निर्मलकुमार आचार्य
काठमाडौँ, चन्द्रागिरीको टुटेपाखाबाट धादिङको सिस्नेखोला जोड्ने ‘नागढुङ्गा सुरुङमार्ग’को शिलान्यास (कात्तिक ४, २०७६) भएसँगै जनमानसमा उत्साह सञ्चार भएको छ । तीन लेनसहित दुई दशमलव सात किलोमिटर लम्बाइ रहेको यो सुरुङमार्गको निर्माणकार्य ४२ महिनामै सकिने प्रतिबद्धता छ । यो मार्ग चलेपछि अहिले रहेको दूरी चार किलोमिटर जति घट्नेछ ।
नागढुङ्गा सुरुङमार्ग बनाउने निर्णय झन्डै एकदशकअघि गरिएको भए तापनि सार्थकता नजिकिन सकिरहेको थिएन । पछिल्लो सक्रियतामा पनि केही विलम्ब भएकै छ । पोहोरै काम थाल्नसकिएको भए आउँदो दुई वर्षभित्र सुरुङ निर्माण भई सुचारु भइसक्ने थियो । ढिलै भए तापनि ‘श्रीगणेशाय नमः गरिएको’ नागढुङ्गा सुरुङमार्गले मुलुककोे अर्थतन्त्रमा मात्र होइन, समाजको उत्थानमा समेत सुप्रभाव पार्ने विश्वास लिइएको छ ।
जापान सरकारको सहयोगमा निर्माणाधीन झन्डै रु. १६ अर्ब लागतको नागढुङ्गा सुरुङमार्ग अन्य सुरुङमार्ग निर्माणका लागि उदाहरणीय बन्नेछ । जटिल भौगोलिक अवस्था रहेको नेपालजस्तो मुुलुकमा सुरुङमार्ग वरदान बन्नसक्ने कुरो जमानादेखि हुँदै आएको हो । नारा, भाषणमा मात्रै सुरुङमार्ग सीमित हुने परिपाटीका कारण विपनामा परिणत हुनसकेन ।
जहाँसम्म, सुरुङमार्गको सन्दर्भ छ, नेपालमा यो नितान्त नौलो प्रयोगचाहिँ अवश्य होइन । सडक सुरुङकै प्रसङ्गमा पनि यसलाई पहिलो मान्नु सर्वथा भूल हुनेछ । सुरुङमार्गमा नेपाल दक्षिण एसियामै अग्रणी बनेको छ । आजभन्दा १०१ वर्षअगावै नेपाली प्राविधिकबाट सुरुङमार्ग निर्माण भएको इतिहास निश्चय नै हाम्रा लागि गौरवको पाटो हो । अमलेखगञ्ज–भीमफेदी सडक निर्माणका क्रममा चुरियामाई मन्दिरनजिकै चुरे पहाड खोपेर सुरुङमार्ग बनाइएको थियो । यो ऐतिहासिक कार्यको नेतृत्व इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाले गरेका थिए । श्री ३ चन्द्रशमशेरको प्रधानमन्त्रित्वकालमा वि.सं.१९७५ तिर यो सुरुङमार्ग निर्माण भएको हो । चार दशकसम्म निरन्तर सञ्चालनमा रहेको थियो । ठूला सवारीसाधनका लागि सुरुङ साँघुरो भएपछि नजिकै बनाइएको सडकका कारण यो सुरुङमार्ग ओझेलमा परेको स्थानीयको भनाइ छ । नेपाल र नेपालीलाई अग्घोरै माया गर्ने स्विट्जरल्यान्डका कहलिएका भूवैज्ञानिक टोनी हेगन (सन् १९१७–२००३)ले यात्रा क्रममा यो सुरुङमार्ग देखेर आठौँ आश्चर्य मानेको बेहोरा उनको ‘द हिमालयन किङ्डम अफ नेपाल’मा उल्लेख छ । नेपालको पहिलो सुरुङमार्गको चिरकालीन स्मृतिका लागि राज्यका तर्फबाट विशेष पहल हुनु वाञ्छनीय छ ।
सुरुङमार्गमा राम्रो दखल राख्ने जापानको सहयोगमा निर्माण हुन लागेको नागढुङ्गा सुरुङमार्गले लामो अन्तरालपछि भए पनि अपेक्षित दिशामा उत्साहवद्र्धक लक्षण देखाएको छ । यतिखेर विभिन्न जिल्लामा कैयन् सुरुङमार्ग निर्माण गरिने चर्चा चुलिएको छ । चर्चा, परिचर्चा भएझैँ कार्यप्रगति पनि हुनसके अहिलेको समय नेपालका लागि सुरुङमार्गको स्वर्णिम युग ठहरिनेमा दुईमत रहँदैन ।
