शिव अधिकारी
विश्वकै चर्चित ऐतिहासिक धरोहर एवं एसियाकै चुलिएको औद्योगीकरण भएको जापानको इतिहासमा विकास निर्माण कार्यले विशेष स्थान ग्रहण गरेको छ । वास्तवमा यो पूर्वी एसियाको प्रशान्त सागरले घेरिएको अवस्थामा कैँयौँ टापु भएको देश समग्रमा आर्थिक विकासको चरम आकर्षण केन्द्र पनि बनिरहेको छ । विश्वलाई नै अनुकरणीय औद्योगिक अभ्यास गराउन सफल यो देश जतिसुकै सङ्कटपूर्ण अवस्थामा पनि आफ्नो अस्तित्व उच्च राख्न पछि परेको छैन ।
उत्तरबाट पूर्वी चीनको ओखयत्क समुद्रदेखि दक्षिणमा फिलिपिन्स समुद्रसम्म फैलिएको जापान छ हजार ८५२ टापुको खात लागेको अवस्थामा छ । जापानी नाम खाँन्जीले प्रख्यात, सूर्योदय भूमि भनेर संसारमा यो देशलाई चिनिन्छ । यसैक्रममा टापुहरू भएकै देशको हिसाबले पनि यो देशले विश्वमा चौथो स्थान लिएको छ भने जनसङ्ख्याको हिसाबले टप्पुहरूको देशमा दोस्रो स्थानमा पर्छ । खास गरेर यो देशका होन्सु, होकाइडो, क्युशु, शिकोकु र ओकिनावा जस्ता केन्द्रले ९७ प्रतिशत भाग ओगटेका छन् । यहाँका जना ९०.७ प्रतिशत सहरमा र ९.३ प्रतिशत मात्र ग्रामीण क्षेत्रमा बसोवास गर्छन् । जनसङ्ख्याकै हिसाबले विश्वका देशको तुलनामा एघारौँमा पर्ने यसको राजधानी टोकियोमा मात्रै कुल जनसङ्ख्याको १३.८ अथवा ३८० लाख जनता बसोवास गर्छन् ।
औद्योगीकरणको ब्ेजोड तरङ्गले संसारलाई अचम्मित पार्न सक्ने ताकत आर्जन गरिरहेको यो देशको प्रतिस्पर्धामा अहिले दक्षिण कोरिया, चीन र अन्य देशसमेत चुनौतीको रूपमा देखिएका छन् । यो परिवेशमा यो देशले विद्यमान संरचनालाई व्यवस्थित ढङ्गले परिचालन गर्न नसके भविष्यमा सङ्कट आउन असम्भव छैन । यद्यपि जापानले आसियान, जी ७, जी ८, जी २० समेतका देशसँगकोे सहकार्यबाट आफ्नो कूटनीतिक व्यवस्थापकीय सामथ्र्य आर्जन गर्न सफल भइरहेको छ । यसैकारण कुल गार्हस्थ उत्पादनको हिसाबले चौथो ठूलो खरिद र निर्यात गर्न सक्ने ताकतसमेत ग्रहण गरिरहेको छ । यी सबै उपलब्धिका पछाडि यो देशमा दक्षताप्राप्त एवं सिपालु जनशक्तिको बाहुल्य छ । आत्मरक्षाका लागि संसारको सैनिक खर्चमा आठांँ स्थान लिएको यो देशले सामरिक शक्ति सुदृढ गर्ने क्रममा सन् २०१५ मा विश्वको सैनिक शक्तिको तुलनामा चौथो स्थान लिएको थियो । यसरी सैनिक शक्ति सुदृढ बनाइरहेको अवस्थामा समेत यो देशले विश्वशान्तिको अगुवाइ गरिरहेको दावा पनि गरिरहेको पाइन्छ ।
जापान बलियो देश थियो र हुँदै गयो तर यसले कहिल्यै पनि प्रतिक्रियात्मक सोच राखेर प्रतिआक्रमण गर्नपट्टि लागेन । हिरोशिमा र नागाशाकीमा बम प्रहार गरेर देशै ध्वस्त बनाउने जस्तो क्रूर अपराध गर्ने अमेरिकाको प्रतिरोध गर्नुको सट्टा युद्धविराम गरी उदारतापूर्वक मनोवैज्ञानिक प्रभाव प्रस्तुत गर्न सक्नुले नै संसारभरबाट यो देशप्रति प्रशंसा र सहानुभूतिको ओइरो लागेको थियो । फलस्वरूप देशवासीलाई सीपयुक्त जनशक्तिका रूपमा क्रियाशील राखेर बेजोड प्रविधिको तरङ्ग पैदा गरिदियो ।
जापानमा जे देखियो
