logo
२०८१ मंसिर १० सोमवार



डेङ्गुको डङ्का

विचार/दृष्टिकोण |





प्रा.डा. शिवकुमार राई

डेङ्गुको इतिहासः
डेङ्गु ज्वरोको नाम सन् १७८९ मा बेन्जामिन रशले बिरामीहरूले बताएको दुःखाइका आधारमा राख्नुभएको थियो । यसको कारक भाइरस सन् १९४४ मा डा. अल्बर्ट सबिनले पत्ता लगाउनुभएको थियो । त्यसपछि यो रोग एडेस समूहको लामखुट्टेले सार्ने र डेङ्गु भाइरस पनि चार–किसिमको हुनेलगायतका कुरा पत्ता लाग्दै गयो ।
सुरुमा विश्वका केही सीमित ट्रोपिकल (उष्ण) क्षेत्रमा रहेको डेङ्गुज्वर अन्य क्षेत्रमा पनि तीव्र गतिमा फैलिँदो छ । छिमेकी मुलुक भारतमा डेङ्गुज्वर जस्तै रोग सन् १७८० मा तामिलनाडु प्रदेशको राजधानी चेन्नाईमा देखापरेको थियो भनिन्छ । यसको निदान सन् १९६३÷१९६४ मा भएको थियो । त्यसैबेला बङ्गलादेशको ढाकासमेत प्रभावित भयो । हाल भारतका सबै प्रदेशमा डेङ्गुज्वर फैलिएको छ, कतिपय प्रदेशमा त इन्डेमिक (स्थानिक) नै भएको छ । दिल्लीमा सन् २००६ मा भएको डेङ्गुज्वरका कारण ५० जनाभन्दा बढीको ज्यानै गएको थियो ।
सन् १९७० सम्ममा डेङ्गुज्वर नौवटा देशमा मात्र प्रकोपको रूपमा देखापरेको र स्थानिक रूपमा भने हाल एक सयभन्दा बढी देशमा प्रकोपकै रूपमा देखापरेको छ । पहिले अयनवृत्त (ट्रोपिकल) क्षेत्रमा सीमित यो अहिले उप–अयनवृत्त (सब–ट्रोपिकल) र उच्च सतही भूगोलमा पनि फैलिँदो छ । सन् २०१६ मा विश्वभरि धेरै मानिस यसबाट सङ्क्रमित भएका थिए । सन् २०१७ मा यो सङ्ख्या धेरै घटे पनि सन् २०१९ मा अत्यधिक मात्रामा फैलिएको देखिन्छ । हालैका वर्षमा जापानको टोकियो, फ्रान्सको पेरिस र क्रोएसियामा समेत डेङ्गुज्वरका बिरामी भेटिएका छन् ।
नेपालमा डेङ्गुज्वर
नेपालमा डेङ्गुज्वर नयाँ रोग हो । नेपालमा डेङ्गुज्वरको पहिलो बिरामी सन् २००४ मा चितवनमा भेटिएको थियो । बिरामी नेपाली नभई जापानी नागरिक थिए जो जापान सरकारको प्राविधिक सहयोग (जाइका) अन्तर्गत कार्यरत रहँदा सङ्क्रमित भएका थिए । ती बिरामीको रगत जाँच गर्दा डेङ्गुज्वरको कारक डेङ्गु भाइरसविरुद्धको एन्टिबडी देखियो र त्यसलाई पुष्टि गर्न रक्त–नमुनालाई जापानको नागासाकी युनिभर्सिटीको ट्रोपिकल डिजिज इन्स्टिच्युटमा पठाइयो । त्यहाँ गरिने आधुनिक तरिकाबाट समेत पुष्टि भएपछि ‘नेपालमा डेङ्गुज्वरको पहिलो बिरामी’ नामक केस रिपोर्टका रूपमा मेडिकल जर्नलमा सन् २००४ मा प्रकाशित भएको थियो । संयोग नै भन्नुपर्छ रिसर्च अनुदानदाता संस्थाले जापानमा आयोजना गरेको ‘रिपोर्ट मिटिङ’मा उक्त नतिजा प्रस्तुत गर्दा बङ्गलादेशमा पनि पहिलोपटक (सन् १९६० को दशकमा) डेङ्गुज्वर जापानी नागरिकमै भेटिएको थियो ।
