logo
२०८१ मंसिर १० सोमवार



जलकुम्भीको जालो

विचार/दृष्टिकोण |





स्मिता अधिकारी

वर्षायामको उत्तराद्र्धमा परेको पानीले नेपालको दोस्रो ठूलो ताल फेवाताल यो वर्ष नराम्रोसँग प्रभावित भयो । यसो त पोखरामा यो वर्ष विगत १० वर्षयताकै सबैभन्दा कम अर्थात् दुई हजार ८२ मिलिमिटरमात्र पानी परेको हो । अघिल्ला वर्षका तुलनामा कम बाढी आएको भए पनि तालमा जलकुम्भी भने लपक्कै छायो । जलकुम्भी उम्रिने कारण बाढी र वर्षातमात्र हो भन्ने स्थानीयवासीको भ्रम थियो अहिलेसम्म । उनीहरूले हावापानीको असन्तुलनलाई जलकुम्भी फैलिने मुख्य कारण बताउँदै आएका छन् । यस वर्षको घटनाले भने जलकुम्भीको कारणप्रतिको बुझाइ धेरै हदसम्म उल्ट्याइदिएको छ ।
सन् २०१४ को अगस्टमा दस वर्षभरिकै सबैभन्दा धेरै पानी एकै महिना एक हजार ४२१ मिलिमिटर परेको बेला सोही महिनामा कास्कीको लुम्लेमा आएको बाढीपहिरोले फेवाताल नै हिलाम्मे भएको थियो । त्यतिबेला पनि जलकुम्भी फाल्न स्थानीय सङ्घ–संस्थाको यस्तै भीड लागेको थियो तर त्यसबेला अहिलेको तुलनामा निकै कम जलकुम्भी निकालिएको थियो ।
यस वर्ष फेवातालबाट अहिलेसम्मकै सबैभन्दा धेरै जलकुम्भी निकालियो । जलकुम्भी सोहर्न पोखरा महानगरपालिका, डुङ्गा व्यवसायी, सामाजिक अभियन्तालगायत विभिन्न सामाजिक सङ्घ–संस्था, निजी कम्पनी, स्थानीय र पर्यटकसमेत लागिपरेका थिए । केही दिनअघि लगभग दैनिक करिब चार सयजना मानिस सक्रिय भएर एक हप्तामा दुई सय ट्रक जलकुम्भी निकालेका थिए । यसपछि केही दिन पूर्ण रूपमा सफा देखिएको तालमा पुनः जलकुम्भी फैलियो । अभियन्ताले सफाइ अभियान जारी नै राखेका छन् । पोखरा महानगरपालिका र स्थानीय सामाजिक अभियन्ता सम्मिलित पोखरा वृहत् सरसफाइ अभियानको संयुक्त पहलमा जलकुम्भी नियन्त्रणका विषयमा छलफल भइरहेका छन् ।
पोखरा तालहरूको सहर हो । यसवरपर देशकै दोस्रो ठूलो फेवा र सबैभन्दा गहिरो बेगनाससहित रूपा, दिपाङ, खास्टे, मैदी, न्युरेनी र गुँदे गरी नौवटा तालहरू छन् । उत्कृष्ट पर्यटकीय गन्तव्य र गण्डकी प्रदेशको राजधानीसमेत भएकाले यहाँको पर्यटनलाई प्रभावित गर्ने जुनसुकै विषय स्थानीयवासीसहित सबैको सरोकार बनिरहेका छन् । देशको नयाँ संरचना र स्थानीय विकाससहितको राजनीतिक परिवर्तनमा समग्र प्रदेशकै विकास गर्न यी तालहरू महŒवपूर्ण स्रोत हुने विश्वास छ । यद्यपि, बेलाबेला जलकुम्भी अतिक्रमणको चपेटामा तालहरू परिरहेका छन् ।
विक्रम संवत् २०३६ अघि तालमा जलकुम्भीको नामनिसान थिएन । २०४० सालताका तालको बीच तथा कुनाकाप्चामा फाट्टफुट्ट देखिन थाल्यो । वर्षैपिच्छे बढ्न थाल्यो । कुमारी हिमाल माछापुच्छ«े, अन्नपूर्ण हिमशृङ्खला प्रस्ट रूपमा प्रतिविम्बित उक्त तालको कञ्चन पानीमा जलकुम्भी देखिनु स्थानीयवासीका लागि सानो चिन्ताको विषय थिएन । विशेषगरी पुस्तैनी जीविका चलाइरहेका स्थानीय डुङ्गा व्यवसायीहरू बढी चिन्तित हुन थाले । पोखरा–६ लेकसाइड रत्नमन्दिर स्थायी घर भएका डुङ्गा व्यवसायी ८१ वर्षीय बुद्धिबहादुर नेपाली भन्नुहुन्छ– जलकुम्भीको पिरलो कहिल्यै सिद्धिएन ।
