ‘हिन्दु’ नाम दिएका हुन् । पछिल्लो समयमा यो फराकिलो भूभाग हिन्दुस्तान भयो । त्यसैले बेलायती साम्राज्यवादले आफ्नो उपनिवेशको एउटा भूखण्डलाई टुक्य्राएर हिन्दुस्तान र पाकिस्तान बनाएर झगडाको बीउ रोपिदिएको थियो । अहिले पनि दक्षिण एसियाको अशान्तिको जडमा यिनै दुईटा ‘तान’ हरू रहेका छन् ।
यसकारण खस र आर्यबीच कुनै सम्बन्ध छैन । खस विधर्मी हुन् भने आर्य ‘तेत्तीसकोटी’ काल्पनिक भगवान्का सन्तान हुन् । तपाईं कल्पना गर्नुुस् जातपात नमान्ने, भगवान् नमान्ने, घुमन्ते युगमा, टर्कीका पाखाहरू पार गरेर, मानसरोवरको परिक्रमा गरेर जुम्ला झरेका खस र इरान र इराकको मैदानबाट युद्ध गर्दै सिन्धु नदीको किनार आएर बास बसेका आर्यहरू कसरी एक हुन सक्छन् ? खसहरूको इतिहास लडाइँ युद्धको होइन, घुमघामको छ भने आर्यहरूको युद्ध र भीषण सङ्घर्षको छ । त्यसै खसान र खस राजा भएको भूमिमा आर्यहरूले सजिलै लडाइँ जितेका छन् ।
म आफैँ इतिहास र संस्कृतिविद् मान्छे होइन तर पढ्न चाहिँ म पढ्छु धेरै । यही पढाइले मलाई माथिको निष्कर्षमा पु¥याएको हो । पढेपछि बुझिन्छ । बुझेपछि टाउकाले टेकेर खुट्टा आकाशतिर उभिइरहन मलाई मन लाग्दैन ।
रामायणभन्दा महाभारतको युग पुरानो हो भन्ने मेरो मान्यता हो । समाज विकासको विश्लेषणले के भन्छ भने सभ्यताको पहिलो चरण आदिम साम्यवाद हो । त्यसपछि दासयुग आयो । आदिम साम्यवादी युगमा समाजको व्यवस्थापन आमाहरूले गर्थे । त्यसलाई मातृतन्त्र भनियो । दासयुगको आरम्भसँगै मातृतन्त्रलाई कमजोर बनाउने काम भयो । महाभारतकालले यही समयको प्रतिनिधित्व गर्छ । एक कुन्तीका चार पति छन् । एक द्रौपदीका पाँच पति छन् । तर रामायणकालमा राजा दशरथका तीन पत्नी छन् । सीताको जीवन दासीको जस्तो छ । रामले जे भन्छन् सीताले त्यसलाई निःशर्तरूपमा स्वीकार्नुपर्छ ।
छलफल चलिरहन्छ तर छलफलसँगै निष्कर्ष पनि निकाल्नुपर्छ । त्यसैले माथिको लेखाइको आधारमा मैले यस्तो निकालेको छु । राम–रावण युद्ध दक्षिण एसियामा भएकै होइन । खस–आर्यबीच कुनै सम्बन्ध छैन । खसहरू निराकार सत्यको प्रतीकका रूपमा मस्टो पूजा गर्छन्, आफ्नो परिचय जोगाइराख्न कुलपूजा गर्छन् । खसहरूको पूजा कुनै मन्दिरमा हुँदैन, त्यहाँ देवता या देवीको टाउको पनि हुँदैन । त्यहाँ हुन्छ फगत लोहोरो जस्तो ढुङ्गा ।
अब तपाईंहरू आफैँ पढ्नुस् र निष्कर्ष निकाल्नुस् । पुस्तकहरू चाहिन्छ भने ऋग्वेदसंहिता, खस जातिको इतिहास, खस जाति कुलपूजा जस्ता दर्जनौँ पुस्तक नेपालमै निस्किएका छन्, जसले इतिहास र संस्कृतिको सही ज्ञान दिनेछन् ।

(लेखक नेकपाका नेता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?