रामप्रसाद गौतम
चीन भारत बन्न सक्दैन र भारत चीन बन्न सक्दैन तर पौने तीन अर्बको जनसंख्यालाई पाल्नका लागि दुवैले एक आपसमा व्यापार गर्नैपर्छ । त्यसैले दुवैलाई नेपाल नभई हुँदैन । यही भूपरिस्थितिलाई सहज बनाउन सकेमात्र नेपालमा रेल सम्भव छ । कुनै कारण बिना असर देखिँदैन । भारत र चीनले आफ्नो देशलाई लाभ हुने अवस्था नदेखेसम्म नेपालमा रेल आउन पनि सक्दैन । त्यसैले हामीले हाम्रा चाहनाहरूलाई वस्तुनिष्ठ बनाउँ । व्यापार मानव जीवनको फूल हो । चीन र भारतलाई त्यो फूलप्रति आकर्षित नगरेसम्म यहाँ रेल, व्यापार, पर्यटक वृद्धि कठिन हुन्छ ।
अमेरिकाले ज्यादै कठोर व्यवहार गर्दागर्दै पनि चिनियाँ मोबाइल कम्पनी हुवावेले आफ्नो नाफा गतवर्ष भन्दा २३ प्लस प्रतिशतले बढायो । यसको अर्थ हो अमेरिकाबाहेक पनि चीनका लागि विश्व बाँकी छ र उसले आफ्नो व्यापार गर्नसक्छ । प्रतिव्यक्ति उपभोग दर अन्य देशमा पनि बढ्दैछ । त्यसको फाइदा चीनले लिन सक्छ । भारत पनि अब समानान्तर रूपमा व्यापार बढाउने पक्षमा छ । चीनको झण्डै एक अर्ब ४० करोड जनसङ्ख्या र भारतको झण्डै एक अर्ब ३० करोड जनसङ्ख्याबीचको आपसी व्यापार जत्तिको महत्वपूर्ण र भरपर्दो व्यापार दुवैका लागि अन्यत्र हुनसक्दैन । किनकि ६ जुन २०१९ सम्म भारत र चीनबीच एक सय अर्ब डलरको व्यापार भइसकेको इकोनोमिक्स टाइम्सले छापेको छ । त्यसैले यी दुई देशबीचको व्यापार सहजीकरणका लागि नेपालले प्रमुख भूमिका खेल्न सक्छ र खेल्नुपर्छ ।
हाम्रो परम्परागत रेल चाहनालाई तत्काललाई थाती राखेर त्रिदेशीय रेल वा त्रिदेशीय बेल्ट एण्ड रोडको बारेमा सोच्न जरुरी देखिएको छ । किनकि आज तीन नील रकम खर्च गरेर बिना व्यापारिक प्रयोजन नेपालमा रेल ल्याइएला भनेर सोच्नु एक प्रकारले असम्भव परिकल्पना हो । न नेपालले त्यति रकम जुटाउन सक्छ न कसैले दिनेवाला छ । नेपालको अर्थतन्त्रमा नयाँ आयाम सुरु गर्ने हो भने चीन र भारतको व्यापार सहजीकरणका लागि नेपालबाट रेलको अवधारणा अगाडि बढाउनु पर्छ ।
नेपालको अर्थ कूटनीतिलाई त्रिदेशीय आर्थिक सञ्जालभित्र जोडेर नयाँ तरिकाबाट हेर्न जरुरी छ । किनकि चिनियाँ राष्ट्रपतिले २४ घण्टा नेपालमा बस्दा जे जस्तो स्पष्ट सन्देश दिनुभयो त्यो कुनै राजनीतिशास्त्रमा पढेर भेट्न सकिँदैन ।
उहाँको पहिलो सन्देश के थियो भने चीन भावनात्मक रूपमा बोल्दैन, जे बोल्छ त्यो गर्छ । दोस्रो सन्देश थियो, नेपालमा कम्युनिष्ट सरकार भएकाले यसलाई अलि बढी र अरू सरकारलाई अलि कम प्राथमिकतामा राखेर हेर्दैन । चीनको नेपालप्रतिको धारणा स्पष्ट छ, जुन नेपालको सरकार परिवर्तनले परिवर्तन हुँदैन । तेस्रो, अति सारगर्भित सन्देश थियो, चीन साम्यवादको परम्परागत सिद्धान्तबाट माथि उठिसक्यो । चौथो, शक्तिको कारणले होइन, आमजनतासँग भिज्न सकेमात्र लोकप्रिय भइन्छ । पाँचाँै, जुन रामबाणभन्दा तीखो थियो– नेपालको विकास नेपालीले नै गर्ने हो ।
विश्वका सबैभन्दा शक्तिशाली नेताले नेपालीलाई दिएका मूल सन्देश यिनै हुन् । यिनै पाँचवटा कुरालाई मनन गरेर नेपालले त्रिदेशीय रेल वा त्रिदेशीय बेल्ट एण्ड रोडको प्रस्ताव भारत र चीनसँग संयुक्त रूपमा राख्नुपर्छ । जबसम्म चीन र भारतबीच व्यापारको दोहोरो परिशृङ्खला सिर्जना हुँदैन तबसम्म बलियो एसियाको निर्माण हुँदैन । यही कुरालाई बुझेर जम्मु कस्मिरमा धारा ३७० हटाइएको अवस्था, डोक्लाममा विवाद हुँदाहुँदै पनि चिनियाँ राष्ट्रपति भारतमा गएर एक आखर पनि ती कुरा उठाउनुभएन । यसको अर्थ दुवै देशका लागि व्यापार पहिलो हो । नेपालले पनि सम्बन्धमा व्यापारिक सोच राख्नुपर्छ, बिन्तीवादी सोच होइन ।
