logo
२०८१ मंसिर १० सोमवार



मन र माटो जोड्ने पर्व (सम्पादकीय)

विचार/दृष्टिकोण |





कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी उल्लासका साथ छठपर्व मनाइएको छ । शरद् ऋतुमा नेपाली समाजमा एकपछि अर्का चाडपर्व मनाइन्छन् । वर्षा सकिने र जाडो पनि धेरै नहुने यो मौसम आफैँमा पर्वमय लाग्छ । खेतमा किसानका सपना झुलेका हुन्छन् । बारीमा फूल फुलेका हुन्छन् । आकाश खुलेको हुन्छ । मौसममा मनोहर थपिएको आभास हुन्छ । मानवशास्त्रीहरूले सांस्कृतिक पर्यावरण (कल्चरल इकोलोजी) को विशद दृष्टिकोण यसैकारण बनाएका हुन्, कि संस्कृति निर्माणमा पर्यावरण र पर्यावरणमा संस्कृतिको गहिरो सम्बन्ध हुन्छ । दशैँ, तिहार र छठ अखण्ड पर्व हुन् । दशैँको सम्बन्ध तिहार र छठसँग छ । भगवान् रामले १४ वर्षको वनवासी अवधिमा रावणको वध गरी कात्तिक औँसीमा अयोध्या फर्केका दिन अयोध्यामा दीपावली मनाइएको विश्वास छ । दीपावलीको आठौँ दिनमा छठपूजा गरिन्छ । राम अयोध्या फर्केपछि राजकाज सञ्चालन गर्नुभन्दा पहिले रावण जो ब्राह्मण थिए, उनको हत्याको पापबाट मुक्त हुन कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गरिएको धार्मिक कथा छ । अर्कोतिर राजा प्रियव्रत, महर्षि, खीर रानी मालिनी र उनले जन्माएको मृतपुत्र, ब्रह्माकी मानसपुत्री देवसेना अर्थात् षष्ठी र उनको पूजा पनि छठसँग सम्बन्धित छन् । धार्मिक मान्यता जेजस्ता भए पनि यी पर्वले सुकार्य र सुकीर्तिका लागि पे्ररित गरेका छन् । नेपालको खासगरी तराई–मधेस क्षेत्रमा मनाइँदै आएको छठले सामाजिक सन्देश र धार्मिक मान्यता विस्तार गर्दै आएको छ । बत्ती बाल्ने वा सूर्यको उपासनाले अन्धकारबाट उज्यालोतर्फ यात्रालाई निःसृत गरेको हुन्छ ।
चाड पर्वले व्यक्ति, परिवार, समुदाय र राष्ट्रलाई जोड्छन् । त्यसमा पनि नेपालीहरूको उदात्त सहिष्णुताले एक अर्कोका संस्कृति तथा पर्वलाई सम्मान गर्ने गरेबाट यी पर्व क्रमशः राष्ट्रिय पर्व बन्दैछन् । यी पर्वहरू सामाजिकीकरण र राष्ट्रियकरण (नेशनहुड) का प्रक्रिया बन्दैछन् । छठ क्रमशः पहाड उक्लँदैछ, तीज तराई झर्दैछ जसबाट नेपालीको मन र माटो जोडिन पुगेको छ । राष्ट्रियकरणको यो यात्रामा दुवैतिरका बासिन्दा एउटा सुखद भञ्ज्याङमा भेट हुन्छन्, त्यही भञ्ज्याङ नेपाल हो । यस्ता सामाजिक आत्मीकरण, अन्तरघुलन अनुकरणजस्ता, अन्तरक्रियाले राष्ट्रियता बलियो बनाउँछन् ।
नेपाली हुनुमा गर्व गर्ने पे्ररणा दिन्छन् । इतिहासदेखि धार्मिक स्वतन्त्रता र सहिष्णुता रहेको नेपाललाई संविधानतः धर्मनिरपेक्ष मुलुक भनिए पनि त्यो निरपेक्षता धार्मिक उदासीनता होइन बरु सबै धर्मलाई समान माया गर्नुलाई नेपालको धार्मिक समस्नेहिता भनेर बुझ्नुपर्छ । यसैकारण नेपालले सानो सङ्ख्यामा रहेका मुस्लिम समुदायको धार्मिक आस्थाको सम्मानका लागि हज गर्न तीर्थालुलाई मक्का पठाउँदै आएको छ । ठूला–साना जातजाति तथा समुदायमा प्रचलित चाडबाडमा दिइने सार्वजनिक बिदा, कार्यक्रममा हुने सरकारप्रमुखको उपस्थिति वा सरकारी निकायको संलग्नतालाई ती चाडपर्व र समुदायप्रति गरिएको राष्ट्रिय सम्मान र अपनत्वका रूपमा ग्रहण गर्नुपर्छ ।
यद्यपि हाम्रा चाडपर्व खर्चिला र तडकभडकपूर्ण हुँदै गरेका छन् । यसमा हामी नै सचेत भई पर्व र संस्कृतिको मूल सन्देश ग्रहणमा केन्द्रित हुँदै पर्व मनाइने विधि र तरिकालाई सरल गर्नुपर्छ । जातीय समानता, सामाजिक सराबरी र पर्यावरण संरक्षणको सन्देश दिने छठ मनाउँदा पनि हामीले आफ्नो आर्थिक गच्छे बिर्सनुहुँदैन । बालुवाकै प्रसाद र पूजा सामग्रीबाट गरिएका आराधना पूर्ण सफल भएका धार्मिक कथाबाट दीक्षित हामीहरूले चाडपर्वलाई बोझ होइन बोधमा ग्रहण गर्नु आवश्यक छ । यसैगरी पर्वका सन्देशलाई प्रदर्शन गर्नुभन्दा ती सन्देश आत्मसात् गरी व्यावहारिक उपयोगमा लगाउने पे्ररणा पनि लिनुपर्ने हुन्छ । चाडपर्वका सांस्कृतिक, धार्मिक तथा सामाजिक सन्देश पक्षलाई उच्च महŒव दिँदा नै चाडपर्व मान्नुको सार्थकता पुष्टि हुन्छ । नेपालीहरू विश्वका जहाँसुकै रहे, बसेका भए पनि यी चाडपर्व मनाउनुले नेपालको सांस्कृतिक क्षेत्रफल विस्तार भइरहेको छ । यी पर्वलाई नेपाली पर्वका रूपमा मनाउनुले हाम्रो पहिचान वृद्धि भइरहेको छ । भरखरै मात्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दीपावली मनाउनुभएको अनि यहाँस्थित विदेशी कूटनीतिज्ञहरूले भाइटीका कार्यक्रम गरेको समाचारलाई नेपाली संस्कृतिको विस्तारका रूपमा लिँदै यसको सन्देश पक्षको विस्तार गर्न हाम्रो सहिष्णुतापूर्ण व्यवहारले मद्दत गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?