रामहरि पौड्याल
संसारको फोक्सो भनेर चिनिने ब्राजिलको एमेजन रेन फरेस्टमा भएको विशाल आगलागीको घटना सेलाउन नपाउँदै फेरि अर्को आगलागीको घटना भएको छ । भर्खरै स्विस वैज्ञानिकको रिपोर्ट अनुसार एक ट्रिलियन (दश खर्ब) रुखहरू रोप्नुपर्ने देखिन्छ क्लाइमेट चेन्ज (जलवायु परिवर्तन) सँग जुध्न । यस्तो विषम परिस्थितिमा विश्व पर्यावरणसामु ठूलो क्षेत्रको घना जङ्गल मासिनु गम्भीर समस्या बनेको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जल्स सहरबाट ६५ किलोमिटर टाढा सेन्टा क्लेरिटाको जङ्गलमा भीषण आगो लाग्यो । आगलागीका कारण जङ्गलनजिकै रहेको बस्तीका १८ घर जलेर नष्ट भए भने लाखौँ मानिस विस्थापित भए । आगलागीका कारण सेन्टा पाउला निवासी महिला भर्जिनिया पेसोला (७०) को मृत्यु भएको जानकारी अधिकारीले दिए । आगलागीका कारण भएको यो पहिलो मृत्यु हो । सावधानीको रुपमा दमकल विभागले ५० हजारलाई घर खाली गर्न आदेश दियो छ भने राजमार्ग बन्द गरियो । हावा तीव्रगतिमा चलिरहेकाले आगो निभाउन समस्या भएको र १३ हजार ३ सय हेक्टर जङ्गल सखाप भइसकेको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनायो । आगो निभाउनका लागि एक हजार ६ सयभन्दा बढी अग्नि नियन्त्रक परिचालन गरियो । आगो तीव्ररुपमा फैलिरहेका कारण आसपासका एक सयभन्दा बढी व्यापारिक भवन खाली गराइयो । विमानबाट पानी हालिए पनि अत्यधिक गर्मी र तेज हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भयो । आगलागीका कारण सहरका विभिन्न भागमा धुँवाको मुस्लोले आकाश ढाक्यो । सेन डियागोको तबेलामा आगो फैलिएका कारण थुप्रै घोडाको निस्सासिएर मृत्यु भएको छ ।
क्यालिफोर्नियाको सरकारले यो विपत्लाई हेरेर सङ्कटकाल घोषणा गरेको छ । दुईलाख मान्छेले घर छोडेका छन् आगोको लप्काबाट बच्न । दशौँ लाख मान्छे बिजुलीबाट वञ्चित बने । आगोलागीको प्रकोपबाट हुने विद्युतीय खतराबाट बचाउन बिजुली वितरण बन्द गरिएको हो । ८० माइल प्रति घन्टाको दरले बढ्दो हावाको वेगले आगोलाई फैलायो । आगोका लप्काले जलेर खरानी भएको विशाल वनक्षेत्र त्यसमा रहेका लाखौँ अमूल्य वनस्पति, जीवजन्तु यतिखेर सबैका चासो र चर्चाका विषय भएका छन् ।
कारण
कसरी आगोलागी भयो भन्ने कुरा अझै प्रमाणित नभैसके पनि प्यासिफिक ग्यास र इलेक्ट्रिक कम्पनीको ट्रान्समिसन लाइनमा भएको सर्ट सर्किटले गतवर्ष पूरै सहरमा ८५ जनाले ज्यान गुमाएका थिए शताब्दीकै डरलाग्दो आगोलागीमा परेर । युटिलिटीले एक ट्रान्समिसन टावर खराबीलाई स्वीका¥यो जब उच्च भोल्टेज ट्रान्समिसन लाइनमा हिट गर्ने दृढ सङ्कल्पले रणनीति परिवर्तन गर्न प्रेरित ग¥यो, प्यासिफिक ग्यास र इलेक्ट्रिक कम्पनीका सीईओ एन्ड्र्यू भेसेले भने । राज्यका अधिकारीहरूले त्यो आगोलागी प्यासिफिक ग्यास र इलेक्ट्रिक कम्पनीको ट्रान्समिसन लाइनमा भएको सर्ट सर्किटले भएको निक्र्योल निकालेका थिए । नौ लाख ४० हजार घर र व्यवसाय बिजुलीविहीन भएको तथ्याङ्क पी जी ७ इले दिएको छ । यस प्रकारको बिजुली बन्द हुँदा दशौँ हजार डलरको घाटा ब्यापारीहरूले सहनुपरेको देखिन्छ ।
