नेपाली पत्रकारिता क्षेत्रमा आदरार्थी शब्दको प्रयोगबारे बहस गर्नु आवश्यक छैन । आदर र सम्मान मानिसका हरेक व्यवहारमा प्रदर्शित हुनुपर्ने भएकाले यो बहसको विषय हुन सक्दैन । आदरार्थी शब्दप्रयोगमा नेपाली भाषा समृद्ध छ । नेपालमा बोलिने सबैलगायत विश्वका कुनै पनि भाषामा आदरार्थी शब्द प्रयोग हुन्छन् । समय र सन्दर्भमा यी शब्दका प्रयोगले मानिसलाई शिष्ट मात्र बनाउँदैन, विनयशील पनि बनाउँछ । तसर्थ पत्रकारितामा आदरार्थी शब्दप्रयोग आवश्यक छ छैन भन्ने बहस किन आवश्यक छैन भने पत्रकारिता पनि शिष्ट र विनयशील हुनैपर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरूपमा नेपाली पत्रकारिताले विशिष्ट व्यक्तिलाई तिमी भनी सम्बोधन गरेकाप्रति टिप्पणी गर्नुभएपछि यो बहस थप तरल भएको छ । प्रधानमन्त्रीको सङ्केतप्रति पत्रकारितामात्र नभएर नेपालीभाषाका मर्मज्ञ, जानकार, विद्यार्थी, प्रयोगकर्ता संवेदनशील हुनुपर्छ । हाम्रा नीति र शास्त्रले वचनमा दरिद्र नहुनु भन्ने सन्देश दिएका छन् । समय र सन्दर्भले भाषा र शब्दको आयु निर्धारण गर्छ । कतिपय भाषा र शब्द यसरी नै लोप भएका छन् । भाषा स्वयंमा संस्कृति भएकाले संस्कृति परिवर्तनशील हुन्छ । अबको हजार वर्षपछि सबैबीच ‘तिमी’ सम्बोधन हुनसक्ला, त्यो सम्भावना अस्वीकार नगरौँ तर अहिले व्यवहारमा जे चलिआएको छ त्यसलाई पत्रकारिताले प्रतिनिधित्व गर्नुपर्छ । भाषामा रहेका सामाजिक मूल्य, मान्यता, विश्वास, परम्पराभन्दा बाहिर पत्रकारिता जान सक्दैन किनभने पत्रकारिता स्वयं शिक्षा पनि हो । त्यसैले पत्रकारितालाई गुरुबिनाको शिक्षा भनिएको हो ।
कुनै पनि नेपाली पत्रकारले विशिष्ट व्यक्तिलाई उहाँहरूको सामुन्ने कुराकानी गर्दा ‘तिमी’भन्न सक्छ भने पत्रकारितामा पनि ‘तिमी’ लेख्न सुहाउँछ । अहिले नै त्यसो गर्ने साहस कुनै पनि पत्रकारले किन राख्दैनन् भने उनीहरू समाजका सदस्य भएकाले सामाजिक कानुन, मान्यता वा परम्परामा बाँधिएको सत्य व्यवहारतः स्वीकार गर्छन् । त्यही पत्रकारले प्रश्न गर्दा ‘तपाईं’ भन्छ र लेख्न बसेपछि ‘तिमी’ उल्लेख गर्छ भने यो दोहोरो चरित्र पत्रकारिताको धर्म र मर्म हुन सक्दैन । पत्रकारितालाई समाजको ऐना भन्नुको अर्थ समाजका विशेषता यसमा झल्कन्छन् भन्नु पनि हो । के नेपाली समाजमा चोर र साधु दुबैलाई तिमी भनेर सम्बोधन गरिन्छ ? गरिँदैन भने, समाजका नियम उल्लङ्घन गर्ने अधिकार पत्रकारितालाई पनि नहुनुपर्ने हो । सांस्कृतिक परिवर्तनको प्रभाव र परिणाम भाषामा पर्छ नै । २०६२÷०६३ सालको आन्दोलनपछि नेपाली पत्रकारिताले मौसुफ प्रयोग गरिरहनुपर्दैन । भाषा वा शब्दको प्रचलनका बारेमा हेर्ने हो भने कुनै पनि शब्द कुनै एक दशक वा वर्षमा उत्कर्षमा पुग्छ र ओरालो झर्छ । यसरी नै पत्रकारितामा पनि शब्द र भाषाप्रयोग हुने गर्छ । यसैक्रममा नेपाली पत्रकारितामा ‘हजुर’ को प्रयोग कम भएको छ ।
निम्नआदरार्थी शब्द व्यवहारबाट हराउँदै जाने क्रममा तँ हराइसकेको छ । नेपालीमा पनि अत्यन्त घनिष्ठ साथीबाहेक तँ सम्बोधन करिब हराउँदैछ । मानिसका भूमिका र हैसियतमा आएका परिवर्तनले समाजलाई साझा सम्बोधनतिर आकर्षित गर्दैछ । अझै पनि कसैले कसैलाई तँ भन्छ भने त्यसविरुद्ध अवज्ञा गर्न सकिन्छ । यसअघि डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले सार्वजनिक स्थानमा निम्नआदरार्थी शब्द प्रयोग नगर्न नागरिकलाई आग्रह गर्दै सरकारी कार्यालयमा परिपत्र गरेको थियो । जहाँसम्म भाषा वा शब्दले वर्गको नेतृत्व गर्छ र विभाजनलाई प्रश्रय दिन्छ भनिन्छ भने सबैलाई तिमी भनिने समाजमा वर्ग रहँदैन ? निमिट्यान्न हुन्छ त्यहाँ वर्ग । सबैलाई तिमी भन्नुको सट्टा सबैलाई तपाईं भनिदिँदा कहाँ रहन्छ त वर्ग विभाजन ? वर्ग निमिट्यान्न गर्ने अभियानको प्रतिनिधित्व भाषाबाट गर्ने र त्यसको नेतृत्व गर्छु भन्छ भने पत्रकारिताभित्र प्रचलित ‘कव रिपोर्टर, गेट किपर र प्रधानसम्पादक’ जस्ता शब्द, पदीय विभाजन र वेतनमानमा किन भिन्नता गर्ने त ? समानता यहींबाट सुरु गरौँ भनेर सर्वसाधारणले भने भने नेपाली पत्रकार र पत्रकारिता त्यसो गर्न तयार हुन्छ ? वर्ग भन्ने बित्तिकै माक्र्सले भनेको आर्थिक अवस्थामात्र होइन पत्रकारिताले हेगेलले भनेको व्यक्तिका हैसियतलाई पनि बिर्सन सक्दैन ।