मैले सधैँ देश बनाउने सपना देखिरहेको छु, सुनिरहेको छु । जापानमा आइपुग्दा फेरि हराएँ आफैँ । आफ्नो देशको दुर्दशा निवारण गरौँ भन्दा ‘कहाँ सकिन्छ र यो देशै सिद्धिइसक्यो, सरकारमा बस्नेले यो देशलाई खाई नै सके’ मात्र भनेको सुनिन्छ । काम गर्ने जाँगर कसैलाई पलाएन । धेरै कोसिस गरेर इजरायली पूर्व राजदूत हनान गोडरको सहयोगमा इजरायली प्रविधियुक्त नमुना कृषिफार्मको विकास गर्न आफैँ सक्रिय रहेको र उहाँले गरेको सहयोगको सम्झना यतिखेर ताजा भइरहेको छ । तर पनि त्यसलाई व्यापकता दिएर देशभर उत्पादन बढाउने रहर पुगेकै छैन । कृषि व्यवसायीकरणको तीव्र चाहनाका साथ देश विकास कार्यक्रममा संलग्न हुन उत्सुक रहेको म कता कताबाट जापान आइपुगेँ ।
यहाँको अवस्था हेर्दा लाग्छ मान्छेले गर्न नसक्ने काम नै केही छैन । दिनभर हिँडेरै नसकिने कैयौँ तला जमिनमुनि र जमिनमाथि भएको सिङ्गो घर मान्छेले बनाउन सक्दोरहेछ । मान्छेहरू यान्त्रिक उपकरणको साथमा समयको गतिसँगै चल्दारहेछन् । मान्छे आफूसँग होइन समयसँग काम गर्दोरहेछ । देश पनि त सफासुग्घर र सुन्दर बनाएछन् । के म देश फर्केपछि त्यस्तै अभियान सुरु गर्न सक्छु त ? मलाई मेरै यो प्रश्न यतिखेर बोझिलो भइरहेको छ । जापानको जमिन नेपालको जस्तै त हो तर पनि यहाँको वन जङ्गल व्यवस्थित रहेछ । बस्ती सयौँ वर्षसम्म पनि बिगार्नु नपर्ने र भावी सन्ततिले किन हाम्रा पुर्खाले यस्तो बनाएर हामीलाई दुःख दिए भनेर गुनासो गर्नै नपर्ने गरी बनाएको रहेछ । बस्तीको ठाउँठाउँमा सजिएका बालबालिका क्रीडास्थल, वृद्धवृद्धाको विश्रामस्थलसमेतको उचित व्यवस्था गर्न सकेको यो देशमा फोहोर त छँदैछैन है कतै पनि । बुद्धधर्मको अनुयायी सिन्तो धर्मावलम्बीको उत्साहजनक क्रियाशीलताले यो देश सिँगारिएको पाइयो ।
हिरोसिमा पुग्दा, अमेरिकाले बम पड्काएर दुःख दिएको टिठलाग्दो अवस्थालाई मनमा गहिरो भण्डार बनाएर बसेका जनताले अब अमेरिकासँग लडेर होइन पौरखी बनेर अमेरिकाभन्दा अगाडि बढ्ने प्रणका साथ काम गरेको पाइयो । हिरोसिमामा श्रद्धाञ्जलि चढाइरहँदा आफैँबाट बगेका आँसुले मुख धँुदै त्यस क्षेत्रका पौरखीहरूको पौरख हेरेर उनीहरूको प्रशंसा गर्नुबाहेकको चित्तबुझ्दो विषय अर्को बाँकी रहेन ।
जापान त्यसै जापान बनेको होइन रहेछ । जता गयो त्यतै उस्तै संरचना, विशाल घर, रेल्वेस्टेशन । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन जस्ता देखिन्छन् साधारण बस स्टेशन पनि । सबै स्टेशनमा पाँचतारे होटेलका जस्ता शौचालय, ठाउँठाउँमा रहेका स्नानगृहको उचित व्यवस्था देख्दा स्वदेशका शौचालयमा पाँच रुपियाँ तिरेर नाक थुन्दै दिसा कुल्चिँदै छिरेर पिसाब फेर्नुपर्ने अवस्थाले आफैँ दुर्गन्धित भएँछु कि जस्तो पनि लाग्यो । ओहो निर्माण ! पातालदेखि जग उठेका गगनचुम्बी भवनहरू जताततै देखिन्छन् । जता गए पनि सहरजस्तै बस्ती भए पनि बीचबीचमा विशाल धानखेत र विभिन्न प्रकारका खेती गरिएको सुरक्षित क्षेत्र देखिन्छन् । मान्छेलाई कत्ति पनि फुर्सद छैन । समयको गतिसँगै हिँडिरहनुपर्दा एक अर्कासँग सम्बन्धको कसैले वास्ता नै नगर्ने र बाटोमा हिँड्दासमेत सबैको ध्यान मोबाइलमा केन्द्रित भएको देखिन्छ । समयको व्यवस्थापन गर्न माहिर जापानीले यति धेरै प्रगति गरेको अवस्था भए पनि यहाँका जनतामा हामी ठूलो हौँ भन्ने घमण्ड पाइएन ।
