राजनीतिक स्थिरतासँगै नेपालले चौतर्फी दिशामा प्रगति हासिल गर्दै छ । यसबीच आर्थिक सूचकाङ्कमा मात्र बढोत्तरी भएको छैन, शासकीय सुधार र नेपालले ती क्षेत्रमा गरेका पहल पनि उपलब्धिमूलक देखिएका छन् । यिनै परिवेशमा सङ्घीयता कार्यान्वयनमा नेपालको प्रयास र उपलब्धिको विश्व बैङ्कले उच्च प्रशंसा गरेको छ । यसै हप्ता नेपाल भ्रमणमा रहेको विश्व बैङ्कको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. युवराज खतिवडासँगको भेटमा नेपालको सङ्घीयता कार्यान्वयन विश्वलाई उदाहरण हुन सक्ने धारणा व्यक्त गर्नुभएको थियो । त्यसो त नेपालले शान्ति स्थापना र सङ्क्रमणकालको व्यवस्थापनमा पनि विश्वलाई एकप्रकारको ‘नेपाल मोडल’ प्रस्तुत गरिसकेको छ । संविधान जारी भएपछि सम्पन्न निर्वाचनहरूमार्फत प्राप्त परिवर्तनलाई थप संस्थागत गर्ने यात्रामा नेपालले अग्रगामी फड्को मारेकाले वर्तमान नेपालले आर्थिक समृद्धिलाई अभियान बनाएको अवस्थामा यहाँका पहल र उपलब्धिलाई विश्व बैङ्कजस्तो आधिकारिक निकायले गरेको प्रशंसाले नेपाललाई थप उत्साहित गराउने नै छ । सङ्घीयता कार्यान्वयन, कर प्रणाली, बाह्य क्षेत्रको जोखिम, नागरिकका उच्च अपेक्षाको व्यवस्थापन, निजी क्षेत्रको भूमिका बढाउने प्रयास र नेपालको सङ्घीयता कार्यान्वयनमा विश्व बैङ्कबाट गरिएका अपेक्षाका विषयमा भएको छलफलले नेपालको स्थिति अझै स्पष्ट गरेको छ । सङ्घीयता कार्यान्वयनसँगै नेपालले आर्थिक विकास, पूर्वाधार तयारी र जनताका आकाङ्क्षा तथा आवश्यकता सम्बोधन तथा कानुन निर्माणमा पनि उल्लेख्य सफलता पाएको छ ।
प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले विगत तीन वर्षमा नेपालको औसत आर्थिक वृद्धि ६ दशमलव ५ प्रतिशत रहेकामा गत वर्ष ७ दशमलव १ प्रतिशतको वृद्धिदर हासिल भएको जानकारी दिनुभएको थियो । विश्व बैङ्कअन्तर्गत हालै प्रकाशित डुइङ बिजनेस प्रतिवेदनमा नेपाल ९४आँैं स्थान हासिल गर्न सफल भएको उल्लेख छ । यो प्रतिवेदन गत वैशाखसम्मको तथ्याङ्क विश्लेषणमा आधारित रहेकाले आगामी दिनमा प्रतिवेदनमा थप सकारात्मक परिणाम देखिने अपेक्षा गरिएको छ । व्यवसाय सहजीकरणमा नेपालले थालनी गरेको सुधारका प्रयास पूर्णतः कार्यान्वयन गर्न तत्कालै सम्भव नभए पनि आगामी दिनमा नेपालले यस दिशामा आशातीत प्रतिफल प्राप्त गर्नेमा विश्व बैङ्क पनि विश्वस्त देखिएको छ । पछिल्ला वर्ष रोजगारीका अवसर वृद्धि हुँदै गएकाले पनि नेपाली अर्थतन्त्रमा सुधारात्मक सूचकाङ्क देखिएकाले वैदेशिक र आगामी दिन आन्तरिक रोजगारीका क्षेत्रको सुधारलाई नेपालले उच्च महŒव दिनुपर्ने हुन्छ । यसैगरी, वित्तीय तथा ऊर्जा क्षेत्रको सुधारमा विश्व बैङ्कको सहयोगले पनि नेपाली अर्थतन्त्रमा सकारात्मक परिणाम देखिएकाले यस्तो सहयोगको निरन्तरता तथा स्थायित्वका लागि नेपालले विश्व बैङ्कलाई थप विश्वस्त बनाउनुपर्नेछ । आर्थिक क्षेत्रका प्रगति र सङ्घीयता कार्यान्वयनमा देखिएका यसप्रकारका परिणामलाई थप परिणाममुखी बनाउन नेपालले आगामी दिनमा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नुपर्ने हुन्छ । आर्थिक विकासका परिणाम तत्कालै नदेखिन पनि सक्ने भएकाले त्यसको वातावरण कस्तो भन्ने पक्ष पनि महŒवपूर्ण हुन्छ । नेपालमा अहिले आर्थिक विकासका पूर्वाधार र पूर्वसर्त तयारीमा भएका पहलका उपलब्धि आगामी दिनमा देखिनेछन् । लगानीमैत्री वातावरणका लागि हाल भएका कानुनी, आर्थिक र राजनीतिक पहलका परिणाम तत्काल मापन गर्न सम्भव हुँदैन । राज्यले लगानीको वातावरण बनाउँदै गएपछि करमार्फत त्यसअनुसारको प्रतिफलको अपेक्षा राख्नु स्वाभाविक हुन्छ । लगानीकर्ताले कम करमा उद्योग, व्यवसाय गर्न पाउने वातावरणको अपेक्षा गर्नु पनि अस्वाभाविक होइन । दुवै पक्षको हित र जिम्मेवारीलाई संयोजन गर्दै आगामी दिनमा नेपालले उल्लेख्य आर्थिक विकास गर्न सक्नेछ । पछिल्ला दिन नेपालले व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन तथा निर्यात वृद्धिमा अपनाइएका सुधारका प्रयासले व्यापार घाटा कम हुने सुधारोन्मुख परिणाम देखिएको छ । आगामी दिनमा सङ्घीय संरचनाबमोजिम प्राकृतिक स्रोत–साधन तथा राजस्व बाँडफाँड र बजेट कार्यान्वयनमा गरिने पहलले नेपालको आर्थिक क्षेत्र थप उत्साहित हुनेछ । नेपालले अभ्यास गरेको सङ्घीयता तथा आर्थिक सुधारका कार्यक्रम र विकास लक्ष्य प्राप्त गर्न ठूलो वित्तीय स्रोत आवश्यक पर्ने हुनाले विश्व बैङ्कजस्ता निकायले नेपाललाई उच्च प्राथमिकतामा राखेर लगानी वृद्धिमा थप उदार हुनुले आगामी दिन थप उपलब्धिमूलक हुनेछन् ।