logo
२०८१ मंसिर १० सोमवार



रहर र कहरको काठमाडौँ

विचार/दृष्टिकोण |





नारायणप्रसाद पौडेल

‘लखनउ, पट्ना, मद्रास सरी, अलकापुरी कान्तिपुरी नगरी’
आदिकवि भानुभक्तका जमानामा अवश्य हुँदो हो । त्यसको अवशेष बाँकी रहुन्जेल काठमाडाँै जाने रहर सबैलाई जाग्यो । गए पनि । जाँदाजाँदै यति धेरै भरिए कि अब त खुट्टा राख्ने ठाउँको पनि अभाव हुने अवस्था आइलागेको छ । ‘भनुँ भने गाउँका मुखिया, नभनौँ त कुखुरा सकिए’ भनेजस्तै भइसकेको छ । स्थिति कति भयावह र दयनीय छ भने मुख्य बजारमा घर भएका कतिपय सज्जनहरूले बेचेर किनारतिर लाग्न बाध्य हुन परेको छ । अरू जिल्ला र छिमेकी देशबाट ओइरिनेले रैथानेलाई अल्पमतमा त पारिसके । बाहिरबाट भित्र पसेर बसेकाहरू दशैँमा पुख्र्यौली गाउँ घरतिर लाग्दाबित्तिकै रित्तिन्छ र सफा, शान्त र सुन्दर देखिन्छ काठमाडौँ । बाहिरियाका कब्जामा परेर निसास्सिएको प्रमाण दिन्छ सधैँको दशैँले । दियो यसपालि पनि । करिब २८ लाखजति यात्री बाहिरिँदा नवमी, दशमी र एकादशीका दिन सुनसान बन्यो । बिजुली गएन । पानी पुग्यो सबैलाई । मुखमा मालो लगाउन पनि परेन कसैले । तर जब बाहिरिएका भित्रिए, त्यसपछि फेरि उस्तै हुन थाल्यो अप्ठ्यारो । सास फेर्नै गाह्रो ।
नागढुङ्गाबाट भित्र छिरेपछि काठमाडौँ आएको थाहा दिन्छ सबैका नाकको भित्री डाँडीले सास फेर्दा पर्पराएर, खोकी लागेर र हाच्छियुँ आएर । जनाउ दिन्छ आँखाले पिरो भएर र आँसु झारेर । सूचित गर्छ, टाउकाले गह्रुँगो भएर । आङले चिलाएर । पानी परेका बेला हिलाले र नपरेका समयमा धूलाले स्वागत गरेर ।
आफ्नै देशको राजधानीमा पस्दाबित्तिकै मुख छोप्न पर्ने अवस्था आउनुहुँदैनथ्यो । तर, छ त्यस्तै । लुकाउन नसकिने । छेक्न, उठाउन वा कतै पठाउन पनि नमिल्ने । चाहेर वा नचाहेर पनि सबैले बेहोर्नैपर्ने ! कतिञ्जेल होला यस्तो ? ठेगान छैन । सुधार्दासुधार्दै उधारिएको हो । बनाउन भनेरै बिगारिएको हो । बनाउनेहरूको कमी कहिल्यै भएन । तर, सुखले सास फेर्ने, खुला आँखाले हेर्ने, रमाउँदै घुम्ने, प्रकृतित्वमा झुम्ने र बागमतीमा डुबुल्की मार्ने रहर पूरा गर्ने सुअवसर कहिल्यै आएन । ढुङ्गेधारामा कलकल बगेको पानी अञ्जुलीमा भरेर धितमरुञ्जेल तनतनी पिउन पाउने रहर पूरा भएन । निकट भविष्यमा पनि पूरा गर्न पाउने सम्भावना रहेन ।