दिनरात एकनास, कसैको सामानमा कसैले लोभलालच नगर्ने, चोरी चकारी, हत्या लुटको त समस्या नै पो छैन यो देशमा । यसैले जापानबाट धेरै कुरा सिक्न सकिने अवस्था रहे पनि हाम्रो देशका कूटनीतिक नियोगमा काम गर्नेहरू र भ्रमणमा आउने अन्य सरकारी अधिकारीले यो देखेनन् कि कसो भन्ने पनि लागिरहन्छ ।
जापानमा सबै राम्रा कुरा मात्र देख्न पाइएन । क्रिश्चियन प्रचारकहरू आफू बसेको मुरासाकिनो गाउँमा हप्ताको दुई दुईपटक देखापरे । यो कुराले नेपालको क्रिश्चियानिटीको अवस्थाको परिचय दिन खोजेको जस्तो लाग्यो । साथै जापान पुर्खाले नै बनाएर युवालाई सुम्पेको अवस्थामा रहेको देखिन्छ । युवाले यो कुरा नबुझे यो देशमा भएका निर्माणको व्यवस्थापनमा ठूलो कमजोरी देखापर्छ । किनभने यहाँ अहिले प्रत्येक ठाउँमा ज्यादै वृद्धमान्छेहरू सकी नसकी एक्लाएक्लै हिँडिरहेका देखिन्छन् । युवाको उपस्थितिमा कमी आएको देखिन्छ । फेरि जनसङ्ख्या १३ करोडबाट अहिले १२ करोडको अवस्थामा आएकोले नै युवाको ताकत सिर्जना नै हुन नसकेको अवस्था देखिन्छ । जापानीहरूमा जनशक्ति व्यवस्थापन राम्ररी गर्ने र देशलाई निरन्तर समृद्धिको बाटोमा हिँडाइरहने ताकत जोहो गर्नुपर्ने चुनौती देखिन्छ ।
स्वदेशको कल्पना
हामी अहिले बनिसकेको जापानमा आइपुगेका रहेछौँ भन्ने लागिरहेको छ । आफ्नै देशलाई कसरी यस्तो सामाजिक चेतनाले चुलिएको देश बनाउने भन्ने चिन्ता अझ सबल भएको छ । देशमा सबै बिग्रियो भन्छन् र त्यहाँ हल्ला गर्नेले सरकारलाई गाली ग¥यो भने त्यसैको पछाडि लाग्ने मान्छेहरू धेरै छन् । तर गाली गरेर ठूलो हुने कसरत र सबै पक्षको बन्न खोज्नु राम्रो नतिजा आउने उपाय हो जस्तो लागेन । यसैले हल्ला होइन, सरकारमा पुग्नेले पनि देश बनाउने जिम्मेवारी लिने मौका पाएकोमा गर्वित हुँदै सामाजिक परिचालन गरेर छिटोभन्दा छिटो देश समृद्ध बनाउन लाग्नुपर्छ । सबै गाउँलाई नमुना गाउँ बनाउनुपर्छ, हामीले बनाएको नमुना गाउँ हेर्न जापानीहरू पनि लालायित हुन सकून् । हामीले अलिकति प्रयास गरे यो सबै सम्भव हुन्छ । अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्था स्थापना गरेर नेतृत्व विकास, स्रोत व्यवस्थापन, वातावरणीय संरक्षण जस्ता कार्यक्रम सञ्चालन गरौँ । सिङ्गो देशलाई प्राङ्गारिक (अग्र्यानिक) क्षेत्र बनाएर विश्वलाई स्वस्थकर उत्पादन उपलब्ध गराउनेबित्तिकै हाम्रो देश बनिहाल्छ । हामीले अलिकति मेहनत गरे नेपाल संसारकै समृद्ध देश बन्छ । यसैले सरकारले विकास तथा सामाजिक सुरक्षा शिक्षा कार्यक्रम देशभर सञ्चालन गरेर सबै नागरिकलाई सुसंस्कृत बनाउने काम सुरु गरिहाल्नुपर्छ ।
बद्मासी गरेर सम्पत्ति कमाउने होड होइन, आफूमात्र धनी हुने दौडमा नलागेर सबै धनी बनाउने अभियान सुरु गरिहालौँ । अनि हामी नबनेको देश नेपालबाट बनेको देश जापानमा पुगेर हीनताबोध गरिहनुपर्दैन । देश बन्छ । नेपाललाई विश्वशान्तिको केन्द्र बनाएर संसारमा बुद्धभूमिको शान्ति अभियान फैलाउनुपर्छ । अनि हाम्रो देशप्रति संसारको आकर्षणले क्रियाशीलता बढाउँछ । आफ्ना युवा विदेश पठाउने होइन, संसारका युवालाई रोजगारी दिने देश नेपाल बन्छ ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)