logo
२०८१ मंसिर १० सोमवार



त्रिपुरासुन्दरीकी देउकी

विचार/दृष्टिकोण |




मञ्जु भट्ट

सुदूरपश्चिमको बैतडीमा भाइटीकाको सातौँ दिनमा लाग्ने कार्तिके मेलाले भाइटीका मनाउन घर आएका स्वदेश तथा परदेशमा काम गर्नेलाई काममा फर्कन हौस्याउँदैन, बरु काममा गइहाल्यो भने मेलाको यादले सताउँछ । तिहारमा देउसी–भैलो खेलेवापत पाएको चामल र पैसाले खाएको वनभोजको रमाइलो सकिएलगत्तै कार्तिके मेलाको रमझमले बैतडी दशरथचन्द नगरपालिकाको पुजारा गाउँस्थित त्रिपुरासुन्दरी मन्दिरमा भीड लागिसकेको हुन्छ ।
बैतडीको सदरमुकाम गोठलापानीबाट एक घन्टाको पैदल दूरीमा रहेको त्रिपुरासुन्दरी देवीको मन्दिर अति नै मनमोहक र रमणीय छ । त्रिपुरासुन्दरी मन्दिर पर्यटकीय क्षेत्रमा सूचीकृत छ । जिल्लाको विभिन्न ठाउँबाट राँगा, बोका भाकल गरेकाहरू बाजागाजासहित तीन–चार दिन अगाडिबाटै मन्दिरमा आउने क्रम सुरु हुन्छ । मन्दिरमा मनोकामना पूर्ण होस् भन्ने मनसायले, मनोकामना पूरा भएपछि भाकल गर्ने प्रचलन छ । कोही आफ्नो इच्छा, आकाङ्क्षा पूर्ण होउन् भनेर मन्दिरमा होम भएको ठाउँमा बलेको दियो हातमा लिई घण्टौँ उभिन्छन् । तीन दिन अघिबाट मन्दिरमा औराद (जाग्राम) बस्न थाल्छन् । यो मन्दिरमा नानी जात् (सानो मेला) अष्टमीको दिन लाग्छ । यो दिनमा भाकल गर्नेहरू भाकल गरेको सरसमान, पैसा, राँगा, बोका वा देउकी जे भए पनि बाजागाजासहित मन्दिरमा आइपुग्छन् । मन्दिरमा ठूलो मेला लाग्छ । रातभरि मन्दिरभित्र देवीको पूजा हुन्छ ।
ठूली जात् (ठूलो मेला) नवमीको दिन लाग्छ । यो दिनमा नजिक र टाढाका गाउँबाट मान्छेहरू बिहानै मेला भर्न आउँछन् । भारतको उत्तराञ्चल प्रदेशमा पर्ने झुलाघाट, गौडीहाठ, मजिरकाँणा, ठूलीगाड, पिथौरागढ आदि ठाउँबाट श्रद्धासाथ मेला हेर्न आउँछन् । बिहानै देवीलाई सजाएर त्रिपुरासुन्दरी मन्दिरलाई घर र कापडी गाउँलाई माइत मानेर त्यहाँबाट देवीको सवारी चलाइन्छ । धामीको काँधमा चढेर सवारी गरिन्छ । मन्दिरको वरिष्ठ धामी बितेको बर्षौं भइसकेको छ तर अर्को धामी स्थापित गरिएको छैन । सहायक धामीबाटै काम चलाउने गरिएको छ । अरू धामीले देवीलाई काँधमा चढाएर देउकीसहित नाच्दै गाउँदै बिस्तारै सवारी अगाडि बढ्छ । माइत जाने बाटोको सुलेखान ठाउँमा पहिले महिषासुर राक्षसलाई मान्छेको बलि दिइन्थ्यो रे ! त्यसैले त्यो ठाउँमा पुग्दा ‘अहिले छाड फर्किदा बलि दिउँला’ भनेर देवीको सवारी माइत पुग्छ । माइतबाट जब दाइजोसहित देवीको सवारी फिर्ता हुन्छ पहिलाको बाटो नगई झुक्याएर अर्कै बाटो दौडेर सबैजना मन्दिर प्रवेश गर्छन् । यसलाई मेलाको रमाइलो र अचम्मलाग्दो हिस्सा मानिन्छ । यो हेर्न घरबाट दौडादौड गरेर बिहानै सयौँ मान्छे जम्मा भएका हुन्छन् । मान्छेको बलि दिएको देवीलाई मन परेन रे ! त्यसैले अचेल बोकाको बलि दिने गरिन्छ ।
देवीको सवारी मन्दिरमा फिर्ता भइसकेपछि धामीहरू देवीको मूर्तिलाई काँधमा राखेर काम्दै–नाच्दै, देउकीहरू चाँैरीगाईको पुच्छरबाट बनाएको चमर हल्लाउँदै र पातरहरू बाजागाजासहित अगाडि नाच्दै माचमा (नाच्ने ठाउँ) प्रवेश गर्छन् । यसलाई चौलो जाने भनिन्छ । दृश्य हेर्न दर्शक रमाउँछन् । नाचेपछि देवीको पूजा गरेर त्यहाँबाट देवीको सवारी नजिकका गाउँजस्तै साजिबाट, भट्टिगाउँ, औला, मार्कणी जता मन लाग्यो त्यतै जाने चलन छ । जुन गाउँमा देवीको सवारी हुन्छ त्यो गाउँ फलिफाप हुने विश्वास छ । त्यहाँबाट पनि देवीलाई विभिन्न दाइजोसहित मन्दिर फिर्ता पठाइन्छ ।
