शारदा पौडेल
हाम्रा महान् पर्व (दशैँ, तिहार, नेपाल संवत् अनि छठ) को आसपासमा नेपालमा दुईवटा अन्य महत्वपूर्ण पर्वहरू पनि भए । हुन त यी पर्वहरू सन्दर्भवश उठे, भए र सकिए पनि । तर यी पर्वको सान्दर्भिकता भोलि पनि कुनै घुम्ती, मोड र विकासका अवयवहरूमा निरन्तर परिरहनेछन् । यसमा एउटा ऐतिहासिक ‘पर्व’ नै भनौँ, नेपालको, जुन विश्वशक्तिमा उदाउँदो राष्ट्रको सूचीमा रहेको छिमेकी देश चीनका राष्ट्रपतिको नेपाल भ्रमण । यो भ्रमणमा चीनका राष्ट्रपतिको नेपाल मोह र नेपाली जनताले चिनियाँ राष्ट्रपतिप्रति झल्काएको सद्भाव देख्दा त्यो एउटा गर्व गर्न लायक पर्वकै रूपमा रह्यो । अर्को पर्व, विश्वमा छरिएका नेपालीहरूको छाता सङ्गठन ‘एनआरएन’ को नेपालमा भएको निर्वाचन ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सन्दर्भको वजनसँग एनआरएनको निर्वाचनलाई दाँज्न त सकिँदैन तर फेरि पनि समृद्ध नेपालका लागि त्यो छातामा आबद्ध नेपालीको योगदान महŒवपूर्ण हुने र समृद्ध नेपालको फाइदा पनि तिनीहरूले लिन पाउने हुनाले त्यसको महŒव उत्तिकै छ । यद्यपि त्यो निर्वाचनका क्रममा देखिएका सन्दर्भ भने गर्व गर्न लायक देखिएनन् ।
नेपालमा यतिबेला लोकतान्त्रिक सरकार छ । अझ भनौँ लोकतन्त्रमा विश्वास गर्ने ‘वामपन्थी’ समूहको बहुमतको सरकार छ । सरकारको नारा छ– ‘समृद्ध नेपाल–सुखी नेपाली’ । यो भोलि व्यवहारमा देखिनुपर्ने नारा हो । यसलाई पूर्ण बनाउन नेपाल सरकारले मात्र होइन, नेपाली जनताले अहोरात्र कार्यक्षेत्रमा डट्नु आवश्यक छ । विश्वमा जहाँ पनि सरकारले नीति–नियम बनाउँछ । त्यसमा लाग्ने लगानीको बन्दोबस्त गरिदिन्छ । त्यसको प्रतिफलको सुनिश्चित गरिदिन्छ र निगरानी पनि निरन्तर जारी राख्छ । व्यवहारमा खट्नुपर्ने त जनताले नै हो । विश्वमा सम्पन्न राष्ट्रको सूचीमा पुगेका मुलुकहरूले कसरी काम गर्छन् ? उनीहरूको प्रशासनिक कति चुस्त र दुरुस्त छ ? उनीहरूको शैक्षिक अवस्थिति कस्तो छ ? उनीहरूको औद्योगिक परिस्थिति कस्तो छ ? औद्योगिक परिस्थितिका लागि सरकारले के के कुराको व्यवस्था गरेको छ ? यातायातको अवस्था कस्तो छ ? उनीहरू आर्थिक विकासमा कसरी लागेका छन् ? यी सबै प्रश्नहरूको उत्तर खोज्नु जरुरी छ ।
विडम्बना के छ भने नेपालीहरू विश्वका कुनाकुनासम्म फैलिएका छन्, हरेक समृद्ध देशमा पुगेका छन् तर त्यहाँबाट केही सबक सिकेर स्वदेशमा फर्किएर त्यसको अनुसरणमा लागेका कमै छन् । जस्तो हामी पछिल्लो समयको उदाउँदो चीनको अवस्थितिलाई नै हेर्न सक्छौँ । चीन हेर्नका लागि धेरै नेपाली जाने गरेका छन् । खासमा पर्यटकभन्दा पनि चीनले नै नेपालका हरेक क्षेत्रका मानिसलाई चीन बोलाउने र त्यहाँको वस्तुस्थिति देखाउने गरेको छ । पछिल्लो समय त चीनका राष्ट्रपतिले समेत नेपाल हेरेर अझ धेरैभन्दा धेरै नेपालीलाई चीन देखाउन लैजाने वाचासमेत गरेका छन् । तर चीनमा प्रशिक्षण लिएर आएका हुन् या त्यहाँको शैक्षिक परिस्थिति बुझ्न गएका नेपाली हुन् अथवा प्रशासनिक, औद्योगिक, कृषि–उद्यम, मजदुर जुन क्षेत्रको अवस्थितिको अवलोकन गर्न गएका नेपालीले पनि चीनबाट फर्केर आई नेपालमा पनि त्यस्तै कार्य गर्नुपर्छ भनेर लाग्ने गरेको पाइँदैन । के चीनले नेपालीलाई चीन हेर्न मात्र बोलाएको मान्ने हामीले ? यो पक्कै पनि होइन ।
राज्यको सही नीति र जनताको कठोर परिश्रम नै समृद्ध राज्यका अन्तरवस्तु हुन् । चीनले जति पनि नेपालीलाई चीन अवलोकनका लागि बोलाउँछ, त्यो उसले रमिता देखाउन होइन, बरु केही सिक र स्वदेशमा त्यही कुरालाई अनुसरण गर भनेर बोलाएको भन्ने बुझ्नु जरुरी हुन्छ ।