एमेजन रेन फरेस्टको आगलागी
यो एमेजन रेन फरेस्ट क्षेत्र पृथ्वीको ताजा पानी र जैविक विविधताको सबैभन्दा ठूलो भण्डार हो । नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चका अनुसार विगत आठ महिनामा ७२ हजार पटक आगलागीका घटना भए । २०१८ को भन्दा यसपालि यस प्रकारको आगलागीको घटना ८४ प्रतिशत बढेको तथ्याङ्कले बताउँछ । २०१३ पछिको यो सबैभन्दा ठूलो आगलागीको घटना हो । विगत १५ वर्षमा यसप्रकारको आगलागी सात सय प्रतिशतले बढी छ । डेढेलो निभाउन सरकार निष्क्रिय देखिएको भन्दै अन्तर्राष्ट्रिय समुदायले ब्राजिलको चर्को आलोचना गरेपछि राष्ट्रपति बोल्सोनारोले सेना परिचालनको आदेश र आपतकालीन घोषणा गरेका थिए ।
२३ अगस्ट २०१९ को गार्डियन नामक बेलायती पत्रिकामा एमेजनको आगो ? के भैरहेको छ हामीले केही गर्न सक्छौँ शीर्षकमा जोनाथन वाट्स लेख्छन्– किन मान्छेहरू र मिडियाहरू एमेजनको सेरोफेरोमा आगलागीका बारेमा चिन्ता व्यक्त गरिरहेका छन् ? आगोले डढाएर सखाप पारेको हरियाली वनक्षेत्रको आसन्न विनाशमा चासो राखिरहेका छन् । यस प्रकारका हजारौँ आगलागीले ब्राजिल आक्रान्त छ । आगोका लप्काहरूसहितको धुवाँले आकास कुइरीमण्डल बनेको छ, अनन्तसम्म कोलाहलपूर्ण साम्राज्य छाएको छ वातावरणभरि । सन् २०१० को भन्दा यसपालिको आगोले धुलो र धुवाँको कणको मात्रा अत्यधिक भएको बताइएको छ । सामाजिक सञ्जालहरूले त्यसको क्षति देखाउने क्रममा मरेका निर्दोष जीवजन्तुका कारुणिक चित्रले मान्छेहरूको ध्यानाकर्षण गरेको छ । जैविक विविधताको एउटा ठूलो खानी मानिने ब्राजिलको एमेजनको घना जङ्गल भविष्यको ठूलो अक्सिजन भण्डार ठानिएको थियो ।
आगलागीको कारण
नासाले बताए अनुसार अमेजन वनको जलवायु जुलाई–अगस्टमा उष्ण–आर्द्र बन्ने गर्छ भने सेप्टेम्बरबाट नोभेम्बरको मध्यसम्म यो शुष्क हुने गर्दछ । अधिकारीहरूका अनुसार जङ्गलमा आगलागीको अधिकांश घटनाका कारण खेती र पशुपालन हुने गर्दछन् । खेती थन्क्याएपछि बारीमा बाँकी रहने ठुटा जलाउने क्रममा त्यस प्रकारका आगोलागीका घटना भएको देखिन्छ । तथापि अनधिकृत रुपमा कृषिका लागि आवश्यकभन्दा बढी जग्गाको जोहो गर्न पनि वन डढाइएको हुनसक्छ । अर्कातिर वन तस्कर, चोरी शिकारीमा रमाउनेहरू, यस्तै फोहोरी मेसोले आफ्नो राजनीतिक अभिलिप्सा साँच्नेहरूले जानीजानी झोसेको पनि हुन सक्छ आगो । भर्खरै साइबेरिया र अलास्कामा भएको आगलागी चट्याङ्को कारण भएको बताइए पनि एमेजनको आगोमा त्यस्तो कारण नभएको जानकारहरू बताउँछन् ।