ठूलो मेलाका बेलुकी साना, ठूला बोका, राँगा गरी सयौँको सङ्ख्यामा बलि दिइन्छ । साना केटाकेटी र कमजोर मुटु भएकाहरू बलि सुरु हुनुभन्दा अघि नै मेलाबाट घर गइसकेका हुन्छन् । मेलामा विभिन्न प्रकारका मिठाई, जिल्फी (जेरी) का साथै विभिन्न मिठा पकवानका पसल पनि राखिएका हुन्छन् । फलामको सिक्रीबाट बनेको ठूलो पिङ पनि मन्दिर परिसरभित्र हालिएको हुन्छ । मेला मात्र हेर्न र साथीसँगी भेट्न टाढाबाट मान्छेहरूको ओइरो हुन्छ । महिनावारी भएका महिला भने मन्दिरको बाहिरबाट मेला हेर्दै आफन्तसँग भेटघाट गरेर बस्छन् । महिनावारीको तीन दिन भएका महिलाले अरूलाई छुन पाउँदैनन् । महिनावारीको आठ दिनमा मात्र मन्दिर प्रवेश पाइने भएकाले चार दिनदेखि सात दिनसम्मका महिला बाहिरैबाट मेला हेरेर चित्त बुझाउन बाध्य हुन्छन् ।
यो मेला अरूबेला भेट नभएका आफन्तसँग भेट्ने निहँु बनेको हुन्छ । बैतडीको धेरै गाउँमा मेलाको महŒव छ । गरेको भाकल मन्दिरमा चढाए पछि त्रिपुरासुन्दरी देवीले मनोकाङ्क्षा पूरा गरिदिने विश्वास जनमानसमा छ । कात्तिकमा मात्र नभई असारमा पनि मन्दिरमा दुई दिन मेला लाग्छ । असारे जात् (मेला) मा भने एउटा मौला (खम्बामा बाँधेको) राँगो र केही बोका बलि दिने चलन छ । असोजमा बैतडीको देहिमाडौँको निङलाशैनी देवीको मन्दिरमा पनि मेला लाग्छ । सयौँ राँगा काटिन्छन् ।
देवीका नौवटा रूपमध्ये सबैभन्दा सुन्दर र रूपवती भएकी देवीलाई त्रिपुरासुन्दरी देवी भनिएको छ । देवीको सेवासुसार र सिँगारपटार गर्न मन्दिरमा देउकी चढाउने चलन रहेको मानिन्छ । देउकी को हुन्, कस्ता हुन्छन् र के गर्छन् जिज्ञासा सानो हुँदा हाम्रो मनमा लागिरहन्थ्यो ।
केही देउकी मन्दिरको सरसफाइ, पूजा गर्न र देवीलाई सजाउन मन्दिर नजिकैको पूजारा गाउँमा बस्छन् । अरू जुन ठाउँबाट उनीहरूलाई मन्दिरमा चढाइएको हो, धेरैजसो त्यहीँ बस्छन् । मन्दिरभन्दा टाढा रहेका बस्तीहरू जस्तै– शोराड, बाण, खाण्, गुइतडी आदि ठाउँमा बस्छन् । आफ्नो छोरी नहुने धनी मान्छेहरूले मनोकाङ्क्षा पूरा होस् भनी मागे जति पैसामा चेलिबेटी किनेर मन्दिरमा चढाउँछन् । मन्दिरमा चढाइएका देउकीसँग कसैले पनि वैधानिक तरिकाले विवाह गर्दैनन् । देउकीबाट जन्मेको छोराछोरीकी आमा थाहा भए पनि बुबा को हो थाहा हुँदैन । त्यसैले छोराछोरी हुर्काउने पूरै जिम्मा आमाको हुन्छ । मन्दिरबाट उठ्ने भेटीबाट उनीहरू खर्च चलाउँछन् । त्यसले नपुगेर उनीहरू गाइभैँसी पाल्ने र खेतीपातीको काममा पनि संलग्न हुन्छन् । खान लगाउन पुगेन भने जसले मन्दिरमा चढाएको हो उसले पनि सहयोग गरेको केही उदाहरण देखिन्छ । समग्रमा हेर्दा धेरैजसोको अवस्था दयनीय छ ।
एउटी देवीको भगवानको रूपमा मन्दिरभित्र पूजा हुन्छ । धामी, पुजारीको काँधमा चढेर बजार घुमाइन्छ । अर्की देवी मानवरूपमा बिभिन्न किसिमका पीडा खेप्दै जीवन व्यतित गर्छिन् । यहाँ चलेको छाउपडी, बोक्सी, झुमाजस्तै कुप्रथा हो देउकी प्रथा । यो प्रथाले महिलाको आफ्नो बुवाआमासँग बस्न पाउने, स्कुल जान पाउने, बिहे गरी घरजम गर्न पाउने अधिकारमा बन्देज गर्छ ।
अहिले जनचेतनाको स्तर बढेसँगै देउकीका छोराछोरी पनि स्कुल जान थालेका छन् । देउकीका छोरीसँग विबाह गरेर घरजम गरी बसेका उदाहरण पनि छन् । बिस्तारै शिक्षा र जनचेतनाको लहर फैलिएसँगै अचेल छोरीलाई देउकी बनाउन बेच्ने वा मन्दिरमा चढाउने चलन कम हुँदै गएको छ ।
मन्दिर परिसरमा रहेको फलामको साङ्लो भएको पिङ पनि आकर्षणको केन्द्र मानिन्छ । मेलाको बेला अलौकिक घटनाहरू प्रत्यक्ष देख्न सकिन्छ । सुदूरपश्चिमको प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो मन्दिरको प्रचारप्रसारमा ध्यान दिन जरुरी छ ।

(लेखक अरुणिमा सेकेन्डरी स्कुल, बौद्ध काठमाडौँमा अध्यापन गर्नुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?