विसं २०४६ को दशैँताका घर–टोल सरसफाइ गर्ने बेला आफूहरूले ताल पनि सफाइको योजना बनाएको याद छ, उहाँलाई । एक ठाउँमा उम्रिएपछि बिस्तारै अरू ठाउँमा पनि निकै छिटो फैलिने रहेछ भन्ने भेउ पाइसकेका उहाँहरूले त्यसयतादेखि हरेक दशैँमा वर्षको एकपटक भए पनि जलकुम्भी फाल्ने अभियान नै चलाउनुभयो । झन्पछि झन् धेरै उम्रिदै गएको जलकुम्भी डुङ्गा व्यवसायी मात्रको बलबुताभन्दा बाहिर हुँदै गयो । त्यसैले पछिल्ला वर्षहरूमा पोखरा महानगरपालिकाले बजेट नै छुट्याएर जलकुम्भी सफाइ अभियान चलाएको छ । यिनै कार्यक्रममा दैनिक ज्यालादारी मजदुरका रूपमा डुङ्गा व्यवसायीहरूले नै काम गर्दै आइरहेका छन् ।
बेगनासतालमा २०५८ सालतिर जलकुम्भी देखिन थालेको थियो । स्थानीय जलारी समुदायले सफाइ अभियान सुरु गरे । अहिलेसम्म पनि त्यो अभियान पूरा भएको छैन । बेगनासतालवरपरका ४५ घर जलारीहरू सम्मिलित मत्स्य व्यवसायी समितिले हरेक शनिबार बेगनासतालमा जलकुम्भी सफाइ सञ्चालन गर्छ । त्यो जलकुम्भी फाल्न २२ वटा डुङ्गा परिचालन गरिएको छ । प्रत्येक हप्ता लगभग १० डुङ्गा जलकुम्भी उनीहरूले निकाल्छन् । यी काम उनीहरूले स्वेछिक रूपमै वर्षौंदेखि गरिरहेका छन् । हरेक हप्ता कम्तीमा तीन÷चार घन्टाको समय उनीहरूले जलकुम्भीलाई अनिवार्य रूपमा दिएका छन् । स्थानीय राजेन्द्र जलारी भन्नुहुन्छ– एउटा हप्ता सफाइ छुट्यो भने तालको बीचमै जलकुम्भी पुग्न बेर लाग्दैन ।
स्थानीय बेगनास युवा क्लब, लेखनाथ होटल एसोसिएसनलगायतका स्थानीय सामाजिक संस्थाले समय–समय सञ्चालन गरेका सफाइ अभियानले पनि जलकुम्भीको जालो हटेको छैन ।
वर्षौंदेखि नै तालका लागि ठूलो लगानी र स्थानीयवासीको जाँगर जलकुम्भीले नै खपत गरिदिएको भान हुन्छ । पोखरा महानगरपालिकाले विगत चार वर्षदेखि फेवा संरक्षण परियोजना नै कार्यान्वयन ग¥यो । यसअन्तर्गत बर्सेनि करिब २० लाख रुपियाँ जलकुम्भी सफाइका लागि खर्च गर्दै आइरहेको छ । फेवातालमा मिसिने हर्पनखोलालगायतका अन्य साना ठूला गरी करिब २० वटा खोलामा सामान्य चेकड्यामका लागि करिब ६० लाख रुपियाँ खर्च भयो । त्यसैगरी, दुई वर्षअघि करिब दुई करोडमा खरिद गरिएको एक्वेटिक प्लान्ट हार्बेस्टिङ मेसिन (जलकुम्भी निकाल्ने मेसिन ) समेत हरेक दिन प्रयोग गरिएको छ ।
तालहरूमा जलकुम्भीको अतिक्रमण बढ्दै गएको देखेपछि २०७१ देखि पोखरा वृहत् सरसफाइ अभियानले पनि जलकुम्भी सफाइ कार्यक्रम सञ्चालन थालेको थियो । यो अभियानमा यस वर्ष सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरा पनि थपिएको छ । तर पनि जलकुम्भीको मात्रा घट्नुको सट्टा सधैँ बढिरहेको छ । ताल फोहोर हुनु भनेको समग्र पोखरा नै फोहोर हुनु हो । पोखरा वृहत् सरफाइ अभियानका अभियन्ता रामबहादुर पौैडेलले भन्नुभयो, ‘पहिले–पहिले फेवातालको खपौंदी क्षेत्रबाट हामीले सबैभन्दा धेरै जलकुम्भी झिक्दै आएका थियौँ, पछिल्ला वर्ष जहाँतहीँ देखिन थालेको छ ।’
(लेखक गोरखापत्रका पोखरा समाचारदाता हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?