आगोको फैलावट
स्याटलाइटबाट लिइएको फोटोबाट पत्ता लगाइए अनुसार आगो ब्रायिजलको एमेजन, रोंडोनिया, पारा र माटो ग्रासो स्टेटको जङ्गलमा लागेको छ । सबैभन्दा बढी प्रभावित अमेजन रेन फरेस्ट क्षेत्र हो । यसका असर ब्राजिल र छिमेकी देशसम्म देखिन्छ । स्याटलाइट विज्ञहरूले बताएअनुसार सारा एमेजन जलिरहेको छ भन्ने कुरा भ्रमपूर्ण छ । सामाजिक सञ्जालमा भ्रामक तस्बिर राखेर विश्वमा नकारात्मक सोच बढाउने होड चलेको देखिन्छ । यो हप्तामै कोलम्बिया र पूर्वी ब्राजिलमा एमेजनको भन्दा ठूलो आगलागी भएको बताइए पनि त्यसको चर्चा नगरी अमेजनको एकोहोरो प्रचार गरेको देखिनु दुर्भाग्यपूर्ण मानिएको छ । खेतिपाती थन्क्याउने, ठुटाहरू जलाउने क्रममा फैलिएको आगो संरक्षित वनक्षेत्रसम्म फैलिएका घटना धेरै छन् ।
अक्सिजनको अभाव
ब्राजिलको एमेजन वनक्षेत्र संसारको २० प्रतिशत अक्सिजन उत्पादक क्षेत्र मानिन्छ । यो कुल १० प्रतिशत जैविक विविधता भएको क्षेत्र हो । यस क्षेत्रलाई पृथ्वीको श्वास प्रश्वासको केन्द्र– फोक्सो मानिन्छ । यसले जलवायु नियन्त्रित गर्न महŒवपूर्ण भूमिका खेलेको छ । वैज्ञानिककाबीच यो वनक्षेत्र नासियो भने त्यसले मानव जीवनमा ठूलो असर पु¥याउने बहस चलिरहेको छ । तथापि वातावरणविद् माइकल र जोनाथन यो कुराको खण्डन गर्दै अमेजन क्षेत्रले मात्र ६ प्रतिशत अक्सिजन उत्पादन गर्ने र यसरी फाँडिएको जङ्गलमा हुने कृषि कार्यबाट पुनः अक्सिजन वायुमण्डलमा भरिंदै जाने हुँदा अक्सिजनकै अभाव नहुने बताउँछन् ।
धुवाँले उडान प्रभावित
युरोपियन युनियन अर्थ अब्जर्वेशन प्रोग्रामको स्याटेलाइटबाट लिइएको फोटोमा अमेजन, रोंडोनिया र अन्य राज्यको जङ्गलबाट आगोको मुस्लोले धर्ती अन्धकार बनाएको थियो । आगोले बढी सङ्ख्यामा वन्यजीवको अकारण दुःखद मृत्यु भएको मानिन्छ । त्यस दिन दुई हजार सात सय किमी टाढासम्म फैलिएको कालो मुस्लो धुवाँ साओ पाउलो र अन्य सहरसम्म पुगेको थियो । यसले दिनमै अँध्यारो बनायो । कमजोर ‘भिजिबिलिटी’ले गर्दा कैयौँ विमानका उडान प्रभावित भएका थिए ।
ट्विटरमा ह्यास ट्याग
‘प्रेयर फर अमेजन्स’ र ‘अमेजन रेन फरेस्ट’ ट्रेण्ड सुरु भयो । मान्छेले मिडियाको आलोचना गर्दै भने नोट्रेडेम र अन्य आगलागीका घटनाको प्रमुखता दिने तर अमेजनको जङ्गलमा लागेको भीषण आगलागीलाई नदेखे झैँ गरिएको भनी आक्रोश व्यक्त गरे । नोर्टेड्यामको क्यासल जल्दा संसारका धनाढ्यहरूले त्यसको पुनर्निर्माणमा अर्बौं डलर कबुले तर अफसोच संसारको फोक्सो जल्दा कहाँ गए दानवीरहरू ?
