धीरेन्द्रप्रसाद साह
पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन छठ पर्वले पनि पर्यटकीय आकर्षणको भूमिका निर्वाह गर्न सक्छ । छठ पर्व व्यापक बन्दै गएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सङ्घीय र प्रदेश २ सरकारले जनकपुरबाट संयुक्त रूपमा पर्यटन भ्रमण वर्षको शुभारम्भ गरी पर्यटकसमक्ष सन्देश दिएको छ । करिब दशक अगाडिसम्म तराईका जिल्लामा सीमित छठ पर्व सङ्घीय राजधानी काठमाडौँसहित पहाडी जिल्लामा पनि विस्तार भएको छ । कुनै जिल्ला, धर्म, वर्ग, जातमा छठ सीमित छैन । अहिले विभिन्न चाडपर्वमध्ये छठ एक महान् पर्वसँगै लोकतान्त्रिक पर्वका रूपमा चिनिन्छ । हिन्दु धर्मावलम्बीसँगै अन्य जातजाति, धर्म, वर्ग, समुदायले छठ मनाउन थालेका छन् । यसैकारण छठ पर्वको उत्सवमा रमाउन, यसको मौलिकताको अध्ययन, अनुसन्धान गर्न पर्यटकलाई लोभ्याउन सक्ने हो भने पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनमा यसले मद्दत गर्नेछ ।
मुख्य रूपमा पारिवारिक सुख, समृद्धि र शान्तिको कामनाका लागि मनाइने छठमा श्रद्धालुहरू सूर्य देवताको पूजा–प्रार्थना गर्दछन् । यसका अतिरिक्त आफ्नो दुःख, कष्ट र रोगव्याधीको नाश होस् भन्ने कामना पनि यो पर्वमा गरिन्छ । पूजासामग्री, ढकी, डाला, माटाका हात्ती, केराको घरी, नैवेद्यका रूपमा भातीका परिकार तथा फलफूल समावेश गरिने यस पर्वमा तराईवासीसँगै पहाडी समुदायका व्यक्तिहरूले पनि श्रद्धापूर्वक यो पर्व मनाउँछन् । सक्नेले व्रत बस्ने, नसक्नेले फलफूल व्रतालुलाई दिएर सूर्यको आराधना गर्छन् ।
काँचहि वाँसके टोकरिया हो ऽऽ
दिनानाथ, टोकरी लचकत जाय
बाटमे पुछय जे बटोहिया ऽऽऽ
टोकरी केकर ........?
यस्तो छठको लोकोत्सव सङ्गीतसँगै तराईदेखि राजधानीसम्म सूर्यको उपासना गरी छठ पर्व हर्षोल्लाससाथ मनाइन्छ । तिहार सकिएलगत्तै छठ पर्वमा गुञ्जिन थालेको यी र यस्ता छठ गीत घर–घरमा गुञ्जिन्छन् । सार्वजनिक ठाउँमा लाउडस्पिकर राखेरै वातावरण गुञ्जायमान गरिएको छ । छठ लोकभाकाको बढ्दो लोकप्रियताले पान पसलदेखि ठूला किराना पसल, मिठाइ पसल, कपडा पसल र डिपार्टमेन्टल स्टोर तथा सवारीसाधनमा समेत छठ लोकभाकाकै गीत गुञ्जिने गरेको छ ।
हिन्दु धर्मावलम्बीसँगै विभिन्न धर्मावलम्बीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समेतले यस पर्वलाई मनाउन थालेका कारण यसलाई लोकतान्त्रिक पर्व भन्न थालिएको छ । त्यतिमात्र होइन, छठ पर्वमा सूर्यको पूजाआजा, अराधना, प्रार्थना र अर्चना मूख्य रूपमा गरिन्छ । सूर्यले पनि मानिसको अस्तित्व र अस्मितालाई स्वीकार गरी गरिब, धनी, सम्पन्न, विपन्न सबैलाई सामान रूपबाट हेर्ने भएकाले पनि यसलाई गणतान्त्रिक छठ पर्व भनिन्छ ।
धार्मिक ग्रन्थहरूमा सृष्टिको उषाकालदेखि नै छठ पर्वको सुरुवात भएको उल्लेख छ । प्राचीन ग्रन्थ ऋग्वेदमा सूर्योपासनाको महŒवलाई हे जाज्वल्यमान सूर्यदेव, जब तिमी उषाको काखमा उदाउँछौ, तब भक्तजनहरू गीत गाएर तिम्रो स्तुति गर्छन् । त्यस्तै मत्स्यं पुराणमा आरोग्य भाष्करोदिच्छेत अर्थात् सूर्यबाट आरोग्यताको कामना गरिन्छ । यसैगरी, पदमपुराणमा सूर्यपासना मात्रेण सर्वरोगतां प्रमुच्येत अर्थात् सूर्यको उपासनाबाट सबै प्रकारका बिरामीबाट मुक्त हुन्छन् ।
सर्वप्रथम अस्रिमुनिकी धर्मपत्नी एवम् सफल दाम्पत्य जीवनका लागि कात्तिक शुक्ल षष्ठिका दिन यो पर्व गरेको सूर्यपुराणमा उल्लेख गरिएको छ । सोही समयदेखि छठ पर्वको सुरुवात भएको मानिन्छ ।
