मिठाराम विश्वकर्मा
रोबर्ट बाडेन पाओलका अनुसार फराकिलो हेराइ, उच्च विचार, अगाडि बढ्नु र बाटो देख्नु नेतृत्वमा हुनुपर्ने गुणहरू हुन् । यी कुराहरू संसारका मानिएका नेतृत्वमा पाइन्छ । नेतृत्वले पछि आउन सक्ने सफलता र कठिनाइप्रति सचेत गराउँछन् । कार्ल माक्र्सले आफ्नो जीवनकालमै ‘दर्शनको दरिद्रता’ नामको पुस्तक लेखे । माओले पनि ‘अन्तरविरोध’ पुस्तक लेखे । उनका कुराहरूप्रति कति गम्भीर भैयो होला, उहाँका विचार पछ्याउनेलाई नै थाहा होला ।
कार्ल माक्र्सले ‘दर्शनको दरिद्रता’ मा माक्र्सवाद आइसकेपछि पनि कम्युनिस्ट विद्रोह टुङ्गोमा पुग्नेछैन, नयाँ परिस्थिति सिर्जना हुन्छ भनेका छन् भने बीपी कोइरालाले पनि प्रजातन्त्र आउँछ तर सुकिलामुकिलासँग सतर्कता अपनाउनुपर्ने विचार व्यक्त गरेका छन् । उता माओले पार्टीभित्र अन्तरविरोध हुन्छ भन्ने चेतावनी दिएका छन् । आज नेपालमा प्रजातन्त्र आइसकेपछिको अवस्था झण्डै उनीहरूले देखेको भविष्यको दृष्टिकोणसँग मेल खान्छ ।
विचारको जन्म कहिले र कसरी हुन्छ भन्ने कुरा अनुमानका आधारमा भन्न सजिलो छैन । मानव समुन्नत हुनका लागि मानव विकाससँगै विचार जन्मँदै आएका छन् चाहे ती विचार धार्मिक वा राजनीतिक किन नहुन् । जन्मने विचारको खाँचो कहिल्यै परेन तर विचारलाई व्यावहारिक बनाउने कुरा फेरि कहिल्यै टरेन । विचारहरू बने तर ती विचारलाई आउने पुस्ताले कहिल्यै बचाएनन् । के माक्र्सको विचार
बाँच्यो ? माओको विचार बाँच्यो ? बीपीको विचार बाँच्यो ? यतिमात्र किन ? प्लेटो, सोक्रेटस, गान्धी, अब्राहम लिङ्कन आदिको विचार पनि बाँचेको छैन ।
२००७ सालमा राणालाई अपदस्थ गरेर प्रजातन्त्र ल्याएको हामी दाबी गर्दैछौँ । तर त्यतिबेला एकथरी राणालाई अपदस्थ गरेर अर्काथरी राणालाई स्थापित गरिएको मात्र हो । केही राणाको अन्त्य भयो होला तर फेरि राजालाई नै बलियो बनाउने काम भयो । त्रिभुवन भगौडा राजा हुन् । भागेकोलाई फिर्ता ल्याइयो जसले गर्दा नेपालमाथि भारतको हस्तक्षेप त्यसबेलादेखि नाङ्गो रूपमा देखियो । तत्कालीन राजा त्रिभुवनको निजी सचिव भारतीय गोविन्दनारायण सिंह नियुक्त गरिनु नाङ्गो हस्तक्षेपको पर्याप्त उदाहरण मान्न सकिन्छ ।
ब्राह्मण पुत्र भएका कारण मृत्युदण्ड नदिइएका जिउँदो शहीद भनिने टङ्कप्रसाद आचार्य राजा महेन्द्रको नेतृत्वमा प्रधानमन्त्री हुँदा बाहिरी हस्तक्षेपका विषयमा के कति प्रयत्न भए, यी कुरा खुलेर बाहिर आएनन् । महेन्द्र र बीपी कोइराला पोखरा हुँदै नेपालगञ्जसम्मको पैदल यात्रा र नेपालगञ्ज पुगेपछि महेन्द्र नेपालगञ्ज नै बस्नु र बीपी काठमाडौँ फर्केर तुलसी गिरीको हातमा भारतका प्रधानमन्त्री नेहरूलाई पठाएको पत्र नेपालगञ्जमा महेन्द्रको हातमा सुटुक्क दिनु, त्यो चिठीमा के लेखिएको थियो, त्यो कुरा पनि नेपाली राजनीतिको गर्भमै रह्यो । महेन्द्र नेपालगञ्जबाट फर्केलगत्तै चीन जानु र चीनबाट फर्केलगत्तै बीपीको नेतृत्वको सरकारलाई अपदस्थ गरेर निर्दलीय पञ्चायती व्यवस्था लाद्नुको कारण पनि रहस्यमय नै बन्यो ।