काठमाडौँ जानेले पहिले टेक्ने ठाउँ बनाउन खोजे । जब टेक्न पाए, त्यसपछि टिक्नका लागि गर्नु नगर्नु गरे । त्यसरी टिकेकाहरूले आफन्तलाई पनि तानेर जताततै भरे । तिनैलाई चाहिएका सवारीसाधन जति धेरै गुडे, गुडाइए, उति धेरै विषाक्त धूवाँ उडे, उडाइए । आकाश सफा देख्नका लागि पनि पानी परेर बिदो भएर छ्याङ्गै हुनुपर्छ । हरिया वन मासिए, बाहिरिया जन थपिए । सिमेन्ट, छड र गिट्टीका भवन बढे । अब त कस्तो देखिन्छ भने डाँडाका कुना काप्चा र पाखा पखेरामा पनि घरैघर फलेका छन् । जमिनले पनि थेग्नै नसक्ने हो कि भन्ने अवस्था आयो । पानी नपुग्ने कारण त्यही हो । जति बाटा बनाउँदा पनि हुँदैन । खाँबा गाडेर तार ताने पनि बत्ती पुग्दैन । सिङ्गै देशको राजधानीको कुरो प¥यो । राजधानीमै सुविधा नपुगेसम्म अन्त बजेट पनि सजिलै पठाइँदैन । त्यसैले त गर्नु नगर्नु ग¥यो । सबैलाई पीर पा¥यो । परेको पीर हटाउन सरकारले थाल्दा अदालतले दिँदैन, घर ताछिनेलाई मुआब्जा नदिई बाटो फराकिलो पार्न पाइँदैन भनेर रोक्छ । सहरको स्वरूप बिग्रनुको जिम्मा खै कसले बोक्छ ? अहिले पनि काठमाडौँका १३ वटा मुख्य भित्री सडक निर्माणकार्य रोकिएको छ । धूलो र हिलोबाट मुक्त गराउन गाह्रो छ त्यसैले ।
त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा, चाबहिल–जोरपाटी–बाग्मती– साँखु, ढोलाहिटी–सुनाकोठी–चापागाउँ हुँदै सरस्वती कुण्ड, कर्मनासा खोला–हरिसिद्धि–गोदावरी कुण्ड, जोरपाटी–सुन्दरीजल, नख्खुखोला– भैंसेपाटी–बुङ्मती, पेप्सीकोला–सल्लाघारी, बाहखा बजार–बोडे–मनोहरा करिडोर, देवीनगर–मैतीदेवी जोड्ने पुल, ठमेल–गल्कोपाखा चक्रपथ, गोङ्गबु–टोखा, सीतापाइला–भीमढुङ्गा । यति सडक अधकल्चा छाड्नपर्ने अवस्थाले धूलै र हिलै बनाएको रहेछ । बजेट बुझेर बसेका ठग ठेकेदारलाई पनि हाइसञ्चो भएको छ– अदालतको आदेशले गर्दा । भत्काउनपर्ने घरको उचित क्षतिपूर्ति दिन नसक्ने अवस्थामा पनि सरकारले काम थालेछ । बाटो चाहिनेले आफैँले मिलेर रकम उठाएर पीडितलाई क्षतिपूर्ति दिए पनि त हुन्थ्यो नि ! तर दिन्नन् ।
काठमाडौँमा बस्नेका दम्भ नै धेरै ठूला हुन्छन् । उपभोक्ताले रकम उठाएर दिनतिर सोच्दैनन् । ‘चमडी जाए, दमडी नजाए’ भनेजस्तो गर्छन् । यो भएन र त्यो भएन भनेर कराउँछन् । दबाब दिन्छन् । दबाब थेग्न सक्दैन सरकारले । अनि काम थाल्छ । सडक निर्माणको काम सुरु गर्दाबित्तिकै पीडितले मुद्दा हाल्छ । मुद्दा हलाएर गुजारा चलाउनेहरूको जीविका चल्छ । विषय यतिमा मात्रै सीमित हुँदैन । विरोधीले पनि विकास निर्माणका काम सहज तरिकाले गर्नै दिँदैनन् । समयमै काम सम्पन्न गरेर सरकार लोकप्रिय बन्यो भने सत्तामा उक्लने आफ्नो बाटो पर धकेलिन्छ भनेर पनि अड्को थापेर बाधा उत्पन्न गर्छन्, नेपालमा राजनीति गर्नेहरूले । बाहिर देखिँदैन, भित्रभित्रै गरिन्छ यस्तो । त्यसैले पनि काठमाडौँ धूलो र हिलोमुक्त सहर बन्न नसकेको हो । दुनियाँले कहर काट्न बाध्य हुन परेको हो ।