नेपाल बस्दा चिनियाँ राष्ट्रपतिले नेपाललाई धेरै कुरा भनेका छन् । चिनियाँ राष्ट्रपति स्वयंले भ्रष्टाचार नगर्न र जनताको काम गर्न राजनीतिक नेतृत्वलाई सन्देश दिनु त्यो चानचुने कुरा अवश्य होइन । चीन यतिबेलाको विश्वशक्ति राष्ट्र हो । हामी उसका छिमेकी । अर्को छिमेकी भारत । आफूहरू विश्वमा शक्तिशाली राज्यमा रूपान्तरण हुँदै गर्दा नेपाल चाहिँ अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रको सूचीमा पनि फड्को मार्न नसक्दा उनीहरूलाई पनि तिक्तता त अवश्य हुन्छ नै । त्यसैले पनि चिनियाँ राष्ट्रपति स्वयं नेपालमा उपस्थित भएका हुनुपर्छ । उनीबाट नेपालका राजनीतिज्ञहरूले धेरै कुरा सिक्न र त्यसलाई व्यवहारमा अनुसरण गर्न आवश्यक छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछिको सन्दर्भलाई हामीले अब चीनले नेपालमा रेल ल्याइदिन्छ, हिमालमुनि सुरुङ बनाइदिन्छ, सस्तो दरमा र सुलभ तरिकाले अब चिनियाँ मालसामान यहाँ पाइन्छन् भनेरमात्र बुझ्न थाल्यौँ भने त्यो गलत सावित हुन्छ । किनकि हाम्रो पनि नारा छ– ‘समृद्ध नेपाल– सुखी नेपाली ।’ यो नारा त्यत्तिकै बनेको छैन । नारा भनेको लक्ष्य हो । लक्ष्य भनेको पुगिने अन्तिम बिन्दु हो । त्यसैले तय गरिएको नारालाई भेट्ने बाटोको अनुसरण गरिन्छ । लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनापछि संविधानको कार्यान्वयन भयो । अब बाँकी रह्यो समृद्धिको बाटो । समृद्धि प्राप्त गर्नकै लागि विदेशी राष्ट्रहरूको सहयोग र समर्थन आवश्यक परेको हो । त्यसैका लागि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्भव भएको हो ।
अर्को प्रसङ्ग या पर्व हो– गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को निर्वाचन । त्यसमा गैरआवासीय नेपाली कतिसम्म लाजमर्दो रूपमा प्रस्तुत भए भने नेपालबाट विदेशमा कामको खोजीमा गएका र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) मा आबद्ध भई आफ्नो सङ्गठनको नेतृत्व चयनका लागि मातृभूमि फर्किएकाहरूबाट नेपालको विमानस्थलदेखि नै नेपालीलाई नै अपमान गर्ने काम भयो । नेपालमा खासै केहीमा पनि ‘सिस्टम’ नै बस्न सकेको छैन भन्ने गुनासो विदेशमा गर्नेहरू आफैँ चाहिँ मातृभूमिमा पुगेर त्यो हर्कत देखाउनु के निन्दनीय छैन ? हो, एनआरएनको निर्वाचन सकियो । नेतृत्व चयन पनि भयो अब चुनिएको एनआरएनको नेतृत्वले विदेशमा रहेका नेपाली र मातृभूमिकै लागि पनि के के गर्ला ? त्यो त भोलि व्यवहारमा देखिन नै छ । तर निर्वाचनका लागि मातृभूमिमा फर्किई गैरआवासीय नेपालीले देखाएको रवैयाको सन्दर्भ सकिएको छैन । यसको चर्चा–परिचर्चा भोलि पनि अन्तर्राष्ट्रिय जगत्मा रहेका नेपालीबीच हुनुपर्छ र त्यसबाट गैरआवासीय नेपालीले राम्रो सबक सिक्नैपर्छ । आगामी दिनमा गैरआवासीय नेपालीले मातृभूमिमा रहेका नेपालीलाई राम्रो छाप छोड्न लागिपर्नैपर्छ ।
हो, हामी नेपालमा प्रशस्त धनदौलत भएकाले शोख गर्नका लागि विदेशिएका होइनौँ । हाम्रो लक्ष्य हामी स्वयंको व्यक्तिगत जीवनमा परिवर्तन आओस् र हामीले विदेशमा बगाएको पसिनाको केही हिस्साले मातृभूमि पनि परिवर्तन होओस् भन्ने नै हो । तर विदेशमा नेपाली धेरै छरिएर रहेको अवस्थामा ओत लाग्ने छाताको पनि आवश्यक भएकाले गैरआवासीय नेपाली सङ्घको अपरिहार्यता महसुस गरिएको हो । त्यसको उद्देश्य र लक्ष्य केवल नेतृत्वमा को पुग्ने र त्यहाँ जम्मा भएको कोष सदुपयोगको नाममा कसरी दुरूपयोग गर्ने भन्ने हुनुहुँदैन । त्यसले त विदेशमा रहेका नेपालीको रक्षार्थ कामहरू गर्दै र मातृभूमिप्रति पनि सद्भाव, सहकार्य कायम राख्दै विकसित देशहरूमा सिकेका सीपहरू मातृभूमिमा पुगी अनुसरण पनि गराउने कार्यतिर लाग्नुपर्छ । त्यसो भयो नेपालीको पनि एनआरएनप्रति विश्वास बढ्दै जानेछ ।
(लेखक अनेसास, स्पेनका अध्यक्ष हुनुहुन्छ ।)