भारत–चीनले नेपालीका लागि चासो राख्नैपर्ने अवस्था छ । किनभने भारत–चीनबीचको नेपाल समृद्ध हुन सकेन भने विश्व राजनीतिमा यिनीहरूको मूल्याङ्कन सुरु हुनेछ । समृद्धिशाली दुई देशबीच एउटा देश अविकसित छ, आर्थिकरूपमा कमजोर छ, राजनीतिकरूपमा स्थिर छैन भने यसको भागिदार उनीहरू पनि हुनेछन् । यसकारण हामीले यी दुवै देशलाई समान दृष्टिकोणबाट हेर्नुपर्छ । हामीले भारत प्रजातान्त्रिक र चीन कम्युनिस्ट देश भनेर जति टिप्पणी गरे पनि अब तिनलाई केही फरक पर्नेवाला छैन । उनीहरू नेपालीका लागि समान असल मित्र हुन् । उनीहरू हाम्रा असल मित्र बन्नुपर्ने बाध्यता पनि उनीहरूको टाउकोमा छ । शक्तिसम्पन्न देशले आफ्ना छरछिमेकी देशलाई हेर्नैपर्ने हुन्छ, अन्यथा विश्व राजनीतिमा आलोचित भइन्छ ।
अब हामीलाई व्यावहारिक विचार आवश्यक छ । सायदै विश्व इतिहासमा पहिलोपटक मानव अधिकारका लागि सक्रिय र मानव विकासको प्रक्रियामा विश्वको ध्यान केन्द्रित भएको हुनुपर्छ । जब विचारलाई व्यवहारमा उतारिँदैन तब नेतृत्वमा विचारको सङ्कट पैदा हुन्छ, जुन आज हामीले व्यहोरिराखेका छांँै । विचार जतिसुकै उत्कृष्ट बताए पनि व्यवहारतः लागू गरिएन भने नेतृत्वको सङ्कट पैदा हुन्छ । पञ्चायती संविधानमा पनि समतामूलक समाजको निर्माण गर्ने भनिएको थियो । यो कम प्रगतिशील विचार थिएन, किन सम्भव भएन ? त्यहाँ पनि नेतृत्वको सङ्कट भयो । राजाको वरिपरि घुमे पुग्छ, किन टाउको दुखाउने ? भन्ने पङ््क्ति जन्म्यो, जुन आज पनि जन्मिरहेको छ । मालिकको वरिपरि घुम्ने र बाठा कुरा गरे पुग्छ, पैसा, मसल भए पुग्छ, खुरापात गरे पुग्छ, ठूलठूलो स्वरमा प्रजातन्त्र भने पुग्छ, किन टाउको दुखाउने ? यस्ता कुराहरूले नेतृत्वमा सङ््कट पैदा गराएको छ ।
अहिले त भन्न सुरु भइसकेको छ बुढा नेताको काम छैन, युवालाई नेतृत्व दिनुपर्छ । यो अर्को लाजमर्दो कुरा । मलेसियामा महाथिर २५ वर्षीय लक्का जवान हुन् ? कि सिङ्गापुरका लि क्वान ३० वर्षीय फाइटर ब्रुस्ली हुन् ? नेतृत्वको सवाल उमेर होइन, हो भने परिपक्व विचार हो, जसलाई व्यवहारमा उतारिएको हुनुपर्छ । नेता तरवार चलाउने तरवारबाज होइनन्, नेतृत्व त विचारको तरवार चलाउने ‘ब्रेनक्यपस’ हुन् ।
नेपालको नेतृत्वमा वास्तवमा विचारको सङ्कट छ । व्यक्ति र कुनै राजनीतिक दलको नाम नलिँदा राम्रो हुन्थ्यो तर केही कुरा प्रष्ट पार्न लिनैपर्ने हुन्छ ।