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ट्विटरमा ह्यास ट्याग गर्दै लेखे ‘हाम्रो घर जलिरहेको छ । साँच्चै एमेजन रेन फरेस्ट– फोक्सो जसले हाम्रो धर्तीको २० प्रतिशत अक्सिजन उत्पादन गर्छ त्यो आज जलिरहेको छ । यो अन्तर्राष्ट्रिय सङ्कट हो । म जी सेभेन समिटमा सदस्यको नाताले आह्वान गर्दछु– यो अत्यन्तै अत्यावश्यक विषयमा दुई दिनभित्रै कुरा गरौँ ।’
अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरमा ब्राजिलको रक्षा गर्दै लेखे – ‘मलाई थाहा छ प्रेसिडेन्ट बोल्सोनारो । उनले कडा मेहनत गरिरहेका छन् एमेजन रेन फरेस्टको आगो निभाउन र बर्जिलका जनताका लागि सजिलो छैन । उनलाई र उनको देशलाई अमेरिकाको पूर्ण समर्थन छ ।’
जी ७ सहयोग र ब्राजिलको अस्वीकार
फ्रान्सको तटीय सहर बियारिजमा सम्पन्न जी ७ को ४५ औँ बैठकले अमेजनको डढेलो नियन्त्रण गर्न दुई करोड २० लाख डलर सहयोगको घोषणा गर्ने बताएको थियो । आयोजक राष्ट्र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोको पहलमा सो घोषणा गरिएको थियो । फ्रान्सको प्रस्तावलाई जी ७ समूहका अन्य राष्ट्र अमेरिका, बेलायत, क्यानडा, जर्मनी, इटाली र जापानले स्वीकार गरेका थिए । अमेजनको डढेलोलाई अन्तर्राष्ट्रिय सङ्कट भन्दै उनले आगो निभाउने विमानका लागि रकम खर्च गर्न सुझाव दिएका थिए । उनले आगो निभाउन सेनालाई पनि थप रकम सहयोग गर्ने बताएका थिए तर आश्चर्यरुपमा ब्राजिलले त्यो सहयोगलाई अस्वीकार मात्र गरेन, राष्ट्रपति जेइर बोल्सोनारोले फ्रान्सले ब्राजिललाई उपनिवेशको रूपमा हेरेको आरोप लगाए ।
राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोलाई अन्तर्राष्ट्रिय समुदायले बढाइँचढाइ गरेको आरोप लगाएका छन् । अर्कातिर उनको यो भनाइलाई अमेरिकी राष्ट्रपतिले समर्थन गर्नुमा ब्राजिलसँगको व्यापारिक साँठगाँठ भनेका छन् आलोचकहरूले । ब्राजिलमा रहेका अमेरिकी बहुर्राष्ट्रिय कम्पनी एमेजनमा बनाउन लागिएको चाक्लो राजमार्ग जसले बनको ठूलो प्राकृतिक हिस्सालाई धावा बोल्दै त्यस क्षेत्रका आदिवासीको पुरातन जीवनशैली र विरासतमाथिको आक्रमण र तिनको वरिपरिको ठूलो कृषि कार्यक्षेत्रको भटमास जस्ता उत्पादनलाई व्यापारीकरण गर्ने मनसुबा भनेर भन्दै आएका छन् । आफ्नो राजनीतिक स्वार्थका लागि र अमेरिकी आशीर्वाद प्राप्त गर्ने कुत्सित अभिप्रायले विश्वका केही शासकले आफ्नो शासकीय असफलतालाई ढाकछोप गरी सत्ता टिकाउन र सत्तामा जानका लागि आमजनताको स्वार्थविपरीत यस्तो निर्णय गरेका कैयौँ उदाहरण छन् जस्तो यो पनि एउटा हो । कसरी देशको विनाश र बर्बादीमा आँखा चिम्लिने गरिन्छ भन्ने एउटा उदाहरण बनेको छ यो घटना ।