यी दुई देशको व्यापारको सबैभन्दा सहजमार्ग नेपाल हो । नेपालमार्फत भएर मालवाहक रेल र सँगै यात्रीवाहक रेल नेटवर्क बनाउन चीन र भारतको सम्पन्नताका लागि अति आवश्यक छ । त्यो सम्भव बनाउने क्षमता नेपालसँग मात्र छ । त्यसैले अलिकति फरक सोचौँ । परस्पर लाभको सङ्केत बिना कसैले कसैलाई केही दिँदैन । उनीहरूको व्यापारका लागि हामीले बाटो दिऊँ ।
नेपालको उत्तरमा चीनको तिब्बत छ जुन नेपालभन्दा नौ गुणा ठूलो छ तर जनसङ्ख्या नेपालको भन्दा नौगुणा कम छ । त्यस्तो अवस्थामा पनि चीनले ल्हासाबाट सिगात्सेसम्म रेल ल्याएको छ । त्यतिले नै तिब्बतका जनता लाभान्वित भइसकेका छन् । चीनका लागि त्यो रेल केरुङ ल्याउनु त्यति आवश्यक छैन । त्यसैले नेपालले भारतसँग पहल गरी त्यो रेललाई सुनौली पु¥याएर भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको उत्तरप्रदेश, विहार, पश्चिम बङ्गालसँग व्यापार गर्न सक्छ । भारतले पनि चीनलाई अर्बौं डलरको निर्यात बढाउन सक्छ । नेपाल भएर रेल चीन र भारत कुद्नु ती दुई देशका लागि अति लाभदायक छ । यो कुरा दुवै देशका शासकलाई बुझाउन सक्नु नेपालको प्रमुख आधार नीति (मास्टर बटम पोलिसी) हुनुपर्छ र मात्र नेपालमा रेल आउन सम्भव छ । यो कुराको सङ्केत सी चीन फिङ भारतमा गएर नेपाल आउँदा पनि प्रष्ट पारेको छ ।
त्रिदेशीय लाइनको बारेमा दुवै देशलाई जोड्ने आधार नेपालमात्र हो । किनभने चीन – भारतका अन्य सीमाक्षेत्र पश्चिम हिमाञ्चल प्रदेश र पूर्वमा सिक्किम, अरुणाचल प्रदेशसँगमात्र जोडिएको छ । ती दुवै ठाउँबाट व्यापार गर्न असजिलो छ ।
नेपालले के पाउँछ ?
चीन र भारतको व्यापार वृद्धिबाट नेपालले के पाउँछ त भन्ने प्रश्न हामी सबैमा उब्जिन सक्छ । यसको बारेमा आजबाट नै सोच्नुपर्छ हामीले चीनलाई के बेच्न सक्छौँ र भारतलाई के ? नेपालभन्दा धेरै विकसित भए पनि दुवै देश आत्मनिर्भर छैनन् । त्यसैले लाभलागत सन्तुलनबाट सस्तोमा उत्पादन हुने अनेक वस्तु छन् जुन नेपालले निर्यात गर्न सक्छ । रक्तचन्दन, बोधिचित्त लगायतका जडीबुटीमा नेपालको हावापानी उपयुक्त छ । भारत र चीनबीचको ५० प्रतिशतमात्र व्यापार नेपालको भूमिबाट हुने अवस्था सिर्जना हुनासाथ नेपाल र नेपालीको व्यावसायिक चिन्तन नै फरक हुन्छ ।
‘ग्लोबल टाइम्स’ मा छापिएको चिनियाँ विदेश मन्त्रालयको पछिल्लो प्रतिवेदन अनुसार यो वर्ष जनवरीबाट यतामात्र चीनले अमेरिकाबाट दुई करोड टन सोयाबिन, सात लाख टन सुँगुरको मासु, सात लाख टन सलगम, दुई लाख ३० हजार टन गहुँ, तीन लाख २० हजार टन कपास आयात गरिसकेको छ । यी र यस्तै सम्भाव्य चीजहरू नेपालले उत्पादन गर्ने रणनीति बनाएर रेलयातायातको सदुपयोग गर्न सकिन्छ । अहिलेसम्म भारत बेल्ट एण्ड रोडमा चीनसँग सहमत छैन तर जब उसको व्यापार अर्बौंले बढ्ने अवस्था आउँछ त्यतिबेला नमान्ने अवस्था रहँदैन । त्यसैले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर दुई देशको व्यापार बढाइदिने रणनीति नै नेपाल सम्पन्नताको नयाँ आयाम हो ।
यो अवधारणमा दुवै देशले आआफ्नो देशमा रेलमार्ग बनाउँछन् । नेपालको लगभग दुईसय किलोमिटरका लागि तीन देशले बराबर लगानी गर्ने सोचका साथ अगाडि बढ्ने हो भने नेपाल, भारत र चीन त्रिदेशीय व्यापारले यो क्षेत्रलाई विश्वको महìवपूर्ण व्यापारिक केन्द्र बनाउनेछ । जुन दिन भारत, नेपाल, चीनबीच त्रिदेशीय रेल सम्झौता हुन्छ त्यसपछि नेपालको आर्थिक वातावरणले नयाँ स्वरूप लिनेछ र प्रधानमन्त्रीको सपना पनि साकार हुनेछ ।
(लेखक प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ ।)