logo
२०८१ मंसिर १० सोमवार



जैन दर्शनको प्रमाण सिद्धान्त

विचार/दृष्टिकोण |





डा. ज्ञानदेव हटुवाल

जैन दर्शनमा प्रमाण सिद्धान्तलाई पनि प्रमुख प्राथमिकताका रूपमा हेरिएको पाइन्छ । प्रमाणविधिको अवलम्बनले गर्दा नै साधुलाई ठीकसँग आध्यात्मिक मार्गमा हिँड्न प्रेरित गर्छ । मुख्य रूपमा जैन दर्शन विषय विस्तारका हिसाबले प्रमाणमा पनि आधारित दर्शन मानिएको कारणले गर्दा अनुयायीहरू आफ्नो जीवनशैलीलाई समर्पण भावले अविछिन्न रूपमा दृढ अठोटका साथ मार्गमा हिँड्न मद्दत पुग्छ । सम्यक् दर्शन, सम्यक् ज्ञान र सम्यक् चरित्रकोे पालना गरेर साधकले विद्यमान अवस्थाबाट मोक्ष प्राप्त गर्छन् भने प्रमाण सिद्धान्तले वस्तु ज्ञानमा रहेको अस्पष्टतालाई निवृत्त गरिदिन्छ या त्यसलाई जस्ताको तस्तै गरी स्पष्ट पारिदिन्छ ।
मुख्य शब्दावली
आलोकित, विशद, अमराविपेक्षवाद, आगम, परोक्ष जैन दर्शनका अनुसार निश्चित रहेको स्वरूपलाई कुनै प्रकारको बाधा व्यवधानरहित भएर, जुन वस्तुको जे कारण हो, त्यसलाई सोही रूपमा जान्न सकिने आधारलाई प्रमाण भनिन्छ अर्थात् कुनै पनि प्रमाणले वस्तु ज्ञानमा रहेको अस्पष्टतालाई निवृत्त गरिदिन्छ या त्यसलाई जस्ताको तस्तै गरी स्पष्ट पारिदिन्छ । जसरी अन्धकारमा रहेको वस्तुलाई दीपकको ज्योतिले प्रकाशित गरेर देखाउनमा मद्दत गर्दछ, त्यस्तैगरी अज्ञानावरणावच्छिन्न वस्तुलाई ज्ञानावरणावच्छिन्नताद्वारा आलोकित गरिदिनु नै प्रमाणको मुख्य लक्षण हो । प्रमाणमीमांसा सूत्रका आधारमा कुनै पनि वस्तुको अर्थतŒवलाई प्रकाशित गरिदिनु नै प्रमाणको मुख्य काम हो ।
प्रमाणको मुख्य पक्षलाई प्रामाण्य पनि भनिन्छ । प्रामाण्य दुई किसिमको हुन्छ– स्वतः प्रमाण र परत प्रमाण । विभिन्न दार्शनिक धाराहरूमा कसैले वस्तुको स्वयम् सिद्धतालाई नै प्रमाण मानेका हुन्छन् । तिनीहरू स्वतः प्रामाण्यवादी हुन् भने कसैले कुनै पनि वस्तुलाई प्रमाणित गर्न अरूको आधार लिने गर्छन् । तिनीहरू परतः प्रमाण्यवादी हुन्छन् । न्याय दर्शनका पक्षधरहरू परतः प्रामाण्य मान्छन् । जैन ग्रन्थ प्रमाणनयतŒवाका अनुसार ज्ञाप्ति अर्थात् वस्तुको स्वरूप स्वतः प्रमाण हो भने निश्चितता परतः प्रमाण हो ।
प्रमाणका दुईवटा परिणामहरू हुन्छन् । पहिलो परिणाम साक्षात् फल, जसबाट मानिसमा रहेको तत्कालको अज्ञानता विनष्ट हुन्छ । दोस्रो, उपादानको अपेक्षा अर्थात् एउटा नियम बुझेपछि सोहीअनुसार अन्यत्र पनि उपयोग गर्न सकिने हुन्छ । जस्तो घरको भान्सामा धूवाँसहितको अग्नि देख्ने व्यक्तिले अन्यत्र जहाँसुकै पनि धूवाँ देखेको अवस्थामा त्यहाँ अवश्य पनि अग्नि रहेको हुन्छ भन्ने ज्ञान । कहिलेकाहीँ प्रामाण्यका विषयवस्तुहरू एकसाथ जुटे पनि प्रमाणको जस्तै आभास पनि हुन्छ । त्यसलाई प्रमाणाभास भनिन्छ । यस प्रसङ्गमा निर्वाध प्रमाण कुन हो र प्रमाणाभास कुन हो भन्ने कुरा अवश्य पनि छुट्याउनुपर्छ ।
प्रमाण या भेदहरू
जैन दर्शनका अनुसार प्रमाण दुई किसिमका हुन्छन् । (१) प्रत्यक्ष प्रमाण (२) परोक्ष प्रमाण । प्रत्यक्ष प्रमाणको निरूपण दुई किसिमले हुन्छ । पहिलो लोकोत्तर प्रमाण । दोस्रो– लौकिक आधार । त्यसैकारण प्रत्यक्ष प्रमाणको एउटा पक्षलाई पारमार्थिक प्रत्यक्ष भनिन्छ भने दोस्रोलाई व्यावहारिक प्रत्यक्ष । प्रत्यक्ष प्रमाणअन्तर्गत लोकोत्तर प्रमाण भन्नु र पारमार्थिक प्रत्यक्ष भन्नु एउटै हो भने व्यावहारिक प्रत्यक्ष भन्नु र लौकिक प्रत्यक्ष भन्ने कुरा पनि एउटै हो ।