प्रायः छठ पर्वका श्रद्धालुहरूले कात्तिकको प्रारम्भदेखि छठ नहुन्जेलसम्म तामेसी भोजन त्याग्ने गर्दछन् । भक्तजनले माछा, मासु, अण्डा, लसुन, प्याजजस्ता तामेसी भोजन त्यागी शाकाहारी हुन थाल्छन् । चार दिनसम्म मनाइने छठको व्रत बस्ने व्रतालुहरू छठको चौथो (प्रथम) दिन ‘चौथी’मा स्नान गरेर शाकाहारी भोजन ग्रहण गर्छन्, जसलाई ‘आँरवा अरवाइन’ वा ‘नहाइ खाय’ भनिन्छ । यसको अर्थ नुहाएर खानु हो । त्यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ । यस दिनलाई ‘खरना’ भनिन्छ । नयाँ वस्त्र धारण गरेर आफ्नो इष्टदेवता भएको कोठामा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । यो दिन बेलुकीपख चन्द्रदर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठी मातालाई चढाइन्छ । चढाइसकेपछि व्रतीले प्रसादका रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यले पनि यसलाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ । तेस्रो दिन षष्ठिमा दुलहीजस्तै पोखरी, नदी, तलाउ तथा अन्य जलाशयलाई सजाएर गङ्गाजल छर्की शुद्ध पारी अर्घका लागि सो स्थानमा पूजासामग्री राखिन्छ । छठ अर्थात् षष्ठिको दिन गहुँ, चामलको पीठोबाट बनाएको ठकुआ, भुसवासहित फलफूल, केरा, हल्दीको बोट, अदुवाको बोट, उखु, सुथनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराइ चढाइन्छ । यस्तै लौका, फर्सी, भान्टा, मुला, कोबीलगायत हरियो तरकारी पनि चढाउने चलन छ । पूर्ण रूपमा शाकाहारी हुने यो पर्वमा ठकुवा, भुसुवा, फलफूल र कसारले विशेष महŒव राख्छ । बाँस वा पित्तलको कोनियाँ, ढाकी, नाङ्लोमा सजाइ जलाशयमा गएर अस्ताउँदो सूर्यलाई प्रथम अर्घ अर्पित गरिन्छ । जसलाई स्थानीय भाषामा सझिया घाट वा अरक भनिन्छ । षष्ठिका साँध्य अर्घपछि पूजासामग्रीसहित जलाशयमा जागराम बसी मनोरञ्जन पनि गरिन्छ । जलाशयकिनारमा अधिकांश श्रद्धालु भक्तजन पाल टाँगेर जाग्राम बसी भजन–कीर्तन गर्ने गरिन्छ । केहीले सामग्री घर ल्याई पुनः सप्तमीको बिहान जलाशय लैजाने गर्दछ । चौथो दिन सप्तमीको बिहान षष्ठिका दिन दिएका अर्घका सामग्रीलाई पुनः उदाउँदो सूर्यलाई अर्घ अर्पित गरेर छठ पर्व समापन हुन्छ ।
यस पर्वमा सूर्यको अर्चना एवम् आराधना र पूजाआजा गरिए तापनि यसको लोकप्रियता एवम् व्यापकता ‘छठ परमेश्वरी’ वा छठी माताको पूजाका रूपमा प्रचलित छ । वेदमा उल्लेख भएअनुसार उषालाई छठ परमेश्वरीको साक्षात रूपमा पूजाआजा गर्ने मान्यता छ ।
व्रतालु महिलासँगै परिवारका सदस्यहरू नयाँ लुगा र गरगहनामा सजिएका हुन्छन् । विगतमा महिलामात्र व्रतमा बस्ने चलन रहेकोमा केही वर्षयता पुरुषहरूसमेत व्रत लिने गरेका छन् । हिन्दु धर्मावलम्बीसँगै कतै मुस्लिम, क्रिश्चियन समुदायको बढ्दै गएको आस्थाका कारण सहभागिता देखिएको छ ।
यस पर्वमा श्रद्धालुहरू सूर्य देवतासँग प्रार्थना गर्नुका साथै आफ्नो दुःख, कष्ट र रोगव्याधीको नाश होस् भन्ने कामनासमेतका लागि मनाइने यो पर्व विगतको वर्षदेखि महँगो र भड्किलो हुँदै गएको छ । व्रतालुद्वारा सूर्य देवतालाई शनिबार साँझ अस्ताउँदो र आइतबार बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ सम्पन्न हुनेछ ।
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने विश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू छ ।
(लेखक गोरखापत्रका राजविराज समाचारदाता हुनुहुन्छ ।)