बिनिता भट्टराई
जिज्ञासु : छमजुङ बिमार भएको कति दिन भयो ?
बिमारीका दाजु : तीन दिन, तीन रात, आजसमेत चार दिन भइगयो ।
जिज्ञासु : यति दिनसम्म किन अस्पतालमा उपचार गर्न लैजानुभएन ? गाउँमै स्वास्थ्यचौकी पनि छ होला ?
बिमारीका दाजु : गुम्बा गयो । लामापूजा ग¥यो । अस्पताल लैजान सजिलो पनि छैन । गाउँको स्वास्थ्यचौकीमा त उपचार हुन्न । ज्वरो आयो रुघा लाग्यो भने औषधिमात्र दिन्छ ।
जिज्ञासु : अनि सरकारले पैसा नलिई हेलीमा अस्पताल पु¥याउँछ भन्ने थाहा थिएन ?
बिमारीका दाजु : गाउँमा कसैलाई थाहा नाइँ । हाम्रो गाउँको काठमाडौँ बस्ने कार्मा गाउँ आएको । उसैले सिडियोलाई फोन ग¥यो भने हेलीमा अस्पताल पु¥याउँछ भन्यो । नत्र मेरो बैनी नबाँच्ने ।
जिज्ञासु : अनि लामापूजा गरेर भगवान्ले बचाएको हो त तपाईंकी बैनी ?
बिमारीका दाजु : भगवान् आफैँ त कहाँ आउँछ त
बचाउन ? भगवान्ले त कार्मालाई गाउँ पठायो । सिडियोलाई फोन गर्नुपर्छ भनेर सिकायो । बचाएको त भगवान्ले नै हो नि ।
जिज्ञासु : अब त गाउँमा बच्चा पाउन नसकेर कोही मर्नुपर्दैन
होला नि ?
बिमारीका दाजु : अब त गाउँमा सबले थाहा पायो, यस्तो हँुदैन । पहिला–पहिला गाउँमा कोही बिमार नहुने । मेरो आमाले १२ सन्तान जन्मायो, केही भएन, सबै राम्रो छ । गाउँमा हामी दुईजना सन्तानमात्र हो । अरू सबै अमेरिका, काठमाडौँ कता–कता छ, सबै राम्रो छ । आमालाई पनि केही रोग छैन । तर, अहिले भगवान् रिसाएजस्तो छ ।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट टाढा सञ्चार सम्पर्कबाट वञ्चित लिमी गाउँमा वर्ष ३५ की छमजुङ लामा चार दिनदेखि प्रसव बेथामा छट्पटिइन् । स्थानीय परम्पराअनुसार छमजुङको स्वास्थ्यलाभका लागि गाउँमा लामा पूजा गरियो । गाउँका सम्पन्न परिवार सबै काठमाडौँमा । संयोग, कार्मा काठमाडौँबाट गाउँ गएको मौका परेछ । सरकारले सुत्केरी बेथा लागी सुत्केरी हुन नसकेका दुर्गम क्षेत्रका महिलालाई हवाई उद्धारमार्फत सेवा दिन्छ भन्ने विषय कार्मालाई जानकारी रहेछ । कार्माले छमजुङलाई प्रसव बेथा लागेको कुरा सम्बन्धित निकायसम्म पु¥याए । जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा निजी हेलिकोप्टर सेवाप्रदायकबाट छमजुङको हवाई उद्धार भयो । जिल्ला अस्पताल हुम्लामा २०७६ साउन १८ गते शल्यक्रियामार्फत प्रसूति गराउँदा छमजुङको अकालमा ज्यान जानबाट त रोकियो । तर, उनको पहिलो सन्तान समयमा अस्पतालको सेवा प्राप्त गर्न नसक्दा जन्मको अधिकारबाटै वञ्चित भयो । सुन्दर संसारमा जन्म लिन नौ महिनासम्म तपस्या गरेर बसेको गर्भेशिशुले संसार देख्न पाएन ।