चिनियाँ सहयोगमा बन्ने काठमाडौँको टोखा–छहरे सुरुङ मार्ग (करिब चार किलोमिटर) तथा रसुवा, वेत्रावती–स्याफ्रुबेसी सुरुङ मार्ग (करिब २० किलोमिटर) को निर्माणले केरुङ–काठमाडौँ बीचको दूरी मात्र घटाउने छैन, सडक सम्पर्क सञ्जालमा दु्रततासँगै २१ औँ शताब्दीको नयाँ आयाम थपिन पुग्नेछ । दाउन्ने सुरुङ मार्ग, बुटवल–पाल्पा (सिद्धबाबा) सुरुङमार्ग, खुर्कोट–सिन्धुली सुरुङ मार्ग, हेम्जा सुरुङमार्ग, थानकोट–चित्लाङ सुरुङमार्ग, गोदावरी सुरुङ मार्ग, खुटिया–दिपायल सुरुङ मार्ग आदि सुरुङ मार्ग अहिले मूर्तताको प्रतीक्षामा छन् ।
पहिलेदेखि काम नगण्य, कुरा धेरै भएको सुरुङमार्ग चाहिँ हेटौँडा–काठमाडौं सुरुङमार्ग हो । काठमाडौँ–रक्सौलबीच छोटो दूरी कायम गर्न ठाउँ, ठाउँमा सुरुङ बनाउनुपर्ने आवश्यकता धेरै पहिल्यै अनुभव गरिएको थियो । यस अनुरुप सम्भाव्यता अध्ययन गरी २०२८ सालमा प्रतिवेदन समेत नबुझाइएको होइन तर सुरुङमार्ग निर्माण कार्यले साकार रूप लिन सकेन ।
लामो, घुमाउरो र जोखिमयुक्त त्रिभुवनराजपथको विकल्पको खोजी भने भइरह्यो । यही क्रममा सुरुङमार्गको अध्ययनले जनमानसमा रुचि मात्रै जगाएको थिएन, हुटहुटिन उत्पे्ररणा पनि दिएको थियो । सुरुङमार्गको औचित्य प्रष्टिँदै गएकाले ‘काठमाडौँ–कुलेखानी–भीमफेदी–हेटौँडा सुरुङमार्ग’ निर्माणका लागि मकवानपुर जिल्लाका बुद्धिजीवी कस्सिएर लागिपरे । निकै अघिदेखिको प्रयास अथक जारी रहेकैले हुनुपर्छ, थरीथरीका अध्ययन, प्रतिवेदन बने तर ती पनि दराजमै थन्किने अवस्था पनि रह्यो । अन्ततोगत्वा वि.सं.२०६९ मा सरकार र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडमाझ ‘पीपीपी’ (सार्वजनिक, निजी साझेदारी) मोडलमा सुरुङमार्ग (५८ किलोमिटर) निर्माण हुने सम्झौता भयो । यो सुरुङमार्ग निर्माण भएपछि ४५ मिनेटमै काठमाडौँ–हेटौँडा पुग्न सकिने, सालैपिच्छे १५ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ बचत हुने र चार वर्षभित्र सुरुङमार्ग तयार भई सन् २०१६ डिसेम्बर महिनामै यात्रा गर्न सकिने भनी जगाइएको आशा ‘माछा माछा भ्यागुतो’भन्दा फरक हुन सकेन । कहिले चीनको ‘पावर कम्पनी चाइना’सित मिलेर त कहिले प्रदेश सरकारसँग साझेदारी गरेर सुरुङमार्ग निर्माण हुने जनाइए तापनि यसले कुनै लछारपाटो लगाएन ।
सुरुङमार्ग निर्माणमा उत्सुकता प्रकट गर्दै आएको प्रदेश–३ सरकारले आउँदो तीन महिनाभित्र बोलपत्र आह्वान गर्ने भएको छ । १२ अर्ब रुपियाँ लागत अनुमान गरिएको यो सुरुङमार्ग आउँदो तीन वर्षभित्र पूरा गरिने वाचा छ । भीमफेदी–सिस्नेरी (साढे तीन किलोमिटर) बीच सुरुङमार्ग निर्माण गरेर हेटौँडा–भीमफेदी तथा सिस्नेरी–काठमाडौँको मार्ग चौडा गरिने भएको हो ।