अन्त्यमा,
विश्वको कुल कार्बन उत्सर्जनको आठ प्रतिशत वनजङ्गल फँडानीका कारण हुने गर्छ । यो सम्पूर्ण युरोपेली सङ्घको उत्सर्जनभन्दा धेरै हो । वन फँडानीको कारणले अमेजन वर्षा–वनक्षेत्र ठूलो परिवर्तनको सँघारमा रहेको वैज्ञानिकले चेतावनी दिएका छन् । अमेजन जलाशय क्षेत्रको विशेषताअनुरूप त्यहाँ हावामा रहेको पानीका कण चक्रीय प्रक्रियाबाट गुज्रेर निरन्तर वर्षा हुन्छ । संसारको २० प्रतिशत स्वच्छ पानीको चक्र यहाँका नदी, माटो र हावा हुँदै बग्ने गर्छन् । यहाँको वायुमण्डलले नदीको उत्पत्ति पानी र हावाको चक्रलाई सन्तुलन गर्दछ ।
नेपालजस्तो सानो मुलुक जसले ब्राजिलको जस्तै अपार जलस्रोतको उपयोग गर्दै विकासको सोपान चढ्ने सपना देखेको छ । नयाँनयाँ ट्रान्समिसन लाइन, भर्खरै सम्पन्न भएको तेलको पाइपलाइन, ग्यासको पाइप लाइन, सुरुङ् मार्ग, हाइड्रोपावरका विशाल योजना बन्दै र बनाउँदै गर्दा तिनबाट हुनसक्ने यस प्रकारका भवितव्य र सङ्कट समाधानका लागि बेलैबाट वातवरणीय सचेतना र दुर्घटनाको न्यूनीकरणको उपाय सोच्नुपर्ने देखिन्छ । नेपालले यस प्रकारका वनजङ्गल खानी खनिज, भूक्षय, बाढीपैरो, भूकम्पले निम्त्याउने दुर्भाग्यलाई कसरी समाधान गर्ने बेलैमा तयारी गर्नुपर्छं ।
आयोजना निर्माणका क्रममा रुख हटाउनै परे एउटा काट्दा २५ वटा रोप्नुपर्ने वनसम्बन्धी व्यवस्था मन्त्रालयले यसअघिको कार्यविधिमा गरेको थियो तर वनसम्बन्धी नयाँ कार्यविधि आएपछि एउटा रुख काटेबापत १० वटा मात्रै रोपे पुग्ने व्यवस्था गरिएको छ । यसले हामीलाई कहाँ पु¥याउला ? जब नेपाल संसारको सबैभन्दा कमजोर भूधरातलमा उभिएको राष्ट्र हो जुन विश्व प्राकृतिक प्रकोपजन्य सम्भावनाको अन्तर्राष्ट्रिय इन्डेक्समा जलवायु परिवर्तनमा चौथो, भूकम्पमा ११ औँ र बाढीमा १३ औँ स्थानमा छ ।
विकासका नाममा, गरिने डोजर आतङ्क, सहायताका नाममा राखिने दाताका कुटिल सर्त, वातावरण मूल्याङ्कनलाई मात्र कर्मकाण्डीय परम्परा ठान्ने आम मानसिकता, एउटा प्रोजेक्टको रिपोर्ट अर्कोमा ‘कपी पेस्ट’ गर्ने आम प्रवृति, प्रकृतिका अनन्त भण्डारलाई तिनको स्वतन्त्र प्रवाहमा पुग्ने अवरोधले निम्तिने दैवी प्रकोप । वातावरणीय अध्ययनको एउटा स्वतन्त्र पाटो नेपालले बेलैमा सोच्नुपर्ने र संसारका यस्ता पाठबाट सिक्नुपर्ने टड्कारो देखिन्छ ।
(लेखक बेलायतको स्वन्जी युनिभर्सिटीमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।)