वामपन्थी नेता चित्रबहादुर केसी सङ्घीयताको विरुद्धमा खरो रूपमा उत्रिउनुभयो तर यही सङ्घीयताको स्वरूपमा लुत्रुक्क परेर उपप्रधानमन्त्री हुनुभयो । अब उहाँको विरोधको के अर्थ रह्यो ? पाउँदा ठीक नपाउँदा बेठीक ! यसलाई दाउ लगाउने चलाखी भन्न सकिन्छ । नेपाली राजनीतिमा ठूलठूला चुनौतीको जिम्मेवारी नेपाली काँग्रेसले पूरा गरेको छ, अहिले प्रतिपक्षी छ तर जनताबीच जाने एजेन्डा (कार्यसूची) नै छैन । जनताले आफ्नो जनजीविकासँग गाँसिएको एजेन्डा खोज्छ । फलानोले यस्तो उस्तो ग¥यो भन्नु एजेन्डा होइन ।
जब कुनै विषयवस्तु वा विचारलाई महाअभियानको रूपमा ग्रहण गर्नुपर्छ भन्ने लाग्छ भने त्यसैभित्र विचारको उद्देश्य र दृष्टिकोण खोजिन्छ । त्यो कुरा दिन सकियो भनेमात्र नेतृत्व सफल भएको ठानिन्छ । अहिले भर्खर काँग्रेसले ‘महाअभियान’ सकेर काठमाडौँ फर्केको अवस्थामा पनि ठोस एजेन्डा थिएन, बरु आफूभित्रको अन्तरकलह उदाङ्गियो । नेकपासँग पनि कुनै ठोस एजेन्डा भएको पाइँदैन । तथापि मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा एक सय वृद्धभत्ता जनताको जनजीविकासँग जोडिएकोले बलियो एजेन्डा बन्यो ।
यो एजेन्डा राम्रै गरी भजाउन सके, वृद्धाले नेकपा पार्टी चिनेनन्, हामीलाई वृद्धाभत्ता दिने सूर्य हो त्यसैलाई भोट दिन्छौँ भन्दै लौरो टेकेर मतदान केन्द्रमा पुगे । यसले बुझाउँछ, जनताले आफ्नो जनजीविकासँग जोडिएका कुरा खोज्दोरहेछ । जनताले कष्टकर जीवन बिताउनुपर्ने जगमा प्रजातन्त्र टिकिरहन सक्दैन र यस्तो प्रजातन्त्रलाई राजनीतिक विज्ञहरूले ‘फर्जाइल डेमोक्रेसी’ भनेका छन् । प्रजातन्त्रको यस्तो अवस्था भनेको प्रजातन्त्र पतनोन्मुख हुनु हो ।
नेपाली काँग्रेसले राष्ट्रियताको कुरा उठाउनु त्यस्तो तुकको एजेन्डा होइन । गरिबी, अभाव, विपन्नता, सामाजिक असुरक्षा र विभेदको जगमाथि राष्ट्रियता बलियो हुन सक्दैन । कुनै पनि नेपाली जनताले अब अर्को देशको नागरिक हुने कल्पना गरेका छैनन् । बरु ठूलो जनशक्ति र त्यो जनशक्तिलाई गरिएको लगानी विदेशिएको छ । यो चिन्ताको विषय हो । यतातिर ध्यान गएको छैन । नेपालजस्तो सानो मुलुकको जनशक्तिका लागि गरिएको यति ठूलो लगानी बाहिर जान्छ कि १२ कक्षा उत्तीर्ण गरेर फेरि अर्को ठूलो लगानी गरेर बाहिरिन्छ र सकभर फर्केर आउँदैन ।
नेपाली काँग्रेसको सरकारले निजीकरणका नाममा नेपाली उद्योगधन्दा धराशायी बनाएको दाग मेटाउन समय अझै लाग्न सक्छ तर जनताका जनजीविकासँग गाँसिएका विषयवस्तु अझै छन्, ती विषयवस्तु उठाउन सकिन्छ । तर हाम्रो शासकीय अभ्यास ‘फर्जाइल डेमोक्रेसी’ का रूपमा हुँदै आएको छ । जे होस् हाम्रो नेतृत्वमा विचारको सङ्कट छ, नेतृत्व भ्रष्टाचार, नाता–फरिया–जातप्रति उन्मुख छ, नेतृत्व गुण्डागर्दीमा आश्रित छ । जसले गर्दा विचार मरेको छ । वास्तवमा भन्नुपर्दा काँग्रेस–कम्युनिस्ट मरेको विचार बोकेर आफू बाँचिरहने असल मौकाको खोजीमा छन् ।
(लेखक नेपाली काँग्रेसका पूर्व सांसद हुनुहुन्छ ।)