मुलुकको दीर्घकालीन विकासका लागि सुरुङमार्गको औचित्य कम नरहेकामा दुईमत छैन । लागत, लाभका हिसाबले सुरुङमार्ग निर्माणमा सक्रियता रहनुपर्नेमा पनि दुईमत नहोला । प्राविधिक अध्ययनकै सन्दर्भमा पनि चाहिँदो बुद्धि पु¥याउन नसके, अन्तिममा गएर पछुताउनुपर्ने पनि हुनसक्छ । कान्तिलोकपथको चाला अन्य मार्गले बेहोर्नु ठीक होइन, बल्लतल्ल निर्माण कार्य सम्पन्न हुने ठानिएको कान्तिलोपथ प्राविधिक दृष्टिले अनुपयुक्त रहेको जानकारी केही समययता प्रवाह भएको छ, यो सत्य हो भने ‘अहिलेसम्म के हेरेर निर्माणकार्य गरिएको हो त ?’ प्रश्न उठ्नु अस्वाभाविक होइन ।
जतिबेला हेटौँडा–काठमाडौँको यात्रा गर्न १३० किलोमिटर लामो, घुमाउरो र अप्ठेरो त्रिभुवन लोकपथ मात्रै माध्यम थियो, नारायणगढ–मुग्लिन हुँदै काठमाडौँ (२२० किमि) पुग्ने सडक बनेको थिएन, २०१३÷१४ सालमै जीप चलाइएको भनिए तापनि हेटौँडा–मकवानपुरगढी–ठिंगन–टीकाभैरव–सातदोबाटो (९० किमि) को सडकसमेत एकादेशको कथामा सीमित थियो । हेटौँडा–फर्पिङ–काठमाडौँ (९० किमि)को यात्रा पनि कल्पनाभित्रको कुरो थिएन । निश्चय नै अहिलेको वस्तुस्थिति फरक छ । काठमाडौं तराई (निजगढ) दु्रतमार्ग मुलुककै गौरवशाली योजनामा परेको मात्र नभई सक्रियतासमेत बढाइएको छ । नेपाली सेनाले आउँदो साढे तीन वर्षभित्रै चारलेनसहित ७२ दशमलव ५ किलोमिटरको यो दु्रतमार्ग तयार हुने जनाएको परिप्रेक्ष्यमा पूर्व तथा पश्चिम सबैतिरका सवारीसाधनलाई हेटौँडा–काठमाडौँ सुरुङ मात्र फलदायी ठह¥याउने प्रयास गरिनु युक्तिसङ्गत हुनेछैन ।
छोटो दूरीका हिसाबले मालवाहक सवारीसाधनका लागि दु्रतमार्गको महŒव बेसी हुनेमा सन्देह छैन । यस आधारमा हेटौँडा–काठमाडौँ सुरुङमार्गलाई बहुआयामिक बनाउनसके मात्र दूरगामी महŒवको कोशेढुङ्गा सावित हुने देखिन्छ । मोतीहारीबाट अमलेखगञ्ज ल्याइएको पेट्रोलियम पाइपलाइनलाई यही सुरुङमार्गबाट काठमाडौँसम्म विस्तार गरिने योजना राखिएझैँ यसलाई ‘हेटौँडा–काठमाडौँ विद्युतीय रेलमार्ग’ का रुपमा निर्माण गर्नु सर्वथा बुद्धिमानी हुनेछ । यसो गर्नसके नेपाली ‘सुरुङ रेलमार्ग’को इतिहासमा यसले पहिलो हुने गौरव हासिल गर्नुका साथै राष्ट्रिय अर्थतन्त्र उकास्नेतर्फ विभिन्न द्वार पनि यसले स्वतः खोल्नेछ ।
सुरुङमार्ग निर्माणका सम्बन्धमा अन्यत्र पनि दिगो लाभ, लागत र औचित्यमाथि प्रष्ट हुँदै अग्रगति दिनु जरुरी छ । केमा दुईमत हुनसक्दैन भने नेपालजस्तो हिमाल र पहाडै पहाड भएको मुलुकमा विकासका लागि फड्को मार्न सुरुङमार्ग आजको परम आवश्यकता हो । सडकका लागि मात्रै होइन, जलविद्युत्, सिँचाइ आदिका लागि समेत सुरुङ अपरिहार्य छ । बबई डाइभर्सन, मस्र्याङ्दी ए जलविद्युत् आयोजना आदिले उत्साहप्रद सन्देश दिएका छन् ।
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)