सरदमुकाम सिमकोटबाट झन्डै चार दिन लाग्छ– हुम्लाको उत्तरी क्षेत्र लिमी पुग्न रैथानेहरूलाई । चीनसँग सिमाना जोडिएको लिमी उपत्यका समुद्री सतहबाट चार हजार मिटरभन्दा माथिको उचाइमा छ । विगतमा तिब्बत र नेपालबीचको चल्तीको व्यापारिक नाका पनि हो यो । स्थानीयका अनुसार चार÷पाँच दशक अगाडि नेपालको खाद्यान्न र ल्हासाको सुन विनिमय हुने गथ्र्यो । तिब्बतीहरू नेपालतिरै बस्न रुचाउँथे । तर, अहिले समय बदलिएको छ । नेपाली समुदाय नुनदेखि सुनसम्म तिब्बतमा निर्भर हुने अवस्था छ । स्थानीयले रोजगारीका लागि खाडी मुलुक हैन, तिब्बतको ताक्लाकोट नै प्राथमिकतामा राख्ने रहेछन् ।
विगतमा हुम्ला जिल्लाको नागरिकताका आधारमा तिब्बतका धेरै ठाउँसम्म पुग्न सकिने भए पनि हाल चीन सरकारको नीतिका कारण यहाँका बासिन्दा जिल्ला प्रशासन कार्यालयले दिएको पासका आधारमा तिब्बत क्षेत्रको ३० किलो मिटरसम्म मात्र जान सक्ने सुविधा रहेछ । तर, नेपाली नागरिकको परनिर्भरता भने बढ्दै गएको छ । दैनिक जीवन निर्वाहका लागि स्थानीयहरू तिब्बती बजार ताक्लाकोटमा निर्भर छन् । हिल्सा–सिमकोट सडक सञ्जालको काम भइरहेको भए पनि हालसम्म हुम्लामात्र नेपालको यस्तो जिल्ला हो, जुन राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । भोटे समुदायको बस्ती रहेको यस क्षेत्रका अधिकांश मानिस नेपाली भाषा बुझ्दैनन् । यहाँका मानिस तिब्बती भाषासँग मिल्ने लिमी भाषा नै प्रयोग गर्छन्, दैनिक जीवनमा । तराईका सीमामा रहेका नेपालीको भारतीयसँग भएको रोटी र बेटीको सम्बन्धजस्तै रहेछ यहाँ पनि तिब्बतियनसँगको सम्बन्ध । बौद्ध धर्ममा आस्था राख्ने यहाँका समुदायको धर्मप्रति अति बढी झुकाव देखिन्छ । सरकारको उपस्थिति नभए पनि खासै फरक पर्दैन लिमीवासीलाई ।
लिमीमा स्वास्थ्यचौकी र प्रहरी चौकी भए पनि तराई र अन्यत्रबाट खटिएर गएका कर्मचारी टिक्न सक्ने अवस्था छैन । सरुवा भएका कर्मचारी हाजिर हुन नपाउँदै अन्यत्र सरुवा भइसक्छन् । खटिएका नेपाल प्रहरीका जवानहरू ‘हाई अल्टिच्युड’ का कारण ज्यान गुमाएका समाचार समय–समयमा आइरहन्छन् । स्थानीय जनप्रतिनिधिलगायत अन्य सम्पन्न परिवारका अधिकांश सदस्यहरूसमेत काठमाडौँलगायतका ठूला सहरमा अधिकांश समय बिताउने हुँदा दैनिक पर्ने स्थानीय समस्यासम्बन्धमा जनप्रतिनिधिलाई समेत जानकारी नहुने रहेछ । सञ्चारका लागि नेपाल सरकारको स्वामित्वप्राप्त नेपाल टेलिकमको सेवा पुग्न सकेको छैन भने नेपालको अर्को ठूलो निजी टेलिफोन सेवाप्रदायक खुद नाफा कमाउने उद्देश्यबाट सञ्चालित एनसेलको सेवा पुग्ने कल्पना तत्काल गर्न सकिँदैन ।