जैन दर्शनको परोक्ष प्रमाण भनेको कुरा र अन्य दर्शनले अनुमान भनेको कुरा पनि लगभग एउटाजस्तै हो । प्रत्यक्ष ज्ञानको विपरीत ज्ञानलाई परोक्ष ज्ञान भनिएको छ । प्रमाणमीमांसा सूत्रका अनुसार अविशद ः अथवा अस्पष्ट ज्ञान परोक्षम् विशद अर्थात् विस्तृत रूपमा चर्चा नगरिएको अस्पष्ट ज्ञानलाई नै परोक्ष ज्ञान भनिन्छ । यो पाँच किसिमको हुन्छ– स्मृति परोक्ष ज्ञान, प्रत्यभि ज्ञान परोक्ष ज्ञान, तार्किक परोक्ष ज्ञान, अनुमान परोक्ष ज्ञान र आगम परोक्ष ज्ञान ।
स्मृति परोक्ष ज्ञान ः अनुभवको वासना जागृत भएर उत्पन्न हुने ज्ञानलाई स्मृति परोक्ष ज्ञान भनिएको छ । यसैलाई प्रमाणमीमांसा सूत्रमा वासनोद्भूत हेतव्याका स्मृति अतीतका अनुभवहरूको स्मरणद्वारा हुने ज्ञानलाई स्मृति ज्ञान भनिन्छ । यो प्रमाणका लागि सहायक साधन बन्छ ।
प्रत्यभिमान परोक्ष ज्ञान ः देखेर तथा स्मृतिद्वारा उत्पन्न हुने ज्ञानलाई प्रत्यभिज्ञान परोक्ष ज्ञान भनिन्छ । जस्तो लामो समयपछि पहिले कहीँ देखेको मानिसलाई पुनः नजिकमा देख्दा “यो त्यही देवदत्त नै हो” भन्ने ठम्याइ । यसमा प्रत्यक्ष दृष्टि र पुरानो स्मृतिका बीचमा अभेद सम्बन्ध रहेको हुन्छ ।
तार्किक परोक्ष ज्ञान ः तर्क भनेको एकप्रकारको जिज्ञासा हो । यसलाई “उह” पनि भनिन्छ । लिङ्गको ज्ञानबाट प्रत्यक्ष वस्तुको ज्ञान हुनु यसको ज्ञान प्रक्रिया हो । जस्तो कुनै मानिसले यसभन्दा पहिले धूवाँ भएको ठाउँमा आगो रहेको देखेको थियो । हाल यहाँ पनि धूवाँ देखेर आगो छ भन्ने ठम्यायो भने त्यसलाई तार्किक परोक्ष ज्ञान भनिन्छ । प्रमाणमीमांसाका अनुसार यहाँ वर्तमानमा उपलब्ध धूवाँबाट पहिलो कहीँ देखेको धूँवासहितको अग्निका साधनद्वारा गरिएको ठम्याइ नै तार्किक परोक्ष ज्ञान हो । यसलाई तार्किक सङ्गति पनि भनिन्छ ।
अनुमान परोक्ष ज्ञान ः साधनद्वारा साध्यको ज्ञानलाई अनुमान परोक्ष ज्ञान भनिन्छ । प्रमाणमीमांसाका अनुसार (साधनात् साध्यविज्ञानम् अनुमानम) जस्तै कहीँ पारी पाखामा कसैले धूवाँ पुत्ताएको देख्यो, त्यो साधन भयो । त्यसैका आधारमा यहाँ पनि धूवाँ पुत्ताएको देखेपछि आगो नै छ भन्ने जुन ज्ञान भयो त्यो अनुमान परोक्ष ज्ञान भयो ।
आगम परोक्ष ज्ञान ः आप्त पुरूषहरूका प्रामाणिक वचनहरूलाई आगम भनिन्छ । उनीहरूका वचनहरू तमाम प्रकारका ग्रन्थहरूमा निबद्ध रहेका हुन्छ । तीर्थङ्करहरू र अन्य दार्शनिक आचार्यहरू नै आप्त पुरूषहरू भएका हुनाले उनीहरूका समस्त वाणीहरूलाई आगम स्वरूप परोक्ष ज्ञान भनिएको हो ।
जैन दर्शनको प्रमाणमीमांसाका सम्बन्धमा जति विस्तृत दार्शनिक साहित्य छ, त्यति अन्य दर्शनमा उपलब्ध छैन । किनभने एउटै अनेकान्तवादका निम्ति “अनेकान्तवाद पताका” नामक ग्रन्थ नै लेखिएको छ । “स्याद्ववाद” सिद्धान्त विवेचनाका लागि स्याद्ववाद मञ्जरी र स्याद्ववाद रत्नाकर नामक छुट्टाछुट्टै ग्रन्थहरू उपलब्ध छन्, जसमा “स्याद्व्वाद” का विषयमा विस्तृत चर्चा छ । यस्तैगरी नयवाद र अमराविक्षेपवादको पनि जैन दर्शनको तार्किक प्रणालीमा महŒवपूर्ण स्थान छ । यी चारवटा प्रमाणका साधनहरू हुन्– अनेकान्तवाद, स्याद्ववाद, नयवाद र अमराविपेक्षवाद । यी जैन दर्शनको प्रमाणका लागि अति महŒवपूर्ण साधनहरू हुन् र जैन दर्शनका विशिष्ट विषय हुन् ।

(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयबाट “बौद्ध दर्शन र जैन दर्शनको तुलनात्मक अध्ययन” विषयमा विद्यावारिधि प्राप्त विशेषज्ञ हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?