काठमाडाँै सहर साह्रै अव्यवस्थित र अस्तव्यस्त छ । योजनाबद्ध तरिकाले बनेको हैन र बनाइएको पनि छैन । जसले जहाँ जसरी घडेरी किन्यो, उसले उसैगरी उहीँ घर ठड्यायो । पुराना पानीका मूल सुकून् कि साँस्कृतिक स्मारक पुरिऊन्, मतलब राखेन कसैले । पालिकाले पनि समयमा हेरेन, छेकेन । नाप–नक्सा पासको कुरा पछि मिलाएर हुने । तोकिएका फाँटका कर्मचारीका खल्ती गरम गराएर र नजराना दिएर उम्किने । राजनीतिक पकड र पहुँचका भरमा भरिने । एकपक्षले बस्ती बसाएर थपेको देखेपछि अर्कोले पनि हुलका हुल ओसारेर बसाल्ने । नियन्त्रण र व्यवस्थित गर्ने कोही भएन । अराजकता बढ्यो । काइदा कानुन तोडियो । सम्हाल्न गाह्रो छ, त्यसैले । जति मदिरालय, भोजनालय र औषधालय छन् बजारमा उति शौचालय छैनन् । मुख्य मुख्य चोकमा चर्पी नभएपछि अधिकांश जनताले आवश्यक मात्रामा पानी पिउँदैनन् । तिर्खा मेटाउन खोजे पनि स्वच्छ पिउने पानीका धारा छैनन् । बिहान बजार गएको मान्छे बेलुका घर फर्कंदा सहिसलामत रहँदैन । समयमा शौच गर्न र पानी पिउन नपाएर, विषाक्त धूवाँ र धूलो खाएर थलापरेको हुन्छ । काठमाडौँका अधिकांश अस्पतालमा श्वास–प्रश्वास, मुटु र मिर्गाैलाका रोगी बढ्ने कारण त्यही हो । बाहिरी जिल्लाबाट उपचार गर्न गएको रोगी ठीक भएर फर्कंदा कुर्न बसेको मान्छे थलिने कारण पनि त्यही हो ।
न स्वच्छ सास फेर्न पाइन्छ, न निर्मल पानी पिइन्छ । न पौष्टिक र स्वास्थ्यबद्र्धक खाना खाइन्छ, न शौचालयमा गइन्छ समयमा । बस, मिनिबस, माइक्रो र टेम्पोमा चढेर न समयमै पुगिन्छ, पुग्नुपर्ने ठाउँमा । पकेटमारका समूहले फाइदा लिन्छन् चोक र बस बिसौनीका भीडभाडमा । मोबाइल र पैसा नहराई वा नचोराईकन घर पुग्नेलाई बहादुर माने हुन्छ । त्यस्तो सहरको जिन्दगी जिउन मान्छे कुन्नि किन हतारिन्छ ? पहाडका पोषिला पाटा र तराईका मलिला मौजा बेचेर त्यहीँ पुगेका छन् । विदेश धाएर कमाएर फर्केकाले पनि काठमाडौँमै घडेरी र घर किन्छन् र बस्छन् । गाउँ बिर्सन्छन् र पुख्र्यौली थातथलोका बारेमा कुरा गर्दाबित्तिकै तर्सन्छन् । महँगी उस्तै छ, बेरोजगारी पनि सस्तै छ । तर पनि जनतन ज्यान धानेकै छन् सबैले ।
थाहा छैन, काठमाडौँमा नोटका बिटा कताबाट
बर्सन्छन् ? टिप्न जान्नेका लागि त सुखको स्वर्ग होला, नजान्नेका लागि त कहरको सहर बन्यो काठमाडाँै ! सबैका लागि स्वर्ग हुने र गर्व गर्ने दिन खै कहिले आउला ? यति कुरा पशुपतिनाथलाई पनि थाहा होला कि नहोला, कसले बताइदेला ? पहिले त्यस्तो कविता लेख्ने भानुभक्त अहिले जन्मेका भए कस्तो लेख्थे होला ? कल्पनै गर्न र बस्नै नसकिनेखालको हुँदै गयो अचेलको अलकापुरी कान्तिपुरी नगरी ! निर्मल, स्वच्छ र स्वस्थ बन्ला कसरी ?
(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?