सन् २००६ मा चितवनलगायत नौ जिल्लामा ३२ वटा प्रयोगशाला परीक्षणबाटै निदान गरिएको डेङ्गुज्वरको बिरामी फेला परेपछि यो नेपालमा स्थानिक रोगको रूपमा स्थापित भएको छ । सन् २००६ मा नौ जिल्ला, खासगरी तराईका जिल्लामा फैलिएको यो रोग सन् २०१० मा आइपुग्दा २४ जिल्लामा फैलियो । केही उच्च पहाडी जिल्ला प्नि प्रभावित भए । सन् २०१० र २०१३ मा डेङ्गुज्वर क्रमशः ९१७ र ६८३ जना व्यक्तिमा देखिएको थियो । सन् २०१६ मा आइपुग्दा डेङ्गुज्वर जस्तै लक्षण लिएर पाँच हजार ७६९ बिरामी मुलुकका विभिन्न अस्पतालमा पुगे पनि प्रयोगशाला परीक्षण गर्दा तीमध्ये एक हजार ४७३ जनालाई डेङ्गुज्वर नै भएको पक्का भएको थियो ।
सन् २०१७ मा करिब दुई हजार पुग्यो । काठमाडाँै उपत्यकामा मात्रै करिब सयजना जति बिरामी देखापरे । सन् २०१८ मा भने मुलुकभरि नै करिब एक हजारमा सीमित रह्यो । सन् २०१८ मा नेपालमा मात्रै हैन विश्वमै बिरामी सङ्ख्या घटेको थियो तर यो वर्ष हालसम्मकै ठूलो ‘डङ्का’ नै पिटेको छ  । हालसम्म ५५ भन्दा बढी जिल्लामा यसको प्रभाव परेको छ । यसबाट दश हजारभन्दा बढी मानिस सङ्क्रमित भएको अनुमान गरिएको छ । विगतमा भन्दा यसवर्षको डेङ्गुज्वरको भिन्न विशेषता छ । गतवर्षसम्म चितवनलाई केन्द्रबिन्दु बनाएकोमा यसपल्ट सुनसरी र त्यसमा पनि धरानलाई केन्द्रबिन्दु बनाएको छ । यस वर्ष यो उच्च पहाडी जिल्लामा समेत फैलिन पुगेको छ । डेङ्गुका बिरामीमध्ये दुईतिहाइ पुरुष छन् । अधिकांश बिरामी २० देखि ४० वर्ष उमेरसमूहका छन् । डेङ्गु भाइरसको चारैवटा सेरोटाइप नेपालमा देखिएकोमा यसवर्ष मुख्यतः सेरोटाइप–१ र सेरोटाइप–२ को सङ्क्रमण छ ।
कारक जीवाणु
डेङ्गु रोगको कारक जीवाणु ‘डेङ्गु भाइरस’ (विषाणु) हो । यो टाइगर मस्कुइटो नामले समेत चिनिने पोथी एडेस मस्कुइटो (लामखुट्टे) को टोकाइबाट सर्ने फ्लाभिभाइरस समूहमा पर्ने आरएनए भाइरस हो । यो भाइरसको आकार ५० नानोमिटर जति हुन्छ (एक नानोमिटर भनेको ०.००००००००१ मिटर हो) । यसको चारवटा सेरोटाइप छन् र यो जापानिज इन्सेफालाइटिस भाइरससँग मिल्दोजुल्दो हुन्छ । यो मुख्यतः जङ्गलमा लामखुट्टे बाँदर, लङ्गुर, चिम्पान्जी, एप आदिबीच हुन्छ । त्यो
जङ्गली जीवन–चक्रबाट निस्केर अहिले मानिस र लामखुट्टेबीच पनि जीवन–चक्र चलाइरहेको छ । यो भाइरस एडेस जातका लामखुट्टेमा पनि मुख्यतः पोथी एडेस एजेप्टीले र त्यसपछि एडेस अल्बोपिक्टस्ले टोक्दा मानिसमा सर्छ । यी लामखुट्टेले मुख्यतः बिहानी झिसमिसेदेखि साँझको गोधूलीबीचको समयमा टोक्छन् । यो भाइरस सुकेको रगतको थोपा÷टाटाहरूमा सामान्य अवस्थामा (२५ देखि ३० डिग्री सेन्टिगे्रड तापक्रममा) नौ हप्तासम्म जीवित रहन सक्छन् ।