गाउँको झैझगडा मिलाउने स्थानीय भलाद्मी बिरामी भए स्थानीय लामा झाँक्रीबाटै उपचार हुने । आस्था र विश्वासको धरोहर गुम्बा अनि गुम्बाका गुरु । किन चाहियो सरकार जब कि सरकारले के गर्छ, थाहै छैन । अनि सरकारको उपस्थितिको आवश्यकता महसुस किन गर्ने स्थानीय समुदायले ? जब कि स्वास्थ्यचौकीको ढोका सधैँ बन्द । चाहेको समयमा सिटामोल उपलब्ध हुन्न । स्वास्थ्य परामर्श दिने कर्मचारी छैनन्, भए पनि भाषा बुझ्दैनन् । कर्मचारीको जागिरे मानसिकता अनि विद्यालयका शिक्षक राजनीतिक दलका कार्यकर्ता । विद्यालयका ढोका खुलेको छ, छैन पढाइ हुन्छ, हँुदैन स्थानीयको सरोकार पनि कमै हुने । पहुँच भएका त काठमाडौँ र भारतका गुणस्तरीय विद्यालयमा पढिहाल्छन् । सायद यसै भएर होला स्थानीयले जनप्रतिनिधिको गाउँमा उपस्थिति पनि खासै नखोज्ने ।
जिल्लाको पूर्वाधार विकासमा भन्दा नेपाल खाद्य संस्थानले अनुदानमा बाँडेको चामलको विषय जिल्लाका भद्र–भलाद्मीबीच छलफलको विषय बन्दोरहेछ । स्वाभाविक पनि हो, भोको पेट भर्ने पहिलो प्राथमिकता । शिक्षा, स्वास्थ्य, सडक बिस्तारै विकास हुने विषय । तर पनि स्थानीय उत्पादनले महŒव नपाएको अवश्य हो । स्थानीय सिमीको झोल र चिनोको भातमा भन्दा त आयातीत चाउचाउको झोल र सेतो चामलको भातमा यहाँका बच्चाको लत बसेको छ । चाउचाउ र खाद्यको सेतो चामल खाने बानीको विकासले स्थानीय चिनो, फापर, कोदो त खच्चरको आहार पो बनेछ । स्थानीय उत्पादनको ब्रान्डिङ गरी विश्व बजार पु¥याउन नसके पनि काठमाडौँ सहर पु¥याउन सकेमात्र पनि सरकारले धेरै गर्नुपर्ने देखिन्न । चामल बाँड्ने सरकारको नीतिका कारण खाद्यान्नमा परनिर्भरता बढाएकोमात्र छैन, यस क्षेत्रमा भोकमरीको अवस्था सिर्जना हुने देखिन्छ सधैँ यस्तै भए । गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच नहँुदा अन्धविश्वास व्याप्त छ ।
नेपालको मातृमृत्यु दर अन्य देशको तुलनामा अधिक छ । अहिले पनि एक लाख बच्चा जन्माउँदा झन्डै १७० जना महिलाले अकालमा मृत्युवरण गर्नुपर्छ । पछिल्लो समय स्वास्थ्य सूचकहरूमा सुधार देखिए पनि दुर्गम क्षेत्रमा समस्या विकराल छ । मातृशिशु स्वास्थ्यमा सुधार गर्न नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत र कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले सुत्केरी बेथा लागेर सहज रूपमा बच्चा जन्माउन नसकेका दुर्गम क्षेत्रका महिलाको हवाई उद्धारमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने पुण्य कार्यको सुरुवात गरेको छ । तर, सो विषय समयमा जानकारी नहँुदा छमजुङजस्ता धेरै महिलाले सरकारले उपलब्ध गराएको सेवा उपभोग गर्नबाट समेत वञ्चित छन् । एक्काइसौँ शताब्दीमा सञ्चार सम्पर्कबाट विमुख लिमीजस्ता गाउँका नागरिकले सामान्य सरकारी सेवा समयमा प्राप्त गर्न नसक्नु, सो विषयमा जानकारी नहुनु, सरकारमा बसेका, सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने जिम्मेवारी प्राप्त अधिकारीहरूका लागि लज्जास्पद विषय बनेको छ । आशा राखौँ आगामी दिनहरूमा सबै छमजुङहरूले मातृ वात्सल्यता आफ्ना सन्तानमा बाँड्न पाऊन् ।
(लेखक हुम्लाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।)