लक्षण
डेङ्गु भाइरस सङ्क्रमणपछि तीनवटा अवस्था हुन सक्छन् जसमा डेङ्गुज्वर, डेङ्गुहेमोरेजिक फिभर (ज्वर) र डेङ्गुसक सिन्ड्रोम पर्दछ । डेङ्गुज्वर÷रोगमा मुख्यतः ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, मांसपेशी र जोर्नीहरू अचाक्ली दुख्ने भएरै यसलाई ‘ब्रेकबोन फिभर’ भनिएको हो । यो सामान्य उपचार र आरामपछि निको हुन्छ । यो रोग निको भइसकेपछि पुनः ज्वरो आयो भने उच्च ज्वरो आउने, छालामुनि रक्तस्राव हुने (निलडाम जस्तो अवस्था हुने), वान्ता भइरहने र पेट दुख्छ । डेङ्गुज्वरोभन्दा यो बढी गम्भीर अवस्था हो । यो अवस्था सामान्यतः १० वर्षमुनिका साना केटाकेटीमा र गर्भवती महिलामा हुन्छ । यसमा रगतमा प्लेटलेटको सङ्ख्या अत्यधिक मात्रामा घट्ने र शरीरको विभिन्न भागमा रक्तनलीहरू फुट्ने हुँदा शरीरमा जताततै रक्तस्राव भएर तदनुसारको समस्या उत्पन्न हुन्छ । जसलाई डेङ्गु हेमोरेजिक सक सिन्ड्रोम भनिन्छ । यो अत्यन्तै घातक अवस्था हो ।
बच्ने उपाय
एडेस लामखुट्टेको टोकाइबाट व्यक्तिगत रूपमा बच्नु नै पहिलो उपाय हो । यसका लागि लामखुट्टे रिपेलेन्ट क्रिम दल्ने, लामो बाहुला भएको कपडा र पेन्ट–सुरुवाल लगाउने र लामखुट्टे भगाउने साना ‘बजर’ पेटीमा झुन्डाउने आदि गर्न सकिन्छ । घरका झ्यालढोकामा जाली लगाउने र एडेस लामखुट्टेले जमेको सफा पानीमा प्रजनन गर्ने हुँदा घरभित्र र बाहिर राखिएका र रोपिएका फूल तथा बोटबिरुवामा जम्ने गरी पानी नलगाउने र जमेको भएमा त्यसलाई हटाउने । बाल्टी, बाटा, बोतल वा फूलदानीमा पानी खुला राख्नुहुँदैन । घर वरपर वर्षात्मा परेको पानी जमेको वा जम्न सक्ने वस्तुहरू (टायर, गाडीले कुल्चिएर वा अन्य कारणले फुटेका प्लास्टिकका वा अन्य बोतलहरू, नरिवलका खपटा÷बोक्रा आदि) हटाउनुपर्छ । लामखुट्टे मार्न विभिन्न कीटनाशक औषधि पनि प्रयोग गर्न सकिन्छ तर कतिपय कीटनाशक औषधिप्रति यो लामखुट्टेले प्रतिरोधात्मक क्षमताको विकास गरिसकेको हुँदा कति प्रभावकारी हुन्छ भन्ने सोचनीय विषय छ ।
यसको निदान बिरामीको लक्षण र चिह्न हेरेर र प्रयोगशालामा रक्त परीक्षण गरेर गरिन्छ । रक्त परीक्षण गर्दा रगत जम्ने प्रक्रियामा महŒवपूर्ण भूमिका खेल्ने प्लेटलेटको सङ्ख्या घटेर पचास हजारप्रति क्युबिक मिलिलिटरभन्दा पनि तल झरेको छ, डेङ्गु भाइरसविरुद्धको आईजी–एम र आईजी–जी एन्टीबडीहरू पोजिटिभ छन् र एन्टीजेन (एनएस्–१) पोजिटिभ छ भने निदान गरिन्छ ।
(लेखक सूक्ष्म जीवविज्ञान विशेषज्ञ हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?